लन्डन दूतावासमा १८ औं गणतन्त्र दिवस समारोह : नेपालको आर्थिक समृद्धिमा योगदान गर्न राजूदत घिमिरेको आह्वान

लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपालको आर्थिक समृद्धिको एजेन्डा कार्यान्वयनका लागि सबैले योगदान गर्न आह्वान गर्नुभएको छ ।

नेपालको १८ औं गणतन्त्र दिवसको अवसरमा बिहीबार २९ मे २०२५ साँझ नेपाली दूतावास लन्डनमा आयोजित समारोहमा सम्बोधनका क्रममा राजदूत घिमिरेले शहीदहरूले दिएको अमिट बलिदान र नेपालमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको महत्त्वलाई सम्झँदै सो अपिल गर्नुभएको हो । नेपालको समृद्धिका लागि विदेशमा बस्ने सबै नेपालीहरूबीच एकताको आवश्यकता र महत्त्व रहेकोमा पनि उहाँले जोड दिनुभयो ।

उहाँले कार्यक्रममा सहभागीहरूका साथै संयुक्त अधिराज्य र आयरल्याण्डमा रहेका सम्पूर्ण नेपाली प्रवासीहरूलाई शुभकामना व्यक्त गरेको नेपाली दूतावास लन्डनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रात्रिभोजसहितको गणतन्त्र दिवस कार्यक्रममा दूतावासका अधिकारीहरू, बेलायतमा रहेका नेपालस्थित संस्थाका प्रतिनिधिहरू, व्यवसायीहरू, सञ्चारकर्मीहरू, कलाकारहरूलगायत गरी १२० भन्दा बढी पाहुनाहरूको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४० वर्षदेखिको राजतन्त्र व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिएको हो । नेपालमा सरकारले गणतन्त्र मनाएजस्तै विदेशस्थित कूटनीतिक नियोगमा समेत गणतन्त्र दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री