बेलायतमा नेपाली विद्यार्थी मृत फेला

लन्डन । बेलायतमा नेपाली विद्यार्थी मृत फेला परेका छन् । एकसातादेखि बेपत्ता रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२ का स्थायी बासिन्दा २० वर्षी सुशन ओलीको शव थेम्स नदीमा फेला लन्डन महानगरीय प्रहरीले जनाएको छ । ओली पछिल्लो एक वर्षदेखि बेलायतको कोभेन्ट्री विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्थ्यो । स्रोतका अनुसार उहाँ बिजनेस म्यानेजमेन्ट एन्ड लिडरसीप कोर्समा ब्याचलर्स पढ्न यूके आउनुभएको थियो ।

प्रवास नेपाली सम्पर्क विभाग बेलायतले २९ अप्रिल २०२५ मा प्रेस विज्ञप्ति जारी गर्दै नेपालको रुकुम स्थायी ठेगाना भई कोभेन्ट्री विश्वविद्यालयमा अध्ययनरत सुशन ओलीको निधन भएको पुष्टि भएको जनाएको छ । ‘सुशन ओली करिब २०/२१ वर्षको उमेरका बेलालयतको कोभेन्ट्री युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी थिए र हाल लन्डनको प्लमस्टेड क्षेत्रमा बसोबास गर्दै आएको जानकारीमा आएको छ । सुशन विगत एक सातादेखि बेपत्ता थिए र यस सम्बन्धमा स्थानीय प्रहरीले खोजी तथा अनुसन्धान कार्य अघि बढाएको थियो,’सभापति पवन शर्माले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

ओलीको मृत्युको कारण हालसम्म सार्वजनिक गरिएको छैन तर प्रारम्भिक अनुमान अनुसार यो आत्महत्याको घटना हुनसक्ने उक्त विज्ञप्तिमा उल्लेख छ । यद्यपि घटनाको यथार्थ विवरणका लागि थप अनुसन्धान जारी रहेको जानकारी प्राप्त भएको शर्माको भनाए छ । उहाँले सुशनको निधनको खबरले सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई स्तब्ध र शोकाकुल बनाएको उल्लेख गर्दै नेपालस्थित परिवारलाई आधिकारिक रूपमा जानकारी गराइएको छ र परिवारजन अत्यन्तै पीडित तथा विछिप्त अवस्थामा रहेको समेत उल्लेख गर्नुभएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क विभाग बेलायत यस अकल्पनीय र पीडादायी घटनाबाट मर्माहत भएको जनाउँदै उहाँले यो दुःखको घडीमा रास्वपा प्रवास सम्पर्क विभाग बेलायत, स्वर्गीय सुशन ओलीप्रति क श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ विज्ञप्तिमा छ,’साथै यो दुःखको घडीमा शोकसन्तप्तपरिवारको लागि आवस्यक सहयोग गर्न सम्पर्क विभाग बेलायत तयार रहेको ब्यहोरासमेत जानकारी गराउन चाहन्छौं ।’

यसैबीच, सुशनका बुबा कार्यरत रहेको नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले सुशनको मृत्युको खबरले आफूसहित पालिकाका जनप्रतिनिधि र कर्मचारी स्तब्ध भएको जनाउनुभएको छ । उहाँले मृतात्मको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनासमेत प्रकट गर्नुभएको छ ।

‘पञ्चकन्या गाउँपालिका नुवाकोट पूर्वाधार विकास शाखामा कार्यरत ओभरसियर नवराज ओलीका ज्येष्ठ सुपुत्र बेलायतको राजधानी लन्डनको कोभेन्ट्री युनिभर्सिटीमा अध्ययनरत सुशन ओलीको २० वर्षको उमेरमा अप्रत्याशित मृत्युको खबरले मलगायत पञ्चकन्या गाउँपालिकाभित्रका निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न कार्यलयमा कार्यरत कर्मचारीहरु स्तब्ध भएका छौं । दु:खको यस घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै नवराज ओली सरलगायत शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं,’ अध्यक्ष तामाङ विज्ञप्तिमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री