
शेक्सपियरको जन्मघर अघि लेखक
यतिबेला तारा र म यात्रामा छौं । मध्यान्हको टण्टलापुर घाम छ । बेलायतमा पनि यस्तो चर्को घाम लाग्छ भनेर कसैले सोच्दै सोचेको हुँदैनन् । हामी केही समय अगाडी सेक्सपियरको जन्मथलो ‘स्ट्रार्टफोर्ड अपन एभन’ आइ पुगेर धुइँधुइँ उनको जन्मघर खोजिरहेका छौं । तर घरको मेसो कहीँ फेला पार्न नसकेपछि, –
“हामीले घर त पत्ता लगाउन सकेनौं, सकेनौं । होइन ! तिमीले कतै कार पार्कको साइन पनि देख्यौं कि ?” तारालाई सुस्तरी प्रश्न सोध्छु ।
घर छाडेदेखि यात्रामा पटक पटक निदाउँदै ब्युँझदै गरिरहेकी उनले, –
“अहँ ! म झन कहाँ देख्छु र ? बल्ल बल्ल त आँखा खोल्दैछु । त्यसैले के देख्थे र ? अझै यसरी आँखा खोल्ने बितिक्कै सूर्यको प्रकाश मेरो आँखामा पर्यो । टलक्कै टल्केको त्यो प्रकाशले झन् म त तिरिमिरी झ्याइँ पो देखेँ,” हतार हतार त्यसरी जवाफ फर्काउँछिन् ।
मेरी श्रीमती पनि अचम्मकी मान्छे छिन् । अझ यसो भनौं – अति नै सोझी र इमान्दार छिन् । हुनत मलाई उनकी आनिबानी राम्रैसँग थाहा छ । थाहा पनि किन नहोस् र ? विगत ३५ वर्षदेखि यता हामी फलामे साङ्ली झैं एकअर्कामा मज्जाले बाँधिएर बाँचिरहेका छौं । त्यसैले हामी एक अर्कालाई राम्ररी बुझ्छौं ।
तर सबैकुरो थाहा हुँदाहुँदै पनि मलाई यदाकदा यस्तो लाग्छ । म कुनै कुनैबेला सायद एक काँधे लगाएको गोरूझैं भएर जिन्दगी जिइरहेको छु कि ? मैले किन त्यसो भनेको हुँ भने बिहान बेलुकी खाना पकाउने र घर सफा गर्ने कामहरु बाहेक जीवनको सबै बोझ मैले नै बोक्नु पर्छ । र, हरेक कुरोमा मार्गदर्शकको भूमिका मैले नै निर्वाह गर्नुपर्छ ।
ल अरु विगत त विगत भैहाल्यो । अनि सबै बिगतका कुरोहरुलाई छाडेर अहिलेको अवस्थालाई मध्यनजर गर्ने हो भनेपनि म कार हाँक्न व्यस्त भइरहेको बेला अलिकति सडकमा भएका नक्साहरु पढिदिए कति धन्य हुन्थ्यो होला, मनमनै त्यसो भन्छु ।
तैपनि उनको कुरो सुनेर, “ल ठीक्कै छ,” भनेर चित्त बुझाउँछु ।
सप्ताहन्तको समयले होला ? स्ट्रार्टफोर्ड अपन एभनका सडकहरु स-साना छन् तैपनि अलिक व्यस्त देखिन्छन् । मानिसहरुका भिडभाड निक्कै बाक्लै छन् । म अरु कुरो केही नसोचेर सडकको माग बमोजिम कारको स्टेरिङ दायाँबायाँ बटार्छु । र, आफै कार पार्कको खोजी गर्न थाल्छु । नभन्दै एकछिनपछि बेलायतभरी छयासछ्यास्ती पाइने राष्ट्रिय कार पार्क (एनसिपी) को सूचनापाटी मेरो सामुन्ने देखापर्छ । त्यसपछि म ढुक्क हुन्छु । अब सूचनापाटीलाई पछ्याउँदै पछ्याउँदै त्यता हुइँकिन थाल्छु ।
सूचनापाटीलाई पछ्याउँदै जाँदा त्यसले मलाई कार पार्क गर्न मिल्ने एउटा थोत्रो घरमा पुर्याउँदछ । अनि त्यहाँ पुगेपछि कारपार्क गर्ने उपयुक्त्त स्थानको खोजी गर्छु । त्यसरी खाली ठाउँ खोज्दैखोज्दै जाँदा चौथो तलामा पुग्छु । त्यहाँ पुगेपछि एउटा खाली ठाउँ देखापर्छ । त्यसपछि खुसी मुद्रामा म त्यहीँ कार पार्क गर्छु ।
कार पार्क गरिसकेपछि, –
“अ…साँच्ची ! कति घण्टाको लागि कार पार्क गरौ हँ ?” तारालाई सल्लाह माग्छु ।
“अब यहाँ पहिले कहिल्यै आइएको छैन् । ठाउँ के कस्तो छ ? निश्चय नै अलिकति समय लाग्छ होला ? मेरो विचारमा तीन/चार घण्टा जति त त्यसै लाग्छ होला नि ?” उनले मधुरो स्वरमा जवाफ दिन्छिन् ।
उनको कुरो सुनेपछि, “ल ! हुन्छ – हुन्छ,” भन्छु ।
कारदेखि निस्केर सीधै अगाडी पर्खालको नजिकै पुग्छु । किनभने त्यहाँ कारपार्क गर्नको लागि टिकट खरिद गर्न मिल्ने एउटा स्वचालित यन्त्र (भेन्डिङ मेसिन) देखापर्छ । क्रेडिट कार्डको सहयोगले तिनै यन्त्रदेखि चार घण्टासम्म कारपार्क गर्ने एउटा टिकट खरिद गर्छु । र, त्यसलाई कारको ड्यास बोर्डमा राखिदिन्छु ।
“खै ! अब कहाँदेखि मुनी झर्ने होला ?” कारदेखि बाहिर निस्कदै गर्दा ताराको मुख खुली हाल्छ ।
“म पनि तिमी जस्तै त हो नि, के नै पो भन्न सक्छु र ?” उनको कुरो सुनेर प्रतिप्रश्न गर्छु ।
मध्यान्हको समय छ । त्यसैले कार पार्क एकदम सुनसान छ । तैपनि हामी दुईजनाले घरीघरी गरेको वार्तालापले कार पार्कको शून्यतालाई भङ्ग गर्छ । यहाँ बजारमा हटिया भर्नको लागि वा यस टाउनमा काम गर्नको लागि आउने मान्छेहरुले बिहानै कार पार्क गरेर छाडिराखेका छन् । त्यति सुनसान ठाउँमा कारबाट बाहिर निस्कन्छु र पहिले यसो दायाँबायाँ हेर्छु । त्यसपछि अब कहाँदेखि मुनी झर्ने होला भनेर एकछिन सोच्न थाल्छु । तर म उभिएको ठाउँभन्दा अलिक परतिर पर्खालको छेउमा एउटा लिफ्टको साइन देखापर्छ ।
त्यसलाई देख्ने बितिक्कै, “खै कहाँ छौं ? लु मलाई पछ्याउँ है,” भन्छु र म बिस्तारै अगाडी बढ्न थाल्छु ।
मेरो कुरो सुनेर उनी पछिपछि आउन थाल्छिन् । त्यसपछि हामी दुवैजना सुस्तरी हिँडेर लिफ्टको नजिकै पुग्छौं । तर त्यहाँ पुग्दा अचानक भित्तामा, –
“यो लिफ्टले काम गर्दैन है,” भनेको सूचना देखापर्छ ।
त्यस्तो सूचना देख्ने बितिक्कै, “छ्या ! कस्तो हौं । यो लिफ्टले पनि काम गर्दैन रे ?” अनायासै ताराको मुख खोलिन्छ ।
उनको कुरो सुनेर, “ठीक्कै छ नि, यी हिँडेर झर्ने भर्याङ पनि यहीँ रहेछ । आखिर हिँड्दाखेरि व्यायाम पनि हुन्छ भनेर सबैले भन्छन् । लु आउँ है, म त हिडें,” भन्छु ।
त्यति भनी सकेर म टकटक जुत्ता पड्काउँदै ओरालो लाग्छु । अब उनको पनि केही अन्य उपाय हुँदैन । त्यसैले खुरुखुरु मलाई पछ्याउँन थाल्छिन् । तर मुनीको तलामा झर्ने बितिक्कै ह्वास्सै पिसाबको गन्ध आएर हामी दुवै जनाको नाखमा ठोकिहाल्छ । हरेक दिन तरकारीको वासना सुँघ्ने बानी परेकी ताराको नाख स्वभावैले मेरोभन्दा अलिक बढी नै चलाख छ त्यसैले, –
“होइन ! मान्छेहरुले त यहीँ भर्याङमा पिसाब फेर्छ कि के हो ? थाहा पाउनु भो ?” सर्मिन्दा भाषामा मलाई सोध्छिन् ।
“थाहा पाएँ हौं । थाहा पाएँ । भट्टीपसलमा टन्न बियर पिएर मातेको कुइरेलाई जाबो पिसाब फेर्न के को आइतबार कुर्नु पर्छ र ?” तुरुन्तै जवाफ फर्काइ हाल्छु ।
मेरो त्यति जवाफले उनको मुख बन्द हुन्छ । त्यसपछि हामी दुवैजना एकछिन चुपचाप बस्छौं । तर कोलाहलमय त्यस वातावरणमा हामी दुवैजनाले भर्याङमा टेक्दा निस्केको जुत्ताको टकटक आवाज निक्कै टाढासम्म सुन्न सकिन्छ । एकछिनपछि हामी सबैभन्दा मुनिको तलामा झर्छौं । तर त्यहाँ झर्ने बितिक्कै तिनै कार पार्कमा मैला टिपिहिँड्ने एकजना सफाइकर्मी (क्लिनर) सँग हाम्रो अचानक भेट हुन्छ । उनी त्यसबेला दुवै खुट्टा बङलङ्गै दायाँबायाँ फालेर भुइँमा बसिरहेको हुन्छ ।
उनलाई देख्ने बितिक्कै म एकपटक राम्ररी हेर्छु । उनले शरीरको माथिल्लो भागमा निक्कै टाढाबाट देख्न सकियोस् भनेर पहेँलो चमकदार फ्लोरोसेन्टको ज्याकेट पहिरन गरिरहेको छ । मुनी चाहिँ निख्खुर कालो पत्लुङ र खुट्टामा छालाको एकजोर बुट लगाएको छ । उनको सीधै अगाडी एउटा मैला राख्ने साधन ट्रली छ र बायाँ हातले भुइँको कसिङ्गर बढार्ने झाडु समातिरहेको छ । जस्ले ऊ एकजना बढारकुँढार गर्ने सफाइकर्मी हो है भन्ने राम्रो परिचय दिन्छ । तर दायाँ हातले भने गालालाई आराम गराइ रहेको दृश्य देख्दा ऊ थाकेर लखतरान भएको छ है भन्ने कुरो स्पष्ट जान्न सकिन्छ ।
मलाई लाग्छ – उनी म भन्दा निक्कै पाको मानिस हुनुपर्छ । किनभने उनको पूरै चाउरी परेको अनुहारले त्यही बताउँछ । अझै उनले निक्कै लामो समयसम्म केस पनि काटेका छैनन् । त्यति लामोलामो केसराशी र दाह्री जुङ्गा पाकेका त्यस्तो वृद्ध मानिसको दृश्य देख्दा मलाई भिन्सेन्ट भ्यानगगको याद आउँछ । किनभने भ्यानगगले कुनैपनि दुखान्त दृश्य देख्ने बितिक्कै एउटा नयाँ कलाको सिर्जना गरिहाल्थे । दुर्भाग्यवस ! म भ्यानगग त परिनँ तैपनि उनको नजिकै गएर, “मध्यान्हको नमस्कार,” भनेर उनलाई सम्बोधन गरिहाल्छु ।
अचानक मेरो कुरो सुनेर ऊ पहिले झसङ्गै झस्किन्छ । तैपनि सरकारी काम कहिले जाला घाम भनेर बसिरहेको ती बुढोमान्छे मलाई देखेर प्रसन्न मुद्रामा, –
“नमस्कार ! अनि आराम हुनुहुन्छ ?” भनेर उल्टै प्रश्न सोध्छ ।
“बेसै छ, धन्यवाद ! तर सेक्सपियरको जन्मघर चाहिँ कता हो नि, जिउ ?” भनेर म फेरि उनलाई सोध्छु ।
उनको बायाँ हातमा झाडुको डण्डी छ । त्यसैले फूर्तिको साथ दाहिने हातले मलाई देखाउँदै, –
“उ त्यो पार्क गरिरहेको कोचलाई एकपटक नजर मार्नोस् त अनि त्यहाँसम्म सिधै हिडेर जानुहोस् । त्यसपछि देब्रे घुम्नोस् अनि ५० मिटर जति हिडेर दाहिने घुमि हाल्नोस् । त्यहाँदेखि दुई तीन मिनेट हिड्नोस्, तपाइँ ठ्याक्कै उनको घरको करेसोमा नै पुग्नु हुन्छ, ढाँटेको भने मरि जाउँ, मित्र” त्यति भन्छ र एकपटक लामो सास तान्छ ।
अब त्यति राम्ररी बेलिबिस्तार लगाएपछि फेरि म उनलाई अन्तिम चोटी, “धन्यवाद,” भन्छु । र, हामी उनीसँग बिदा हुन्छु । मध्यान्हको सूर्यको प्रकाशले सारा धर्ती नै उज्यालो बनाइरहेको बेला हामी स्टार्टफोर्ड अपन एभनमा पुगेका हुन्छौं । नत्रभने बेलायती मौसमको के विश्वास गरिहाल्न सकिन्थ्यो र ? मौसम क्षणक्षणमा गडबड भइरहने गर्दछ । तैपनि आज भाग्यले साथ दिएको छ र त्यति राम्रो मौसम छ ।
हाते घडीमा दिउँसोको ठीक २ बजेको हुन्छ । अनि आज अङ्ग्रेजी सम्वत २०२३ को अगस्ट महिनाको तेश्रो सप्ताहन्तको दिन पर्न गएको छ ।
उनले भने बमोजिम हामी त्यहाँदेखि निस्केर हिँडेको एकछिनमा हेन्ली सडकमा पुग्छौं । यो सडक मानचित्रमा कहाँ पर्छ भनेर मैले बेलिबिस्तार लगाउने हो भने बेलायतको राजधानी लण्डनदेखि ठेक्कै ९१ माइल्स उत्तर पश्चिम र दोश्रो ठूलो सहर बर्मिङघामदेखि २२ माइल्स दक्षिण पूर्वमा अवस्थित रहेको छ ।
अथवा यहाँहरुलाई सजिलो होस् भनेर यसो भनौं – यो वार्विकसेयर काउन्टीमा पर्दछ । तर तपाइँ वार्विकसेयर आइपुग्न कोसौँ अगाडीदेखि, “तपाइँहरुलाई सेक्सपियरको जन्मभूमि वार्विकसेयरमा न्यानो स्वागत छ,” भनेर बेलायती महासडक (एम ४०) को सूचनापाटीमा पटकपटक लेखेको मज्जाले देख्न सकिन्छ ।
हेन्ली सडक, स्टार्टफोर्ड अपन एभन बेलायतको इतिहासमा ज्यादै प्रख्यात सडक हो । किनभने आजभन्दा लगभग ५ सय वर्ष पहिले यहाँ विश्वविख्यात साहित्यकार सेक्सपियरको जन्म भएको थियो । त्यसैले विश्वका हरेक साहित्यिक पारखीहरुले यसलाई पवित्र भूमि भनेर यहाँ पाइला टेक्ने गरेका छन् । वास्तवमा एउटा जीवन मात्र त जिउनु पर्छ । यस ब्रम्हाण्डमा स्थायी भन्ने चिज केही हुँदै हँदैन । आखिर सूर्यको त आयु हुन्छ । त्यसैले यो जाबो जीवन ढल्न अगावै यहाँ एकचोटी आइहालौं भन्ने मेरो निक्कै पुरानो धोको थियो । त्यसैले म त्यो धोको पूरा गर्न यता लागेको हुँ ।
हो, हामी अहिले तिनै सडकमा हाम्रो पाइतालाहरु गनिरहेका छौं । र, सेक्सपियरको बारेमा विभिन्न कुरोहरु सोचिरहेका छौं । तर यहाँ आइपुग्ने बितिक्कै बाटोको दाहिने कुनामा बसेर गीत गाइरहेकी सुमधुर स्वरकी धनी एकजना गायिकाको स्वर सुनेर हामी एकछिन मन्त्रमुग्ध हुन्छौं । त्यसैले तारासँग बाटोको बिचमा ठिङ्गै उभिएर एकछिन् गीत सुन्न थाल्छौं । अनि उनले यसबेला बहुचर्चित गायक जोन डेनभरको गीत गाइरहेकी छिन् ।
“यो स्वर्ग हो, पश्चिम भर्जिनिय हो । नीला डाँडाकाँडा छन्, सेनाडो नदी छ । जिन्दगी बुढो छ, रुखहरु भन्दा बुढो । मलाई घर लैजाउ, गाउँको बाटो भएर – पश्चिम भर्जिनिय । पश्चिम भर्जिनिय ।”
उनकी गीत सुनेर मलाई एक्कासि पश्चिम भर्जिनिय पुगेको झझल्कोले छुन्छ । तैपनि हामी सुस्तरी अगाडी बढ्छौं तर यो पापी मनले मान्दै मान्दैन । त्यसैले एकछिन हिँडेपछि फेरि अघिझैं ठिङ्गै उभिएर गीत सुन्न थाल्छौं । त्यहीँबेला मेरो नजिकै उभिएका तर निषध्यान दिएर गीत सुन्दै गरेको एकजना पुड्के मान्छेलाई, –
“गीत ज्यादै मीठो छ – हगि,” भन्छु ।
उनले प्रतिउत्तरमा, “हो हो, पश्चिम भर्जिनिय मेरो गाउँ हो । अब यति टाढा परदेशमा छु । तैपनि आफ्नो गाउँघरको गीत सुन्दा त्यसै मीठो र आनन्द भैहाल्छ नि,” गर्विलो मुद्रामा ऊ बोल्छ ।
उनको कुरो सुनेर, “आम्मै ! हो र ? उसो भए भरपूर मनोरन्जन गर्नु होला है,” भन्छु ।
हामी ऊसँग बिदा हुन्छौं । त्यसपछि खुरुखुरु अगाडी बढ्छौं । खै के भएर हो कुन्नि ? आज हामीले स्ट्राटफोर्ड अपन एभनमा पहिलो मान्छे भेट्ने बितिक्कै अङ्ग्रेज नभएर अमेरिकादेखि आएकोसँग भेट्न पुगेछु जस्तो लाग्छ ।
खयर जे सुकै होस् । हामी आफ्नो गति बढाउन थाल्छौं । साहित्यप्रति अगाध रुचि राख्ने हरेक मानिसहरुको लागि “पवित्र स्थल” मानिने हेन्ली सडकमा कोही गीत गाइरहेका छन् । कोही नजिकै रहेको क्याफेमा चिया र कफी पिइरहेका छन् । कसैकसैले दिउँसोको पारिलो घामसँगसँगै हाँसखुसी बियर र वाइनका चुस्की लिइरहेको दृश्यावलोकन पनि गर्न मिल्छ । झन् ठूल्ठूला मुख हुनेहरुले दिउँसोको लन्च सान्डविच र बर्गरलाई च्यापु हल्लाइहल्लाइ चपाइरहेको रमाइलो दृश्य पनि यहाँ नजर गर्न मिल्छ ।
साँच्चै भन्नुपर्दा यो सडकको दृश्य एकदम जीवित छ र हामीलाई पर्यटकहरुको ती खेलहरु हेर्न ज्यादै रमाइलो लागिरहेको छ ।
“होइन ! यतिका धेरै मान्छेहरु छन् । यहाँ मान्छेहरु त आश्चर्य लाग्ने गरी आउने रहेछन् । म त तीन छक्क परेँ,” मलाई पछाडिदेखि कोट्याउँदै ताराले त्यति भन्छिन् ।
यहाँ मानिसहरु मात्र हिँड्न मिल्ने सडक छ । सडक निक्कै फराकिलो र अति व्यस्त छ । अझै सडकको दायाँबायाँ किनारमा अवस्थित दोकानहरु झन् व्यस्त देखिन्छन् । हरेक दोकानहरु बाहिर लहरै झुन्डाइएका गमलाहरुमा कति मज्जाले फूलहरु फूलिरहेका देखिन्छन् । लाग्छ – यहाँ मान्छेले त भन्नै परेन । ती फूलहरुले पनि पर्यटकहरुलाई आकर्षण गरिरहेको देख्न सकिन्छ ।
तपाइँ हेर्दै जानुहुन्छ भने मानिसको हुल झन्झन् बढिरहेको देख्न सकिन्छ । तर त्यतिका धेरै मानिसहरुको घुइँचो देखिएता पनि अधिकांश मानिस अङ्ग्रेजहरु होइनन् भन्ने कुरो उनीहरु एक अर्कामा बोलिरहेको भाषा र लगाइरहेको पहिरनले प्रष्ट छुट्याउन सकिन्छ । मलाई लाग्छ – धेरैजसो पर्यटकहरु अमेरिकन, फ्रेन्च, स्पेनिस, अरब, जापानिज र चाइनिजहरु हुनुपर्छ ।
वास्तवमा कुरो यस्तो छ । हामी संसारको परिक्रमा गर्ने क्रममा कहाँ पुग्यौं वा कहाँ पुगेनौं । त्यसको एउटा छुट्टै पाटो हुनसक्छ । तर जहाँजहाँ पुगेका छौं । प्रायः यी माथि उल्लेख गरिएका मानिसहरु नै भेटने वा देख्ने गरेका छौं । किनभने जुन देशको आर्थिक हैसियत अलिक जल्दोबल्दो हुन्छ । ती देशका मानिसहरु नै विश्व भ्रमण गर्न निस्कने गरेका हुन्छन् । सम्भवतः यो प्राकृतिक नियम यहाँ स्ट्राटर्फोड अपन एभनमा पनि ठ्याक्कै लागू भएको मलाई यसबेला महसुस हुन्छ ।
यहाँ देखिएका पर्यटकहरुको खेल हेरेर हामी मन्त्रमुग्ध भएका छौं । तर हामी एकधुनमा त्यसरी बाटोमा हिँड्दै गर्दा अचानक एकजना मान्छेले उनकी प्यारीलाई, “डार्लिङ ! य कहाँ आगए हम,” भनेर हिन्दी भाषा बोलेको सुन्दा मलाई नयाँ दिल्ली पुगेको तीता मीठा स्मरण होइन उता बुईपा, खोटाङ्को पन्चरबाटो हटिया भर्न जाँदा सिलाबरे भाडाकुँडा बेची हिँड्ने एकजोडी भारतीय र उनको श्रीमतीको सम्झना आउँछ ।
तिनै भारतीय भैयाको सम्झना गर्दैगर्दै हाम्रो यात्रा क्रमशः अगाडी बढिरहेको हुन्छ । तर अचानक –
“होइन ! यो अगाडीको क्याफेमा सौचालयको प्रयोग गर्न मिल्छ कि मिल्दैन होला ? म त मरिहालेँ नि,” सानो स्वरमा ताराको मुख खोलिन्छ । उनको कुरो सुन्ने बितिक्कै म सरासर हिँड्दै क्याफेभित्र छिरिहाल्छु । भित्र पसेपछि बारमा देखिएको एकजना बेयरालाई, –
“हजुर ! तपाइँहरुको सौचालय प्रयोग गर्न पाइन्छ कि पाइँदैन होला ?” थोरै सुर्तासहित सोध्छु ।
नत्रभने धेरै ठाउँहरुमा ‘मलाई माफ गर्नोस् । हाम्रो यो सौचालय त केवल ग्राहकहरुको लागि मात्र हो’ भन्ने सजिलो जवाफ पाइ हालिन्थ्यो । तर खै यहाँका मानिसहरु थोमस हब्सले सोचेको जस्तै त्यति क्रुर र निर्दयी छैन रहेछन् । बरु हामी नेपालीहरु जस्तै निक्कै दयालु रहेछन् । त्यसैले, –
“कृपया ! चलाउनु भए हुन्छ”, उनले हाँस्दै हास्दै प्रति उत्तर फर्काउँछन् । त्यसपछि हामी उनलाई आभार प्रकट गर्दै सौचालयको प्रयोग गर्छौं ।
सौचालयदेखि निस्कन्छौं र पुनः सडकमा हिँड्न थाल्छौं । तर दुईचार मिनेट हिँड्ने बितिक्कै सेक्सपियरको जन्मघर अगाडी पुगिहाल्छौं । अब त्यहाँ पुग्ने बितिक्कै तारा प्रशन्न मुद्रामा हुन्छिन् । अनि मोबाइल निकालेर तस्विर लिन सुरु गरिहाल्छिन् । म चाहिँ तिनै घरको सामुन्ने सिमानामा रहेको दशगजा खम्वाझैँ हलचल नगरी एकछिन् ठिङ्गै उभिरहन्छु । र, सोर्हौं शताब्दीमा निर्माण भएको उक्त घरलाई मज्जाले नियाल्न थाल्छु ।
त्यति अगाडी बनेका त्यस घर स्वभावैले पुरानो त यस्सै देखिन्छ । अझै ढुङ्गा र माटोले निर्माण गरिएको त्यो घर निक्कै विशाल देखिन्छ । अझै त्यो घरको निर्माण हुँदा कति धेरै काठको प्रयोग गरिएको रहेछ भन्ने कुरो पनि देखिन्छ । हरेक दिन म जस्तै दशौं हजार पर्यटकहरुले हेर्ने त्यस घरमा निक्कै धेरै झ्यालहरु रहेका छन् र सबै झ्यालहरुमा फलामे तारका जाली हालेर सुरक्षित बनाइएका छन् । जिन्दगीमा पटकपटक घरहरु किन्दै बेच्दै गरेको मसँग अनुभव भएको हुनाले म त्यस घरको छानोदेखि जमिनको सतहसम्म राम्ररी हेर्छु ।
निक्कै लामो समयसम्म घरको दृश्यावलोकन गरिसकेपछि अङ्ग्रेजी पुनर्जागरणका मुख्य कवि सेक्सपियरको बाबु जोन सेक्सपियर र आमा म्यारी सेक्सपियरलाई सम्झन पुग्छु । उनका बाबु जोन भेडाको ऊनबाट बन्ने पन्जा व्यापारी थिए । जाडोको समयमा अत्यधिक पन्जा बिक्री गर्ने उनको माथिल्लो तलामा बास बस्ने कोठा र मुनीको तलामा दोकान थियो ।
यिनै घरमा जोन र म्यारी सेक्सपियरका ७ जना सन्तानहरु जन्मेका थिए । सेक्सपियर जन्मनुभन्दा अगाडी जन्मेका दुईजना दिदीहरुमध्ये सबैभन्दा ठूली दिदी जोयन जन्मेर दुई महिनामात्र बाँचेकी थिइन् । तर माइली दिदी मार्गरेटको भने जन्मने बितिक्कै मृत्यु भएको थियो । उनीहरु पछि तेश्रो सन्तानको रुपमा सेक्सपियरको जन्म यिनै घरमा सन् १५६४ भएको थियो ।
सेक्सपियरको जन्म भएपछि उनलाई यहीँ नजिकै रहेको पवित्र त्रिदेव गिर्जाघर “होली ट्रिनिटी चर्च” स्ट्रार्टफोर्ड अपन एभनमा २६ अप्रिलको दिन न्वारान (बाप्टाइज्ड) गरिएको थियो । त्यसदिन उनको न्वरानमा को को उपस्थित थिए भन्ने प्रमाण त्यस गिर्जाघरमा अहिलेसम्म पनि मज्जाले पढ्न सकिन्छ तर त्यो ल्याटिन भाषामा लेखिएको छ ।
२६ अप्रिल १५६४ मा न्वारान भएको सेक्सपियरको जन्म कुन दिन भएको हो भनेर कसैले ठ्याक्कै ठोकुवा गर्न सकेका छैनन् । किनभने त्यसको यथेष्ट प्रमाण अहिलेसम्म कहीँ कतै भेटिँदैन् । तर उनको जीवन कहानी लेख्ने विख्यात विद्वान अध्येताद्वय विलियम ओल्डिज र जर्ज स्टेभेन्सले उनी जन्मेको दिन निश्चित नभएता पनि तत्कालिन समयमा मानिस जन्मेको तीन दिन पछाडी न्वारान गरिने परम्परा थियो । सोही चलनलाई मध्यनजर गर्दै उनी २३ अप्रिलमा नै जन्मेका हुन है भनेर उनीहरुले भनेका छन् । र, तिनै दिनलाई अहिले पनि उनको आधिकारिक जन्मदिन हो है भनेर मान्ने गरिन्छ ।
विश्वविख्यात साहित्यकार सेक्सपियरको ५२ वर्षमा मृत्यु भएको थियो । तर काकताली के पर्यो भने उनी जुन दिन जन्मेको भनेर २३ अप्रिललाई मान्ने गरिन्छ । उनको मृत्यु पनि सोही दिन २३ अप्रिल १६१६ मा भएको थियो । सो मृत्युको प्रमाण चाहिँ उनको समाधिस्थल तिनै गिर्जाघरमा अहिले पनि मज्जाले देख्न सकिन्छ । अझै उक्त्त दिन २३ अप्रिललाई जर्जियन पात्रोमा ‘सेन्ट जर्जेस डे’ पनि भनेर मानिन्छ ।
हामी सेक्सपियरलाई सम्झँदै सम्झँदै त्यहाँदेखि सुस्तरी हिँडेर थोरै अगाडी बढ्छौ । एकछिनपछि बाटोको बीच भागमा रहेको उनको शालिकनेर पुगेर ठिङ्गै उभिन्छौं । जुन शालिकलाई सन् २०२२ मा टोनी बर्ड ओबिइ र बर्ड परिवारले बनाइदिएका थिए । मैले त्यो शालिकलाई मज्जाले नियालेर हेर्दा उनको नाम विलियम सेक्सपियर भनेर त्यहाँ लेखेको देख्छु ।
वास्तवमा तपाइँ सेक्सपियरको जीवनीलाई एकदम गहिरिएर अध्ययन गर्नु हुन्छ भने उनको न्वारानको नाम विलियम सेक्सपियर हुँदै होइन – ‘गुलिलमस सेक्सपियर’ हो ।
त्यसबेला अङ्ग्रेजी भाषाको प्रचलन त्यति थिएन । त्यसैले सम्भवतः त्यो नाम ल्याटिन भाषामा राखिएको हुनुपर्छ । हामीले अझै एउटा कुरा के याद गर्नु पर्छ भने उनले यहाँ नजिकै रहेको ग्रामर स्कूलमा ल्याटिन भाषा अध्यान गरेका थिए । उनले नाटक, रुपक र कविताहरु लेख्दा ‘विल’ भनेर समय समयमा लेखिरहने गर्दथे । उनले विल भनेर लेखेपछि उनका साथीहरुले उनलाई विलियम भन्ने गर्थे । कालान्तरमा तिनै नामबाट परिचित भएर उनको नाम विलियम सेक्सपियर रहन गएको हो ।
अझै सेक्सपियरको पारिवारिक कथा पनि एक प्रकारले अचम्मको नै मान्नु पर्छ । उनले १८ वर्षको उमेर हुँदा २६ वर्षकी आना हाथवेसँग विवाह गरेका थिए । उनकी माइती घर यहीँ नजिकै पर्छ । अहिले उनी जन्मेकी उक्त्त घरलाई “आना हाथवे कटेज” भन्ने सङ्ग्रहालयमा परिणत गरिएको छ । हामी त्यहाँ पहिले नै पुगिसकेका छौं ।
उनीहरुको बिहे भएपछि सन् १५८३ मा पहिलो सन्तानको रुपमा सुजना सेक्सपियर जन्मेकी थिइन् । त्यसपछि सन् १५८५ मा जुम्ल्याहा छोरा र छोरी क्रमशः हेमनेट र जुडिथ सेक्सपियर जन्मेका थिए । तीन जना सन्तानहरुको बाबु सेक्सपियरलाई सम्झेर हामी त्यहाँ एक छिनसम्म खडा भइरहन्छौं । र, शालिकलाई मज्जाले नजर मारिरहेका हुन्छौं ।
तर ताराले अचानक, –
“खै ! तपाइँ सेक्सपियरको शालिकसँग तस्विर लिने होइन र ?” त्यति भनेको सुन्ने बितिक्कै म केही नसोची सरासर शालिकको नजिकै पुग्छु । त्यसपछि तस्वीर लिनको लागि दुवै हात पछाडी राखेर तम्तयार भइहाल्छु । तस्वीर खिच्नको लागि तयार भैसकेपछि पनि ताराले तस्वीर लिन थोरै समय लिन्छिन् । तर ठीक त्यहीँबेला एकजना बालक एक्कासि मेरो सामु देखापर्छ र, –
“मलाई माफ गर्नोस् ! मलाई तस्वीर खिच्ने अवसर दिने होइन र ?” भन्दै प्रश्न गर्छ ।
उनको बोली सुनेर पहिले मलाई हाँसो उठ्छ । त्यसपछि म उनलाई क्वारक्वार्ती हेर्न थाल्छु । लगभग ५/६ वर्षको जस्तो देखिने जाबो अङ्ग्रेजी फुच्चाले यस धर्तीमा कम से कम छ दशक पार गरेको मान्छेसँग एकरति नडराइ त्यसरी बोलेको सुन्दा म एकछिन अचम्मित हुन्छु । अझै म शालिकको नजिकै पुगेर तस्वीर लिनको लागि तीस सेकेण्ड समय पनि खर्च नगर्दै मलाई निकाल्न खोज्दा एकपटक त बेस्सरी झोंक चल्छ ।
तर जति झोंक चले पनि म उसलाई के गर्नु सक्छु र ? बेलायतमा बालबालिकाहरुलाई छुन पनि सकिँदैन । त्यसैले आफूलाई आफैँ चित्त बुझाउँछु । उता मेरो गाउँघरजस्तो भए त के छाड्थेँ र ? छाड्दै छाड्दिनथेँ, बेस्सरी हप्काउने थिएँ हुँला ? अब यता प्रजातन्त्रको जननी देश पर्यो । बालबालिकाहरुलाई थाथाथुथु गर्न मिल्दै मिल्दैन भन्छन् । त्यसैले आफूले आफैँलाई शान्त्वना दिँदै चुपचाप अपमान पनि सहर्ष स्वीकार गर्छु ।
एकचोटी फेरि सोच्छु । वास्तवमा त्यो बालक निर्दोष पनि थिए होला ? त्यो मानेमा सबैभन्दा दोषी त उनको अभिभावकहरुलाई देख्छु । किनभने बालकलाई जस्तो सिकायो त्यस्तो बन्ने त हो मनमनै भन्छु । अनि त्यो बालकलाई हेर्ने त्यहाँ दुईजना आइमाईहरु पनि त्यहाँ देखिन्थे । निश्चय पनि तिनीहरुमध्ये एकजना उनको आमा हुनुपर्छ । किनभने उनीहरु बालकको नजिकै उभिरहेका थिए ।
उनीहरुले आफ्नो बच्चालाई ‘बाबा ! तिमी एकछिन पर्ख ? तिम्रो पालो आउँछ’, भन्नको साटो मप्रति लक्षित गरेर हाँसिरहेको देख्दा मेरो छाला हेरेर उनीहरुले त्यस्तो व्यवहार गरेका हुन् कि भन्ने मलाई त्यसबेला आभाष हुन्छ । तैपनि सकरात्मक सोच्ने मानिस भएको हुनाले ती बालकलाई तस्वीर खिच्ने स्थान छाडी दिएर म त्यहाँदेखि निस्कन्छु र लुरुलुरु हिँड्न थाल्छु ।
स्ट्राटफोर्ड अपन एभनमा हातको घडी एक रफ्तारले घुमिरहेकै छ । घडीले आफू कहाँ पुग्ने होला भनेर केही अत्तोपत्तो पाउँदैन । तैपनि घुमिरहन्छ तर हामीलाई दिउँसोको समय ४ बजिसकेको छ है भनेर जानकारी पनि गराउँदछ । त्यसपछि हामी सडकमा सुस्तरी हिँड्दै अगाडी बढ्न थाल्छौं । त्यसरी हिँड्दै जाँदा ताराले, –
“तपाइँ नामर्द मान्छे । जाबो एउटा बच्चाले पनि हेप्छ । मान्छे पनि अलिक अजङ्गको भा पो । हेर्दा अलिक ठूलो देखिए त फुच्चेले के आँट्थ्यो ? अब के गरौँ ? घर फर्केर जाउँ कि के हो ?” अनेक थरि प्रश्न गर्छिन् ।
“त्यसो नभन न । अब यो सङ्ग्रालयभित्र पसियो भने अर्को एक घण्टा समय त्यतिक्कै नस्ट हुन्छ । पाँच बजे होली ट्रिनिटी गिर्जाघर बन्द हुन्छ । बरु मलाई सेक्सपियरको समाधिस्थल त्यो गिर्जाघर पुग्न ज्यादै ठूलो रहर छ । त्यसैले अब त्यतै लाग्नु पर्छ होला ?” उनलाई भन्छु ।
मेरो कुरो सुनेपछि, “लौ ! लौ ! त्यसै गरौ न त,” उनी भन्छिन् ।
त्यति भनिसकेपछि जिन्दगीमा प्रथमचोटी उनी मेरो अगाडी हिँड्न सुरु गर्छिन् । तर अलिकति हिँड्ने बितिक्कै उनी टक्क रोकिन्छिन् । उनी त्यसरी रोकिनुको कारण एकजना गायिका देखेर हो । उनी रोकिएपछि म हिँड्दै उनको नजिक पुग्छु । र, म पनि तिनै गायिकालाई निक्कै नजिकदेखि राम्ररी नियाल्न थाल्छु ।
पहिले उनकी अनुहार हेर्छु । केश हेर्छु, लामो तर सिलिक्कै परेको केश कालो रहेछ । त्यसपछि अलिक गहिरिएर आँखा, नाक, कान, मुख, पाखुरा र खुट्टाहरु सबै हेर्छु । उनले मुनी जिन्सको पत्लुङ लगाएकी छिन् । अन्तमा सानो गन्जीले छोपिरहेको भर्खरभर्खर उठेको छातीलाई कर्के नजरले अलिकति हेर्छु ।
वास्तवमा मेरो उमेर साँझको घामझैँ सर्लक्कै ढल्किसकेको छ । तैपनि उनको शरीरले मलाई यसबेला खुब आकर्षण गरिरहन्छ । श्रीमती साथैमा छ तर छोरा मान्छेको मन न हो । कुनै कुनै बेला यो मन पनि कति पापी हुन खोज्छ । आखिर जे सुकै होस् । मलाई लाग्छ – उनी चिनियाँ मूलकी हुनुपर्छ । हो हो, फरक पर्दै पर्दैन, मनमनै भन्छु ।
उनले आफ्नो अगाडी एउटा ठूलो बर्की बिछ्याएकी छिन् । बर्कीको रङ्ग टाटेपाटे देखिन्छ । त्यो बर्कीको बीच भागमा पैसा माग्नको लागि उनले बजाउँदै गरेकी गितारको खोल थापेकी छिन् । त्यहाँ त्यति धेरै पैसा देखिदैन् । त्यसले के बताउँछ भने उनले त्यहाँ पैसा माग्न थालेकी त्यति धेरै समय भएको छैन् ।
त्यसपछि म उनको शरीरलाई फेरि एकचोटी दोहोर्याएर हेर्छु । यसो हेर्दा मान्छे सानी सानी छिन् । तर एकदम धेरै मेहनतको साथ गीत गाउँदा असिनपसिन भइरहेकी छिन् । अब त्यति बैसालु युवतीको स्वरले भन्दा पनि मलाई उनको अर्धनग्न शरीरले निक्कै आकर्षित गर्न थाल्छ ।
“खै खै ! एक-दुई पाउण्डको सिक्का छ कि कतै ?” भनेर हतारहतार तारालाई सोधिहाल्छु ।
“मैले पैसा नबोकेको कति वर्ष भो ? त्यति पनि चाल पाउनु हुन्न र ? यी पैसा निकाल्ने एउटा प्लास्टिकको कार्ड मात्र छ । कि त्यो पनि चल्छ र ?” मेरो कुरो सुनेर उनले कार्ड देखाउँदै साङ्केतिक भाषा प्रयोग गर्दै मलाई थर्काइ हालिन् ।
म पनि मान्छे लाटो अथवा अति पटमूर्ख नै हुँ । अचानक बाटोमा भेटिएकी राम्री तरुनीलाई पैसा दिनको लागि आफ्नो श्रीमतीसँग पैसा माग्ने । त्यसैले उनी रिसाउनुको कारण मैले पछि बुझ्छु । बल्ल त्यति भनाइ खाएपछि मेरो मुख सुकेर आउँछ । एकछिनमा कलेटी पर्दै बन्द हुन्छ । प्रेमी र प्रेमिकाको बियोगान्त नाटक लेख्ने सेक्सपियरको घर अगाडी श्रीमतीसँग बित्थैमा के झगडा गरिरहने है भनेर म एकछिन् बोल्दै नबोली क्रमशः अगाडी बढ्न थाल्छु । तर छिनछिनमा गीत गाएर पैसा माग्ने गायक र गायिकाहरुलाई भेट्दा हेन्ली सडक – स्ट्राटफोर्ड अपन एभन साहित्य र सङ्गीतको सङ्गमस्थल नै मान्नु पर्ने रहेछ जस्तो लाग्छ ।
हामी हिँड्दै अगाडी बढेको केहीबेरमा हेन्ली सडकको पुछारमा रहेको गोलघुम्तीको अगाडी पुग्छौं । त्यहाँदेखि सर्लक्कै दाहिनेतिर घुम्छौँ । हामी दाहिने घुम्ने बितिक्कै ब्रिज स्ट्रिटको वक्षस्थलमाथि हिँड्न सुरु गरिहाल्छौं ।
तर त्यहाँ हेन्ली सडकमा जस्तो सडकको बिच भागमा हिँड्न मिल्ने ठाउँ छैन् । त्यसैले सडकको पेटीपेटी हिँड्न थाल्छौं । त्यसरी सडकको पेटीमा हिँड्दै गर्दा कैयन राता, हरिया, नीला र पहेँला मोटर कारहरु आउँछन र जान्छन् । अझै कति पटक त बडेबडेमाका लोरी, बस र कोचले हामीलाई उछिनेर जान्छन् । उता नेपालमा जस्तो टाटाटिँटीँ हर्न बजेको पटक्कै सुन्न सकिँदैन् । त्यसैले हामी ती मोटरहरुलाई झीनो वास्ता गर्दैनौं । बरु निस्फिक्रीसँग त्यहाँका घरहरु हेर्दै हेर्दै निरन्तर अगाडी बढिरहेका हुन्छौं ।
त्यसरी हिँड्दै जाँदा आँखा नथाकिन्जेलसम्म घरहरुको दृश्य हेर्नको मुख्य कारण ती घरहरु आजभोलि बनिने आधुनिक घरहरु जस्तो नक्कली हुँदै होइनन् । यहाँका धेरैजसो घरहरु सोर्हौं र सत्रौं शताव्दीतिर निर्माण भएका हुन् । तिनै घरहरुको रमाइलो दृश्यावलोकन गर्दै जाँदा ताराले, –
“गाँठे ! यहाँ त विकास उहिले नै भइसकेको रहेछ । अहिले भएको होइन रहेछ,” भन्छिन् ।
तर म चाहिँ एकछिन् अगाडी उनको भनाइ खाएको हुनाले केही बोल्दै नबोली सुईसुई हिँड्छु । तैपनि मेरो मनमनै यस्तो लाग्छ – घर बाहिरको घुमफिरमा सबैभन्दा बढी उनैले मनोरन्जन लिन्छिन् । अनि घर छाड्न नमान्ने पनि उनी नै हुन् ।
अगस्टको महिना छ । यसबेला बेलायती पाठशालाहरु ग्रीष्मकालिन छुट्टी भएकोले पूरै बन्द भएका छन् । त्यसैले स-साना विद्धार्थीहरु र उनीहरुको अभिभावकहरु दोकानमा समान खरिद गर्नको लागि ग्वारग्वारती सडकको पेटीपेटी हिँडिरहेको मज्जाले देख्न सकिन्छ । हुनत यो एउटा गाउँ हो । तर अति विकसित ठाउँ पनि हो । त्यसैले यहाँ कसैले कसैको वास्ता गर्दैनन् । र, नेपालमा जस्तो बिहान उठेदेखि बेलुकी नसुतिन्जेलसम्म राजनीतिज्ञहरुलाई कसैले गाली गर्दैनन् । त्यो नै विकसित मुलुकको सबैभन्दा राम्रो चलन छ ।
आजको मौसम हल्का गर्मी छ । गर्मी भएपछि मानिसलाई तिर्खा लाग्न स्वाभाविकै हो । त्यसैले यहाँ हुलका हुल मान्छेहरु बियर पिउनको लागि भट्टीपसल छिर्दै गरेका र निस्कँदै गरेका देख्न सकिन्छ । ठीक यहीँबेला हाम्रो अगाडी अगाडी दुईजना मातेको अङ्ग्रेजहरु एकअर्कामा पाल्सी भाषा बोल्दै हिँडिरहेको देखिन्छन् । मलाई यसरी खुट्टा बाङ्गोटिङ्गो गर्दै बाटोमा मातेको मान्छे हिँड्दै गरेको हेर्न एकदम आनन्द आउँछ । त्यसैले हामी केहीबेर उनीहरुको पछिपछि हिँड्छौं । तर एकछिन पछि उनीहरु बाटो काटेर पारि जान्छन् । त्यसपछि हाम्रो नजरदेखि उनीहरु बिलय हुन्छन् ।
यसरी सडकको पेटीबाट हिँड्दै जाँदा धेरैजसो खुद्रा सरसमान बेच्ने दोकान, चिया पसल, क्याफे, रेष्टुराँ र भट्टीपसलहरुको नाम सेक्सपियर वा उनको कृतिसँग जोडिएका हामी देख्न सक्छौं । तर एकछिन पछि सडकको दायाँ किनारमा लहरै अङ्ग्रेजी, इटालियन, चिनियाँ र भारतीय रेष्टुराँहरु देखा पर्छन् । हामी ती सबै रेष्टुराँहरुलाई छिचोलेर क्रमशः अगाडी बढिरहेका हुन्छौं ।
ब्रिज स्ट्रिटलाई हाम्रा पाइलाहरुले छिचोलेपछि सीधै अगाडी रहेको हरित पार्कमा पुग्छौं । अगस्ट महिनाको सूर्यको किरणहरु तिनै चउरमा भएको हरियो दुबोहरुमाथि पर्दा चउरको शोभा कति धेरै बढेको त्यसबेला मलाई आभाष हुन्छ । अझै यहाँदेखि ढुङ्गा फाल्दा पुग्ने दुरीमा अविरल बहिरहने एभन नदीलाई दृश्यावलोकन गर्दा मलाई स्वर्गीय आनन्द मिल्छ ।
अब यति राम्रो प्रकृतिको वर्णन मैले यहाँ शब्दमा कसरी गर्न सक्छु र ? हुनत उता काठमाण्डौ सहरको तीनकुनेमा पनि नेपालीहरुले प्रकृतिप्रति स्नेह गरेर यसरी नै दुबो रोपेका थिएँ भन्ने सुनेको थिएँ । तर दुबो रोपेको अर्को दिन चोरी भैहाल्यो भन्ने झन् ठूलो समाचार आएको थियो । नत्रभने सायद काठमाण्डौ पनि यस्तै रमाइलो देखिन्थ्यो होला ?

केहीबेरपछि हामी दुईजना सुस्तरी हिँडेर तिनै पार्कको पश्चिमी कुनामा पुग्छौँ । तर त्यहाँ पुग्ने बितिक्कै अर्को एकजना अधबैँसे अङ्ग्रेजी आइमाईले गीत गाइरहेकी रमाइलो दृश्य देखिन्छ । अ…. उनको ठीक अगाडी पनि अघि चिनियाँ युवतीले झैं गितारको खोललाई बङ्लङ्गै खोलेर उतानो पारिरहेको देख्न सकिन्छ ।
यदि उतानो परेको गितारको खोललाई राम्ररी नजर लगाउने हो भने त्यो खोलभित्र अलिअलि बेलायती चानचुने सिलिङहरु कैद भएर बसेको नजर लगाउन मिल्छ । तर दुर्भाग्यबस हामीसँग गोजीमा फुटेको कौडी छैनन् । केवल प्लाष्टिकको पैसा मात्र छ र त्यसको प्रयोग गर्न मेसिनको जरुरत पर्छ । स्वभावैले पैसा माग्ने मान्छेहरुसँग आधुनिक मेसिन त हुँदै हुदैनन् । त्यसैले उनको साह्रै नजिक गइ नहालौँ कि भन्ने लाग्छ । नत्रभने उनले पैसा दिन्छ भनेर आश गर्छ होला भन्ने विचार आउँछ ।
उनको नजिक नगए पनि गीत ज्यादै मीठो गाएकी हुनाले अलिक टाढादेखि नै उभिएर उनको गीत सुन्छौं । अझै उनको स्वर पूरै हरित पार्क नै थर्किरहेको मलाई त्यसबेला आभाष हुन्छ । झन् उनले यतिखेर साङ्गीतिक समूह आब्बाको गाइरहेकी छन् । सत्तरी र असीको दशकमा आब्बा ज्यादै प्रख्यात साङ्गीतिक समूह भएको थियो । अहिले पनि संसारभरि उनीहरुका करोडौँ फ्यानहरु रहेका छन् । जसमध्ये म पनि एक हुँ । उनले यतिबेला तिनै विश्व विख्यात साङ्गीतिक समूह आब्बाले गाएको ज्यादै चर्चित गीत “डान्सिङ क्वीन” गाइरहेकी छिन् ।
जुन गीतमा ‘योङ्ग एण्ड स्वीट – ओन्ली सेभेन्टिन’ भनेको वाक्यांश मलाई असाध्यै मन पर्छ । हुनत यथार्थमा म सिक्स्टी पुगिसकेको मान्छे हुँ । अब उनको गीत सुनेर सिक्स्टीबाट सेभेन्टिनमा झर्नको लागि कति अङ्क घटाउनु पर्ने होला भनेर यसो एकछिन औला भाँची हेर्छु र आफैँ थकित हुन्छु । यस्सै त म डरपोक मान्छे । अब गइसकेको जीवन फर्किन्दैन होला, के फर्किन्थ्यो भनेर एकछिन पीर पर्छु । तर जस्ले जेसुकै भनेता पनि मलाई आब्बा असाध्यै मन पर्ने भएको हुनाले म मदहोस् हुँदै एकदिन, “आब्बा सङ्ग्राहलय” स्टकहोम – स्वीडेनमा पुगेका एकछिन स्मरण गरिरहन्छु ।
डान्सिङ क्वीन सिद्धिएपछि हामी चउरको बीच भागदेखि क्रमशः अगाडी बढ्दै जान्छौं । त्यसबेला चउरमा अर्धनग्न सेभेन्टिन र एटिनका युवायुवतीहरु ह्वाङ्गै खोलिएका भेष्टा र मसिना कट्टु लगाएकाहरु प्रशस्तै देखिन्छन् भेटिन्छन् । यसरी दिनानु दिन कट्टुको साइजहरु घट्दै गएको देखेर मेरो मन एकछिन् बिक्षिप्त हुन्छ । यहीँ क्रम जारी रहने हो भने अब मेरो नाति वा पनातिको पालामा झन् यसको हालत के कस्तो हुने होला भनेर एकछिन कल्पनाको सागरमा डुब्छु ।
हुनत यहाँ देखिएका धेरैजसो युवतीहरु सबै वैशालुहरु हुन् । अहिले उनीहरुको मुरमुरे वैंश छ । भर्खरभर्खर जवानीमा चढ्दै गरेको त्यो उमेर एक प्रकारले राम्रै हुन्छ । त्यसैले यस्तो अवस्थामा उनीहरुको भर्खर पलाउदै गरेका वक्षस्थल र सेतासेता तिघ्राले जो कोही युवकहरुको हृदय मज्जाले विजय गर्न सक्छ जस्तो लाग्छ ।
तर सबैभन्दा उदेक त मलाई घण्टौँसम्म अँगालो मारेर मात्र होइन एक अर्कामा नाङ्गा खुट्टा खप्ट्याएर म्वाइ खाँदै गरेको दृश्यले पो लाग्छ । हुनत सत्र अठारको यो उमेर पनि यस्तै हो । यदि यो उमेरमा पनि मनोरन्जन गर्न सकिएन भने त कहिले गर्ने होला र ? जननेन्द्रियले काम गर्न छाडेपछि त जिन्दगी के रमाइलो हुन्छ होला र ? म फगत त्यस्तो सोच्छु ।
वास्तवमा यहाँको चलन नै यस्तै रहेछ । त्यसैले यो कुनै नौलो कुरो चाहिँ हुँदै होइन । यसलाई चलनचल्तीको नियम नै हो है भन्न रुचाउँछु । त्यसकारण म त्यति धेरै आश्चर्यचकित भइरहन पनि जरुरी ठान्दिनँ । तर मेरो मनभित्र अर्को मन पनि छ । अर्को मनले वास्तवमा यो ठाउँ नै यस्तो हो क्यारे भन्छु ।
अनि यसबेला म एभन नदीको पानीलाई थोरै दोष दिन्छु । अरु त अरु मान्छे भै हाल्यो । सम्भवतः यिनै एभन नदीको पानी पियर नै होला ? सेक्सपियरले आफू १८ वर्षको कलिलो उमेर हुँदा २६ वर्षकी आनालाई गर्भवती बनाइ दिइहाले । अनि बिहे गरेको ६ महिनामा सुजना जन्मिहाले । किनभने बिहे अगाडी नै उनी ३ महिनाकी गर्भवती थिइन् ।
एकछिन सेक्सपियरको बैंशको कुरो छाडौं । र, यहाँको कुरो गरौं । यो एकदम खुला चउर छ । अनि असाध्यै हरियो छ । तर यहाँ घामको न्यानो किरणसँग लुकामारी खेल्दैखेल्दै भुइँभरि छरपष्टिएका जोडीजोडी युवायुवतीहरुलाई पार गर्दै हामी क्रमशः अगाडी बढ्दा, –
“यस्तो खुला मैदानमा मान्छेहरु यसरी नै गाँठो पर्छन् होला भनेर मैले जिन्दगीमा कहिले पनि सोचेको थिइनँ । खै म यसलाई के भनौं । यो त मैले जिन्दगीमा अचम्मै देखेँ । सेक्सपियरको गाउँमा नै नानाथरि देख्न सकिने रहेछ,” सुस्तरी ताराको मुख खोलिन्छ ।
उनको कुरो सुनेपछि, “यसलाई उता नेपालमा भए अश्लील तर यतातिर त शील नै भन्न मिल्छ होला,” भनेर जवाफ फर्काउँछु । तैपनि यिनीहरुले जे जे गरिरहेका छन् । त्यो सबै ठीक्कै गरिरहेका छन् जस्तो मलाई लाग्छ । आखिर जाबो मान्छेले एक जुनी त जिउनु पर्छ । त्यसैले हाँसीखुसी नै जिउनु ठीक हुन्छ होला भन्ने सोच्छु । वास्तवमा जिन्दगीभरि कति दुःख मात्र गरिरहने हो र ? बरु यहाँ पार्कमा आयो अनि दिनभरि घाम ताप्यो । मज्जा मज्जाको गफ चुट्यो र अँगालो मारेर घण्टौँसम्म एकअर्कामा मुख जोड्यो । त्यो नै यहाँको वास्तविक्त्ता रहेछ ।
“ल ! अब समय धेरै छैन फटाफट हिँड्नु पर्छ,” अतालिदै तारालाई त्यति भन्छु । त्यसपछि उनी मेरो पछिपछि आउन थाल्छिन् । हामी पहिले थोरै अगाडी बढछौं र चउरको दाहिनेतिर मोडिन्छौं । तर त्यहाँ अलिक फरक प्रकारको दृश्य देखा पर्छ ।
हाम्रो सामु एकजना मामुली मान्छे छ । उसले एउटा भेस्टा र जाङ्गे लगाएको छ । र, ऊ एकपाङ्ग्रे साइकलमा चढेर क्रमशः खुट्टा चालिरहको देखिन्छ । यसो हेर्दा ऊ मामुली फुच्चे देखिएता पनि उनको स्वर चाहिँ निक्कै ठूलो आइरहेको सुनिन्छ । किनभने त्यो मान्छेले उसको कानमा माइक्रोफोन झुन्डाइरहेको छ । उसको चर्तिकला हेर्न मान्छेहरु वरिपरि झुरुप्पै भेला भएका छन् । अब त्यति धेरै झुरुप्पै भेला भएका मान्छेहरुको हुलमा निक्कै मनोरन्जन हुन्छ कि भनेर तारा र म पनि हतार हतार त्यहाँ पुगेर मिसिइ हाल्छौं ।
हामी त्यहाँ पुग्ने बितिक्कै उनले मलाई एक पाउण्ड दिनु भयो भने म आगो खान्छु । ऊ पहिले त्यसो भन्छ । हुन पनि उनको ठीक सामु एकजना युवतीले स-साना दुईवटा फलामे डण्डीमा आगोको पुल्ठो समातिरहेको दृश्य देख्न सकिन्छ । यदि पाँच पाउण्ड दिनु भयो भने म धर्ती नै खान्छु । अनि दश पाउण्ड दिनु भयो भने सारा आकाश खान्छु । उनको त्यस्तो कुरो सुनेर सबैजना दर्शकहरु ट्वाल्ल पर्छन् र एक अर्कामा हेराहेर गर्छन् । तर पन्ध्र पाउण्ड दिनु भयो भने म दिने मान्छेसँग नै जान्छु तर त्यो मान्छे केटी हुनुपर्छ । उनले त्यसो भनेको सुन्दा सबैजना गलल हाँस्छन् ।
तारालाई, “यस्तो जाबो बकमफुस्से कुरो सुनेर बस्ने हो । हैट बरु जाउँ,” भन्छु । उनी मेरो कुरो सुनेर पछिपछि आउँन थाल्छिन् । त्यसपछि हामी दक्षिण दिशा ताकेर थोरै अगाडी बढ्छौं । तर त्यसरी अगाडी बढ्दै गर्दा, –
“होइन, भगवानले मानिसलाई गरिखानको लागि हरेक प्रकारको बुद्धि दिएको हुने रहेछ,” तारा त्यसो भन्छिन् ।
उनको कुरो सुनेर छोटकरीमा, “हो रहेछ,” भन्छु । त्यहाँदेखि हिँड्दै जाँदा हामी एभन नदीको ठीक किनारमा पुग्छौ । त्यसपछि नदीको किनारै किनार अगाडी बढ्न थाल्छौं । यहाँनेर नदीले आफ्नै सुरमा अबिरल गतिमा बहिरहने मात्र होइन । एउटा ठूलो तलाउ पनि बनाएको रहेछ । यो तलाउमा यसबेला विभिन्न रङ्गका डुङ्गाहरु ओहोरदोहोर गरिरहेको नजर लगाउन मिल्छ । ती डुङ्गामा शयर गर्ने मान्छेहरु एकदम हाँसीखुसी र आमोदप्रमोद देखिन्छन् ।
उनीहरुलाई देखेर, – “यिनीहरु कति भाग्यमानी मानिसहरु होलान् हगि,” ताराले त्यसो भन्छिन् ।
उनीहरु भाग्यमानी भएपछि हामी अभागी भयौँ । अनि हामी अभागी हुनुमा मेरो बढी हात छ भन्ने बुझ्छु । त्यसैले म उनको कुरा सुने पनि नसुने झैँ गर्छु । केही वास्ता गर्दिन । बरु निरन्तर तलाउतिर हेर्छु । यदि तलाउलाई मज्जाले नियालेर हेर्ने हो भने थोरै दाहिनेतिर फिँजिदै गएर निक्कै ठूलो क्षेत्रफल ओगटेको देख्न सकिन्छ । जहाँ अहिले असङ्ख्य डुङ्गाहरु रोकेर राखिएका दृश्य गर्न मिल्छ । तर तलाउको दायाँबायाँ देखिएका ठूल्ठूला बयस, जङ्गली कटुस र लटरम्म पाकिरहेको ऐसेलुका पोथ्राहरुले भने एभन नदीलाई अति नै शोभायमान र मनमोहक बनाइरहेको देखिन्छ ।
यतिका धेरै प्राकृतिक सुन्दर दृश्यहरु अवलोकन गर्दा सेक्सपियर मात्र होइन । यहाँ आइपुग्ने जो कोही मान्छे पनि कवि बन्न सक्ने रहेछ । किनभने यहाँको वातावरण नै त्यस्तो रहेछ । सम्भवतः यिनै कारणहरुले होला ? नदीको किनारमा घण्टौंघण्टा बसेर असङ्ख्य कविताहरुको सिर्जना गर्ने सेक्सपियरलाई एभनका कवि “बार्ड अफ एभन” भन्ने उपनामले चिन्न सकिन्छ । कालान्तरमा उनलाई इङ्गल्याण्डको राष्ट्र कवि भनेर चिन्न थालिएको थियो ।
वास्तवमा सेक्सपियरको जीवनीलाई सर्सर्ती अध्ययन गर्ने हो भने उनी बहुआयामिक प्रतिभाको धनी व्यक्ति रहेछन् । जसले गर्दा उनले आफ्नो जीवनकालमा ३७ वा ३९ नाटकहरु १ सय ५४ वटा रुपकहरु र नजाने अन्य कति कविताहरु लेखेका छन् । खास खासमा भन्नु पर्दा उनी नाटकमात्र लेख्दैनथेँ । नाटक सँगसँगै अभिनय गर्न पनि अति सिपालु एवम् निपुण थिए । त्यसैले उनले आफ्नो अभिनय तत्कालिन इङगल्याण्डका राजा जेम्स प्रथम र रानी इलिजाबेथ प्रथमलाई पनि प्रदर्शन गरेका थिए ।
हामी त्यसरी तलाउको छेऊछेऊ हिँड्दै गर्दा मेरो ठीक विपरित दिशादेखि एकजना मानिस मतिर आइरहेको देख्छु । उनी हेर्दा एकदम भद्र भलादमी जस्तो देखिन्छ । अब मौका यहीँ हो भनेर, “महोदय ! यता होली ट्रिनिटी चर्च कता पर्छ होला ?” म उनलाई प्रश्न गर्छु । मैले उनलाई प्रश्न सोध्नाको कारण के थियो भने त्यसबेला मेरो मोबाइलमा गुगल नक्साले पटक्कै काम गरिरहेको थिएन । फेरि म पक्का निश्चित नगरी अर्को बाटो जान पनि चाहदिनँ थिएँ । यदि गलत बाटो गइहालियो भने प्रथम त समय पनि हामीसँग धेरै छँदै छैन् । दोश्रो गाली पनि पाइने लगभग निश्चित जस्तै हुन्छ ।
त्यो मान्छेले अचानक मेरो प्रश्न सुनेर, –
“यहाँदेखि सीधै जाऊँ । अनि पाँच/छ सय मिटर जति हिँडेपछि थोरै बायाँको गोरेटो पछ्याऊँ । तर नदीको किनारैकिनार गयौँ भने केही फरक पर्दैन,” भन्छ ।
उनले त्यसो त भन्यो । तर टटर पट्टर गर्ने उनको अङ्ग्रेजी बोलाइ अलिक फरक खालको रहेछ । उनको बोली यताको अङ्ग्रेजहरुको वा भारतेलीहरुको जस्तो निख्खुर छँदै छैन् । तैपनि म उनले भनेको कुरो मज्जाले बुझ्छु र धन्यवाद भन्छु । अझै भारत हाम्रो असल छिमेकी राष्ट्र भएकोले हो कि खै के ले हो ? एण्ड एण्ड भन्दै उनीहरुले बोलेको अङ्ग्रेजी पो म झन साह्रै मज्जाले बुझ्छु । बरु वर्षौवर्ष सँगसँगै काम गरेको स्कटिस र आइरिसहरुले घाँटी भित्रदेखि बोलेको भाषा पटक्कै बुझ्दिनँ ।
बाटोमा भेटिएको बटुवाले बाटो देखाइ दिएपछि म गमक्कै फुलिएर ठूलो मान्छे हुन्छु । त्यसपछि सरासर त्यस दिशातर्फ हिँड्न सुरु गर्छु । तर तारा चाहिँ तलाउमा देखा परेका अनगिन्ती हाँस र जलेवाहरुको रमिता हेर्दै हेर्दै हिड्दा अलिक ढिला गर्छिन् ।
उनको र मेरो हिँडाइ नमिलेर हामी एक अर्कामा ४०-५० मिटरको फरक दुरिमा हिँडिरहेका हुन्छौं । हुनत श्रीमान र श्रीमती बाटोमा यस प्रकारले हिँड्ने नेपालीहरुको पहिचान नै हो भन्दा पनि खास्सै फरक पर्दैन । नत्रभने अङ्ग्रेजहरुको त के कुरो गरेर साध्य हुन्छ र ? यसरी बाटोमा हिँड्दा हातमा हात समातेर हिँड्ने मात्र होइन, उनीहरु बेलाबेलामा ओठमा ओठ जुधाउँदै हिँड्ने गर्छन् ।
उनी मसँग निक्कै टाढा भएपछि म सेक्सपियरको सबैभन्दा प्रख्यात नाटक रोमियो र जुलियटलाई सम्झदै बाटो कटाउन थाल्छु । जुन नाटक इटालीको भरोना सहरलाई आधार मानेर लेखिएको छ । आजका मितिसम्म तारा र म इटाली ११ चोटी पुगिसकेका छौं । जस्ले गर्दा भरोना छुट्ने त कुरै भएन । तिनै नाटकमा जुलियटले रोमियोलाई राति छुटिने बेलामा, –
“बिदाइ भनेको यस्तो मीठो पीडा हो । भोलि बिहान नभइन्जेलसम्म म शुभरात्री भन्न सक्छु,” भनेको स्मरण गर्छु । त्यतिका धेरै मिल्ने उनीहरुको जोडीलाई सम्झेपछि मेरा पयरहरु अचानक बिस्तारै बिस्तारै चल्न थाल्छ र म तारालाई पर्खन बाध्य हुन्छु ।
केहीबेरमा तारा हस्याङफस्याङ गर्दै मेरो नजिक आइपुग्छिन् । तर उनी आउने बितिक्कै, –
“सुन्नु भो ? यो ठाउँ त अति सुन्दर रहेछ नि । मलाई स्वीटजरल्याण्ड पुगेको याद पो आयो । अझै तलाउ नजिक रहेका यी रुखपातहरुले स्ट्राटफोर्ड अपन एभनको झन कति शोभा बढाइ दिएको छ हगी,” सुस्तरी त्यसो भन्छिन् ।
खै किन हो किन ? त्यसबेला उनको स्वर थोरै कम्पनसहित आएको सुनिन्छ । तर उनीसँग बोल्न थालेपछि दिन काटेको चालै पाउँदिन । त्यसैले समय नष्ट हुन्छ भनेर म उनको भनाइ सुने पनि नसुने झैँ गर्छु र सरासर अगाडी बढ्छु ।
हामी त्यसबेला राजकीय सेक्सपियर नाटकघर (थियटर हल) को बार्दलीमा पुगिसकेको हुन्छौं । पूरै सिजनिङ्ग गरिएका काठैकाठ बिछ्याएर निर्माण गरिएको उक्त्त बार्दली भेनिसको नहरमाथि देखिने बार्दलीहरुभन्दा एकरति पनि कमि देखिदैनन् ।
मलाई लाग्छ – भेनिस संसारको सबैभन्दा सुन्दर सहर हो । हामीले भेनिसमा बिताएका हरेक पलहरु हाम्रो जिन्दगीको सबैभन्दा महत्वपूर्ण पलहरु हुन् भनेर ठानेका छौं । त्यो बाहेकका अन्य समयलाई वास्तवमा जिन्दगी नभने पनि हुन्छ । तिनै भेनिसलाई आधार मानेर सेक्सपियरले भेनिसको महाजन (मर्चान्ट अफ भेनिस) लेखेका थिए । जुन नाटकमा, –
“सबै पहेँलो चम्कने पदार्थ सुन हुदैन,” भनेको तारालाई हेर्दै हेर्दै याद गर्छु ।
सेक्सपियरको उक्त्त वाणी मलाई जीवन बिताउने क्रममा हरेक दिनजसो काम लागिरहन्छ । त्यसपछि नाटकघरको बार्दलीदेखि निक्कै टाढा देखिएको तर घाम अस्ताउन लागेको क्षितिजलाई अन्तिम चोटी नियाल्छु । अनि मेरा कदमहरु सुस्तरी चाल्न सुरु गर्छु । स्ट्राटफोर्ड अपन एभनको समयले मध्यान्हलाई बिदाइ गर्दै साँझको समयलाई स्वागत गरिरहेको बेला तलाउमा स-साना डुङ्गाहरुले खुब रमाइलो खेल देखाइरहेका हुन्छन् । मलाई त्यसबेला तीनै डुङ्गाहरुको विशाल रुप भनेको आखिर ठूलो पानीजहाज नै हो है भन्ने कताकता मनमा लाग्न थाल्छ ।
मैले विश्व भ्रमण गर्ने भनेर निस्केपछि ठूल्ठूला पानिजहाजबाट कतिचोटी यात्रा गरें हुँला । त्यसलाई एकछिन एकान्तमा बसेर औला भाँचेर गन्नै पर्छ । तर जतिचोटी यात्रा गरेको भएतापनि म अहिले बाल्टिक सागरमा यात्रा गरिरहेको क्षणलाई स्मृति गरिरहेको छु । त्यसबेला हामी पानीजहाजबाट डेनमार्कदेखि नर्वे जाँदै थियौं । तर यात्राको क्रममा डेनमार्क र स्वीडेनको बीच भागमा पर्ने द साउन्ड (डेनिस रेसुन्ड र स्वेडिस ओरसुन्ड) जलसंयोजन पार गर्दे गर्दा क्रोनबर्ग दरवार (क्रोनबर्ग क्याश्चल) देखेको थिएँ ।
त्यसबेला हाम्रो पानीजहाजका कप्तान नर्वेजियन मूलका थिए । उनले द साउन्ड जलसंयोजन पार गर्दै गर्दा नर्वेजियन लवजको अङ्ग्रेजीमा यदि तपाइहरुले पानीजहाजको बायाँ दिशातर्फ नजर लगाउनु भयो भने एउटा ठूलो दरबार देख्न सक्नु हुनेछ । त्यो दरबारको नाम क्रोनबर्ग दरबार हो । अनि यहाँहरुलाई अवगत भएकै कुरो हो । यिनै प्रख्यात दरबारलाई आधार मानेर सेक्सपियरले हेमलेट नाटक लेखेका छन् ।
उनले त्यसो भनेपछि म क्रोनबर्ग दरबारलाई निक्कै लामो समयसम्म नियालिरहेको हुन्छु । आफ्नो काका क्लाउडियस र आमा गेटरुट मिलेर बुबाको हत्या गरेपछि जीवनको कठिन अवस्था गुजारिरहेका राजकुमार हेमलेटले आफैँ आत्महत्या गर्ने सोच बनाउँछ । तर त्यतिबेला आफ्नो जीवन, – “हुनु वा नहुनु त्यो एउटा प्रश्न हो ?” भनेको म त्यसबेला झल्झली सम्झन्छु ।
विलियम सेक्सपियर आफ्नो जीवनकालमा आफ्नो देश छाडेर कहिलै परदेश गएका थिएनन् । तर सन् १५८० मा पहिलो पटक उनको जन्मघर स्ट्राटफोर्ड अपन एभनदेखि लण्डन गएका थिए । उनी त्यहाँ जाँदा विशपगेटमा बसेका थिए है भन्ने रेकर्ड अध्यावधि पाइन्छ । त्यसैले इतिहासकारहरु उनी बाँचिन्जेलसम्म लण्डन र स्ट्राटफोर्ड अपन एभन मात्र बसेका थिए भन्छन् । अरु त परै जावोस् उनी स्कटल्याण्डसम्म पनि पुगेनन् है भन्ने जताततै सुन्न सकिन्छ । उनी नपुगेको भएतापनि म इनभार्नेस – स्कटल्याण्ड पुगेको छु ।
उनले स्कटल्याण्डको इनभार्नेस क्याशललाई आधार मानेर म्यागवेथ लेखेका छन् । म्यागवेथ नाटकमा भविष्यवाणी बताउने तीनजना बोक्सीहरुको कुरो सुनेर जनरल म्यागवेथ र उनकी श्रीमती लेडी म्यागवेथ मिलेर स्कटिस राजा डनकनको हत्या गरेको हुन्छ । तिनै म्यागवेथमा, –
“समान हुनु भनेको बेइमानी हो र बेइमानी उचित हुन्छ,” भनेको जान्न सकिन्छ ।
म त्यति सोच्तै गर्दा तारासँग पवित्र त्रिदेव गिर्जाघरको पछाडीको गेटमा पुगिसकेका हुन्छौं । गेटभित्र छिर्दै गर्दा हाम्रो अगाडी केही पोलिसहरु र पछाडी अमेरिकनका परिवारहरु देख्छौं । म उनीहरुसँग बोल्न त बोल्दिनँ । तर उनीहरु एक आपसमा बोलेको लवजले उनीहरु ती देशका नागरिकहरु हुन है भनेर प्रष्टै छुट्याउन सक्छु ।
मैले आफ्नो गाउँघरलाई चट्टै माया मारेर हिंडेको ४० वर्ष समय बितिसकेको छ । धन्न यतिको समय सम्ममा ती मानिसहरु कुन कुन देशको होला है भनेर उनीहरु बोलेको सुनेर जान्ने त्यति ज्ञान चाहिँ आर्जन गर्न सकेको रहेछु ।
गेटभित्र छिरेपछि गिर्जाघरको तीनतिर ठूलो पर्खालले घेरिएको तर दक्षिणतिर भने एभन नदीको किनारमात्र रहेका देख्छौं । अब त्यहाँभित्र अरु चिज त केही पनि देख्न सकिँदैन । हाम्रो सीधा अगाडी त्रिदेव गिर्जाघर देखिन्छ तैपनि रुखहरुले अलिअलि छलेको छ । रुखहरुलाई मज्जाले नियालेर हेर्ने हो भने निक्कै बुढो बुढो देखिन्छ । र, तिनिहरु अलिअलि दुरीमा रहेका छन् ।
अनि त्यहाँ अरु केही देखिँदैन । तर जताततै भुइँभरि केवल मानिसहरुको छरपष्ट समाधिस्थल मात्र नजर लगाउन मिल्छ । रातको समय र नेपालमा हुँदो हो त यहाँ जागित्रले तर्साउने थियो होला ? तर अहिले दोपहरको समय छ । अनि यो बेलायत भएको हुनाले सायद तर्साउनेहरु सुतिरहेका छन् होला भन्छु । तर यी यावत कुरोहरुलाई चट्टै भुलेर हामी निर्धक्क साथ अगाडी बढिरहेका छौं ।
भुइँमा गिट्टीहरु पातलो बिछ्याएर सानो हिड्ने गोरेटो बनाइएका छन् । तिनै गिट्टीहरु माथि टेक्दा निस्केको जुत्ताको चुरुमचुरुम आवाजसहित हामी एकछिन चिहानै चिहानको बाटो भएर हिँड्छौ । अनि गिर्जाघरलाई एकचक्कर लगाएपछि मुख्य ढोकामा पुग्छौं ।
ढोकाबाट सुस्तरी कदमहरु भित्र पस्ने बितिक्कै एकजना ढोकेसँग हाम्रो भेट भैहाल्छ । उसले शरीरको माथिलो भागमा निख्खुर सेतो सर्ट मुनी कालो पत्लुङ र कालै जुत्ता लगाएको छ । उनी मभन्दा निक्कै अग्लो छ र उनको शरीर बडेमाको खाइलाग्दो देखिन्छ । अब त्यति ठूलो मान्छेले मलाई देख्ने बित्तिकै, –
“महाशय ! कति जना हुनुहुन्छ ?” भनेर पहिलो प्रश्न गर्छ ।
“दुई जना,” छोटकरीमा उत्तर दिन्छु ।
“निक्कै टाढादेखि पाल्नुभएको हो कि कसो ?” भन्दै फेरि उनले अर्को प्रश्न सोध्छ ।
“हो नि हजुर,” भन्छु ।
“अनि आज कहाँदेखि पाल्नु भयो त ?” पुनः मलाई सोध्छन् ।
अब यस्ले धेरै प्रश्नहरु गर्ने भो जस्तो लाग्छ, त्यहीँ भएर, “हामी यहाँभन्दा धेरै टाढादेखि आएको हौं । पक्कापक्की भन्ने हो भने यहाँभन्दा साढे ४ हजार माईल टाढादेखि आएको एकजना गोर्खा सिपाही हुँ,” भन्छु ।
अब यस्तो ठाउँमा काम गर्ने मान्छेहरु त्यति धेरै पढेलेखेका हुन्नन् है भन्ने मेरो बुझाइ छ । त्यति धेरै नपढेका अङ्ग्रेजहरु भूगोलमा ज्यादै नै कम्जोर हुन्छन् । अनि धेरैजसो नपढेका अङ्ग्रेजहरु यस धर्तीको पूर्व भनेको टर्कीमात्र हो भनेर जान्दछन् । त्यसैले नेपाल भन्यो भने जो कोहीले खास्सै चिन्दै चिन्दैनन् । बरु गोर्खा सिपाहीँ भन्यो भने सजिलै चिन्छन् । र, सम्मान पनि मिल्ने भनेर म त्यसो भन्छु ।
“होइनँ । मैले पहिले पनि एकजना गोर्खा सिपाहीँ भेटेको थिए । तर ऊ त तपाइँ जस्तो देखिँदैन थियो । ऊ तपाइँभन्दा अग्लो थियो । उसको केस लामोलामो थियो । अझै उसले दाह्री जुङ्गा मज्जाले पालेको थियो । मलाई राम्रो याद त छैन् । तैपनि झट्ट हेर्दा ऊ भारतेलीहरु जस्तो देखिन्थ्यो । उसको अनुहार क्या, बुझ्नु भयो ?” भन्छ ।
बुझें है बुझें । तर उनलाई गोर्खा सिपाहीँ भनेर तपाइँ मज्जाले फसिनु भो छ । पक्कापक्का गोर्खाली सिपाहीँ भनेको त मै जस्तो नै देखिन्छ । एकदम होचो कदको हुन्छ र मेरै जस्तो मुहार हुन्छ । कि तपाइँको आँखाले फेल खायो कि त उसले झुटो बोल्यो । हुनत आजभोलि अगोर्खालीहरु पनि गोर्खाली हुँ भनेर बेलायतमा गोर्खाको नाममा फाइदा लुट्न खोज्ने सयकडौं भेटिन्छन् । ती सबै कप्तान किडजस्तै सामुन्द्रिक डाका वा लुटेराहरु हुन् । जमाना परिवर्तन भएको छ, हजुर । नत्रभने मलाई सोध्नोस् न । म तपाइँलाई फकल्याण्ड, अफगानिस्तान, इराक, साइप्रस, मलाया र कोरियामा भएका लडाइँको कुरा, वीर गाथाको कुराहरु बताइ दिन्छु ।
त्यसपछि म एकछिन रोकिन्छु । तर ऊ अझै म केही भन्छु कि भनेर ध्यान दिएर सुनिरहन्छ ।
अबत विश्वास लाग्यो होला नि ? कि अझै तपाइँलाई मेरो कुरोको विश्वास लाग्दैन । यदि त्यसो हो भने मेरो सैनिक नम्वर, दर्जा र पल्टनको नाम पनि सोध्नोस् न ? म खुरुखुरु बताइ दिन्छु । बीसौं वर्ष बेलायती सरकारलाई सेवा दिँदा भोगेका युद्ध मैदानको कुरो म झन् फटाफट भनि दिन्छु । के तपाइँ चाहानु हुन्छ ? अझै चाहानु हुन्छ भने म तपाइँलाई प्रमाणको लागि हजुर महारानीले दिएको रातो किताब (रेड बुक) नै देखाइ दिनु सक्छु ।
मैले त्यति भनिन्जेलसम्म ऊ ट्वाल्ल परिरहन्छ । त्यसपछि, –
“बाबा ! मैले कान समातेँ । अनि तपाइँहरुलाई यो गिर्जाघरमा स्वागत छ । अब सीधै अगाडी गएर बेथलाई भेट्नु होला,” त्यति भन्छ । सेक्सपियरको समाधिस्थलमा पुगेर उनको दर्शन गर्ने रहर दशकौंदेखि पालिरहेको थिएँ । ऊदेखि छुटकारा पाएपछि वर्षौवर्ष जेल बसेर निस्केको उत्साहित कैदी जस्तै खुसी हुन्छु ।
“बल्ल बल्ल सेक्सपियरको दर्शन गर्न पाइने भो । आज राम्रै दिनमा घर छाडिएछ,” तारालाई सुटुक्कै भन्छु । तर मेरो कुरो सुने पनि उनी नसुने झै गर्छिन् र बोल्दै बोल्दिनन् ।
अङ्ग्रेजहरु एलिजाबेथलाई छोटकारीमा बेथ भन्छन् । जुन बोल्नको लागि अति सजिलो पनि हुन्छ । उनको कुरो सुनेपछि हामी २-४ कदम अगाडी हिड्छौं । त्यसपछि बेथलाई हेर्दै हेर्दै थोरै बायाँतिर मोडिन्छौं । एक्कैछिनमा उनको सामुन्ने पुगिहाल्छौं । हामी त्यहाँ पुग्दा उनी कुर्सीमा थपक्कै बसिरहेकी हुन्छिन् । तर हामीलाई देख्ने बितिक्कै उनी कुर्सीदेखि उठ्छिन र हल्का मुस्कान दिँदै हाम्रो नजिक आउँछिन् ।
अङ्ग्रेजी युवतीहरुको मुस्कान भनेपछि म हुरुक्कै हुने गर्छु । खै किन हो किन ? मलाई उनीहरुको मुस्कानले साह्रै आकर्षण गर्छ । त्यहीँ माथि हलिवुडको नायिकाहरु झैँ राम्री देखिने ती युवतीको त्यति मीठो मुस्कानसहित, –
“यहाँहरुलाई गिर्जाघरमा स्वागत छ,” भन्दा म खुत्रुक्कै पर्छु ।
हुन पनि हामी त्यहाँ पुग्दा उनी एकदम नरम भएकी छिन् । नरम मात्र होइन, उनी फर्साइली पनि रहेछिन् । तर उनी त्यसरी नरम हुनको मुख्य कारण मैले ढोकेलाई गोर्खाको परिचय दिएको हुनाले हो भनेर म निर्क्यौल काट्छु । किनभने एकछिन अगाडी भएको हाम्रो वार्तालाप उनले निक्कै नजिकदेखि नियालिरहेकी थिइन् ।
फेरि मान्छेको जातमा अङ्ग्रेजहरु एकदम चतुर जातिका हुन्छन् । कस्ले कहाँ, कोसँग अनि के बोल्दैछ वा के गर्दैछ भनेर बिरालोभन्दा बढी चियोचर्चा गर्छन् । तर नगर्नु पनि कसरी ? जाबो यति सानो देशले जहिले पनि उनीहरु संसारभरि शासन गर्न खोजिरहेको हुन्छ । अझै आफ्नो उपनिवेशवादको विरासत अहिलेसम्म उनीहरु कायमै राख्न चाहन्छन् ।
त्यसपछि उनले हामीलाई यसो भन्छिन, –
“सबैभन्दा पहिले यहाँ ७१३ एडीमा सेक्सनहरुले एउटा सानो विहार (मोनस्ट्री) स्थापना गरेका थिए । मलाई जहाँसम्म लाग्छ । त्यो विहार काठदेखि बनाइएको हुनुपर्छ । त्यसलाई रोमन साम्राज्यको पालामा थोरै परिवर्तन गरेर ढुङ्गा र माटोले बनाइएका थिए । तर यता हेर्नुहोस् त । गिर्जाघरको मध्यभागमा अवस्थित यी चारवटा खम्बाहरु चाहिँ सन् १२१० मा निर्माण भएका हुन् । यसलाई क्रसिङ भन्छ । तर उता सिधै अगाडी पट्टीको भाग चाहिँ सन् १३०० मा बनेको हो । त्यस क्षेत्रलाई चाहिँ चान्सल भनिन्छ । अनि यता फर्किनोस् त ? यो भाग छ नि । हो, यस्को नाम चाहिँ नेभ हो । जसको निर्माण सन् १४०० मा भएको थियो । समग्रमा अहिलेको यो गिर्जाघर तीन पटकमा सम्पन्न भएको थियो ।”
“अनि सेक्सपियर र उनका परिवारहरुको समाधिस्थल चाहिँ खै त ?” सानो स्वरमा सोध्छु ।
बेथ मैले सोचेकीभन्दा निक्कै बाठी रहिछिन् । मेरो कुरो सुनेर, –
“यि हेर्नुहोस् त । यतातिर घुम्नु हुन्छ भने सबै सित्तैमा हो । अहँ ! एक पैसा लाग्दै लाग्दैन । सन् १३०० मा बनेको सीसाका झ्यालहरु मज्जाले हेर्न सक्नु हुनेछ । यी उत्ताको झ्यालहरु अमेरिकनहरुले बनाइदिएका हुन् । ती झ्यालहरु एकदम कलात्मक छन् । यी यताको झ्यालहरु चाहिँ बेलायतीहरु हामी आफैँले निर्माण गरेका हौं । तर दुर्भाग्यबस सेक्सपियरको समाधिस्थलमा जान चाहानुहुन्छ भने प्रति व्यक्त्ति ४ पाउण्ड तिर्नुपर्छ,” थोरै मुस्कुराउँदै त्यसो भन्छिन् ।
“हैट ! यहाँ त कार्ल मार्क्सको चिहानभन्दा महङ्गो रहेछ,” भनेर एकचोटी जिस्क्याउँछु ।
“के गर्नु र ? मुद्रास्फिति बढेको छ,” भन्दै उनी हाँस्छिन् ।
“अनि राजा जेम्स प्रथमले अङ्ग्रेजी अनुवाद गरेको पहिलो बाइबल चाहिँ कता छन् त ?” फेरि सोध्छु ।
“महाशय ! पहिले पैसा तिर्नु होला ? त्यसपछि म तपाइँहरुलाई गेटदेखि भित्र जान दिन्छु । भित्रपट्टीको कोठामा मेरो सहकर्मी हुनुहन्छ । तपाइँहरुलाई उनले सबैकुरो देखाइ दिनु हुनेछ,” पैसा खुस्काउनको लागि विनम्रतापूर्वक उनी बोल्छिन् । तर उनले त्यसो भनेको सुन्दा मलाई अचानक अलिबाबाको मालिक ज्याक माले भनेको एउटा कुरोको खुब याद आउँछ, –
“सित्तैमा केही पाइदैन् ।”
त्यसैले यहाँ पनि उनकै सिद्धान्तलाई अनुशरण गरेर सेक्सपियरको चिहानसम्म जान पैसा तिर्नु पर्ने रहेछ भन्छु । आ…ठीक्कै छ । उनीहरुकै पैसा हो । उनीहरुले नै राखुन् भनेर गोजिदेखि क्रेडिट कार्ड निकाल्छु । अब मैले कार्ड निकालेको देखेपछि उनकी मुखमा पानी आउँछ । त्यसैले पैसा लिने यन्त्र मेरो नजिक ल्याउँछिन् । म प्लाष्टिकको कार्डलाई यन्त्रमा ट्याप्पै ठोकाउँछु । तर उनले त्यसरी पैसा लिँदैगर्दा, –
“यदि तपाइँहरुलाई गिर्जाघरको विवरण पुस्तिका (ब्रोसर) चाहिन्छ भने मलाई भन्नोस् है । म दिन्छु,” भन्छिन् ।
उनको कुरो सुनेपछि, “भो भो, हामीलाई परेन, ब्रोसर न स्रोसर” भन्छु ।
पैसा तिरिसकेपछि हामी सीधै सेक्सपियरको समाधिस्थलतर्फ लाग्छौं । तर त्यहाँ पुग्ने बितिक्कै अर्को एकजना कर्मचारीले, –
“२३ अप्रिल १६१६ मा सेक्सपियरको मृत्यु भएपछि उनलाई यिनै गिर्जाघरमा राखिएको छ । गिर्जाघरभित्रको उक्त्त जमिन खरिद गर्न तत्कालिन समयमा ४ सय ४० पाउण्ड लागेको थियो,” भन्छन् ।
उनको कुरो सुनिसकेपछि म सुस्तरी हिँड्दै समाधि नजिकै पुग्छु । सेक्सपियरको ठीक दायाँ कुनामा उनकी श्रीमती आना हाथवेको समाधि रहेको छ । सबैभन्दा बायाँ कुनामा चाहिँ छोरी सुजना हलकी छिन् । सुजना हलको ठीक दाहिनेतिर जुवाइँ डा. जोन हलको समाधि छ । उनीहरु दुईजनाको एकल छोरी इलिजाबेथ हल थिइन । तिनै छोरीकी पहिलो बिहे थोमस नाशसँग भएको थियो । जस्ले गर्दा सेक्सपियरको पहिलो नातिनी जुवाइँ थोमस नाशको समाधि पनि यहीँ छ । जम्माजम्मी उनीहरु ५ जनाको समाधिस्थल यिनै गिर्जाघरभित्र रहेको छ ।
सेक्सपियरको नातिनी इलिजाबेथले थोमस नाशको मृत्यु भएपछि जोन बर्नाडसँग दोश्रो बिहे गरेर स्ट्राटफोर्ड अपन एभनदेखि एबिङ्डन बसाइँ सरेकी थिइन् । दुई/दुई पटक बिहे गरेर पनि एउटै बच्चा जन्माउन नसक्ने इलिजावेथकी १७ फेब्रुवरी १६७० मा मृत्यु भएपछि सेक्सपियरको सन्तान यस धर्तीदेखि सधैँसधैँका लागि बिलय भइसकेको छ ।
बानबरी, इङ्गल्याण्ड ।

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता