
गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका दुई सय ७४ नेपाली युवाले प्रस्तुत गर्नुभएको परेड अवलोकन गर्नुभएको छ ।
नेपालको भ्रमणमा रहनुभएका बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले वार्षिक प्रमाणीकरण परेड अवलोकनसँगै उनीहरूका परिवारजनलाई प्रत्यक्ष भेटी विभिन्न जानकारी लिनुभएको थियो । समारोहमा अधिराजकुमार एड्वर्डले भन्नुभयो, “अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजार भन्दा बढीमध्ये केवल दुई सय ७४ नयाँ गोर्खामध्ये तपाइ एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीमध्ये एक रहेको छ । तपाईं आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्नसक्ने अवस्थामा हुनुहुन्छ ।”
समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइलगायतले भर्ती भएका नयाँ सैनिकको प्रमाणीकरणको अवलोकन गर्नुभएको थियो । परेडका अवसरमा ३८ राज्याभिषेक पदक र दुई दीर्घ सेवा तथा असल आचरण पदक पनि प्रदान गरिएको थियो ।
सफल हुने दुई सय ७४ प्रशिक्षार्थी एक वर्षको छनोट प्रक्रियापछि बेलायती सेनामा सामेल हुँदैछन् । उनीहरू बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुग्नेछन्, जहाँ उनीहरूले नौ महिना लामो प्रशिक्षणमा सहभागी हुने कार्यक्रममा जानकारी दिइयो ।
पोखरामा बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले गोर्खा वेल्फेयर ट्रस्ट (जिडब्लुटी) एरिया वेल्फेयर केन्द्र (एडब्लुसी)मार्फत बेलायती सेनामा काम गरेकालाई नेपालमा कसरी साथसहयोग उपलब्ध गराइएको छ, भन्ने कुराको पनि प्रत्यक्ष अवलोकन गर्नुभयो । उहाँहरूले जिडब्लुटीको आवासीय गृहले गरिरहेको काम अवलोकन गर्नुभएको थियो । यहाँ २० जना सबैभन्दा कमजोर अवस्थामा रहेका भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका विधवाहरूलाई आवास र अन्य सहयोग उपलब्ध गराइएको छ ।
बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफी नेपालमा कदुरी कृषि सहायता सङ्घ (केएएए) को कामको बारेमा पनि जानकारी लिनुभएको थियो । आवासीय गृहको भ्रमणका क्रममा अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले १०४ वर्षीया आशाकुमारी तामाङलाई भेट्नुभयो । तामाङका स्वर्गीय श्रीमान्ले दोस्रो विश्वयुद्धमा चौथो गोर्खा राइफल्समा आवद्ध भई सेवा गर्नुुभएको थियो । आशा कुमारी सन् २०११ देखि सो आवासीय गृहमा बस्दै आउनुभएको छ । कार्यक्रममा उहाँले बेलायती सेनामा छनोट भएका सैनिकहरूसँग सामूहिक तस्बिर पनि खिचाउनुभएको थियो ।
गोर्खा वेल्फेयर ट्रस्ट भूपु गोर्खा सैनिक, उनीहरूका परिवार र समुदायलाई सहयोग गर्न समर्पित अग्रणी परोपकारी संस्था हो । यसको स्थापना सन् १९६९ मा कल्याणकारी पेन्सनधारीहरू (एमओडी पेन्सनका लागि योग्य हुनु अगावै बेलायती सेना छोडेका)लाई आर्थिक सहायता प्रदान गर्नका लागि भएको थियो । ट्रस्टले नेपालभर उल्लेखनीय प्रभाव पारेको र प्रत्येक वर्ष वभिन्न कार्यमा खर्च समेत गर्दै आएको बताइएको छ ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित