
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको छ । पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षको अवधिमा सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको हो । योसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि हालसम्म आठौँ पटक अन्तर्राष्ट्रिय उडान भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा सुवेदीका अनुसार सिचुवान एयरलाइन्सको एयरबस ३१९ विमान एक सय २० यात्रुसहित बिहीबार दिउँसो २ बजे पोखरा अवतरण गरेर ३ बजेर ४० मिनेटमा चीनको कुनमिङ उडेको थियो । यद्यपि, यो विमानस्थलमा विभिन्न चार्टर्ड उडान भएपनि अहिलेसम्म व्यावसायिक नियमित उडान हुनसकेको छैन ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ पुस १७ गते उद्घाटन गरिएको थियो । विसं २०८० असार ६ गते सिचुवान एयरलाइन्सले पोखरामा पहिलो चार्टर्ड उडान गरेको थियो । उक्त एयरलाइन्सले १७ महिनापछि आज दोस्रो उडान भरेको हो ।
खेलकुदका माध्यमबाट नेपाल र छिमेकी मुलुक चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पर्यटकीय राजधानी पोखरामा यही कात्तिक २४ गतेदेखि हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत पोखरा आएका हुन् । ‘साझा समृद्धिका लागि दौड’को नारासहित हुने प्रतियोगितामा नेपाल र छिमेकी मुलक चीनका खेलाडीले प्रतिस्पर्धा जनाउने छन् ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका दौडको आयोजक रहेका छन् । हिमालयन टुरिज्जम फोरमले कार्यान्वयन गर्ने उक्त प्रतियोगिता यही कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । नेपालस्थित चिनियाँ दूतावास, चीनको युनान प्रान्तीय खेलकुद ब्युरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय, सिल्क रोड सिटिज एलायन्सजस्ता संस्थाहरुले प्रतियोगितालाई सघाउने बताइएको छ ।
प्रतियोगिताका लागि चिनियाँ खेलाडी आज चीनको कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडानबाट आएको प्रतियोगिताको आयोजक हिमालय टुरिजम फोरमले जनाएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा