
लण्डन । पूर्व गोर्खा तथा साहित्यकार काङमाङ नरेश राईको पछिल्लो कृति ‘पानी पतिया’माथि बेलायतमा विमर्श गरिएको छ ।
गोर्खा भूतपूर्व सैनिक संघ गेसोले शनिबार अल्डरसटस्थित कार्यालयमा आयोजना गरेको कार्यक्रममा गोर्खाहरूले सेवाकालमा पल्टन घरभित्र भोग्नुपरेको धार्मिक तथा साँस्कृतिक विभेदको पोको खाले ।
कार्यक्रममका सभापति गेसोका उपसभापति धर्मबहादुर तामाङले सन् १९८० मा भर्ती भएर हङकङ जानासाथ भोग्नुपरेको विभेद सुनाए । उनले भने-
”हङकङमा त्यतिबेला हरेक शुक्रबार सुँगुरको मासु पकाएर मेसिङ खाने चलन रहेछ । मेरो त घरमा कुलपितृका कारण सुँगुर नचल्ने । सुँगुर छुन नहुने । गुरुजीहरूले सुँगुरको मासु र झोल खानैपर्ने भन्नुभयो । ‘मासु नखाए कमजोर हुन्छ । दौड्न सकिन्न’ भन्नुभयो । मैले ‘सुँगुरको मासु नखाए पनि धरानबाट १२ पाथी नून बोकेर भोजपुर घर गएकै हो’ भनेँ । मैले दाल तरकारीसित भात खाएँ । सुँगुरको मासु खाइनँ । मेरो घरमा श्रीमती दुई जीउकी थिइन् । भोलि म बाउ हुनुपर्छ, बाजे हुनुपर्छ । सुँगुरको मासु खाएपछि कसरी घरभित्र पस्ने भन्ने चिन्ता लाग्यो । मैले ‘सुँगुरको मासु खानुपर्छ भने म घर फर्कन्छु’ भनेँ । त्यसपछि गुरुजीले मलाई ‘त्यसो भए तँलाई दिइएको सामान बेच्नुपर्छ । सामान बेचिस् भने घर जान पाउँछस्’ भन्नुभयो । मलाई ‘सामानको भारी बोक्’ भन्नुभयो । अनि दैलो दैलोमा गएर ‘गुरुजी म त घर फर्कन लागेको मेरो लुगा किन्नुहुन्छ’ भन्न लगायो । सबैले गाली गरेर फर्काए । सामान बेच्न सकिनँ । म त घर फर्कन तयार थिएँ । तर आज पनि फर्काउँदैन । भोलि पनि फर्काउँदैन ।
छ महिनापछि घाँटीमा लगाउने परिचय पत्र भएको डिस्क आयो । त्यसमा सबैको ‘एच’ लेखिएको थियो मेरो भने ‘बी’ लेखिएको थियो । मेरो कमाण्डर जीतबहादुर गुरुङले ‘साले बुद्धिष्ट लेख्ने, ल टाउको तल खुट्टा माथि गर्’ भन्नुभयो । मलाई केही थाहा छैन । पछि विचार गर्दा मलाई धरानमा भर्ती हुँदा एक जना दार्जिलिङका पासाङ भन्ने तामाङले मलाई ‘के तामाङ हो, कुन धर्म मान्छ’ भनेर सोधेका थिए । बुद्धिष्ट लेख्दा भर्ती नहुने भए मैले पनि हिन्दू नै लेख्थेँ होला । उनैले मेरो धर्म बुद्धिष्ट लेखिदिएका रहेछन् ।
म बुद्धिष्टलाई पल्टनमा दशैँको बेला मन्दिरमा पुजारी बनाइयो । आफैँले मार नहाने पनि अरूले मार हान्दा बोकाको खुट्टा त समाउनै पर्ने भयो । त्यसदिन रातभरि सुत्न सकिनँ । पण्डितलाई गएर आफ्नो समस्या भनेँ । उनले ‘पुजारी कमाण्डरलाई भन्नु’ भने । पुजारी कमाण्डर मेखबहादुर गुरुङलाई भनेँ । उनले ‘अह्राएको काम नमान्ने हो भने त सजायँ भोग्नुपर्छ केटा । तँलाई फिर्ता पठाउनुपर्छ’ भने । म फिर्ता जान तयार नै थिएँ तर पुजारी कमाण्डर र पण्डितबीच के सल्लाह भयो कुन्नि मलाई मार हान्न नलगाई मन्दिरभित्र फलफूल स्याहार्ने जिम्मा दिइयो ।
पल्टनको मन्दिरमा टीका लगाउने चलन पनि फरक रहेछ । हामी ससानो हुँदा गाउँघरमा त टीका लगाएपछि पैसा पाइन्थ्यो तर पल्टनमा टीका लगाएपछि पण्डितलाई पैसा दिनु पर्नेरहेछ ।”
कार्यक्रम सन्चालक तथा गेसोका महासचिव नरहाङ राईले पनि गोर्खा सैन्य छँदा भोग्नुपरेको धार्मिक तथा साँस्कृतिक विभेदको छोटो अनुभव सुनाए । उनले भने-
”म किरात धर्म मान्ने मान्छे । पल्टनमा मलाई जबरजस्ती पुजारी बनाएर पठाइयो । मलाई मन्दिरभित्र सरसफाई गर्न लगाइयो । सरसफाई गर्दागर्दै पण्डितसित गफ हुन थाल्यो । ‘घर कता हो’ भनेर सोधेँ । उनले ‘पूर्व हो’ भने । मलाई पनि ‘घर कता हो, के जात हो’ भनेर सोधे । मैले उनलाई ढाटेँ र ‘मेरो घर पाल्पा हो म नेपाली हुँ’ भनेँ । उनले पनि ‘हामी सबै नेपाली हौँ’ भने । मैले ‘म लेख्दा नेपाली लेख्छु तर परियार हुँ’ भने । त्यसपछि एक शब्द नबोली पण्डित बाहिर निस्के । उनी त सिनियर एसक्यूजी बालकृष्ण राईकहाँ पुगेछन् । उनले ‘एक जना पानी नचल्ने नानीलाई मन्दिरमा पठाइएको र यसपटकको पूजा राम्रो नहुने’ बताएछन् । त्यसपछि बालकृष्ण राईसमेत मन्दिरमा आए । राईले मलाई राम्रोसँग चिन्थे । उनले ‘मलाई पण्डितलाई के भन्यौ’ भनेर सोधे मैले ‘केही भनेको छैन सामान्य परिचय हुँदैथियो’ भनेँ । त्यसपछि राईले ‘यो केटो परियार होइन म उसलाई राम्रोसित चिन्छु बाजे’ भन्दा पनि पण्डितले पत्याएनन् र मलाई त्यसपछि मन्दिरमा पस्नै दिएनन् ।
पुस्तकका लेखक काङमाङ नरेश राईले ‘गोरक्षक’ शब्दबाट ‘गोर्खा’ शब्द बनेको प्रसंग उठाउँदै आफ्नो सँस्कारमा गाईको मासु ‘पीत्मासा’ खानुपर्ने उल्लेख भए पनि गोर्खा सैनिक भएपछि गाईको रक्षक हुनुपरेको बताए । गाईको खास रक्षा गर्ने क्षेत्री-बाहुनहरू चाहिँ नेपालमै रहेको र आफू चाहिँ गोरखा भएपछि गाईको रक्षक बन्न पुगेको विरोधाभास उनले उल्लेख गरे ।
कालो सागर (ब्ल्याक सी) कटेर नेपाल फर्केका गोर्खाहरूलाई पन्चगब्यले १५ दिनसम्म नुहाएर तोकिएको खानापछि शुद्ध हुने प्रक्रियालाई ‘पानी पतिया’ भनिन्थ्यो । गैरहिन्दू सँस्कार भएका आदिवासी जनजाति मूलका गोर्खाहरूलाई नेपाल र बेलायत सरकारले जबरजस्ती हिन्दूकरण गराएको उनको जिकिर छ ।
पुस्तकमा गोरखा भर्तीको वास्तविकता, बेलायत नेपाल सम्बन्ध, युद्धकथा, आदिवासी गोर्खा सैनिक र अटुट हिन्दुकरण, नेपाललाई रोयल्टी, युद्धबाट फर्किएकाहरु, गोर्खा सैनिक: हेराई र हालत, मापदण्डविपरीत भर्ती, गोर्खा आन्दोलनको चुरो कुरो, गोर्खा आन्दोलन आमरण अनसनसम्म, भूपू गोर्खा संगठनहरूको नालीबेली, नेपालमा लाहुरेको योगदान, हारेको कथा राष्ट्रिय व्यथा, भीसी तुलबहादुर पुन रेल शीर्षकमा निबन्धहरू समेटिएका छन् ।
कार्यक्रममा काङमाङको पुस्तकमाथि डा मूलीवीर राई र नरेश खपाङ्गीमगरले चर्चा गरेका थिए ।
गेसोका उपसभापति हेमबहादुर तामाङले स्वागत मन्तब्य दिएका थिए भने ९७ वर्षीय वयोवृद्ध गोरखा लालबहादुर पुनले लेखक र टीप्पणीकारहरूलाई खादा लगाई आशिर्वाद दिएका थिए ।
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन