आँखामा झल्झली – सेक्सपियर

शेक्सपियरको जन्मघर अघि लेखक

यतिबेला तारा र म यात्रामा छौं । मध्यान्हको टण्टलापुर घाम छ । बेलायतमा पनि यस्तो चर्को घाम लाग्छ भनेर कसैले सोच्दै सोचेको हुँदैनन् । हामी केही समय अगाडी सेक्सपियरको जन्मथलो ‘स्ट्रार्टफोर्ड अपन एभन’ आइ पुगेर धुइँधुइँ उनको जन्मघर खोजिरहेका छौं । तर घरको मेसो कहीँ फेला पार्न नसकेपछि, –  

“हामीले घर त पत्ता लगाउन सकेनौं, सकेनौं । होइन ! तिमीले कतै कार पार्कको साइन पनि देख्यौं कि ?” तारालाई सुस्तरी प्रश्न सोध्छु ।  

घर छाडेदेखि यात्रामा पटक पटक निदाउँदै ब्युँझदै गरिरहेकी उनले, –

“अहँ ! म झन कहाँ देख्छु र ? बल्ल बल्ल त आँखा खोल्दैछु । त्यसैले के देख्थे र ? अझै यसरी आँखा खोल्ने बितिक्कै सूर्यको प्रकाश मेरो आँखामा पर्यो । टलक्कै टल्केको त्यो प्रकाशले झन् म त तिरिमिरी झ्याइँ पो देखेँ,” हतार हतार त्यसरी जवाफ फर्काउँछिन् ।

मेरी श्रीमती पनि अचम्मकी मान्छे छिन् । अझ यसो भनौं – अति नै सोझी र इमान्दार छिन् । हुनत मलाई उनकी आनिबानी राम्रैसँग थाहा छ । थाहा पनि किन नहोस् र ? विगत ३५ वर्षदेखि यता हामी फलामे साङ्ली झैं एकअर्कामा मज्जाले बाँधिएर बाँचिरहेका छौं । त्यसैले हामी एक अर्कालाई राम्ररी बुझ्छौं ।

तर सबैकुरो थाहा हुँदाहुँदै पनि मलाई यदाकदा यस्तो लाग्छ । म कुनै कुनैबेला सायद एक काँधे लगाएको गोरूझैं भएर जिन्दगी जिइरहेको छु कि ? मैले किन त्यसो भनेको हुँ भने बिहान बेलुकी खाना पकाउने र घर सफा गर्ने कामहरु बाहेक जीवनको सबै बोझ मैले नै बोक्नु पर्छ । र, हरेक कुरोमा मार्गदर्शकको भूमिका मैले नै निर्वाह गर्नुपर्छ ।

ल अरु विगत त विगत भैहाल्यो । अनि सबै बिगतका कुरोहरुलाई छाडेर अहिलेको अवस्थालाई मध्यनजर गर्ने हो भनेपनि म कार हाँक्न व्यस्त भइरहेको बेला अलिकति सडकमा भएका नक्साहरु पढिदिए कति धन्य हुन्थ्यो होला, मनमनै त्यसो भन्छु ।

तैपनि उनको कुरो सुनेर, “ल ठीक्कै छ,” भनेर चित्त बुझाउँछु ।

सप्ताहन्तको समयले होला ? स्ट्रार्टफोर्ड अपन एभनका सडकहरु स-साना छन् तैपनि अलिक व्यस्त देखिन्छन् । मानिसहरुका भिडभाड निक्कै बाक्लै छन् । म अरु कुरो केही नसोचेर सडकको माग बमोजिम कारको स्टेरिङ दायाँबायाँ बटार्छु । र, आफै कार पार्कको खोजी गर्न थाल्छु । नभन्दै एकछिनपछि बेलायतभरी छयासछ्यास्ती पाइने राष्ट्रिय कार पार्क (एनसिपी) को सूचनापाटी मेरो सामुन्ने देखापर्छ । त्यसपछि म ढुक्क हुन्छु । अब सूचनापाटीलाई पछ्याउँदै पछ्याउँदै त्यता हुइँकिन थाल्छु ।  

सूचनापाटीलाई पछ्याउँदै जाँदा त्यसले मलाई कार पार्क गर्न मिल्ने एउटा थोत्रो घरमा पुर्याउँदछ । अनि त्यहाँ पुगेपछि कारपार्क गर्ने उपयुक्त्त स्थानको खोजी गर्छु । त्यसरी खाली ठाउँ खोज्दैखोज्दै जाँदा चौथो तलामा पुग्छु । त्यहाँ पुगेपछि एउटा खाली ठाउँ देखापर्छ । त्यसपछि खुसी मुद्रामा म त्यहीँ कार पार्क गर्छु ।  

कार पार्क गरिसकेपछि, –  

“अ…साँच्ची ! कति घण्टाको लागि कार पार्क गरौ हँ ?” तारालाई सल्लाह माग्छु ।

“अब यहाँ पहिले कहिल्यै आइएको छैन् । ठाउँ के कस्तो छ ? निश्चय नै अलिकति समय लाग्छ होला ? मेरो विचारमा तीन/चार घण्टा जति त त्यसै लाग्छ होला नि ?” उनले मधुरो स्वरमा जवाफ दिन्छिन् ।   

उनको कुरो सुनेपछि, “ल ! हुन्छ – हुन्छ,” भन्छु ।

कारदेखि निस्केर सीधै अगाडी पर्खालको नजिकै पुग्छु । किनभने त्यहाँ कारपार्क गर्नको लागि टिकट खरिद गर्न मिल्ने एउटा स्वचालित यन्त्र (भेन्डिङ मेसिन) देखापर्छ । क्रेडिट कार्डको सहयोगले तिनै यन्त्रदेखि चार घण्टासम्म कारपार्क गर्ने एउटा टिकट खरिद गर्छु । र, त्यसलाई कारको ड्यास बोर्डमा राखिदिन्छु ।  

“खै ! अब कहाँदेखि मुनी झर्ने होला ?” कारदेखि बाहिर निस्कदै गर्दा ताराको मुख खुली हाल्छ ।  

“म पनि तिमी जस्तै त हो नि, के नै पो भन्न सक्छु र ?” उनको कुरो सुनेर प्रतिप्रश्न गर्छु ।

मध्यान्हको समय छ । त्यसैले कार पार्क एकदम सुनसान छ । तैपनि हामी दुईजनाले घरीघरी गरेको वार्तालापले कार पार्कको शून्यतालाई भङ्ग गर्छ । यहाँ बजारमा हटिया भर्नको लागि वा यस टाउनमा काम गर्नको लागि आउने मान्छेहरुले बिहानै कार पार्क गरेर छाडिराखेका छन् । त्यति सुनसान ठाउँमा कारबाट बाहिर निस्कन्छु र पहिले यसो दायाँबायाँ हेर्छु । त्यसपछि अब कहाँदेखि मुनी झर्ने होला भनेर एकछिन सोच्न थाल्छु । तर म उभिएको ठाउँभन्दा अलिक परतिर पर्खालको छेउमा एउटा लिफ्टको साइन देखापर्छ ।

त्यसलाई देख्ने बितिक्कै, “खै कहाँ छौं ? लु मलाई पछ्याउँ है,” भन्छु र म बिस्तारै अगाडी बढ्न थाल्छु ।

मेरो कुरो सुनेर उनी पछिपछि आउन थाल्छिन् । त्यसपछि हामी दुवैजना सुस्तरी हिँडेर लिफ्टको नजिकै पुग्छौं । तर त्यहाँ पुग्दा अचानक भित्तामा, –

“यो लिफ्टले काम गर्दैन है,” भनेको सूचना देखापर्छ ।

त्यस्तो सूचना देख्ने बितिक्कै, “छ्या ! कस्तो हौं । यो लिफ्टले पनि काम गर्दैन रे ?” अनायासै ताराको मुख खोलिन्छ ।

उनको कुरो सुनेर, “ठीक्कै छ नि, यी हिँडेर झर्ने भर्याङ पनि यहीँ रहेछ । आखिर हिँड्दाखेरि व्यायाम पनि हुन्छ भनेर सबैले भन्छन् । लु आउँ है, म त हिडें,” भन्छु ।

त्यति भनी सकेर म टकटक जुत्ता पड्काउँदै ओरालो लाग्छु । अब उनको पनि केही अन्य उपाय हुँदैन । त्यसैले खुरुखुरु मलाई पछ्याउँन थाल्छिन् । तर मुनीको तलामा झर्ने बितिक्कै ह्वास्सै पिसाबको गन्ध आएर हामी दुवै जनाको नाखमा ठोकिहाल्छ । हरेक दिन तरकारीको वासना सुँघ्ने बानी परेकी ताराको नाख स्वभावैले मेरोभन्दा अलिक बढी नै चलाख छ त्यसैले, –

“होइन ! मान्छेहरुले त यहीँ भर्याङमा पिसाब फेर्छ कि के हो ? थाहा पाउनु भो ?” सर्मिन्दा भाषामा मलाई सोध्छिन् ।

“थाहा पाएँ हौं । थाहा पाएँ । भट्टीपसलमा टन्न बियर पिएर मातेको कुइरेलाई जाबो पिसाब फेर्न के को आइतबार कुर्नु पर्छ र ?” तुरुन्तै जवाफ फर्काइ हाल्छु ।  

