इन्टेक १९९९ ले मनायो रजतजयन्ती

लण्डन । सन् १९९९ मा बेलायती सेनामा भर्ती भएका गोरखा सैनिकहरू (इन्टेक १९९९) ले बेलायती सेनामा भर्ती भएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाएका छन् ।
२५ मे शनिबारका दिन आस्कोट रेसकोर्सको मुख्य हल द पाभिलियन हलमा आयोजित सो कार्यक्रममा इन्टेक १९९९ मा भर्ती हुने गोर्खालीहरु र उनका परिवारले एकआपसमा शुभकामना र बधाई साटासाट गर्दै खुशियाली मनाए ।
सन् १९९९ सालको जनवरी २१ तारिखमा हजारौं प्रतिष्पर्धीबीचबाट २३० जना अन्तिम चरणमा छानिएर भर्ती भएका थिए । २५ सौं वर्ष गाँठलाई भब्य रुपमा मनाउने सहमतिअनुसार मिति र स्थानको छनौट पछी यो वर्षको कार्यक्रम आयोजक सेकेण्ड गोर्खा राइफल्सका तर्फबाट सदस्य नवल राईको संयोजकत्वमा कार्यक्रम स्थल सुन्दररूपमा सजावट गरिएको थियो ।
कार्यक्रम हलसम्म पाइपरले पाइपको धुन बजाउँदै इन्टेक ९९ र परिवारलाई सम्मानका साथ रातो कार्पेटबाट हल प्रवेश गराइएको थियो । सहभागीहरुलाई आयोजक युनिटले पच्चीसौं वर्षगाँठको लोगो भएको खादा र ब्रोच लगाउँदै स्वागत गरेको थियो । कार्यक्रम संयोजक नवल राईले स्वास्थ्य सुरक्षा सम्बन्धी जानकारी दिनु भए पछि श्रीमती शर्मिला राईले सम्पूर्ण श्रीमतीहरुको प्रतिनिधित्व गर्दै इन्टेक ९९ का सदस्यहरुलाई कार्यक्रममा स्वागत र २५ सौं वर्षको रजत जयन्तीको अवसरमा सम्पूर्णलाई बधाई अनि शुभकामना दिनु भएको थियो ।
अफगानिस्तानमा लडाइँका बेला विद्रोहीहरुले थापेको धरापमा अचानक टेक्दा बिष्फोटनमा परेर घुँडामाथि दुवै खुट्टा गुमाउनुभएका हरि बुढा मगरले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेर विश्व किर्तिमानी राख्न सफल हुनु भएको र इन्टेक ९९ को नाम राख्न सफल हुनु भएकाले उहाँलाई इन्टेक ९९ का तर्फबाट बधाईसहित सम्मान गरिएको थियो । इन्टेक ९९ का याम गुरुङ् र अर्का एकजना नम्बरी (उहाँ अहिले स्पेसल एयर सर्भिसमा कार्यरत हुनु भएकाले नाम गोप्य राखिएको ) ले गोर्खालीहरुको टोलीमा सहभागी भएर गोर्खा भर्तीको २०० वर्षको वर्षगाँठको उपलक्ष्यमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसक्नु भएको छ ।


गोर्खाली खुकुरीले इन्टेक ९९ को विशेष केक संयुक्त रुपमा काटेर पच्चीसौं वर्षगाँठको खुशी साट्दै सहभागीहरुले एक अर्कालाई बधाई र शुभकामना दिनु भएको थियो । आस्कोट रेसकोर्सको स्टेडियममा बसेर सहभागी सबैको ग्रुप फोटो सेसनपश्चात सेवा प्रदान गर्नु हुने फोटोग्राफर मोहनसिङ तामाङ् (पूर्व गोर्खा) र उहाँको टिम, खाना र पेय उपलब्ध गराउनु हुने ओजोन रेस्टुरेन्टका संचालक आनन्द देवान राई (पूर्व गोर्खा), साजसज्जा गर्नुहुने स्काई इभेन्ट्स प्लानर, कार्यक्रममा नृत्य गर्ने छोराछोरीहरु, साउण्ड, डिजे र ब्याण्ड अनि बारटेण्डर सबैलाई आभार पत्र र नगद उपहार दिएर धन्यवादसहित सम्मान गरिएको थियो । अधिकांश इन्टेक ९९ का सदस्यहरु ब्रिटिश सेनाको सेवाबाट अवकाश पाइसक्नु भएको भए पनि एक दर्जन बढी अधिकृत र केही अन्य सकल र अरु दर्जामा पदोन्नति हुनु भएका गरी झन्डै दुई दर्जन बढी सदस्यहरु अझै सैन्य सेवामा कार्यरत हुनुहुन्छ । प्राय सबै अधिकृतहरुले महत्वपूर्ण भूमिका र जिम्मेवारी सम्हालिरहनु भएको छ त्यसमध्ये हाल दुईजना अधिकृतहरु क्याप्टेन लाख बहादुर गुरुङ र क्याप्टेन विवेकजंग शाह (एमबीई) युकेका राजाका विशेष गोर्खाली अर्दली अफिसरका रुपमा कार्यरत हुनुहुन्छ । इन्टेक १९९९ मा भर्ती भएका गोर्खालीहरुले सैनिक क्रमसंख्या २११६९९६२ देखि २११७०१९१ सम्म थियो । यसमध्ये एक जना सदस्य युवराज राईको अफगानिस्तानको लडाइँमा निधन भएको छ भने एक जनाको सडक दुर्घट्ना, एक जनाको आगलागी र अर्को एक जनाको अन्यकारणबाट दु:खद निधन भएको छ ।
यो इन्टेकका सदस्यहरुले ईराक, बोस्निया, कोसोभो (बाल्कन्स), सियरालिओन, अफगानिस्तान लगायतका देशमा युद्ध र शान्ति स्थापनार्थ शान्ति सेनाका रुपमा तथा लडाईं गर्न ब्रिटिश सेनाका तर्फबाट प्रतिनिधित्व गर्दै तैनाथ भएर सेवा गरेका थिए भने विश्वका धेरै देशहरुमा सैन्य तालिमका सिलसिलामा पुगेर तालिम सम्पन्न गरेका थिए । इन्टेकका धेरै सदस्यहरुले उच्च सैनिक सम्मानका पदक र तक्मा साथै धेरै किर्तिमान कायम गर्न सफल हुनु भएको छ ।

२५ सौं रजतजयन्तीका क्रममा भर्ती भएदेखि अहिले सम्मको उपलब्धि, सहयात्रा, तीतामीठा सम्झनाको रुपमा आयोजकका तर्फबाट फोटोहरुको स्लाइड सो आस्कोट रेसकोर्सको मुख्य ठूलो स्क्रिन र कार्यक्रम हल लगायत अन्य स्टलहरुमा उपलब्ध दुई दर्जन बढी स्क्रिनहरुमा लगातार प्रदर्शन गरिएको थियो ।
आगामी वर्षको वार्षिक कार्यक्रम आयोजक युनिट क्विन्स गोर्खा इन्जिनियरका संयोजकलाई कार्यक्रम गर्ने जिम्मेवारी हस्तान्तरण गर्दै आउने वर्षको कार्यक्रम झन् भब्य रुपमा हुने अपेक्षा रहेको जानकारी दिंदै ब्याण्ड र डिजेको सांगीतिक प्रस्तुतिमा इन्टेक ९९ का सदस्यहरुले दिउँसो दुई बजेदेखि मध्यरातसम्म खुशियाली साट्नु भएको थियो । मौसमले पनि अत्यन्तै राम्रो साथ दिएकाले कार्यक्रम झनै रमाइलो भएको थियो । कार्यक्रम अत्यन्तै भब्य र सानदार तरिकाले आयोजना गरिएकोमा आयोजक युनिट टु आर जी आर र कार्यक्रम संयोजक नवल राईप्रति इन्टेक ९९ का सहभागी सदस्यहरुले बधाई र धन्यवाद दिएका थिए ।


फोटोहरु: मोहन सिङ तामाङ र भूमिराज राई

प्रतिक्रिया

सम्बन्धित सामाग्री