
भक्तपुर । नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीले आज भक्तपुर अस्पतालको अवलोकन गर्नुभएको छ । उहाँले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को अवलोकन गर्नुभएको हो ।
अवलोकनका क्रममा अधिराजकुमारी सोफीले प्रसूति सेवाबारे विस्तुत रूपमा जानकारी लिनुभएको थियो । उहाँले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था, उपचार विधिलगायत विविध पक्षका बारेमा जानकारी दिनुभएको थियो ।
प्रसूति कक्षमा भर्ना भएका नवजात शिशुलाई बोकेर उहाँले अस्पतालले दिएको सेवा प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । यौन दुव्र्यवहार र हिंसामा परेका महिलाका बारेमा चासो लिँदै उहाँले हिंसा पीडित महिलाको व्यवस्थापन, पारिवारिक मिलन, सामाजिक पुनःस्थापनालगायत पक्षका बारेमा छलफल गर्नुभएको थियो ।
अधिराजकुमारी सोफीले बिना पारिश्रमिक महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याइरहेको योगदानको प्रसंशा गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा अस्पतालले दिँदै आएको सेवा र योगदानप्रति खुसी व्यक्त गर्नुभयो । प्रसूति सेवामा भएको विकास र अस्पतालले प्रयोगमा ल्याएको आधुनिक प्रविधि र उपकरणका बारेमा जिज्ञासा राख्नुका साथै अधिराजकुमारी सोफीले बेलायत सरकारको सहयोगमा निर्माण भएको नयाँ भवन र स्तरोन्नति ‘रेक्टोफिटिङ्ग’ गरिएको भवनको समेत अवलोकन गर्नुभयो ।
अवलोकनपछि छलफलका क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका १३ वटै अस्पतालमा प्रसूति कक्षलाई आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचनाका लागि काम भइरहेको बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले भक्तपुर अस्पतालले भक्तपुरका मात्रै नभई पूर्वदेखिका बिरामीलाई सेवा दिइरहेको बताउँदै अस्पतालले एमआरआई, सिटी स्क्यान, डायलोसिस उपकरण सञ्चालनमा ल्याउन सके उपचारमा सहजता हुने बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टले सोफीलाई अस्पतालले प्रजनन् स्वास्थ्यमा पुर्याउँदै आएको सेवा र अवस्थाका बारेमा जानकारी दिनुभयो । उहाँले यौन तथा लैङ्गिक हिंसामा परेका महिलाको स्वास्थ्य परीक्षण र उपचार गरी सुरक्षित घर (सेभहाउस) मा पठाउने, मनोपरामर्श दिने, परिवार र समाजमा पुनःस्थापना गराउनेलगायत कार्य गर्दै आएको बताउनुभयो ।
अधिराजकुमारी सोफीले भक्तपुर अस्पतालको सेवाका बारेमा जानकारी लिँदै बिरामीसँग कुराकानी गर्नुभयो । सोफीसँगै बेलायत राजदूतावासका स्वास्थ्य सल्लाहकार डिएगो मोरोसो, दूतावासका समन्वयकर्ता दीपक कार्कीलगायत टोलीले अस्पतालको अवलोकन गर्नुभएकोछ ।
यसैबीच अधिराजकुमारी डचेस सोफी आजै कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ जानु भई अस्पतालबाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटघाट गर्नुभएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले विसं २०७४ देखि सेवा सुरुआत गरेको थियो । अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’का सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ ।
अधिराजकुमारी सोफी ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)’ को ‘ग्लोबल एम्बेस्डर’ (विश्व सद्भावनादूत) हुनुहुन्छ । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र अधिराजकुमारी डचेस सोफी मंगलबार नेपाल भ्रमणका आउनुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा