बेलायतमा संसदबाट सन्यास लिने सांसदको संख्या बढ्दै

लण्डन । बेलायतमा जनताबाट प्रत्यक्ष निर्वाचित हुने संसद हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने सांसदहरुले आगामी निर्वाचनमा उम्मेदवार नहुने घोषणा गर्ने क्रम बढ्दो छ ।
मंगलबार मात्र पूर्व अर्थ मन्त्री क्वाजी क्वाटेङले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने जानकारी दिएका छन् ।
इन्स्टिच्यूट फर गभर्नमेण्टका अनुसार फेब्रुअरी ६ तारिखसम्ममा ८८ जना वर्तमान संसदका सदस्यहरुले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । यो संख्या विगत (२०१९) को आमनिर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नेहरुको दाँजोमा निक्कै बढी छ । सन् २०१९ को निर्वाचनमा ७४ जना तत्कालिन सांसद उम्मेदवार बनेका थिएनन् ।
हालसम्म संसदबाट सन्यासको घोषणा गर्ने सांसदहरुमा पार्टीगत तवरले विश्लेषण गर्दा सत्तारुढ कञ्जरभेटिभ पार्टीका धेरै छन् । हालसम्म कञ्जरभेटिभका ५५ सांसदले राजनीति छाड्ने बताएका छन् । यस्तै प्रमुख प्रतिपक्षी लेबोरका १६, स्कटिश न्याशनालिष्ट पार्टीका ९, स्वतन्त्र ६ र साना दुई दलका एक÷एक जना छन् ।
इन्स्टिच्यूट फर गभर्नमेण्टका अनुसार धेरै लामो समयदेखि सांसद रहेकाहरुले सेवाबाट अवकास लिने, व्यक्तिगत कारणले राजनीति त्याग गर्ने आदि कारणले सांसदहरुले हरेक चुनावमा नउठ्ने घोषणा गर्ने गरेका छन् । तर सन् २०२४ मा बेलायतमा हुने निर्वाचनमा भने ऐतिहासिक रुपले ठूलो संख्यामा वर्तमान सांसदहरुले नदोहोरिने आशय व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री