नेपाली ओपन कन्सर्टका लागि खेम र अन्जु बेलायत आउनुहुने, ५ हजार दर्शक सहभागी हुने अपेक्षा

लन्डन । मगर संघ यूकेको आयोजनामा आउँदो जुन १४ तारिखका दिन बेलायतमा हुने नेपाली ओपन कन्सर्टमा नेपालबाट चर्चित कलाकारहरू खेम सेन्चुरी र अन्जु पन्तलगायतका कलाकार बेलायत आउनुहुने भएको छ ।

मगर संघ यूकेले कन्सर्टका बारेमा जानकारी दिन बुधबार २१ मे २०२५ मा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । कार्यक्रममा भ्वाइस अफ नेपाली सिजन ६ का कोच सेन्चुरी र सदाबहार गायिका पन्तका साथै भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडाले पनि प्रस्तुति दिनुहुनेछ ।

‘म्यूजिक फर युनिटी’ श्लोगनका साथ बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने कार्यक्रममा बालबालिकाका लागि मनोरन्जनात्मक खेलका साथै युवा, बयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।

कार्यक्रममा नेपालबाट आएका अन्य कलाकारहरूका साथै बेलायतका स्थानीय कलाकारहरूले नृत्य पनि प्रस्तुत गर्नेछन् । मगर संघ यूकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिनेछन् ।

फार्नब्रो रग्बी फुटबल क्लबमा हुने कार्यक्रममा भाग लिनका लागि १२ देखि १७ वर्षसम्मका बालबालिका र ६७ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि अग्रिम टिकट खरिद गरे जनही २० पाउन्ड र सोही दिन किन्दा २५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ । १७ वर्षमाथि ६७ वर्षसम्मका लागि अग्रिम टिकट किन्दा जनही २५ पाउन्ड र सोही दिन खरिद गर्दा ३० पाउन्ड टिकट शुल्क तोकिएको छ । १२ वर्ष मुनी बालबालिकाका लागि प्रवेश नि:शुल्क राखिएको छ ।

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने कार्यक्रममा बेलायतका स्थानीय निकायका मेयर, उपमेयर, काउन्सिलरहरूका साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू अतिथि रहनुहुनेछ । कार्यक्रममा करिब ५ हजार दर्शकहरू सहभागी हुने अपेक्षा आयोजकले राखेका छन् ।

सन् २००२ सालमा स्थापना भएको मगर संघ यूकेले बेलायतमा नेपाली गीत, संगीत, कला, संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ । बेलायतमा सबै उमेर समूहका मानिसहरूलाई सहभागी हुन मिल्ने किसिमको खुला मैदानमा आयोजना हुने बृहत सांस्कृतिक कार्यक्रम यो नै एक रहेको आयोजकको दाबी छ ।

कार्यक्रमलाई सफल पार्नका लागि मगर संघ यूकेले आफ्ना १२ वटै शाखाहरूलाई परिचालन गरिएको आयोजकले बताएका छन् । कार्यक्रममा बेलायतको विभिन्न वेल्स, क्याट्रिक, मिडल्याण्डलगायतका स्थानबाट सहभागी हुने बताइएको छ ।

कार्यक्रममा मगर महिला संघ यूकेले राफल ड्र सन्चालन गर्नेछ । राफल ड्रमा २०० पाउन्डदेखि ७०० पाउन्डसम्मको उपहार राखिएका छन् । पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरूको जवाफ कन्सर्टका प्रमुख संयोजक संघका वरिष्ठ उपाध्यक्ष रूद्र थापा र साँस्कृतिक सचिव नुनु पाइजाले जवाफ दिनुभएको थियो ।

पत्रकार सम्मेलनको अध्यक्षता अध्यक्ष लालबहादुर पुन र संचालन महासचिव गोमानसिंह पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री