लन्डन । पछिल्लो साढे २ महिनादेखि बेलायतमा बस्दै आउनुभएकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त हुनुभएको छ । जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य हुनुभएकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो ।
नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभामा पूर्वसूचना नदिइ लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ । सोही प्रावधानअनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङ पदमुक्त हुनुभएकोले सो स्थान रिक्त भएको घोषणा आज बसेको छैटौँ अधिवेशनको ११औँ बैठकमा गर्नुभएको हो ।
प्रदेशसभा नियमावली, २०७९ को नियम १९० को उपनियम १ मा पनि कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले त्यसको जानकारी सभालाई दिनुपर्ने व्यवस्था छ । पाँचौँ अधिवेशनअन्तरगत सम्पन्न ८३ वटा बैठकमध्ये उहाँ ३४ वटा बैठकमा मात्र सहभागी हुनुहुन्थ्यो । छैटौँ अधिवेशनमा भने उहाँ कुनै बैठकमा उपस्थिति हुनुभएको छैन । सो अधिवेशनमा ११ वटा बैठक सम्पन्न भइसकेका छन् ।
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सभामुखलाई पत्र पठाइ गुरुङले लगातार १० वटा बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार उहाँको पद रिक्त घोषणा गर्न अनुरोध गर्नुभएको थियो । गुरुङको पद रिक्त भएपछि लुम्बिनी प्रदेशसभामा अब ८७ सिटमध्ये ८६ सांसद छन् ।
प्रदेशसभा सदस्य गुरुङ प्रदेशसभामा निर्वाचित भएपछि अहिले तेस्रो पटक बेलायत आउनुभएको हो । यसअघि पनि प्रदेशसभालाई जानकारी नगराई दुई पटक बेलायत पुगेर फर्किएको पनि खुलेको छ । उहाँले आफ्ना श्रीमान् कैलाश गुरुङमार्फत डेढ हप्ता अघि बेलायतबाटै हस्तलिखित राजीनामा पत्र पठाउनुभएको थियो ।
उहाँले सभामुखलाई सम्बोधन गर्दै मंगलबार पठाएको राजीनामा पत्रमा राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्नुभएको थियो ।‘म मेरो पदमा रही रहन उपयुक्त सम्झिएर जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन,’ उहाँले राजीनामा पत्रमा लेखेकी छन्, ‘तसर्थ आजैका मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु ।’ उहाँ सीके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक कोटामा प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । उहाँका श्रीमान् कैलाश भने अहिले जनमत पार्टी छोडेर उपेन्द्र यादव नेतृत्वको जसपाका केन्द्रीय सदस्य बन्नुभएको छ ।