गाहामगरले परराष्ट्र मन्त्रीसमक्ष उठाए वंशजको नागरिकताको निरन्तरता

लन्डन । नेपाल भ्रमणमा रहेका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी वंशजको नेपाली नागरिकताको निरन्तरताका लागि माग गरेका छन् ।

आइतबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा गाहामगरले नागरिकताको निरन्तरताका लागि एक ज्ञापन पत्र बुझाएका छन् ।

यसअघि पनि गाहामगर सोही माग बोकेर परराष्ट्र मन्त्रालय पुगेका थिए अहिले झण्डै ६ महिनापछि उनी उही विषयको ज्ञापनपत्र लिएर परराष्ट्र मन्त्रालय पुगेका हुन् । 

परराष्ट्रमन्त्री श्रेष्ठसंगको भेटमा गाहामगरले बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरुबीच यही मार्च २७ मा लन्डनमा हुन लागेको त्रिपक्षीय वार्तामा नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रीस्तरीय सहभागिताका लागि पनि अनुरोध गरेका छन् । 

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतसमक्ष गोर्खा माग सम्बन्धमा जति सशक्त रुपमा अडान राख्नु पर्ने हो त्यो नहुँदा भूतपूर्व गोर्खा दाजुभाइहरुमा निकै नैराश्यता छाएको दावी गर्दै गाहामगरले आफ्नो अनुरोधलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका छन् ।

ज्ञापन पत्रमार्फत गैरआवासीय नेपाली संघ यूकेले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुलाई सधैंकालागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न गैरआवासीय नेपाली संघ यूकेले माग गरेको छ ।

नेपालको संविधान २०७२ को दफा १४ मा नेपाली नागरिक सरह सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न थालिएको स्मरण गराइरहनु परेन, ज्ञापनपत्रमा भनिएको छ, तर, नेपाल नागरिकता ऐन, २०६३ मा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकता व्यवस्था गरेपनि यो व्यवस्थाले पहिले नै प्राप्त नेपाली नागरिकताको निरन्तरता गरेको छैन । ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने मूल मर्मलाई सम्बोधन गरेको छैन ।

गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन संघले माग गरेको छ ।

ब्रिटिश गोर्खाहरु सन् १९४७ मा नेपालले गरेको सन्धि अनुसार नै बेलायत, सिंगापुर र हङकङमा सेवा गर्न गएको तथ्य स्मरण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै ज्ञापन पत्रमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को उपदफा १ ले गोर्खा सैनिक तथा उनीहरुको परिवारको वंशजको नागरिकता खोसेकाले त्यसलाई कायम गर्न माग गरिएको छ ।

‘गोर्खा सैनिक तथा उनीहरुको परिवार तथा विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरी सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न, गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकताको निरन्तरता हुने गरी कानून संशोधन गर्न एनआरएनए यूके नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ’, ज्ञापनपत्रमा भनिएको छ ।

एनआरएनए यूकेले एकमात्र एजेण्डा ‘वंशजको नेपाली नागरिकताको निरन्तरता’ बोकेर अगाडि बढेको विषय स्मरण गराउंदै नेपाल सरकारले वंशजको नेपाली नागरिकताको निरन्तरताको मागलाई वेवास्ता गरेमा वंशजका नेपाली नागरिक तथा उनीहरुका सन्ततिको अधिकार रक्षाका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रचनात्मक तथा दबावमूलक आन्दोलन गर्न एनआरएनए यूके बाध्य हुने चेतावनी पनि ज्ञापनमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री