कुनै समय नयाँ नेपाली पुस्तक भनेपछि हुरुक्कै हुने मेरो आशक्ति आजकल घट्दो छ । यसका पछाडि दुई कारण छन् । पहिलो, पछिल्ला पुस्तकहरुले पूरा मेरो तृष्णा पूरा गर्न नसक्नुु । दोस्रो, व्यक्तिगत कारणले नेपाली पुस्तक पढ्ने समय खुम्चिनु । त्यसैले केही वर्षयता नेपालबाट आउने कुनै साथीभाइ वा आफन्तलाई ‘किताब ल्याइदिनु’ भन्न छोडेको छु । यसबीचमा आख्यान, गैरआख्यानका थुप्रै पुस्तकहरु निस्के । सार्वजनिक, पेशागत जीवनमा विशिष्ट र असाधारण अनुभव आर्जन गरेकाहरुको आत्मवृत्तान्तहरु पनि छापिए तर यी सबैबाट आफूलाई अलग राख्दै आएको थिएँ । तर केही समयअघि महावीर पुनले नाच्दै ‘ल किताब आयो किताब’ भन्दै आफ्नो आत्मवृत्तान्त बेचेको सामाजिक सञ्जालमा देखेपछि के लेखेछन् त महावीरले भन्ने हलुका कौतुहल जाग्यो ।
महावीर पुनकै फेसबुक पोष्टमा बेलायतमा पनि सो पुस्तक उपलब्ध रहेको जानकारी पाएपछि सम्पर्क व्यक्ति गैरआवासीय नेपाली संघ युकेका पूर्व अध्यक्ष योगकुमार फगामीसित पुस्तक मागेँ । व्यक्तिगत जीवनका ब्यस्तताबीच उहाँले रत्तिभर ढिलाइ नगरी पुस्तक घरमै पठाइदिनुभयो ।
हुन त महावीर पुन न मेरा लागि अपरिचित पात्र हुन् न त दोहोरो चिनजानका नै । नभेटेको भनुँ भने भेटेको, नचिनेको भनुँ भने चिनेको तर त्यो उही एकतर्फी चिनाजान ।
अहिले उनको पुस्तक पढ्दा सन् २००७ को अगष्ट महिनाको कुनै दिन रहेछ । म गोरखापत्र दैनिकको समाचार कक्षमा उताउति गर्दै थिएँ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीको समाचारमा महावीर पुनलाई रामोन म्यागासेसे पुरस्कार दिइने समाचार पाइयो । त्यतिञ्जेलसम्म मैले महावीर पुन को हुन्, उनको योगदान के हो थाहा पाएको थिइनँ । म मगर समुदायमा सक्रिय भएकाले उनको सम्पर्क नम्बर मैले एक÷दुई जनालाई सोध्नासाथ पाइहालेँ । उनको प्रिपेड मोवाइल नम्बर थियो । मैले समाचारका लागि फोन गरेँ । त्यतिबेला उनी चितवनमा रहेछन् । समाचारका लागि आवश्यक कुराकानी भयो र भोलिपल्ट गोरखापत्रमा सो समाचार प्रकाशित भयो ।
त्यतिबेला म बिहान बिहान भर्खरै खुलेको सगरमाथा टेलिभिजनमा डेस्कमा काम गर्थेँ । एकदिन सहकर्मीहरु कुराकानी गर्दागर्दै महावीर पुनसित अन्तर्वार्ता गर्न पाए हुन्थ्यो भन्ने चर्चा चल्यो । मैले ‘हो त’ भनेर महावीर पुनलाई फोन गर्दा उनी सिंहदरबारमा रहेछन् । उनी दक्षिणी गेटबाट निस्कने र मैले मोटरसाइकलमा टेलिभिजनको तत्कालिन कार्यालय अनामनगर लैजाने सल्लाह भयो । पहिलोपटक उनलाई भेट्दा म चकित भएको थिएँ । एसियाको नोबेल पुरस्कार भनेर पढिएको रामोन म्यागासेसे पुरस्कार पाएका व्यक्ति टाइसुटमा होलान् भनेको त अति सामान्य टीसर्ट, ट्रेकिङ जाँदा लगाउने जस्तो सुरुवाल र चप्पलमा हुनुहुन्थ्यो । यसअघि करिब तीन वर्ष पत्रकारितामा बिताए पनि उनको पूरा कदको तस्वीर, टेलिभिजनमा अन्तर्वार्ता वा प्रत्यक्ष भेट भएको थिएन । सामान्य भलाकुसारीपछि उनलाई टेलिभिजन पुर्याएँ । कतिपय साथीहरुले ‘महावीर पुन भनेर कसलाई उठाएर ल्यायो’ भन्ने आशयले पनि हेर्नुभयो । मेरो पनि मनोदशा त्यस्तै नै थियो । तर यथार्थ उनी महावीर नै थिए र सहकर्मी रामजी दाहालले उनीसित अन्तर्वार्ता गर्नुभएको थियो ।
महावीर पुनसितको मेरो प्रत्यक्ष चिनजान र भेट यति नै हो । बाँकी भर्चुअल मात्र ।
फर्कौँ पुस्तकतिरै । ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ नाम जुराइएको पुस्तक महावीर पुनको जीवनमा आएका आठ वटा मोडहरुमा केन्द्रीत छ । उनको बाल्यावस्थादेखि वर्तमानसम्मको जीवनयात्रालाई विभिन्न १७ वटा उपशीर्षकमा सँगालेर पुस्तक बुनिएको छ ।
पुस्तक किन प्रकाशन गर्नुपर्याे भन्ने छोटो प्रष्टीकरणबाट पुस्तक शुरु हुन्छ । क्रमशः उनको जन्मस्थल हालको म्याग्दी जिल्लाको नाङ्गी गाउँ र पारिवारिक अवस्थाका बारेमा पुस्तक अघि बढ्छ । विक्रम सम्वत २०११ सालमा जन्मेका पुनको प्रारम्भिक शिक्षादीक्षा गाउँमै शुरु हुन्छ । कक्षा ७ सम्म गाउँमै उनले पढ्ने अवसर पाउँछन् । त्यसमाथिको कक्षा पढ्न गाउँमा विद्यालय नहुँदा उनको पढाइ अवरुद्ध पो हुने हो कि भन्ने अन्यौल छाउँछ । तर पूर्व गोरखा सैनिकसमेत रहेका उनका पिताले मल्लाज गाउँमा बसेर पढ्ने व्यवस्था गरिदिन्छन् । जसलाई उनले जीवनको पहिलो मोडको संज्ञा दिएका छन् । मल्लाजमा उनले कक्षा ८ पास गरे । त्यसपछि उनको उच्चशिक्षाकै लागि चितवनमा पितासहितको बसाइँसराइलाई उनले जीवनको दोस्रो मोड मानेका छन् । जहाँ उनी कक्षा ९ मा भर्ना भए र एसएलसीसम्मको शिक्षा पूरा गरे ।
आइएस्सी अध्ययनका लागि काठमाडौँ प्रस्थान र काठमाडौँको शहरिया जीवनमा अभ्यस्त हुन गरिएको प्रयासलाई उनले जीवनको तेस्रो मोड भनेका छन् । काठमाडौँको अति प्रतिष्ठित अस्कल कलेजमा आइएस्सी पढ्ने सौभाग्य पाएका महावीरले अध्ययनपश्चात चितवन फर्केर विभिन्न विद्यालयमा १३ वर्ष शिक्षकका रुपमा काम गरे । त्यसलाई उनले जीवनको चौथो मोड ठानेका छन् । शिक्षकमा बहाल छँदै त्यतिबेलाका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो) रामकृष्ण पन्तसित वादविवाद हुन्छ र पन्तले पदको दुरुपयोग गर्दै उनलाई थुनामा राखे । बिनाकसुर एक व्यक्तिको सनकबाट थुनिनु पर्दा उनले आत्मसम्मानमा ठूलो चोट पुगेको ठाने र शिक्षक पेशाबाट राजिनामा दिए । त्यसपछि महिनौँसम्म काठमाडौँमा बिना जागिर भौँतारिँदै अमेरिका अध्ययनका लागि खोजी गरे । अन्तत उनले नेब्रास्कामा छात्रवृत्ति पाउन सफल भए । त्यसलाई उनले पाँचौँ मोड मानेका छन् ।
अहिले पनि धेरै नेपाली युवाको सपना अमेरिकामा पढ्ने र त्यतै बस्ने छ । तर आजभन्दा ३० वर्षअघि अमेरिकामा दीक्षित हुने अवसर पाएका उनी बहुसंख्यक नेपालीको अपेक्षाविपरीत नेपाल फर्के । नेपाल आएर उनले काठमाडौँ वा शहर केन्द्रीत जागिरमा आफूलाई सीमित गराएनन् । बरु आफ्नो जन्मथलो नाङ्गीमा गएर स्वयंसेवी शिक्षक बने । त्यो पनि एक वर्ष÷दुई होइन दशकौँसम्म । त्यसलाई उनले जीवनको छैटौँ मोड ठानेका छन् ।
म्याग्दीमा शिक्षण पेशामा मात्र सीमित नभएर गाउँलाई इन्टरनेटको सञ्जालमार्फत विश्वसँग जोड्न गरेको प्रयासलाई उनले सातौँ मोड भनेका छन् । माओवादी द्वन्द्वको समयमा अति जोखिम मोलेर गरिएको सो प्रयास सम्झँदा अहिले उनी आफैँ पनि झसङ्ग हुन्छन् ।
सूचना प्रविधिको क्षेत्रमा आएको नवीतम उपलब्धिहरुका कारण नेपालमा पनि इन्टरनेटको सहज र सुलभ रुपमा पाउन थालेपछि उनले आफ्नो जीवन ‘इन्नोभेसन’ मा मोडे । सन् २०१२ राष्ट्रिय आविष्कार केन्द्र खोलेर सरकार र सर्वसाधारणलाई नवप्रवर्तनका बारेमा बुझाउने, दबाब दिने मात्र होइन व्यवहारोपयोगी सामग्रीहरु निर्माणमा पनि उनी सक्रिय छन् । जुन उनको जीवनको आठौँ मोड हो ।
अत्यन्तै सादा जीवन बिताउने र प्रष्ट विचार राख्ने तर आफ्नो व्यक्तिगत जीवनका बारेमा महावीरले धेरै बताएका थिएनन् । आफ्नो जीवन व्यक्तिगत सुख, सयल, प्रगतिमा सीमित नराखी सर्वसाधारणको हितमा खर्चेका महावीरका बारेमा जानकारी पाउन खोज्नेहरुलाई यस पुस्तकले उनले गरेको संघर्ष, उनले हासिल गरेका उपलब्धिहरुका बारेमा विस्तारमा जानकारी दिन्छ । सर्सती हेर्दा र राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा उनले पाएको सम्मान हेर्दा उनी एक सफल व्यक्ति देखिन्छन् तर पुस्तक पढ्दा उनले गरेका दर्जनौँ प्रयास, स्थानीय र राष्ट्रिय रुपमा पाएको हण्डरका बारेमा बुझ्न सकिन्छ । पुस्तकमा उनीमाथि लाग्ने गरेको विभिन्न आरोपहरुका बारेमा पनि उनले स्पष्टीकरण दिएका छन् । जस्तै आफ्नो पहिरनलाई धेरैले सादा जीवन उच्च विचार भनेको, आविष्कार केन्द्रको नामअनुसार काम नभएको आदि । साथै उनले राष्ट्रको सबल अर्थतन्त्रको विकास, अन्तर्राष्ट्रिय सहयोग, पर्यटन उद्योगको दीगोपनका बारेमा उल्लेख्य दृष्टिकोण पनि प्रस्तुत गरेका छन् ।
पुस्तकको सबल पक्ष भनेको पुस्तकको संरचना र सम्पादन हो । सरल शैलीमा लेखिएको पुस्तक शुरु गरेपछि छोड्न मन लाग्दैन । सलल बगेको खोला जस्तै छ पुस्तक । पुस्तकमा महावीरको परिवारको बारेमा थोरै मात्र उल्लेख छ । हरेक सफल पुरुष वा महिलाको पछाडी सहयात्रीको हात हुन्छ भनिन्छ । उनले गरेका यावत प्रयासहरुमा परिवारको भूमिका र प्रतिक्रिया के हुने गर्दथ्यो ? भन्ने बारेमा पुस्तक अनुत्तरित नै छ ।
३०६ पृष्ठको सो पुस्तकको प्रकाशन राष्ट्रिय आविष्कार केन्द्रले गरेको हो । पुस्तकको बिक्रीबाट आएको रकम उनले कृषि औजार केन्द्र वीरगञ्जका लागि खर्चने बताएका छन् । पुस्तकको मूल्य नेपालमा ७५० रुपियाँ राखिएको छ ।
बेलायतमा यो पुस्तक योगकुमार फगामीलाई 077 8719 3928 मा सम्पर्क गरी प्राप्त गर्न सकिन्छ ।

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा