एमाले महासचिव पोखरेल ओएनएफ यूकेको अधिवेशनमा भाग लिन बेलायत आउनुहुने

लन्डन । नेकपा एमाले महासचिव शंकर पोखरेल पार्टी निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको नवौं अधिवेशन उद्घाटन गर्न बेलायत भ्रमणमा आउनुहुने भएको छ ।

आगामी १२ जुनमा यूरोप हुँदै बेलायतमा भ्रमणमा आउन लागेका महासचिव पोखरेलले नवौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा भाग लिनुहुनेछ । अधिवेशनमा एमाले यूरोप इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष संजय थापा र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापासहितका नेताहरु अतिथिका रुपमा सहभागी हुनेछन् ।

आगामी १५ जुनमा बेलायतस्थित लेस्टरमा हुन लागेको महाधिवेशनले  आगामी तीन बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । एमाले महासचिव पोखरेल बेलायत रहँदा नेपाली दूतावास लन्डनद्वारा आयोजित विभिन्न कार्यक्रममा सरिक हुनुहुनेछ ।

त्यस्तै, नेपाल बेलायतबीचको दौत्य सम्बन्ध, नेपाल बेलायतबीचको व्यापार, लगानी, पर्यटन अभिवृद्धि कार्यक्रममा नेता पोखरेल सहभागी हुनुहुनेछ । साथै, नेपाल र बेलायती राजनीतिक दलहरुबीच द्विपक्षीय सम्बन्ध अघि बढाउन लन्डनस्थित बेलायती सरकारी निकाय र राजनीतिक दलका विभिन्न पक्षहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । महासचिव पोखरेल लन्डन हाईगेटस्थित कार्ल मार्क्सको समाधिस्थलमा पुष्पगुच्छा अर्पण कार्यक्रमपछि बेलायतस्थित नेपाली समुदायसँग अन्तरक्रिया र भेटघाट गरी पूर्वगोर्खाका आन्दोलन, गैरआवासीय नेपाली नागरिकता र अन्य सरोकारित विषयमा छलफल गर्नुहुनेछ ।

महासचिव पोखरेलले बेलायत भ्रमणमा आउनुअघि काठमाडौंस्थित बेलायती दूतावास भ्रमण गरी राजदूत रब फेनसँग भेट्नुभएको छ । उहाँले दुई देशबीचको आपसी चासोको विषय र आफ्नो आसन्न बेलायत भ्रमणबारे छलफल गर्नुभएको छ ।

महासचिव पोखरेललाई बेलायतमा स्वागत गर्न सम्पूर्ण तयारी भैसकेको ओनएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले जानकारी दिनुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री