मृतक हिँडिरहेको शहर भ्यानकुभर -३

साधारणतया जोम्बीज भनेको हुने नहुने कुरो खाएर वा आफ्नो शरीरमा प्रयोग गरेर मरेका मानिसहरु जस्तै हुन् । तर एकपटक मरेर पुनः जीवित भएका ती जोम्बीजहरुको दुर्भाग्यवश दिमाग सबै खाली भएका जस्तै हुने रहेछ । त्यसैले उनीहरु जीवित भएपनि मज्जाले बोल्न, चल्न र हिँड्न नसक्ने रहेछन् ।   

मलाई के कुरोको पनि ज्ञान भयो भने उनीहरु धेरैजसोले ओपियड परिवारको लागूपदार्थहरुको प्रयोग गर्ने रहेछन् । तिनीहरु भनेका यस्तै हेरोइन, मेथाडोन, मोर्फिन र फेन्टानालहरु हुन् । मलाई उक्त्त पदार्थहरुको विषयमा केही ज्ञान थिएन । तर मैले गुगलदेखि के जानेँ भने फेन्टानल हेरोइनभन्दा करिब करिब ४० गुणा बढी शक्त्तिशाली र मर्फिनभन्दा सय गुणा शक्त्तिशाली हुने रहेछ । जुन निश्चेतनाको लागि अथवा निन्द्रा लगाउन वा क्षणिक पीडा हटाउनको लागि प्रयोग गर्ने गरिन्छ । अझै सबैभन्दा बढी त क्यान्सर वा यस्तै दीर्घकालिन रोगको दुखाइ कम गर्नको लागि पनि यसको प्रयोग हुने रहेछ ।

सन् १९२६ मा बेल्जियममा जन्मेका डा पौल जोन्सनले सन् १९५९ मा फेन्टानालको अविष्कार गरेका हुन् । उनले खोलेका जोन्सन र जोन्सन कम्पनी अमेरिकाले कोरोना भाइरस (कोभिड १९) को विरुद्ध खोप पनि निकालेको थियो ।

तर मैले त्यति गुगल गरिसकेपछि मलाई यहाँ के कुरो आश्चार्य लाग्छ भने सन् १९९० मा म खाडी युद्धमा भाग लिनको लागि त्यहाँ गएको थिएँ । त्यति ठूल्ठूला युद्ध हुँदा योद्धा घाइते हुनु एकदम स्वभाविकै नै ठानिन्छ । युद्धको क्रममा कतिपय योध्दाहरुको हात काटिन्छन्, खुट्टा भाँचिन्छन्, टाउको फुटछन् र शरीरका विभिन्न भागहरुमा चोट परेर अङ्गभङ्ग हुन्छन् । हो, त्यस्तो घटना घटेको बेला दुखाइ कम गर्नको लागि मोर्फिन दिनुपर्छ भनेर हामी सबैजनाले तीन/तीन वटा मर्फिन २४सै घण्टा बोकेर हिड्नु पर्थ्यो । तर मलाई त्यसबेला के कुराको ज्ञान थिएन रहेछ भने जाबो त्यो मोर्फिन भन्ने चिज त फेन्टानालभन्दा लगभग सय गुणा कम शक्तिशाली हुने रहेछभन्दा म तीन छक्क परें ।

फेन्टानाल सम्बन्धी सडक किनारमा थोरै अध्ययन गर्दैगर्दा हामी ग्याँस टाउनमा पुगिसकेका हुन्छौं । त्यहाँ पुगेपछि यस टाउनको नामकरण पनि अचम्म तरिकाले भएको एक झमट स्मरण गर्छु । योर्कशायर उत्तर इङ्गल्याण्डदेखि एउटा पानीजहाज चढेर सन् १८६७ मा ग्यास्सी ज्याक डेइटन यहाँ आइपुगेका थिए । यहाँ आएर अन्य कुनै उपाय नफुरेपछि उनले सबैभन्दा पहिले एउटा केस काटने हेयर सलुन खोले । ग्यास्सी यिनै स्थानमा बस्ने भएको हुनाले यस टाउनलाई ग्यास्सी भन्दाभन्दै अन्तत ग्यास टाउन भन्न थालिएको हो ।

हामी ग्यास टाउनमा छिरेपछि सिधै बाफबाट चल्ने घडी (स्टिम क्लक) भएको स्थानमा पुग्छौं । किनभने यो ग्यास टाउनको प्रमुख पर्यटकीय स्थल पनि हो । त्यस स्थानमा हामी पुग्दा करिब ४०-४५ जना जति पर्यटकहरु हामीभन्दा अगाडी यहाँ आइपुगेका हुन्छन् । त्यसबेला उनीहरुले एक अर्कामा हाँसीखुसी तस्वीर लिइरहेको रमाइलो दृश्य हामी देख्न सक्छौं । अब हामी पनि के कम छौं र ? त्यहाँ पुग्ने बितिक्कै उनीहरु जस्तै तँछाडमछाड गर्दै स्टिम क्लकलाई परिदृश्यमा राखेर तस्वीर लिन थाल्छौं । तर सडक किनारमा अवस्थित त्यो घडीलाई नजर नगाउन धेरै समय नलागेपछि ताराले सानो श्वरमा सोध्छिन्

“यहाँ फोटो त खिच्नै खिचियो । तर खासमा खास यस्को कथा चाहिँ के हो नि ?”

“लौ सुन ! यसको रामकहानी यस्तो छ । ग्यास टाउनको वाफबाट चल्ने घडीको डिजाइन रेमण्ड साउन्डरले सन् १९७७ मा गरेका हुन् । उनले सबैभन्दा पहिले यहाँ मानिसहरुको मनोरन्जनको लागि यस्तो घडीको निर्माण गरेका थिए । वास्तवमा यो घडी बाफबाट चल्दै चल्दैन । मलाई जहाँसम्म लाग्छ । यो बिजुलीबाट नै चल्छ । तर हरेक १५ मिनेटमा घडीले एकपटक कस्सेर सिट्ठी फुक्छ र सिट्ठी सँगसँगै मुनी जमिनदेखि बाफ निस्केर आउँछ । यसरी बाफ निस्केर आउने भएकोले यसलाई ‘स्टिम क्लक’ भन्ने गरिन्छ । हुनत यस्को नियमअनुसार हरेक १५-१५ मिनेटमा मुनिदेखी एकचोटी त्यसरी बाफ निस्कनु पर्ने हो । तर धेरै मानिसहरुले यो घडीको सिट्ठी फुक्ने र बाफ निस्कने समय नियमित छैन है भनेको सुन्न सकिन्छ,” म त्यति भन्छु ।

मेरो कुरो सुनिसकेपछि, “अब चाइनिज टाउन जाने होला, होइन र ?” ताराको पुनः मुख खोलिन्छ ।

उनको कुरो सुनेपछि, “लु सबैजनाले मलाई पछ्याउनोस् है,” पहिले त्यसो भन्छु । त्यसपछि सबैभन्दा अगाडी अगाडी हिँड्न थाल्छु । एकछिन अगाडी बढेपछि तिनै सूचना केन्द्रको चाइनिज फुच्चेले दिएको सल्लाहअनुसार पानी सडकको किनारैकिनार केहीबेर हिड्छौं । अनि पहिलो डबली भेट्ने बितिक्कै एबोट सडकतर्फ हुइँकिन्छौं ।

एबोट सडक पानी सडकभन्दा अलिक सानो छ । र, त्यो सडकमा मोटरहरु पनि एकदम थोरै दगुरेका देखिन्छन् । तिनै सडकमा हिँड्दै जाँदा दायाँ बायाँ अलि अलि दोकानहरु पनि देखिन्छन् । हामी त्यसरी दाहिने घुम्ने बितिक्कै २-४ जना घरबारबिहीन मानिसहरु हाम्रोसामू देखा पर्न सुरु गरिहाल्छन्। वास्तवमा यहाँका घरबारबिहीन मानिसहरु अन्य ठाउँ जस्तै लण्डन वा लिभरपुलमा देखिने अथवा भेटिनेभन्दा अलिक फरक प्रकारका हुन्छन् भन्ने पहिले नै सुनेको थिएँ । त्यही भएर उनीहरुलाई हेर्न मेरो मन एकदम आतुर थिएँ । ती माथि भनिएका मान्छेहरुले चाहिँ सडकको किनारमा बस्दा आफ्नो सामुन्ने खाली भाडा, बट्टा, रुमाल अथवा मजेत्रो थापेर पैसा मागिरहेको हुन्छन् ।‍ अझै कसैकसैले त बटुवाहरुको ध्यानाकर्षण गर्नको लागि गितार पनि बजाइ रहेको हुन्छन् ।

हामी त्त्यहाँदेखि थोरै अगाडी बढछौं । तर म चाहिँ त्यस्तो मानिसहरु देख्ने बितिक्कै अघि बिहान भेटेको घरबारबिहीन मानिसलाई सम्झेर थोरै सतर्कता अपनाउन थाल्छु । हाम्रासामू देखिएका ती मानिसहरुमध्ये एकजना मानिस घोप्टो परेर बसिरहेको देखिन्छ । उनले शरीरको माथिल्लो भाग छोप्न भेष्ट र मुनी जिन्सको पाइन्ट पहिरिएको छ । उसले एउटा हातले आफ्नै टाउको थामिरहेको छ भने अर्को हातलाई भुइँमा मज्जाले आराम गराएको छ । म सुस्तरी हिँडेर उसको नजिकै पुग्छु । र, उसको ठीक दाहिनेतिर भुइँमा लडिरहेको सुटकेसलाई एकछिन हेर्छु । त्यो सुटकेस सानो छ अझै थोत्रो पनि देखिन्छ ।    

आ यहाँ मानिसको जिन्दगी यस्तै रहेछ भनेर त्यो मान्छेलाई बिर्सन खोज्छु । अलिक अगाडी बढ्दै जान्छु । तर थोरै अगाडी उनी जस्तै अन्य घरबारबिहीन मान्छेहरु झन् धेरै धेरै देखा पर्दै जान्छन् । आम्मामा ! कति धेरै घरबारबिहीन मान्छेहरु मनमनै भन्छु । तर सोही बेला अचानक ताराको मुख खुल्छ-

“यी मानिसहरु कहाँदेखि आका होलान् ?”  

“खै ! म पनि त्यस्तै सोचिरहेको छु,” छोटो जवाफ फर्काउँछु ।

हामी त्यतिमात्र बोल्छौ । त्यसपछि म खुरुखुरु अगाडी हिँडन थाल्छु । यतिका धेरै घरबारबिहीन मान्छेहरु देख्दा मेरो मन भरङ्गै हुन्छ । अझै हेस्टिङ सडक त पुग्न नै बाँकी छ भन्छु । आखिर यस्तै यस्तै मानिसहरु देख्न सकिने रहेछ भनेर सुस्तरी हिँड्दै त्यहाँ भेटिएका मान्छेहरुलाई पार गर्दै गर्दै जान्छौं । र, एकछिन हिँडेका मात्र के थियौं । हामी पूर्वी हेस्टिङ सडकमा पुगेर ड्याम्मै ठोकी हाल्छौं ।

त्यहाँ पुगेपछि सूचना केन्द्रको मानिसले भनेबमोजिम ठीक बायाँ मोडिन्छौं । र, एकछिन त्यहाँनेर उभिएर धेरै टाढा टाढा कहाँ हो कहाँ आँखाले भ्याइन्जेलसम्म त्यस प्रकारको मानिसहरुलाई हेर्न थाल्छौं । अरुले सडकमा भएको त्यस्ता मान्छेहरुका रमिता हेरिरहँदा म सर्लक्कै आफ्नो आँखा घुमाएर मेरो नजिकै रहेको एकजना बुढो मान्छेलाई हेर्न थाल्छु ।

त्यतिबेला उनी खालि खुट्टा भुइँमा टुक्रुक बसिरहेको देखिन्छन् । अझै उनको हातमा एकटुक्रा खाली कागज पनि छ । तिनै खाली कागजमा उनले सुर्ती बटार्दै गरेको बिरमाइलो दृश्य देखिन्छ । सायद त्यो सुर्तीमा उनले गाँजा पनि मिसाएको हुन सक्छ । किनभने हाम्रा पाईलाहरुले पूर्वी हेस्टिङ सडकमा टेक्ने बितिक्कै गाँजाको ह्वास्सै गन्ध आएर मेरो नाकमा ठोकिएको थियो । मैले त्यस प्रकारको गन्ध कि आम्सटर्डम बेश्यालयमा वा हुकरहिल लिभरपुलमा खुब सुँगेको थिएँ । अहिले यहाँ हुँदा मलाई तीनै स्थानहरु पुगेको खुब झझल्को आउँछ ।

अ त्यो मान्छेको ठीक दाहिनेतिर चाहिँ आफ्नै भारी भएको टाउको थाम्न नसकेपश्चात अङ्ग्रेजी अक्षर उल्टो ‘एल’ झैं भएर अर्को मान्छे सडक छेउको पर्खालमा अडेस लगाएर बसिरहेको छ । तर ऊ भन्दा करिब पाँच मिटर जति अगाडी हेर्ने हो भने एकजना बुढोमान्छे भुइँमा बङ्लङ्गै ढलिरहेको देखिन्छ । 

“बिचरा ! के गर्नु र ? हेर ! यो मान्छे अब एकछिनमा मर्छ होला ? किनभने उनको जिऊ थरथर काँपिरहेको छ । र, मुखबाट क्रमश: सेतो फिँज काँढिरहेको छ” ताराले करूणा भाव प्रकट गरिन् ।

उनको कुरो सुनेपछि मलाई एकदम नमीठो लाग्छ । यहाँ मानव जीवन कति सस्तो रहेछ भनेर म मनमनै गुनगुनाउँछु । त्यस्तो दु:खद दृश्यलाई धेरैबेर नियाली रहन नसकेपछि म अलिकति अगाडी बढछु । मेरो ठीक सामुन्ने रहेको अर्को एकजना मान्छेले खै कहाँदेखि एउटा कागजको बोर्ड ल्याएछ । अनि ऊ त्यही बोर्डमाथि बङ्लङ्गै उतानो परेर आराम गरिरहेको देखिन्छ । तर के गर्ने र ? खै कुनबेला कुनबेला उसको पतलुङ सुर्केर घुँडा मुनी झरिसकेको रहेछ । अब उनको सेता सेता तिघ्राहरु र खुट्टाहरु पूरै नाङ्गा छन् । खुट्टामा जुत्ता वा मोजा केही देखिँदैन् । तर भाग्यवस जनेन्द्रिय छोप्नको लागि उनले सानो हुनमाने कट्टु लगाएको रहेछ । धन्न त्यसले गर्दा उनको इज्जत बाँचेको देख्न सकिन्छ । नत्रभने बटुवाहरुले उनको कन्त बिजोक हेर्दै हेर्दै अगाडी हिँड्थे होलान् ?

हामी सडकको पेटीमा हिँड्दै हिँड्दै निक्कै अगाडी पुगिसकेका हुन्छौं । तर बाटोमा त्यस्ता मानिसहरु देख्दा मेरो हृदय छियाछिया भइरहेको हुन्छ । त्यसैले म एकदम विक्षिप्त मुद्रामा अगाडी बढिरहेको हुन्छु । त्यसै त सूचना केन्द्रको चिनियाँले हेस्टिङ सडक ‘नो गो एरिया’ हो है भनेको होइन रहेछ भनेको अहिले झल्झली सम्झन्छु ।

त्यहाँदेखि एकछिन अगाडी बढेपछि मेरो सीधै अगाडी दुईजना अधबैँसे मान्छेहरु देखा पर्छन् । उनीहरुलाई पहिलोपटक झ्वाम्मै देख्दा म एक प्रकारले रमाइलो मान्छु । तर उनीहरुलाई क्रमश: हेरिरहँदा मलाई दु:ख लाग्न सुरु गर्छ । उनीहरु त्यतिबेला सडक किनारको बिच भागमा एकजना पूर्व र अर्को पश्चिम दिशातिर फर्किरहेका छन् । उनीहरुमध्ये एकजनाले शरीरको मथिलो भागमा सर्ट र अर्कोले भेष्ट लगाइरहेको देखिन्छ । तर दुवै जनाले निलो जिन्सको पतलुङ लगाएका छन् ।

उनीहरुको दुर्भाग्य नै भन्नु पर्छ । किनभने दुवैजनाको पतलुङ खुस्केर घुँडानेर झरेको छ । सर्ट र भेष्ट सुर्केर घाँटीमा अड्किरहेको छ । त्यस्तो दयनीय अवस्थामा म उनीहरुलाई झन राम्ररी हेर्न थाल्छु । ती दुवैजना घरबारबिहीनहरु अङ्ग्रेजी अक्षर उल्टो ‘एल’ होइन यसचोटी उल्टो ‘यू’ आकारमा खडा भइरहेका छन् । मलाई लाग्छ – उनीहरु यतिबेला आ-आफ्नो दिशामा अगडि बढ्न खोजेका छन् । तर खै के खाएर हो ? दुवैजनाको शक्त्ति नष्ट भइसकेका हुनाले उनीहरु एक अर्कामा अगाडी बढ्न सक्त्तै सक्त्तैनन् । त्यसैले ‍सुस्त गतिमा चाल चाल्न खोजिरहेका देखिन्छन् ।

उनीहरुको यो गति देख्दा मलाई कोष्टारिका पुगेको बेस्सरी याद आउँछ । किनभने मैले त्यहाँ पुगेर आलश्य (स्लोथ) मज्जाले हेरेको थिएँ । आलश्य दिनमा १८ देखि २० घण्टासम्म सुत्छ र मुस्किलले २४ घण्टामा एउटा फुटबल खेल मैदान जतिमात्र हिँडन सक्छ ।

हेस्टिङ सडकमा भएका मानिसहरुको गति र आलश्यको गतिमा केही फरक छैन् रहेछ भन्दै भन्दै म सडक किनारमा थोरै अगाडी बढ्छु । त्यहाँनेर एउटा सानो रुख रहेछ । अरुभन्दा म अलिक चाँडो हिँड्ने भएकोले म तिनै रुखको फेदमा पुगेर एकछिन उभिन्छु । अब त्यहाँ पुगेपछि केही अन्य काम हुँदैन् । त्यसैले दायाँबायाँ देखिएको दु:खद दृश्यहरुको रमिता हेर्न थाल्छु ।

त्यतिबेला मेरो सीधै अगाडी एकजना मान्छे नाँचिरहेको, अर्को हाँसिरहेको, कोही भाषा नबुझिने गीत गाइरहेको, कोही कुङलिङ्गै सुतिरहेको, कोही अगाडीको पर्खाल समातिरहेको र कोही कछुवा गतिमा हिँडिरहेको दृश्य देखिन्छन् । तर धेरैजसो मान्छेहरुले टाउको छातीको सतहमा राखेर अगाडी बढ्न खोजे पनि बढ्न नसकेको दृश्यावलोकन गर्छु । म त्यस्तो दृश्य देख्दा बिरक्त भावमा हुन्छु तर कसोकसो कहाँदेखि नजाने एक्कासी हाँसो उठ्छ ।

तर अन्य सबैजना मान्छेहरुलाई एकछिन थाँती राखेर मेरो नजर अचानक एकजना युवतीको शरीरमा पुगेर ठोकिन्छ । म अलिक उनको नजिक जान्छु र मज्जाले नियालेर हेर्न थाल्छु । मेरो विचारमा उनको उमेर त्यस्तै ३०-३२ वर्षकी हुनुपर्छ । ती युवती देखेर मलाई अति आनन्द लाग्छ । किनभने उनले सारा संसार भुलेर भुइँमा बङ्लङ्गै उतानो परेर सुतिरहेकी छिन् । तर नीलो र रातो रङ्ग मिसिएर बनेको उनको स्कटिस टार्टन स्कर्टले खै कतिबेला कतिबेला आफ्नो स्थान छाडेर कम्बरमा मुस्किलले अड्किरहेको छ ।

स्कर्टले स्थान छाडेपछि देखिएको उनको अर्ध नग्न शरीरलाई म राम्ररी नियाल्छु । श्वेत बर्णकी ती युवतीको चिल्ला चिल्ला तिघ्राहरु मध्यान्हको घामले टलक्कै टल्किरहेको देख्न सकिन्छ । अझै उनको ती खुट्टाहरु एउटा थोत्रो घरको अलिक उठेको भागमा देख्दा मलाई अचानक हाँसो उठ्छ । नत्रभने प्राय: मानिसहरु आफ्नो टाउकोमा अलिकति अग्लो सिरानी राखेर सुत्ने गर्छन् । तर उनले चाहिँ ठीक उल्टो खुट्टालाई जमिनको अग्लो भागमा राखेर खुट्टाभन्दा मुनी उनको शरीर र टाउको राखेर सुतेकी रहेछिन् ।  

यतिका धेरै मगज बिग्रेका मानिसहरु एक्कै स्थानमा भएको मैले अन्त कतै देखेको थिइनँ । त्यसैले यो रमिता हेर्दा मलाई मज्जा त अवश्य हुन्छ नै तर पनि अनावश्यकीय तवरले मानवीय जीवन खेर गएको देख्दा घरिघरि दु:ख पनि लाग्छ ।

म त्यतिन्जेलसम्म सडकको किनारमा एक्लै उभिरहेको हुन्छु । मेरो साथीहरु हेस्टिङ सडकको दुर्गतिको चित्र लिने भनेर केही समय लिन्छन् । तर म मरिगए पनि त्यो दुखान्त जीवनहरुलाई क्यामेरामा कैद गर्न सक्दै सक्त्तिनँ । अब उनीहरुलाई एकछिन पर्खनै पर्ने भयो भन्छु र टाउको घुमाएर थोरै बायाँ कुनातिर हेर्छु । तर तिनै कुनामा दुईजना अधवैँसे महिलाहरु घोप्टो परेर उभिरहेका देखिन्छन् । वास्तवमा उनीहरुको जिऊ सीधा छन् तर खै के भएर हो टाउको थाम्न नसकेर घोप्टिरहेका छन् ।  

उनीहरुलाई देखेपछि आ रमिता हेर्नुमात्र त हो भन्ने सम्झन्छु । त्यसैले एकछिनसम्म उनीहरु दुवै जनालाई हेरिरहन्छु । भ्यानकुभर शहरमा मध्यान्हको टण्टलापुर घाम लागिरहेको छ । सायद गर्मी भएकोले हुनसक्छ । उनीहरुमध्ये दाहिनेतिर उभिने एउटी आईमाईले शरीरमा लगाइरहेकी पहेलो भेष्टलाई अचानक खोलेर फ्यात्तै भुइँमा फालिदिन्छिन् । एक्कासी उनले लगाइरहेकी भेष्ट खोलेपछि उनको शरीरको माथिलो भाग उदाङ्गो हुँदा मैले ‘ऐइया’ भन्छु ।

उनले भुइँमा फालेको भेष्टको नजिकै सानो तर निख्खुर सेतो प्लाष्टिकको एउटा झोला देखिन्छ । तिनै झोलाबाट उनले बुढेसकालको भएपनि आफ्नो बुबु छोप्नको लागि एउटा कालो रङ्गको ब्रा निकाल्छिन् । त्यसपछि उनले ब्रा लगाउने प्रयत्न गर्छिन् । तर जति मेहनत र परिश्रम गरेता पनि उनले आफ्नो जिऊमा ब्रा लगाउन सक्त्तै सक्त्तैनन् । त्यसपछि उनी सँगसँगै घोप्टिरहेकी अर्की आइमाइले उनलाई ब्रा लगाउन मद्दत गर्छिन् ।

हेस्टिङ सडक किनारमा देखिएको यो दृश्यलाई म एकछिन नाटक हो कि के हो भन्छु र मेरो आँखाहरु ठीक छन् कि छैनन् भनेर निश्चित गर्छु । यी मेरा आँखाहरुले पनि के के देख्नु पर्ने हो भनेर एकछिन अचम्मित हुन्छु । तर ठीक त्यहीबेला, –

“दाइ ! हामी आइपुग्यौं है,” हावामा मिसिएर कृष्णको आवाज मतर्फ आउँछ ।  

उनीहरु आएपछि हामी क्रमश: चाइना टाउनको बन पाउने रेस्टुराँतर्फ अगाडी बढ्छौं । हामी त्यसरी अगाडी बढ्दै जाँदा बायाँ पट्टीको भित्तासँग जोडिएर रहेको एउटा लामो बेन्च देखा पर्छ । तिनै बेन्चमा ४ जना बुढोबुढो घरवारबिहिन मानिसहरु बसिरहेका त्यहाँ नजर लगाउन मिल्छ । अब उनीहरुलाई नहेरौँ भन्दा पनि आफ्नै आँखा अगाडी परेपछि मज्जाले हेरिहाल्छु । उनीहरुलाई देखेपछि सबैजनाको उमेर लगभग बराबरी जस्तै रहेछ भन्छु । सायद त्यसैले सँगसँगै बसेको होला भनेर मनमनै सोच्छु । तर उनीहरुलाई पार गरेर थोरै अगाडी बढेको मात्र के थियौं उनीहरु बसिरहेको बायाँ कुनादेखि हावाले मिसाएर ल्याएको पिशाबको गन्धले हाम्रो नाकको डाँडी भाँचिहाल्छ ।

“ए बाबा ! मार्यो नि, सासै फेर्न सकिनँ, खै खै रुमाल छ ?” एक्कासि तारातिर हेर्दै त्यसो भन्छु ।

“बोक्नु दिनु भाको थियो । हेर त थामी नसक्नुको गन्ध । यो के साह्रो हौ । तपाइँलाई भन्दा मलाई झन् सार्हो पर्यो । कस्तो कस्तो ठाउँ पनि ल्याउनु हुन्छ । अरु कसैलाई कतै जान पर्दैन । तपाईको कैयन साथीहरु लण्डनमा दिनरात काम गर्छन् । पैसामात्र कमाउँछन् । दुई-तीनवटा महलहरु किनेका छन् । महङ्गा महङ्गा कार चढेका छन् । अझै कसै कसैले त पौडी पोखरी भएको घर किनेर पनि बसेका छन् । जिन्दगीमा फोक्सटन काटेर अङ्ग्रेजी जलाशय तरेका रेकर्ड छैनन् । कार्डिफदेखि लिभरपूल पुगेका छैनन् । म्यानचेष्टर र बर्मिङ्घाम त कता हो कता ? तपाईलाई चाहिँ कति संसार घुम्नु पर्ने ? हुरुरु जहाजमा उडाएर कम्बोडियादेखि कोष्टारिका पुर्याउनु हुन्छ । हङकङदेखि बैँकक हुँदै न्यूयोर्क लानु हुन्छ । सबै ठाउँ तपाईमात्र जानु पर्ने । सबै कुरो तपाईलेमात्र चाल पाउनु पर्ने ? भन्नु यसो होइनँ । मलाई त वाकदिक भैसकेको छ ? हेर आज पनि दश-दश घण्टा जहाज चढाएर भ्यान्कुभर ल्याएर यस्तो मान्छेहरुको रमिता देखाइ दिनुभयो । अब उनीहरुलाई सम्झँदै सम्झँदै भरै कसरी खाना खाने होला ?’’ उनी जलेर राँकोमात्र भइनन् । जिन्दगीभरिको उनको व्यथा एक्कैचोटी ओकलिन् ।

हेस्टिङ सडकमा ताराको आवेगलाई कसरी मलमपट्टी लगाउने होला भनेर एकछिन पिरमा पर्छु । तर जति पिर परे पनि आफ्नै श्रीमती हुन् । त्यसैले परालको आगो त हो भन्ने लाग्छ । तैपनि ताराको कुरो बिर्सेर यो सडकमा गाँजा र पिसाबको गन्ध मिसिएर पैदा भएको नयाँ दुर्गन्धको पहिलो पटक स्वाद लिइरहेको छु । त्यस्तो प्रकारको मिस्रित गन्ध मैले अन्त कतै लिएको मसँग अनुभव छँदै थिएन ।

अब यस्तो दुर्गन्धित स्थानमा कति बाँचिएला र भन्ने विचार आएपछि अति छिटोछिटो कदम चालेर अगाडी हिँड्छौं । तर केही अगाडी अन्य घरबारबिहीन मानिसहरु देख्ने बितिक्कै मेरा पयरहरु अचानक रोकिन खोजिहाल्छ । यसपटक हाम्रोसामू दुई जना मान्छेहरु पर्खालको भित्ताको अडेस लगाएर बसिरहेको देखिन्छ ।

उनीहरुलाई देख्दा यस्तो लाग्छ कि उनीहरु भर्खरै यस धर्तीदेखि सधैँसधैँको लागि बिदा भएका छन् । किनभने उनीहरु मरेको मान्छेको लाशझैं बङ्लङ्गै उतानो परेर सुतिरहेका छन् । यद्यपि उनीहरुको दिन सकिएको हो कि सास फेर्दै छन् भनेर अहँ मैले केही अत्तोपत्तो लगाउन सकिनँ । अब उनीहरुको अलिक नजिक जान हामीलाई भित्रभित्रै डर लागेर आउँछ । तर डराउँदै डराउँदै हेर्दा उनीहरु दुवैजनाले आँखा चिम्लिरहेका देखिन्छन् ।

“यो के भाको हँ ?” निक्कै लामो समयसम्म नबोली हिँडिरहेको ताराको मुख अचानक खोलिन्छ ।

“खै ! म पनि तीन छक्क परिरहेको छु,” छोटो जवाफ फर्काउँछु ।

अलिक अगाडी बढ्दै जाँदा हाम्रो दायाँपट्टी एउटा बडेमाको घर देखा पर्छ । घरको अगाडी ठूलो ढोका रहेछ । तिनै ढोका अगाडी फलामको च्यानल गेट लगाएको देखिन्छ । गेटको ठीक सामुन्ने जताततै घरबारबिहीन मान्छेहरु लडिरहेका देखिन्छन् । यतिबेला यो घरलाई देखेर यसो कल्पना गर्छु । खै जतिसुकै फलामे बार लगाएपनि यो घर के सुरक्षित होला र भन्ने मेरो मनमा लाग्छ ।

त्यो घरलाई हेर्दैहेर्दै हामी थोरै अगाडी बढ्छौं । हाम्रो सीधै अगाडी दुईजना आईमाईहरु पलेटी कसेर भुइँमा मज्जाले बसिरहेका देखिन्छन् । उनीहरुमध्ये एकजनाले आँखा चिम्लेर आफ्नै पाखुरामा सिरिन्ज घोच्दै गरेकी देखिन्छे । तर उनको छेउमा बसिरहेकी अर्की आईमाईले चाहिँ आफ्नो पालो कुरेर बसिरहेकी दुखान्त दृश्य देख्न सकिन्छ ।

त्यस घरलाई छाडेर निक्कै अगाडी बढेपछि हामी अर्को एउटा ठूलो घरको अगाडी पुग्छौं । तर त्यो घरको वरिपरि भित्तामा कुदेर जे पायो त्यहिँ लेखेर बनेका (ग्राफिटी) जताततै देख्न सकिन्छ । ग्राफिटीले गर्दा त्यहाँ भएका सबै अक्षरहरु चिन्न नसकिएता पनि ‘होटल’ भन्ने साइन चाहिँ अहिलेसम्म मज्जाले देख्न सकिन्छ । जस्ले गर्दा यहाँ पहिले होटल थियो रहेछ है तर अहिले बन्द भइसकेको छ भन्ने लाग्छ । त्यहाँ पुगेर सबैभन्दा दु:खलाग्दो दृश्य चाहिँ के देख्न सकिन्छ भने होटलको मुख्य द्वारमा बड‍ेमाको काठको फल्याक ड्याम्मै ठोकेर ढोका पूर्णकालिन बन्द गरिएको छ । तिनै ढोकाको ठीक अगाडी १०-१२ जना घरबारबिहिन मानिसहरु सियाँल तापेर झुरुप्पै बसिरहेको देखिन्छन् ।

समय दिउँसोको ठीक १२ बजेको हुन्छ । अथवा भ्यानकुभर शहरमा मध्यान्हको समय छ । मध्यान्हको समय भएता पनि हेस्टिङ सडक सुनसान छ । बेलाबेलामा पश्चिम दिशादेखि हावाले ह्वास्सै पिसाबको दुर्गन्ध ल्याउँछ र हाम्रो नाक भाँच्ने काम गर्छ । तर जस्तोसुकै गन्ध आएपनि हामी चाइना टाउन पुग्नै पर्ने छ भनेर हामी जबरजस्ती सहिरहन्छौँ र सडक किनारमा एकाध हिँडिरहन्छौ । हामी त्यसरी सडकको किनारमा हिडिरहँदा मुख्य सडकमा भने समय समयमा ट्रली बसहरु आउँछन् र जान्छन् । तैपनि बसदेखि एकजना पनि मानिसहरु झरेका वा चढेका देखिदैन । ३०-४० वर्ष अगाडी काठमाण्डौमा पनि त्यस्ता ट्रली बसहरु थिए है भनेर भ्यानकुभरमा स्मरण गर्छु । तर आजभोलि ती कता गए होला ‍भनेर एकछिन सम्झन्छु ।

त्यहाँदेखि थोरै अगाडी बढ्छौं । तर हाम्रोसामू अचानक एकजना अधवैँसे मान्छे देखा पर्छ । उनले आफ्नो शरीरमा निक्कै ठूलो ज्याकेट पहिरन गरेको छ । त्यो ज्याकेट निख्खुर कालो छ । उनले मुनी खुट्टामा चाहिँ हावाले उडाउने पातलो फ्यालफ्याले सुरुवाल लगाएको छ । हुनत उनको खुट्टाहरु पनि कुखुराको जत्रै स-साना नै देखिन्छ । अब उनको नजिक पुगिहालियो भनेर म एक झमट राम्रै तरिकाले हेर्छु ।

पहिलो नजर लगाउँदा मलाई त्यो मान्छे अलिअलि मातेको जस्तो लाग्छ । तर खै ! के पिएर मातेको हो ? त्यो चाहिँ मलाई थाहा हुन सकेन । तैपनि बिचरा ऊ बाटो बीचमा मुस्किलले उभिन खोज्छ । तर उभिन सक्तै सक्तैन । त्यसैले भुँइमा बङ्लङ्गै लडिहाल्छ । ऊ हरेस खाँदै खादैन, फेरि मिहिनत गरेर उठ्छ । तर जिऊ थाम्न सक्त्तै सक्त्तैन फेरि बङ्लङ्गै लडिहाल्छ । मलाई उनको यो खेल हेर्न एक किसिमले रमाइलो लाग्छ ।

अझै उनले शीरमा टेक्सासको छत्रेटोपी (काउब्योइ ह्याट) पनि लगाइ रहेको छ । ऊ लडेको बेला उनको छत्रेटोपी केही पर उछिट्टिएर जान्छ । तर हतारहतार टोपीलाई टिपेर शीरमा उनिहाल्छ । यसरि छत्रेटोपी लगाएर उभिएको बेला भने मलाई गाउँमा कोदोको बियाड राख्दा चराचुरुङ्गीले कोदोको बिउँ नखाओस् भनेर बनाइएको तर्साउने मान्छेको स्वरुपको याद आउँछ ।

उनको खेल हेर्न छाड्छौं । सन् २०२३ मा लिइएको सर्वेक्षणअनुसार भ्यानकुभर शहरमा त्यस्ता मानिसहरुको संख्या करिब करिब ४ हजार जना जति छन् भनिएको छ । उनीहरुमध्ये धरैजसोले पूर्वी हेस्टिङ सडकलाई आफ्नो गन्तव्य ठानेका छन् । सडक किनारमा यतिका धेरै घरबारबिहिनहरु देखिएपछि, –

“होइन ! यतिका धेरै मानिसहरु कसरी घरबारबिहिन भएका हुन् । मैले नबुझेको कुरो त्यो हो ?” ताराले थोरै त्रशित मुद्रामा सोध्छिन् ।

यो खास्सै केही भएको होइन । मेरो विचार यसो हुनुको मुख्य दुई वटा कारणहरु छन् ।

पहिलो कारण भनेको जोन लकको सिद्धान्त जीवन, स्वतन्त्रता र सम्पत्ति हो । मानिसहरुलाई आवश्यक्त्ताभन्दा अलिक बढी स्वतन्त्रता दिइयो भने छाडा हुने रहेछन् । मलाई यिनीहरु अलिक छाडा नै भएका हुन् कि जस्तो लाग्छ । त्यसैले राज्यले मानिसको नियन्त्रण गर्नु पर्छ नत्रभने मानिसले जे पायो त्यही गर्छन् भनेर थोमस हब्सले लेखेका छन् । 

दोश्रो कारण भनेको अडाम स्मिथको सिद्धान्त पुँजीवाद हो, जस्तो लाग्छ । मानिसहरु पुँजीवादको अन्तिम चरणमा पुगेपछि धनी धनी नै हुँदै जान्छ । आफू सँगसँगै हुर्के बढेका मानिसहरु धनाढ्य भएपछि उनीहरुको भड्किलो जीवनशैली देखेर धनी हुन नसक्ने मानिसहरुलाई जीवनमा एक प्रकारले बितृष्णा पैदा हुँदै जान्छ । अब मानिसलाई जिन्दगीभरि दु:खी हुनुभन्दा दु्र्व्यसनी भएपछि सारा संसार भुल्न सकिन्छ भन्ने मानसिकता पैदा भएर यस्तो भएका हुन् कि भन्ने मेरो तर्क छ ।

हुनत यहाँ आएपछि मलाई एउटा के कुरो थाहा भयो भने यो मानव जीवनको लागि एउटा ठूलो चुनौती र इतिहास नै साबित भएको छ । इतिहासको मात्र कुरो गर्ने हो भने विलियम हेगेलले जर्मनी स्वतन्त्र भएपछि कार्ल मार्क्सले साम्य‍वाद आएपछि र फ्रान्सिस फुकुयामाले बर्लिनको पर्खाल ढल्यो र इतिहास सकियो भनेका छन् । तर यो मानव जीवन सकिने इतिहास सुरु भएको हो जस्तो लाग्छ ।

मैले त्यसो भनिरहेको बेला तारा उनको नजिकै रहेको ४-५ जना टाउको थाम्न नसकेर घोप्टो परिरहेको मानिसहरुलाई एकोहोरो हेरिरहेकी छिन् । आफ्नै जिऊ थाम्न नसकेर त्यसरी चार पाउले जमिन टेकिरहँदा उनीहरुको पिँठ्यू ठाडो भएर शरीरको सबैभन्दाको माथिको भाग बन्न जान्छ । अझै यसबेला उनीहरुको शरीरको सबै कपडाहरु सुर्किएर आ-आफ्नो घाँटीमा पुग्छ ।

त्यस्तै त्यस्तै मान्छेहरुलाई हेस्टिङ सडकमा राम्ररी हेर्ने हो भने जोम्बिजहरु भनेका यस्तै हुने रहेछन् भनेर मज्जाले चाल पाउन सकिन्छ । जो एकपटक मरेर बाँचेका तर केही चाल नपाउने पूर्व मृतकहरु नै हुन् ।

त्यसैले मलाई प्वाक्कै भन्न मन लाग्छ, “यो मृतकहरु हिँडिरहेको शहर हो ।”

समाप्त

अक्सफोर्डसायर

प्रतिक्रिया

सम्बन्धित सामाग्री