
काठमाडौँ । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता तथा निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । तर, पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’चलचित्र तयार पार्नुभएको छ ।
आगामी फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । नेपालमा प्रदर्शन गर्नु अगाडि नै बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्ड पहिलो प्रदर्शनी (प्रिमियर) गरेर अन्तर्राष्ट्रियरुपमा समेत चर्चामा रहेको चलचित्रलाई निर्माण गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले बताउनुभयो ।
“मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रुपमा सैनिकले लड्ने युद्धलाई देखाएको छु । सन् १९४९ को समयलाई पर्दामा देखाउनु सहज थिएन । यसका लागि मैले छायाङ्कनमा तीन वर्षको समय खर्चेको छु । तयारी त एकदशक अगाडिदेखि कै हो”, निर्देशक चाम्सले भन्नुभयो, “हामीले उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरेका छौँ । यो चलचित्रले हाम्रो वीरतालाई देखाउनुका साथै विश्वमा नेपाली चलचित्रको महत्वलाई दर्शाउने छ ।”
चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट हुनु सम्पूर्ण नेपाली चलचित्रकर्मीका लागि गौरवको विषय रहेको निर्देशक चाम्सले बताउनुभयो । “गोर्खालीको विषयमा चलचित्र बनेको भन्ने थाहा पाएपछि हामीले पाएको सम्मान र तारिफलाई शब्दमा व्यक्त गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।
अब नेपाली चलचित्रकर्मीले वीरता र इतिहासको कथालाई पर्दामा ल्याउन ढिलाइ गर्न नहुनेमा निर्देशक चाम्सले जोड दिनुभयो । यसमा मुख्य भूमिका निर्वाह गर्नुभएका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुनुहुन्छ । उहाँले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षासमेत लिनुभयो ।
“मैले युद्धको क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु । चलचित्र हेर्नुभएका गोर्खा सैनिकले मलाई दिएको प्रतिक्रियाले झनै उत्साहित छु । पुनः सैनिक जीवनमा फर्कने मौका पाएँ”, अभिनेता चाम्सले भन्नुभयो । चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता