काठमाडौँ, ८ फागुनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा बिहीबार भएको भेटमा उहाँहरुबीचमा दुई देशबीचको ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको थियो ।
भेटमा ऊर्जामन्त्री खड्काले २०९ वर्ष पुरानो सम्बन्ध रहेको बेलायतले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा युकेएडमार्फत पुर्याउँदै आएको योगदानको उच्च कदर गर्नुभयो । उहाँले बेलायतले नेपाललाई ऊर्जा क्षेत्र सहायता कार्यक्रम, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम, भूकम्पपछिको पुनः स्थापना तथा पुनःनिर्माण सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
भेटमा मन्त्री खड्काले नेपाल सरकारले हालै पारित गरेको ऊर्जा विकास मार्गचित्र, २०८१ ले राखेको विद्युत् उत्पादनको लक्ष्यलाई पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपालका लागि बेलायती राजदूतावासमार्फत सहयोग हुँदै आएको केन्द्रीय नवीकरणीय ऊर्जा कार्यक्रमलाई दुई वर्ष थप गर्न अनुरोध गर्नुभयो । उहाँले नेपालमा नवीकरणीय ऊर्जा र स्वच्छ ऊर्जा सङ्क्रमणको यात्रामा बेलायतको निरन्तर साझेदारीप्रति आभार व्यक्त गर्दै भविष्यमा दुईपक्षीय सहकार्य अझै बलियो हुने आशा व्यक्त गर्नुभयो ।
भेटमा नेपालका लागि बेलायती राजदूत रोबले हालैका केही दिनमा नेपालले ऊर्जा क्षेत्रको विकासमा चालेका कदमहरु सराहनीय रहेको बताउनुभयो । उहाँले नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाका अन्य स्रोतहरुलाई सन्तुलनमा राखेर भइरहेको कार्यले नेपाल मात्र नभई भारतलाई समेत स्वच्छ ऊर्जा उपलब्धतामा महत्वपूर्ण सघाउ पुगेको बताउनुभयो ।
उहाँले आगामी दिनमा बेलायत सरकारले ऊर्जाका अन्य क्षेत्रमा सघाउन लगानी समितिसँग छलफल भइरहेको जानकारी गराउनुभयो ।
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
काठमाडौँमा सुरु भयो नेपाली कांग्रेसको विशेष महाधिवेशन
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन