काठमाडौं । चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध हुनुभएको छ । भेट्रान अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यो सिनेमामा अनुबन्धित गराएको हो ।
प्रकाश अहिलेका रुचाइएका कलाकार हुनुहुन्छ । चलचित्र ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएको हो । अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । “हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,” निर्देशक यम शेर्पाले भन्नुभयो, “हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।”
प्रकाश यो सिनेमामा अभिनेताका रूपमा मात्रै रहनेछन् वा सांगीतिक पाटोमा पनि जोडिनेछन् भन्नेबारे पछि स्पष्ट पार्ने यमले बताउनुभयो ।
चलचित्र राम्रो बनाउन कुनै सम्झौता नगर्ने उनले दोहोर्याए । ‘मिरमिरे’ यमको दोस्रो निर्देशन हो । चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यमले ‘मिरमिरे’को कलाकार लाइनअप बलियो हुने बताउनुभयो । प्राविधिकपक्ष पनि सिनेमाको बलियो हुने उहाँको भनाइ छ ।
अभिनेता प्रकाश सपूतले ‘मिरमिरे’मा जोडिन पाउँदा खुशी व्यक्त गर्नुभयो । आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै उहाँले यस सिनेमाले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गर्नुभएको छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिनुभएको छ । चलचित्रको निर्देशनसँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेख्नुभएको छ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुनुहुन्छ । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहनुभएको छ ।
‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।