मेरो त्यति जवाफले उनको मुख बन्द हुन्छ । त्यसपछि हामी दुवैजना एकछिन चुपचाप बस्छौं । तर कोलाहलमय त्यस वातावरणमा हामी दुवैजनाले भर्याङमा टेक्दा निस्केको जुत्ताको टकटक आवाज निक्कै टाढासम्म सुन्न सकिन्छ । एकछिनपछि हामी सबैभन्दा मुनिको तलामा झर्छौं । तर त्यहाँ झर्ने बितिक्कै तिनै कार पार्कमा मैला टिपिहिँड्ने एकजना सफाइकर्मी (क्लिनर) सँग हाम्रो अचानक भेट हुन्छ । उनी त्यसबेला दुवै खुट्टा बङलङ्गै दायाँबायाँ फालेर भुइँमा बसिरहेको हुन्छ ।     

उनलाई देख्ने बितिक्कै म एकपटक राम्ररी हेर्छु । उनले शरीरको माथिल्लो भागमा निक्कै टाढाबाट देख्न सकियोस् भनेर पहेँलो चमकदार फ्लोरोसेन्टको ज्याकेट पहिरन गरिरहेको छ । मुनी चाहिँ निख्खुर कालो पत्लुङ र खुट्टामा छालाको एकजोर बुट लगाएको छ । उनको सीधै अगाडी एउटा मैला राख्ने साधन ट्रली छ र बायाँ हातले भुइँको कसिङ्गर बढार्ने झाडु समातिरहेको छ । जस्ले ऊ एकजना बढारकुँढार गर्ने सफाइकर्मी हो है भन्ने राम्रो परिचय दिन्छ । तर दायाँ हातले भने गालालाई आराम गराइ रहेको दृश्य देख्दा ऊ थाकेर लखतरान भएको छ है भन्ने कुरो स्पष्ट जान्न सकिन्छ ।   

मलाई लाग्छ – उनी म भन्दा निक्कै पाको मानिस हुनुपर्छ । किनभने उनको पूरै चाउरी परेको अनुहारले त्यही बताउँछ । अझै उनले निक्कै लामो समयसम्म केस पनि काटेका छैनन् । त्यति लामोलामो केसराशी र दाह्री जुङ्गा पाकेका त्यस्तो वृद्ध मानिसको दृश्य देख्दा मलाई भिन्सेन्ट भ्यानगगको याद आउँछ । किनभने भ्यानगगले कुनैपनि दुखान्त दृश्य देख्ने बितिक्कै एउटा नयाँ कलाको सिर्जना गरिहाल्थे । दुर्भाग्यवस ! म भ्यानगग त परिनँ तैपनि उनको नजिकै गएर, “मध्यान्हको नमस्कार,” भनेर उनलाई सम्बोधन गरिहाल्छु ।  

अचानक मेरो कुरो सुनेर ऊ पहिले झसङ्गै झस्किन्छ । तैपनि सरकारी काम कहिले जाला घाम भनेर बसिरहेको ती बुढोमान्छे मलाई देखेर प्रसन्न मुद्रामा, –

“नमस्कार ! अनि आराम हुनुहुन्छ ?” भनेर उल्टै प्रश्न सोध्छ ।

“बेसै छ, धन्यवाद ! तर सेक्सपियरको जन्मघर चाहिँ कता हो नि, जिउ ?” भनेर म फेरि उनलाई सोध्छु ।

उनको बायाँ हातमा झाडुको डण्डी छ । त्यसैले फूर्तिको साथ दाहिने हातले मलाई देखाउँदै, –

“उ त्यो पार्क गरिरहेको कोचलाई एकपटक नजर मार्नोस् त अनि त्यहाँसम्म सिधै हिडेर जानुहोस् । त्यसपछि देब्रे घुम्नोस् अनि ५० मिटर जति हिडेर दाहिने घुमि हाल्नोस् । त्यहाँदेखि दुई तीन मिनेट हिड्नोस्, तपाइँ ठ्याक्कै उनको घरको करेसोमा नै पुग्नु हुन्छ, ढाँटेको भने मरि जाउँ, मित्र” त्यति भन्छ र एकपटक लामो सास तान्छ ।

अब त्यति राम्ररी बेलिबिस्तार लगाएपछि फेरि म उनलाई अन्तिम चोटी, “धन्यवाद,” भन्छु । र, हामी उनीसँग बिदा हुन्छु । मध्यान्हको सूर्यको प्रकाशले सारा धर्ती नै उज्यालो बनाइरहेको बेला हामी स्टार्टफोर्ड अपन एभनमा पुगेका हुन्छौं । नत्रभने बेलायती मौसमको के विश्वास गरिहाल्न सकिन्थ्यो र ? मौसम क्षणक्षणमा गडबड भइरहने गर्दछ । तैपनि आज भाग्यले साथ दिएको छ र त्यति राम्रो मौसम छ ।

हाते घडीमा दिउँसोको ठीक २ बजेको हुन्छ । अनि आज अङ्ग्रेजी सम्वत २०२३ को अगस्ट महिनाको तेश्रो सप्ताहन्तको दिन पर्न गएको छ ।

उनले भने बमोजिम हामी त्यहाँदेखि निस्केर हिँडेको एकछिनमा हेन्ली सडकमा पुग्छौं । यो सडक मानचित्रमा कहाँ पर्छ भनेर मैले बेलिबिस्तार लगाउने हो भने बेलायतको राजधानी लण्डनदेखि ठेक्कै ९१ माइल्स उत्तर पश्चिम र दोश्रो ठूलो सहर बर्मिङघामदेखि २२ माइल्स दक्षिण पूर्वमा अवस्थित रहेको छ ।

अथवा यहाँहरुलाई सजिलो होस् भनेर यसो भनौं – यो वार्विकसेयर काउन्टीमा पर्दछ । तर तपाइँ वार्विकसेयर आइपुग्न कोसौँ अगाडीदेखि, “तपाइँहरुलाई सेक्सपियरको जन्मभूमि वार्विकसेयरमा न्यानो स्वागत छ,” भनेर बेलायती महासडक (एम ४०) को सूचनापाटीमा पटकपटक लेखेको मज्जाले देख्न सकिन्छ ।

हेन्ली सडक, स्टार्टफोर्ड अपन एभन बेलायतको इतिहासमा ज्यादै प्रख्यात सडक हो । किनभने आजभन्दा लगभग ५ सय वर्ष पहिले यहाँ विश्वविख्यात साहित्यकार सेक्सपियरको जन्म भएको थियो । त्यसैले विश्वका हरेक साहित्यिक पारखीहरुले यसलाई पवित्र भूमि भनेर यहाँ पाइला टेक्ने गरेका छन् । वास्तवमा एउटा जीवन मात्र त जिउनु पर्छ । यस ब्रम्हाण्डमा स्थायी भन्ने चिज केही हुँदै हँदैन । आखिर सूर्यको त आयु हुन्छ । त्यसैले यो जाबो जीवन ढल्न अगावै यहाँ एकचोटी आइहालौं भन्ने मेरो निक्कै पुरानो धोको थियो । त्यसैले म त्यो धोको पूरा गर्न यता लागेको हुँ ।

हो, हामी अहिले तिनै सडकमा हाम्रो पाइतालाहरु गनिरहेका छौं । र, सेक्सपियरको बारेमा विभिन्न कुरोहरु सोचिरहेका छौं । तर यहाँ आइपुग्ने बितिक्कै बाटोको दाहिने कुनामा बसेर गीत गाइरहेकी सुमधुर स्वरकी धनी एकजना गायिकाको स्वर सुनेर हामी एकछिन मन्त्रमुग्ध हुन्छौं । त्यसैले तारासँग बाटोको बिचमा ठिङ्गै उभिएर एकछिन् गीत सुन्न थाल्छौं । अनि उनले यसबेला बहुचर्चित गायक जोन डेनभरको गीत गाइरहेकी छिन् ।

“यो स्वर्ग हो, पश्चिम भर्जिनिय हो । नीला डाँडाकाँडा छन्, सेनाडो नदी छ । जिन्दगी बुढो छ, रुखहरु भन्दा बुढो । मलाई घर लैजाउ, गाउँको बाटो भएर – पश्चिम भर्जिनिय । पश्चिम भर्जिनिय ।”

उनकी गीत सुनेर मलाई एक्कासि पश्चिम भर्जिनिय पुगेको झझल्कोले छुन्छ । तैपनि हामी सुस्तरी अगाडी बढ्छौं तर यो पापी मनले मान्दै मान्दैन । त्यसैले एकछिन हिँडेपछि फेरि अघिझैं ठिङ्गै उभिएर गीत सुन्न थाल्छौं । त्यहीँबेला मेरो नजिकै उभिएका तर निषध्यान दिएर गीत सुन्दै गरेको एकजना पुड्के मान्छेलाई, –

“गीत ज्यादै मीठो छ – हगि,” भन्छु ।

उनले प्रतिउत्तरमा, “हो हो, पश्चिम भर्जिनिय मेरो गाउँ हो । अब यति टाढा परदेशमा छु । तैपनि आफ्नो गाउँघरको गीत सुन्दा त्यसै मीठो र आनन्द भैहाल्छ नि,” गर्विलो मुद्रामा ऊ बोल्छ ।

उनको कुरो सुनेर, “आम्मै ! हो र ? उसो भए भरपूर मनोरन्जन गर्नु होला है,” भन्छु ।

हामी ऊसँग बिदा हुन्छौं । त्यसपछि खुरुखुरु अगाडी बढ्छौं । खै के भएर हो कुन्नि ? आज हामीले स्ट्राटफोर्ड अपन एभनमा पहिलो मान्छे भेट्ने बितिक्कै अङ्ग्रेज नभएर अमेरिकादेखि आएकोसँग भेट्न पुगेछु जस्तो लाग्छ ।    

खयर जे सुकै होस् । हामी आफ्नो गति बढाउन थाल्छौं । साहित्यप्रति अगाध रुचि राख्ने हरेक मानिसहरुको लागि “पवित्र स्थल” मानिने हेन्ली सडकमा कोही गीत गाइरहेका छन् । कोही नजिकै रहेको क्याफेमा चिया र कफी पिइरहेका छन् । कसैकसैले दिउँसोको पारिलो घामसँगसँगै हाँसखुसी बियर र वाइनका चुस्की लिइरहेको दृश्यावलोकन पनि गर्न मिल्छ । झन् ठूल्ठूला मुख हुनेहरुले दिउँसोको लन्च सान्डविच र बर्गरलाई च्यापु हल्लाइहल्लाइ चपाइरहेको रमाइलो दृश्य पनि यहाँ नजर गर्न मिल्छ ।

साँच्चै भन्नुपर्दा यो सडकको दृश्य एकदम जीवित छ र हामीलाई पर्यटकहरुको ती खेलहरु हेर्न ज्यादै रमाइलो लागिरहेको छ ।

“होइन ! यतिका धेरै मान्छेहरु छन् । यहाँ मान्छेहरु त आश्चर्य लाग्ने गरी आउने रहेछन् । म त तीन छक्क परेँ,” मलाई पछाडिदेखि कोट्याउँदै ताराले त्यति भन्छिन् ।

यहाँ मानिसहरु मात्र हिँड्न मिल्ने सडक छ । सडक निक्कै फराकिलो र अति व्यस्त छ । अझै सडकको दायाँबायाँ किनारमा अवस्थित दोकानहरु झन् व्यस्त देखिन्छन् । हरेक दोकानहरु बाहिर लहरै झुन्डाइएका गमलाहरुमा कति मज्जाले फूलहरु फूलिरहेका देखिन्छन् । लाग्छ – यहाँ मान्छेले त भन्नै परेन । ती फूलहरुले पनि पर्यटकहरुलाई आकर्षण गरिरहेको देख्न सकिन्छ ।  

तपाइँ हेर्दै जानुहुन्छ भने मानिसको हुल झन्झन् बढिरहेको देख्न सकिन्छ । तर त्यतिका धेरै मानिसहरुको घुइँचो देखिएता पनि अधिकांश मानिस अङ्ग्रेजहरु होइनन् भन्ने कुरो उनीहरु एक अर्कामा बोलिरहेको भाषा र लगाइरहेको पहिरनले प्रष्ट छुट्याउन सकिन्छ । मलाई लाग्छ – धेरैजसो पर्यटकहरु अमेरिकन, फ्रेन्च, स्पेनिस, अरब, जापानिज र चाइनिजहरु हुनुपर्छ ।

वास्तवमा कुरो यस्तो छ । हामी संसारको परिक्रमा गर्ने क्रममा कहाँ पुग्यौं वा कहाँ पुगेनौं । त्यसको एउटा छुट्टै पाटो हुनसक्छ । तर जहाँजहाँ पुगेका छौं । प्रायः यी माथि उल्लेख गरिएका मानिसहरु नै भेटने वा देख्ने गरेका छौं । किनभने जुन देशको आर्थिक हैसियत अलिक जल्दोबल्दो हुन्छ । ती देशका मानिसहरु नै विश्व भ्रमण गर्न निस्कने गरेका हुन्छन् । सम्भवतः यो प्राकृतिक नियम यहाँ स्ट्राटर्फोड अपन एभनमा पनि ठ्याक्कै लागू भएको मलाई यसबेला महसुस हुन्छ ।

यहाँ देखिएका पर्यटकहरुको खेल हेरेर हामी मन्त्रमुग्ध भएका छौं । तर हामी एकधुनमा त्यसरी बाटोमा हिँड्दै गर्दा अचानक एकजना मान्छेले उनकी प्यारीलाई, “डार्लिङ ! य कहाँ आगए हम,” भनेर हिन्दी भाषा बोलेको सुन्दा मलाई नयाँ दिल्ली पुगेको तीता मीठा स्मरण होइन उता बुईपा, खोटाङ्को पन्चरबाटो हटिया भर्न जाँदा सिलाबरे भाडाकुँडा बेची हिँड्ने एकजोडी भारतीय र उनको श्रीमतीको सम्झना आउँछ ।

तिनै भारतीय भैयाको सम्झना गर्दैगर्दै हाम्रो यात्रा क्रमशः अगाडी बढिरहेको हुन्छ । तर अचानक –

“होइन ! यो अगाडीको क्याफेमा सौचालयको प्रयोग गर्न मिल्छ कि मिल्दैन होला ? म त मरिहालेँ नि,” सानो स्वरमा ताराको मुख खोलिन्छ । उनको कुरो सुन्ने बितिक्कै म सरासर हिँड्दै क्याफेभित्र छिरिहाल्छु । भित्र पसेपछि बारमा देखिएको एकजना बेयरालाई, –

“हजुर ! तपाइँहरुको सौचालय प्रयोग गर्न पाइन्छ कि पाइँदैन होला ?” थोरै सुर्तासहित सोध्छु ।

नत्रभने धेरै ठाउँहरुमा ‘मलाई माफ गर्नोस् । हाम्रो यो सौचालय त केवल ग्राहकहरुको लागि मात्र हो’ भन्ने सजिलो जवाफ पाइ हालिन्थ्यो । तर खै यहाँका मानिसहरु थोमस हब्सले सोचेको जस्तै त्यति क्रुर र निर्दयी छैन रहेछन् । बरु हामी नेपालीहरु जस्तै निक्कै दयालु रहेछन् । त्यसैले, –

“कृपया ! चलाउनु भए हुन्छ”, उनले हाँस्दै हास्दै प्रति उत्तर फर्काउँछन् । त्यसपछि हामी उनलाई आभार प्रकट गर्दै सौचालयको प्रयोग गर्छौं ।

सौचालयदेखि निस्कन्छौं र पुनः सडकमा हिँड्न थाल्छौं । तर दुईचार मिनेट हिँड्ने बितिक्कै सेक्सपियरको जन्मघर अगाडी पुगिहाल्छौं । अब त्यहाँ पुग्ने बितिक्कै तारा प्रशन्न मुद्रामा हुन्छिन् । अनि मोबाइल निकालेर तस्विर लिन सुरु गरिहाल्छिन् । म चाहिँ तिनै घरको सामुन्ने सिमानामा रहेको दशगजा खम्वाझैँ हलचल नगरी एकछिन् ठिङ्गै उभिरहन्छु । र, सोर्हौं शताब्दीमा निर्माण भएको उक्त घरलाई मज्जाले नियाल्न थाल्छु ।

त्यति अगाडी बनेका त्यस घर स्वभावैले पुरानो त यस्सै देखिन्छ । अझै ढुङ्गा र माटोले निर्माण गरिएको त्यो घर निक्कै विशाल देखिन्छ । अझै त्यो घरको निर्माण हुँदा कति धेरै काठको प्रयोग गरिएको रहेछ भन्ने कुरो पनि देखिन्छ । हरेक दिन म जस्तै दशौं हजार पर्यटकहरुले हेर्ने त्यस घरमा निक्कै धेरै झ्यालहरु रहेका छन् र सबै झ्यालहरुमा फलामे तारका जाली हालेर सुरक्षित बनाइएका छन् । जिन्दगीमा पटकपटक घरहरु किन्दै बेच्दै गरेको मसँग अनुभव भएको हुनाले म त्यस घरको छानोदेखि जमिनको सतहसम्म राम्ररी हेर्छु ।

निक्कै लामो समयसम्म घरको दृश्यावलोकन गरिसकेपछि अङ्ग्रेजी पुनर्जागरणका मुख्य कवि सेक्सपियरको बाबु जोन सेक्सपियर र आमा म्यारी सेक्सपियरलाई सम्झन पुग्छु । उनका बाबु जोन भेडाको ऊनबाट बन्ने पन्जा व्यापारी थिए । जाडोको समयमा अत्यधिक पन्जा बिक्री गर्ने उनको माथिल्लो तलामा बास बस्ने कोठा र मुनीको तलामा दोकान थियो ।

यिनै घरमा जोन र म्यारी सेक्सपियरका ७ जना सन्तानहरु जन्मेका थिए । सेक्सपियर जन्मनुभन्दा अगाडी जन्मेका दुईजना दिदीहरुमध्ये सबैभन्दा ठूली दिदी जोयन जन्मेर दुई महिनामात्र बाँचेकी थिइन् । तर माइली दिदी मार्गरेटको भने जन्मने बितिक्कै मृत्यु भएको थियो । उनीहरु पछि तेश्रो सन्तानको रुपमा सेक्सपियरको जन्म यिनै घरमा सन् १५६४ भएको थियो ।

सेक्सपियरको जन्म भएपछि उनलाई यहीँ नजिकै रहेको पवित्र त्रिदेव गिर्जाघर “होली ट्रिनिटी चर्च” स्ट्रार्टफोर्ड अपन एभनमा २६ अप्रिलको दिन न्वारान (बाप्टाइज्ड) गरिएको थियो । त्यसदिन उनको न्वरानमा को को उपस्थित थिए भन्ने प्रमाण त्यस गिर्जाघरमा अहिलेसम्म पनि मज्जाले पढ्न सकिन्छ तर त्यो ल्याटिन भाषामा लेखिएको छ ।

२६ अप्रिल १५६४ मा न्वारान भएको सेक्सपियरको जन्म कुन दिन भएको हो भनेर कसैले ठ्याक्कै ठोकुवा गर्न सकेका छैनन् । किनभने त्यसको यथेष्ट प्रमाण अहिलेसम्म कहीँ कतै भेटिँदैन् । तर उनको जीवन कहानी लेख्ने विख्यात विद्वान अध्येताद्वय विलियम ओल्डिज र जर्ज स्टेभेन्सले उनी जन्मेको दिन निश्चित नभएता पनि तत्कालिन समयमा मानिस जन्मेको तीन दिन पछाडी न्वारान गरिने परम्परा थियो । सोही चलनलाई मध्यनजर गर्दै उनी २३ अप्रिलमा नै जन्मेका हुन है भनेर उनीहरुले भनेका छन् । र, तिनै दिनलाई अहिले पनि उनको आधिकारिक जन्मदिन हो है भनेर मान्ने गरिन्छ ।

विश्वविख्यात साहित्यकार सेक्सपियरको ५२ वर्षमा मृत्यु भएको थियो । तर काकताली के पर्यो भने उनी जुन दिन जन्मेको भनेर २३ अप्रिललाई मान्ने गरिन्छ । उनको मृत्यु पनि सोही दिन २३ अप्रिल १६१६ मा भएको थियो । सो मृत्युको प्रमाण चाहिँ उनको समाधिस्थल तिनै गिर्जाघरमा अहिले पनि मज्जाले देख्न सकिन्छ । अझै उक्त्त दिन २३ अप्रिललाई जर्जियन पात्रोमा ‘सेन्ट जर्जेस डे’ पनि भनेर मानिन्छ ।

हामी सेक्सपियरलाई सम्झँदै सम्झँदै त्यहाँदेखि सुस्तरी हिँडेर थोरै अगाडी बढ्छौ । एकछिनपछि बाटोको बीच भागमा रहेको उनको शालिकनेर पुगेर ठिङ्गै उभिन्छौं । जुन शालिकलाई सन् २०२२ मा टोनी बर्ड ओबिइ र बर्ड परिवारले बनाइदिएका थिए । मैले त्यो शालिकलाई मज्जाले नियालेर हेर्दा उनको नाम विलियम सेक्सपियर भनेर त्यहाँ लेखेको देख्छु ।

वास्तवमा तपाइँ सेक्सपियरको जीवनीलाई एकदम गहिरिएर अध्ययन गर्नु हुन्छ भने उनको न्वारानको नाम विलियम सेक्सपियर हुँदै होइन – ‘गुलिलमस सेक्सपियर’ हो ।

त्यसबेला अङ्ग्रेजी भाषाको प्रचलन त्यति थिएन । त्यसैले सम्भवतः त्यो नाम ल्याटिन भाषामा राखिएको हुनुपर्छ । हामीले अझै एउटा कुरा के याद गर्नु पर्छ भने उनले यहाँ नजिकै रहेको ग्रामर स्कूलमा ल्याटिन भाषा अध्यान गरेका थिए । उनले नाटक, रुपक र कविताहरु लेख्दा ‘विल’ भनेर समय समयमा लेखिरहने गर्दथे । उनले विल भनेर लेखेपछि उनका साथीहरुले उनलाई विलियम भन्ने गर्थे । कालान्तरमा तिनै नामबाट परिचित भएर उनको नाम विलियम सेक्सपियर रहन गएको हो ।

अझै सेक्सपियरको पारिवारिक कथा पनि एक प्रकारले अचम्मको नै मान्नु पर्छ । उनले १८ वर्षको उमेर हुँदा २६ वर्षकी आना हाथवेसँग विवाह गरेका थिए । उनकी माइती घर यहीँ नजिकै पर्छ । अहिले उनी जन्मेकी उक्त्त घरलाई “आना हाथवे कटेज” भन्ने सङ्ग्रहालयमा परिणत गरिएको छ । हामी त्यहाँ पहिले नै पुगिसकेका छौं ।

उनीहरुको बिहे भएपछि सन् १५८३ मा पहिलो सन्तानको रुपमा सुजना सेक्सपियर जन्मेकी थिइन् । त्यसपछि सन् १५८५ मा जुम्ल्याहा छोरा र छोरी क्रमशः हेमनेट र जुडिथ सेक्सपियर जन्मेका थिए । तीन जना सन्तानहरुको बाबु सेक्सपियरलाई सम्झेर हामी त्यहाँ एक छिनसम्म खडा भइरहन्छौं । र, शालिकलाई मज्जाले नजर मारिरहेका हुन्छौं ।

तर ताराले अचानक, –

“खै ! तपाइँ सेक्सपियरको शालिकसँग तस्विर लिने होइन र ?” त्यति भनेको सुन्ने बितिक्कै म केही नसोची सरासर शालिकको नजिकै पुग्छु । त्यसपछि तस्वीर लिनको लागि दुवै हात पछाडी राखेर तम्तयार भइहाल्छु । तस्वीर खिच्नको लागि तयार भैसकेपछि पनि ताराले तस्वीर लिन थोरै समय लिन्छिन् । तर ठीक त्यहीँबेला एकजना बालक एक्कासि मेरो सामु देखापर्छ र, –

“मलाई माफ गर्नोस् ! मलाई तस्वीर खिच्ने अवसर दिने होइन र ?” भन्दै प्रश्न गर्छ ।

उनको बोली सुनेर पहिले मलाई हाँसो उठ्छ । त्यसपछि म उनलाई क्वारक्वार्ती हेर्न थाल्छु । लगभग ५/६ वर्षको जस्तो देखिने जाबो अङ्ग्रेजी फुच्चाले यस धर्तीमा कम से कम छ दशक पार गरेको मान्छेसँग एकरति नडराइ त्यसरी बोलेको सुन्दा म एकछिन अचम्मित हुन्छु । अझै म शालिकको नजिकै पुगेर तस्वीर लिनको लागि तीस सेकेण्ड समय पनि खर्च नगर्दै मलाई निकाल्न खोज्दा एकपटक त बेस्सरी झोंक चल्छ ।  

तर जति झोंक चले पनि म उसलाई के गर्नु सक्छु र ? बेलायतमा बालबालिकाहरुलाई छुन पनि सकिँदैन । त्यसैले आफूलाई आफैँ चित्त बुझाउँछु । उता मेरो गाउँघरजस्तो भए त के छाड्थेँ र ? छाड्दै छाड्दिनथेँ, बेस्सरी हप्काउने थिएँ हुँला ? अब यता प्रजातन्त्रको जननी देश पर्यो । बालबालिकाहरुलाई थाथाथुथु गर्न मिल्दै मिल्दैन भन्छन् । त्यसैले आफूले आफैँलाई शान्त्वना दिँदै चुपचाप अपमान पनि सहर्ष स्वीकार गर्छु ।   

एकचोटी फेरि सोच्छु । वास्तवमा त्यो बालक निर्दोष पनि थिए होला ? त्यो मानेमा सबैभन्दा दोषी त उनको अभिभावकहरुलाई देख्छु । किनभने बालकलाई जस्तो सिकायो त्यस्तो बन्ने त हो मनमनै भन्छु । अनि त्यो बालकलाई हेर्ने त्यहाँ दुईजना आइमाईहरु पनि त्यहाँ देखिन्थे । निश्चय पनि तिनीहरुमध्ये एकजना उनको आमा हुनुपर्छ । किनभने उनीहरु बालकको नजिकै उभिरहेका थिए ।

उनीहरुले आफ्नो बच्चालाई ‘बाबा ! तिमी एकछिन पर्ख ? तिम्रो पालो आउँछ’, भन्नको साटो मप्रति लक्षित गरेर हाँसिरहेको देख्दा मेरो छाला हेरेर उनीहरुले त्यस्तो व्यवहार गरेका हुन् कि भन्ने मलाई त्यसबेला आभाष हुन्छ । तैपनि सकरात्मक सोच्ने मानिस भएको हुनाले ती बालकलाई तस्वीर खिच्ने स्थान छाडी दिएर म त्यहाँदेखि निस्कन्छु र लुरुलुरु हिँड्न थाल्छु ।  

स्ट्राटफोर्ड अपन एभनमा हातको घडी एक रफ्तारले घुमिरहेकै छ । घडीले आफू कहाँ पुग्ने होला भनेर केही अत्तोपत्तो पाउँदैन । तैपनि घुमिरहन्छ तर हामीलाई दिउँसोको समय ४ बजिसकेको छ है भनेर जानकारी पनि गराउँदछ । त्यसपछि हामी सडकमा सुस्तरी हिँड्दै अगाडी बढ्न थाल्छौं । त्यसरी हिँड्दै जाँदा ताराले, –

“तपाइँ नामर्द मान्छे । जाबो एउटा बच्चाले पनि हेप्छ । मान्छे पनि अलिक अजङ्गको भा पो । हेर्दा अलिक ठूलो देखिए त फुच्चेले के आँट्थ्यो ? अब के गरौँ ? घर फर्केर जाउँ कि के हो ?” अनेक थरि प्रश्न गर्छिन् ।

“त्यसो नभन न । अब यो सङ्ग्रालयभित्र पसियो भने अर्को एक घण्टा समय त्यतिक्कै नस्ट हुन्छ । पाँच बजे होली ट्रिनिटी गिर्जाघर बन्द हुन्छ । बरु मलाई सेक्सपियरको समाधिस्थल त्यो गिर्जाघर पुग्न ज्यादै ठूलो रहर छ । त्यसैले अब त्यतै लाग्नु पर्छ होला ?” उनलाई भन्छु ।

मेरो कुरो सुनेपछि, “लौ ! लौ ! त्यसै गरौ न त,” उनी भन्छिन् ।

त्यति भनिसकेपछि जिन्दगीमा प्रथमचोटी उनी मेरो अगाडी हिँड्न सुरु गर्छिन् । तर अलिकति हिँड्ने बितिक्कै उनी टक्क रोकिन्छिन् । उनी त्यसरी रोकिनुको कारण एकजना गायिका देखेर हो । उनी रोकिएपछि म हिँड्दै उनको नजिक पुग्छु । र, म पनि तिनै गायिकालाई निक्कै नजिकदेखि राम्ररी नियाल्न थाल्छु ।

पहिले उनकी अनुहार हेर्छु । केश हेर्छु, लामो तर सिलिक्कै परेको केश कालो रहेछ । त्यसपछि अलिक गहिरिएर आँखा, नाक, कान, मुख, पाखुरा र खुट्टाहरु सबै हेर्छु । उनले मुनी जिन्सको पत्लुङ लगाएकी छिन् । अन्तमा सानो गन्जीले छोपिरहेको भर्खरभर्खर उठेको छातीलाई कर्के नजरले अलिकति हेर्छु ।

वास्तवमा मेरो उमेर साँझको घामझैँ सर्लक्कै ढल्किसकेको छ । तैपनि उनको शरीरले मलाई यसबेला खुब आकर्षण गरिरहन्छ । श्रीमती साथैमा छ तर छोरा मान्छेको मन न हो । कुनै कुनै बेला यो मन पनि कति पापी हुन खोज्छ । आखिर जे सुकै होस् । मलाई लाग्छ – उनी चिनियाँ मूलकी हुनुपर्छ । हो हो, फरक पर्दै पर्दैन, मनमनै भन्छु ।  

उनले आफ्नो अगाडी एउटा ठूलो बर्की बिछ्याएकी छिन् । बर्कीको रङ्ग टाटेपाटे देखिन्छ । त्यो बर्कीको बीच भागमा पैसा माग्नको लागि उनले बजाउँदै गरेकी गितारको खोल थापेकी छिन् । त्यहाँ त्यति धेरै पैसा देखिदैन् । त्यसले के बताउँछ भने उनले त्यहाँ पैसा माग्न थालेकी त्यति धेरै समय भएको छैन् ।

त्यसपछि म उनको शरीरलाई फेरि एकचोटी दोहोर्याएर हेर्छु । यसो हेर्दा मान्छे सानी सानी छिन् । तर एकदम धेरै मेहनतको साथ गीत गाउँदा असिनपसिन भइरहेकी छिन् । अब त्यति बैसालु युवतीको स्वरले भन्दा पनि मलाई उनको अर्धनग्न शरीरले निक्कै आकर्षित गर्न थाल्छ ।

“खै खै ! एक-दुई पाउण्डको सिक्का छ कि कतै ?” भनेर हतारहतार तारालाई सोधिहाल्छु ।

“मैले पैसा नबोकेको कति वर्ष भो ? त्यति पनि चाल पाउनु हुन्न र ? यी पैसा निकाल्ने एउटा प्लास्टिकको कार्ड मात्र छ । कि त्यो पनि चल्छ र ?” मेरो कुरो सुनेर उनले कार्ड देखाउँदै साङ्केतिक भाषा प्रयोग गर्दै मलाई थर्काइ हालिन् ।

म पनि मान्छे लाटो अथवा अति पटमूर्ख नै हुँ । अचानक बाटोमा भेटिएकी राम्री तरुनीलाई पैसा दिनको लागि आफ्नो श्रीमतीसँग पैसा माग्ने । त्यसैले उनी रिसाउनुको कारण मैले पछि बुझ्छु । बल्ल त्यति भनाइ खाएपछि मेरो मुख सुकेर आउँछ । एकछिनमा कलेटी पर्दै बन्द हुन्छ । प्रेमी र प्रेमिकाको बियोगान्त नाटक लेख्ने सेक्सपियरको घर अगाडी श्रीमतीसँग बित्थैमा के झगडा गरिरहने है भनेर म एकछिन् बोल्दै नबोली क्रमशः अगाडी बढ्न थाल्छु । तर छिनछिनमा गीत गाएर पैसा माग्ने गायक र गायिकाहरुलाई भेट्दा हेन्ली सडक – स्ट्राटफोर्ड अपन एभन साहित्य र सङ्गीतको सङ्गमस्थल नै मान्नु पर्ने रहेछ जस्तो लाग्छ ।

हामी हिँड्दै अगाडी बढेको केहीबेरमा हेन्ली सडकको पुछारमा रहेको गोलघुम्तीको अगाडी पुग्छौं ।  त्यहाँदेखि सर्लक्कै दाहिनेतिर घुम्छौँ । हामी दाहिने घुम्ने बितिक्कै ब्रिज स्ट्रिटको वक्षस्थलमाथि हिँड्न सुरु गरिहाल्छौं ।

तर त्यहाँ हेन्ली सडकमा जस्तो सडकको बिच भागमा हिँड्न मिल्ने ठाउँ छैन् । त्यसैले सडकको पेटीपेटी हिँड्न थाल्छौं । त्यसरी सडकको पेटीमा हिँड्दै गर्दा कैयन राता, हरिया, नीला र पहेँला मोटर कारहरु आउँछन र जान्छन् । अझै कति पटक त बडेबडेमाका लोरी, बस र कोचले हामीलाई उछिनेर जान्छन् । उता नेपालमा जस्तो टाटाटिँटीँ हर्न बजेको पटक्कै सुन्न सकिँदैन् । त्यसैले हामी ती मोटरहरुलाई झीनो वास्ता गर्दैनौं । बरु निस्फिक्रीसँग त्यहाँका घरहरु हेर्दै हेर्दै निरन्तर अगाडी बढिरहेका हुन्छौं ।

त्यसरी हिँड्दै जाँदा आँखा नथाकिन्जेलसम्म घरहरुको दृश्य हेर्नको मुख्य कारण ती घरहरु आजभोलि बनिने आधुनिक घरहरु जस्तो नक्कली हुँदै होइनन् । यहाँका धेरैजसो घरहरु सोर्हौं र सत्रौं शताव्दीतिर निर्माण भएका हुन् । तिनै घरहरुको रमाइलो दृश्यावलोकन गर्दै जाँदा ताराले, –

“गाँठे ! यहाँ त विकास उहिले नै भइसकेको रहेछ । अहिले भएको होइन रहेछ,” भन्छिन् ।

तर म चाहिँ एकछिन् अगाडी उनको भनाइ खाएको हुनाले केही बोल्दै नबोली सुईसुई हिँड्छु । तैपनि मेरो मनमनै यस्तो लाग्छ – घर बाहिरको घुमफिरमा सबैभन्दा बढी उनैले मनोरन्जन लिन्छिन् । अनि घर छाड्न नमान्ने पनि उनी नै हुन् । 

अगस्टको महिना छ । यसबेला बेलायती पाठशालाहरु ग्रीष्मकालिन छुट्टी भएकोले पूरै बन्द भएका छन् । त्यसैले स-साना विद्धार्थीहरु र उनीहरुको अभिभावकहरु दोकानमा समान खरिद गर्नको लागि ग्वारग्वारती सडकको पेटीपेटी हिँडिरहेको मज्जाले देख्न सकिन्छ । हुनत यो एउटा गाउँ हो । तर अति विकसित ठाउँ पनि हो । त्यसैले यहाँ कसैले कसैको वास्ता गर्दैनन् । र, नेपालमा जस्तो बिहान उठेदेखि बेलुकी नसुतिन्जेलसम्म राजनीतिज्ञहरुलाई कसैले गाली गर्दैनन् । त्यो नै विकसित मुलुकको सबैभन्दा राम्रो चलन छ ।

आजको मौसम हल्का गर्मी छ । गर्मी भएपछि मानिसलाई तिर्खा लाग्न स्वाभाविकै हो । त्यसैले यहाँ हुलका हुल मान्छेहरु बियर पिउनको लागि भट्टीपसल छिर्दै गरेका र निस्कँदै गरेका देख्न सकिन्छ । ठीक यहीँबेला हाम्रो अगाडी अगाडी दुईजना मातेको अङ्ग्रेजहरु एकअर्कामा पाल्सी भाषा बोल्दै हिँडिरहेको देखिन्छन् । मलाई यसरी खुट्टा बाङ्गोटिङ्गो गर्दै बाटोमा मातेको मान्छे हिँड्दै गरेको हेर्न एकदम आनन्द आउँछ । त्यसैले हामी केहीबेर उनीहरुको पछिपछि हिँड्छौं । तर एकछिन पछि उनीहरु बाटो काटेर पारि जान्छन् । त्यसपछि हाम्रो नजरदेखि उनीहरु बिलय हुन्छन् ।

यसरी सडकको पेटीबाट हिँड्दै जाँदा धेरैजसो खुद्रा सरसमान बेच्ने दोकान, चिया पसल, क्याफे, रेष्टुराँ र भट्टीपसलहरुको नाम सेक्सपियर वा उनको कृतिसँग जोडिएका हामी देख्न सक्छौं । तर एकछिन पछि सडकको दायाँ किनारमा लहरै अङ्ग्रेजी, इटालियन, चिनियाँ र भारतीय रेष्टुराँहरु देखा पर्छन् । हामी ती सबै रेष्टुराँहरुलाई छिचोलेर क्रमशः अगाडी बढिरहेका हुन्छौं ।  

ब्रिज स्ट्रिटलाई हाम्रा पाइलाहरुले छिचोलेपछि सीधै अगाडी रहेको हरित पार्कमा पुग्छौं । अगस्ट महिनाको सूर्यको किरणहरु तिनै चउरमा भएको हरियो दुबोहरुमाथि पर्दा चउरको शोभा कति धेरै बढेको त्यसबेला मलाई आभाष हुन्छ । अझै यहाँदेखि ढुङ्गा फाल्दा पुग्ने दुरीमा अविरल बहिरहने एभन नदीलाई दृश्यावलोकन गर्दा मलाई स्वर्गीय आनन्द मिल्छ ।

अब यति राम्रो प्रकृतिको वर्णन मैले यहाँ शब्दमा कसरी गर्न सक्छु र ? हुनत उता काठमाण्डौ सहरको तीनकुनेमा पनि नेपालीहरुले प्रकृतिप्रति स्नेह गरेर यसरी नै दुबो रोपेका थिएँ भन्ने सुनेको थिएँ । तर दुबो रोपेको अर्को दिन चोरी भैहाल्यो भन्ने झन् ठूलो समाचार आएको थियो । नत्रभने सायद काठमाण्डौ पनि यस्तै रमाइलो देखिन्थ्यो होला ?

केहीबेरपछि हामी दुईजना सुस्तरी हिँडेर तिनै पार्कको पश्चिमी कुनामा पुग्छौँ । तर त्यहाँ पुग्ने बितिक्कै अर्को एकजना अधबैँसे अङ्ग्रेजी आइमाईले गीत गाइरहेकी रमाइलो दृश्य देखिन्छ । अ…. उनको ठीक अगाडी पनि अघि चिनियाँ युवतीले झैं गितारको खोललाई बङ्लङ्गै खोलेर उतानो पारिरहेको देख्न सकिन्छ ।

यदि उतानो परेको गितारको खोललाई राम्ररी नजर लगाउने हो भने त्यो खोलभित्र अलिअलि बेलायती चानचुने सिलिङहरु कैद भएर बसेको नजर लगाउन मिल्छ । तर दुर्भाग्यबस हामीसँग गोजीमा फुटेको कौडी छैनन् । केवल प्लाष्टिकको पैसा मात्र छ र त्यसको प्रयोग गर्न मेसिनको जरुरत पर्छ । स्वभावैले पैसा माग्ने मान्छेहरुसँग आधुनिक मेसिन त हुँदै हुदैनन् । त्यसैले उनको साह्रै नजिक गइ नहालौँ कि भन्ने लाग्छ । नत्रभने उनले पैसा दिन्छ भनेर आश गर्छ होला भन्ने विचार आउँछ ।

उनको नजिक नगए पनि गीत ज्यादै मीठो गाएकी हुनाले अलिक टाढादेखि नै उभिएर उनको गीत सुन्छौं । अझै उनको स्वर पूरै हरित पार्क नै थर्किरहेको मलाई त्यसबेला आभाष हुन्छ । झन् उनले यतिखेर साङ्गीतिक समूह आब्बाको गाइरहेकी छन् । सत्तरी र असीको दशकमा आब्बा ज्यादै प्रख्यात साङ्गीतिक समूह भएको थियो । अहिले पनि संसारभरि उनीहरुका करोडौँ फ्यानहरु रहेका छन् । जसमध्ये म पनि एक हुँ । उनले यतिबेला तिनै विश्व विख्यात साङ्गीतिक समूह आब्बाले गाएको ज्यादै चर्चित गीत “डान्सिङ क्वीन” गाइरहेकी छिन् ।

जुन गीतमा ‘योङ्ग एण्ड स्वीट – ओन्ली सेभेन्टिन’ भनेको वाक्यांश मलाई असाध्यै मन पर्छ । हुनत यथार्थमा म सिक्स्टी पुगिसकेको मान्छे हुँ । अब उनको गीत सुनेर सिक्स्टीबाट सेभेन्टिनमा झर्नको लागि कति अङ्क घटाउनु पर्ने होला भनेर यसो एकछिन औला भाँची हेर्छु र आफैँ थकित हुन्छु । यस्सै त म डरपोक मान्छे । अब गइसकेको जीवन फर्किन्दैन होला, के फर्किन्थ्यो भनेर एकछिन पीर पर्छु । तर जस्ले जेसुकै भनेता पनि मलाई आब्बा असाध्यै मन पर्ने भएको हुनाले म मदहोस् हुँदै एकदिन, “आब्बा सङ्ग्राहलय” स्टकहोम – स्वीडेनमा पुगेका एकछिन स्मरण गरिरहन्छु ।  

डान्सिङ क्वीन सिद्धिएपछि हामी चउरको बीच भागदेखि क्रमशः अगाडी बढ्दै जान्छौं । त्यसबेला चउरमा अर्धनग्न सेभेन्टिन र एटिनका युवायुवतीहरु ह्वाङ्गै खोलिएका भेष्टा र मसिना कट्टु लगाएकाहरु प्रशस्तै देखिन्छन् भेटिन्छन् । यसरी दिनानु दिन कट्टुको साइजहरु घट्दै गएको देखेर मेरो मन एकछिन् बिक्षिप्त हुन्छ । यहीँ क्रम जारी रहने हो भने अब मेरो नाति वा पनातिको पालामा झन् यसको हालत के कस्तो हुने होला भनेर एकछिन कल्पनाको सागरमा डुब्छु ।

हुनत यहाँ देखिएका धेरैजसो युवतीहरु सबै वैशालुहरु हुन् । अहिले उनीहरुको मुरमुरे वैंश छ । भर्खरभर्खर जवानीमा चढ्दै गरेको त्यो उमेर एक प्रकारले राम्रै हुन्छ । त्यसैले यस्तो अवस्थामा उनीहरुको भर्खर पलाउदै गरेका वक्षस्थल र सेतासेता तिघ्राले जो कोही युवकहरुको हृदय मज्जाले विजय गर्न सक्छ जस्तो लाग्छ ।

तर सबैभन्दा उदेक त मलाई घण्टौँसम्म अँगालो मारेर मात्र होइन एक अर्कामा नाङ्गा खुट्टा खप्ट्याएर म्वाइ खाँदै गरेको दृश्यले पो लाग्छ । हुनत सत्र अठारको यो उमेर पनि यस्तै हो । यदि यो उमेरमा पनि मनोरन्जन गर्न सकिएन भने त कहिले गर्ने होला र ? जननेन्द्रियले काम गर्न छाडेपछि त जिन्दगी के रमाइलो हुन्छ होला र ? म फगत त्यस्तो सोच्छु ।

वास्तवमा यहाँको चलन नै यस्तै रहेछ । त्यसैले यो कुनै नौलो कुरो चाहिँ हुँदै होइन । यसलाई चलनचल्तीको नियम नै हो है भन्न रुचाउँछु । त्यसकारण म त्यति धेरै आश्चर्यचकित भइरहन पनि जरुरी ठान्दिनँ । तर मेरो मनभित्र अर्को मन पनि छ । अर्को मनले वास्तवमा यो ठाउँ नै यस्तो हो क्यारे भन्छु ।

अनि यसबेला म एभन नदीको पानीलाई थोरै दोष दिन्छु । अरु त अरु मान्छे भै हाल्यो । सम्भवतः यिनै एभन नदीको पानी पियर नै होला ? सेक्सपियरले आफू १८ वर्षको कलिलो उमेर हुँदा २६ वर्षकी आनालाई गर्भवती बनाइ दिइहाले । अनि बिहे गरेको ६ महिनामा सुजना जन्मिहाले । किनभने बिहे अगाडी नै उनी ३ महिनाकी गर्भवती थिइन् ।

एकछिन सेक्सपियरको बैंशको कुरो छाडौं । र, यहाँको कुरो गरौं । यो एकदम खुला चउर छ । अनि असाध्यै हरियो छ । तर यहाँ घामको न्यानो किरणसँग लुकामारी खेल्दैखेल्दै भुइँभरि छरपष्टिएका जोडीजोडी युवायुवतीहरुलाई पार गर्दै हामी क्रमशः अगाडी बढ्दा, –  

“यस्तो खुला मैदानमा मान्छेहरु यसरी नै गाँठो पर्छन् होला भनेर मैले जिन्दगीमा कहिले पनि सोचेको थिइनँ । खै म यसलाई के भनौं । यो त मैले जिन्दगीमा अचम्मै देखेँ । सेक्सपियरको गाउँमा नै नानाथरि देख्न सकिने रहेछ,” सुस्तरी ताराको मुख खोलिन्छ ।  

उनको कुरो सुनेपछि, “यसलाई उता नेपालमा भए अश्लील तर यतातिर त शील नै भन्न मिल्छ होला,” भनेर जवाफ फर्काउँछु । तैपनि यिनीहरुले जे जे गरिरहेका छन् । त्यो सबै ठीक्कै गरिरहेका छन् जस्तो मलाई लाग्छ । आखिर जाबो मान्छेले एक जुनी त जिउनु पर्छ । त्यसैले हाँसीखुसी नै जिउनु ठीक हुन्छ होला भन्ने सोच्छु । वास्तवमा जिन्दगीभरि कति दुःख मात्र गरिरहने हो र ? बरु यहाँ पार्कमा आयो अनि दिनभरि घाम ताप्यो । मज्जा मज्जाको गफ चुट्यो र अँगालो मारेर घण्टौँसम्म एकअर्कामा मुख जोड्यो । त्यो नै यहाँको वास्तविक्त्ता रहेछ ।  

“ल ! अब समय धेरै छैन फटाफट हिँड्नु पर्छ,” अतालिदै तारालाई त्यति भन्छु । त्यसपछि उनी मेरो पछिपछि आउन थाल्छिन् । हामी पहिले थोरै अगाडी बढछौं र चउरको दाहिनेतिर मोडिन्छौं । तर त्यहाँ अलिक फरक प्रकारको दृश्य देखा पर्छ ।

हाम्रो सामु एकजना मामुली मान्छे छ । उसले एउटा भेस्टा र जाङ्गे लगाएको छ । र, ऊ एकपाङ्ग्रे साइकलमा चढेर क्रमशः खुट्टा चालिरहको देखिन्छ । यसो हेर्दा ऊ मामुली फुच्चे देखिएता पनि उनको स्वर चाहिँ निक्कै ठूलो आइरहेको सुनिन्छ । किनभने त्यो मान्छेले उसको कानमा माइक्रोफोन झुन्डाइरहेको छ । उसको चर्तिकला हेर्न मान्छेहरु वरिपरि झुरुप्पै भेला भएका छन् । अब त्यति धेरै झुरुप्पै भेला भएका मान्छेहरुको हुलमा निक्कै मनोरन्जन हुन्छ कि भनेर तारा र म पनि हतार हतार त्यहाँ पुगेर मिसिइ हाल्छौं ।

हामी त्यहाँ पुग्ने बितिक्कै उनले मलाई एक पाउण्ड दिनु भयो भने म आगो खान्छु । ऊ पहिले त्यसो भन्छ । हुन पनि उनको ठीक सामु एकजना युवतीले स-साना दुईवटा फलामे डण्डीमा आगोको पुल्ठो समातिरहेको दृश्य देख्न सकिन्छ । यदि पाँच पाउण्ड दिनु भयो भने म धर्ती नै खान्छु । अनि दश पाउण्ड दिनु भयो भने सारा आकाश खान्छु । उनको त्यस्तो कुरो सुनेर सबैजना दर्शकहरु ट्वाल्ल पर्छन् र एक अर्कामा हेराहेर गर्छन् । तर पन्ध्र पाउण्ड दिनु भयो भने म दिने मान्छेसँग नै जान्छु तर त्यो मान्छे केटी हुनुपर्छ । उनले त्यसो भनेको सुन्दा सबैजना गलल हाँस्छन् । 

तारालाई, “यस्तो जाबो बकमफुस्से कुरो सुनेर बस्ने हो । हैट बरु जाउँ,” भन्छु । उनी मेरो कुरो सुनेर पछिपछि आउँन थाल्छिन् । त्यसपछि हामी दक्षिण दिशा ताकेर थोरै अगाडी बढ्छौं । तर त्यसरी अगाडी बढ्दै गर्दा, –

“होइन, भगवानले मानिसलाई गरिखानको लागि हरेक प्रकारको बुद्धि दिएको हुने रहेछ,” तारा त्यसो भन्छिन् ।

उनको कुरो सुनेर छोटकरीमा, “हो रहेछ,” भन्छु । त्यहाँदेखि हिँड्दै जाँदा हामी एभन नदीको ठीक किनारमा पुग्छौ । त्यसपछि नदीको किनारै किनार अगाडी बढ्न थाल्छौं । यहाँनेर नदीले आफ्नै सुरमा अबिरल गतिमा बहिरहने मात्र होइन । एउटा ठूलो तलाउ पनि बनाएको रहेछ । यो तलाउमा यसबेला विभिन्न रङ्गका डुङ्गाहरु ओहोरदोहोर गरिरहेको नजर लगाउन मिल्छ । ती डुङ्गामा शयर गर्ने मान्छेहरु एकदम हाँसीखुसी र आमोदप्रमोद देखिन्छन् ।

उनीहरुलाई देखेर, – “यिनीहरु कति भाग्यमानी मानिसहरु होलान् हगि,” ताराले त्यसो भन्छिन् ।

उनीहरु भाग्यमानी भएपछि हामी अभागी भयौँ । अनि हामी अभागी हुनुमा मेरो बढी हात छ भन्ने बुझ्छु । त्यसैले म उनको कुरा सुने पनि नसुने झैँ गर्छु । केही वास्ता गर्दिन । बरु निरन्तर तलाउतिर हेर्छु । यदि तलाउलाई मज्जाले नियालेर हेर्ने हो भने थोरै दाहिनेतिर फिँजिदै गएर निक्कै ठूलो क्षेत्रफल ओगटेको देख्न सकिन्छ । जहाँ अहिले असङ्ख्य डुङ्गाहरु रोकेर राखिएका दृश्य गर्न मिल्छ । तर तलाउको दायाँबायाँ देखिएका ठूल्ठूला बयस, जङ्गली कटुस र लटरम्म पाकिरहेको ऐसेलुका पोथ्राहरुले भने एभन नदीलाई अति नै शोभायमान र मनमोहक बनाइरहेको देखिन्छ ।  

यतिका धेरै प्राकृतिक सुन्दर दृश्यहरु अवलोकन गर्दा सेक्सपियर मात्र होइन । यहाँ आइपुग्ने जो कोही मान्छे पनि कवि बन्न सक्ने रहेछ । किनभने यहाँको वातावरण नै त्यस्तो रहेछ । सम्भवतः यिनै कारणहरुले होला ? नदीको किनारमा घण्टौंघण्टा बसेर असङ्ख्य कविताहरुको सिर्जना गर्ने सेक्सपियरलाई एभनका कवि “बार्ड अफ एभन” भन्ने उपनामले चिन्न सकिन्छ । कालान्तरमा उनलाई इङ्गल्याण्डको राष्ट्र कवि भनेर चिन्न थालिएको थियो ।  

वास्तवमा सेक्सपियरको जीवनीलाई सर्सर्ती अध्ययन गर्ने हो भने उनी बहुआयामिक प्रतिभाको धनी व्यक्ति रहेछन् । जसले गर्दा उनले आफ्नो जीवनकालमा ३७ वा ३९ नाटकहरु १ सय ५४ वटा रुपकहरु र नजाने अन्य कति कविताहरु लेखेका छन् । खास खासमा भन्नु पर्दा उनी नाटकमात्र लेख्दैनथेँ । नाटक सँगसँगै अभिनय गर्न पनि अति सिपालु एवम् निपुण थिए । त्यसैले उनले आफ्नो अभिनय तत्कालिन इङगल्याण्डका राजा जेम्स प्रथम र रानी इलिजाबेथ प्रथमलाई पनि प्रदर्शन गरेका थिए ।

हामी त्यसरी तलाउको छेऊछेऊ हिँड्दै गर्दा मेरो ठीक विपरित दिशादेखि एकजना मानिस मतिर आइरहेको देख्छु । उनी हेर्दा एकदम भद्र भलादमी जस्तो देखिन्छ । अब मौका यहीँ हो भनेर, “महोदय ! यता होली ट्रिनिटी चर्च कता पर्छ होला ?” म उनलाई प्रश्न गर्छु । मैले उनलाई प्रश्न सोध्नाको कारण के थियो भने त्यसबेला मेरो मोबाइलमा गुगल नक्साले पटक्कै काम गरिरहेको थिएन । फेरि म पक्का निश्चित नगरी अर्को बाटो जान पनि चाहदिनँ थिएँ । यदि गलत बाटो गइहालियो भने प्रथम त समय पनि हामीसँग धेरै छँदै छैन् । दोश्रो गाली पनि पाइने लगभग निश्चित जस्तै हुन्छ ।

त्यो मान्छेले अचानक मेरो प्रश्न सुनेर, –

“यहाँदेखि सीधै जाऊँ । अनि पाँच/छ सय मिटर जति हिँडेपछि थोरै बायाँको गोरेटो पछ्याऊँ । तर नदीको किनारैकिनार गयौँ भने केही फरक पर्दैन,” भन्छ ।

उनले त्यसो त भन्यो । तर टटर पट्टर गर्ने उनको अङ्ग्रेजी बोलाइ अलिक फरक खालको रहेछ । उनको बोली यताको अङ्ग्रेजहरुको वा भारतेलीहरुको ‍जस्तो निख्खुर छँदै छैन् । तैपनि म उनले भनेको कुरो मज्जाले बुझ्छु र धन्यवाद भन्छु । अझै भारत हाम्रो असल छिमेकी राष्ट्र भएकोले हो कि खै के ले हो ? एण्ड एण्ड भन्दै उनीहरुले बोलेको अङ्ग्रेजी पो म झन साह्रै मज्जाले बुझ्छु । बरु वर्षौवर्ष सँगसँगै काम गरेको स्कटिस र आइरिसहरुले घाँटी भित्रदेखि बोलेको भाषा पटक्कै बुझ्दिनँ ।     

बाटोमा भेटिएको बटुवाले बाटो देखाइ दिएपछि म गमक्कै फुलिएर ठूलो मान्छे हुन्छु । त्यसपछि सरासर त्यस दिशातर्फ हिँड्न सुरु गर्छु । तर तारा चाहिँ तलाउमा देखा परेका अनगिन्ती हाँस र जलेवाहरुको रमिता हेर्दै हेर्दै हिड्दा अलिक ढिला गर्छिन् ।

उनको र मेरो हिँडाइ नमिलेर हामी एक अर्कामा ४०-५० मिटरको फरक दुरिमा हिँडिरहेका हुन्छौं । हुनत श्रीमान र श्रीमती बाटोमा यस प्रकारले हिँड्ने नेपालीहरुको पहिचान नै हो भन्दा पनि खास्सै फरक पर्दैन । नत्रभने अङ्ग्रेजहरुको त के कुरो गरेर साध्य हुन्छ र ? यसरी बाटोमा हिँड्दा हातमा हात समातेर हिँड्ने मात्र होइन, उनीहरु बेलाबेलामा ओठमा ओठ जुधाउँदै हिँड्ने गर्छन् ।

उनी मसँग निक्कै टाढा भएपछि म सेक्सपियरको सबैभन्दा प्रख्यात नाटक रोमियो र जुलियटलाई सम्झदै बाटो कटाउन थाल्छु । जुन नाटक इटालीको भरोना सहरलाई आधार मानेर लेखिएको छ । आजका मितिसम्म तारा र म इटाली ११ चोटी पुगिसकेका छौं । जस्ले गर्दा भरोना छुट्ने त कुरै भएन । तिनै नाटकमा जुलियटले रोमियोलाई राति छुटिने बेलामा, –

“बिदाइ भनेको यस्तो मीठो पीडा हो । भोलि बिहान नभइन्जेलसम्म म शुभरात्री भन्न सक्छु,” भनेको स्मरण गर्छु । त्यतिका धेरै मिल्ने उनीहरुको जोडीलाई सम्झेपछि मेरा पयरहरु अचानक बिस्तारै बिस्तारै चल्न थाल्छ र म तारालाई पर्खन बाध्य हुन्छु ।  

केहीबेरमा तारा हस्याङफस्याङ गर्दै मेरो नजिक आइपुग्छिन् । तर उनी आउने बितिक्कै, –

“सुन्नु भो ? यो ठाउँ त अति सुन्दर रहेछ नि । मलाई स्वीटजरल्याण्ड पुगेको याद पो आयो । अझै तलाउ नजिक रहेका यी रुखपातहरुले स्ट्राटफोर्ड अपन एभनको झन कति शोभा बढाइ दिएको छ हगी,” सुस्तरी त्यसो भन्छिन् ।

खै किन हो किन ? त्यसबेला उनको स्वर थोरै कम्पनसहित आएको सुनिन्छ । तर उनीसँग बोल्न थालेपछि दिन काटेको चालै पाउँदिन । त्यसैले समय नष्ट हुन्छ भनेर म उनको भनाइ सुने पनि नसुने झैँ गर्छु र सरासर अगाडी बढ्छु ।

हामी त्यसबेला राजकीय सेक्सपियर नाटकघर (थियटर हल) को बार्दलीमा पुगिसकेको हुन्छौं । पूरै सिजनिङ्ग गरिएका काठैकाठ बिछ्याएर निर्माण गरिएको उक्त्त बार्दली भेनिसको नहरमाथि देखिने बार्दलीहरुभन्दा एकरति पनि कमि देखिदैनन् ।

मलाई लाग्छ – भेनिस संसारको सबैभन्दा सुन्दर सहर हो । हामीले भेनिसमा बिताएका हरेक पलहरु हाम्रो जिन्दगीको सबैभन्दा महत्वपूर्ण पलहरु हुन् भनेर ठानेका छौं । त्यो बाहेकका अन्य समयलाई वास्तवमा जिन्दगी नभने पनि हुन्छ । तिनै भेनिसलाई आधार मानेर सेक्सपियरले भेनिसको महाजन (मर्चान्ट अफ भेनिस) लेखेका थिए । जुन नाटकमा, –

“सबै पहेँलो चम्कने पदार्थ सुन हुदैन,” भनेको तारालाई हेर्दै हेर्दै याद गर्छु ।

सेक्सपियरको उक्त्त वाणी मलाई जीवन बिताउने क्रममा हरेक दिनजसो काम लागिरहन्छ । त्यसपछि नाटकघरको बार्दलीदेखि निक्कै टाढा देखिएको तर घाम अस्ताउन लागेको क्षितिजलाई अन्तिम चोटी नियाल्छु । अनि मेरा कदमहरु सुस्तरी चाल्न सुरु गर्छु । स्ट्राटफोर्ड अपन एभनको समयले मध्यान्हलाई बिदाइ गर्दै साँझको समयलाई स्वागत गरिरहेको बेला तलाउमा स-साना डुङ्गाहरुले खुब रमाइलो खेल देखाइरहेका हुन्छन् । मलाई त्यसबेला तीनै डुङ्गाहरुको विशाल रुप भनेको आखिर ठूलो पानीजहाज नै हो है भन्ने कताकता मनमा लाग्न थाल्छ ।

मैले विश्व भ्रमण गर्ने भनेर निस्केपछि ठूल्ठूला पानिजहाजबाट कतिचोटी यात्रा गरें हुँला । त्यसलाई एकछिन एकान्तमा बसेर औला भाँचेर गन्नै पर्छ । तर जतिचोटी यात्रा गरेको भएतापनि म अहिले बाल्टिक सागरमा यात्रा गरिरहेको क्षणलाई स्मृति गरिरहेको छु । त्यसबेला हामी पानीजहाजबाट डेनमार्कदेखि नर्वे जाँदै थियौं । तर यात्राको क्रममा डेनमार्क र स्वीडेनको बीच भागमा पर्ने द साउन्ड (डेनिस रेसुन्ड र स्वेडिस ओरसुन्ड) जलसंयोजन पार गर्दे गर्दा क्रोनबर्ग दरवार (क्रोनबर्ग क्याश्चल) देखेको थिएँ ।   

त्यसबेला हाम्रो पानीजहाजका कप्तान नर्वेजियन मूलका थिए । उनले द साउन्ड जलसंयोजन पार गर्दै गर्दा नर्वेजियन लवजको अङ्ग्रेजीमा यदि तपाइहरुले पानीजहाजको बायाँ दिशातर्फ नजर लगाउनु भयो भने एउटा ठूलो दरबार देख्न सक्नु हुनेछ । त्यो दरबारको नाम क्रोनबर्ग दरबार हो । अनि यहाँहरुलाई अवगत भएकै कुरो हो । यिनै प्रख्यात दरबारलाई आधार मानेर सेक्सपियरले हेमलेट नाटक लेखेका छन् ।

उनले त्यसो भनेपछि म क्रोनबर्ग दरबारलाई निक्कै लामो समयसम्म नियालिरहेको हुन्छु । आफ्नो काका क्लाउडियस र आमा गेटरुट मिलेर बुबाको हत्या गरेपछि जीवनको कठिन अवस्था गुजारिरहेका राजकुमार हेमलेटले आफैँ आत्महत्या गर्ने सोच बनाउँछ । तर त्यतिबेला आफ्नो जीवन, – “हुनु वा नहुनु त्यो एउटा प्रश्न हो ?” भनेको म त्यसबेला झल्झली सम्झन्छु ।      

विलियम सेक्सपियर आफ्नो जीवनकालमा आफ्नो देश छाडेर कहिलै परदेश गएका थिएनन् । तर सन् १५८० मा पहिलो पटक उनको जन्मघर स्ट्राटफोर्ड अपन एभनदेखि लण्डन गएका थिए । उनी त्यहाँ जाँदा विशपगेटमा बसेका थिए है भन्ने रेकर्ड अध्यावधि पाइन्छ । त्यसैले इतिहासकारहरु उनी बाँचिन्जेलसम्म लण्डन र स्ट्राटफोर्ड अपन एभन मात्र बसेका थिए भन्छन् । अरु त परै जावोस् उनी स्कटल्याण्डसम्म पनि पुगेनन् है भन्ने जताततै सुन्न सकिन्छ । उनी नपुगेको भएतापनि म इनभार्नेस – स्कटल्याण्ड पुगेको छु ।

उनले स्कटल्याण्डको इनभार्नेस क्याशललाई आधार मानेर म्यागवेथ लेखेका छन् । म्यागवेथ नाटकमा भविष्यवाणी बताउने तीनजना बोक्सीहरुको कुरो सुनेर जनरल म्यागवेथ र उनकी श्रीमती लेडी म्यागवेथ मिलेर स्कटिस राजा डनकनको हत्या गरेको हुन्छ । तिनै म्यागवेथमा, –

“समान हुनु भनेको बेइमानी हो र बेइमानी उचित हुन्छ,” भनेको जान्न सकिन्छ ।  

म त्यति सोच्तै गर्दा तारासँग पवित्र त्रिदेव गिर्जाघरको पछाडीको गेटमा पुगिसकेका हुन्छौं । गेटभित्र छिर्दै गर्दा हाम्रो अगाडी केही पोलिसहरु र पछाडी अमेरिकनका परिवारहरु देख्छौं । म उनीहरुसँग बोल्न त बोल्दिनँ । तर उनीहरु एक आपसमा बोलेको लवजले उनीहरु ती देशका नागरिकहरु हुन है भनेर प्रष्टै छुट्याउन सक्छु ।

मैले आफ्नो गाउँघरलाई चट्टै माया मारेर हिंडेको ४० वर्ष समय बितिसकेको छ । धन्न यतिको समय सम्ममा ती मानिसहरु कुन कुन देशको होला है भनेर उनीहरु बोलेको सुनेर जान्ने त्यति ज्ञान चाहिँ आर्जन गर्न सकेको रहेछु ।

गेटभित्र छिरेपछि गिर्जाघरको तीनतिर ठूलो पर्खालले घेरिएको तर दक्षिणतिर भने एभन नदीको किनारमात्र रहेका देख्छौं । अब त्यहाँभित्र अरु चिज त केही पनि देख्न सकिँदैन । हाम्रो सीधा अगाडी त्रिदेव गिर्जाघर देखिन्छ तैपनि रुखहरुले अलिअलि छलेको छ । रुखहरुलाई मज्जाले नियालेर हेर्ने हो भने निक्कै बुढो बुढो देखिन्छ । र, तिनिहरु अलिअलि दुरीमा रहेका छन् ।

अनि त्यहाँ अरु केही देखिँदैन । तर जताततै भुइँभरि केवल मानिसहरुको छरपष्ट समाधिस्थल मात्र नजर लगाउन मिल्छ । रातको समय र नेपालमा हुँदो हो त यहाँ जागित्रले तर्साउने थियो होला ? तर अहिले दोपहरको समय छ । अनि यो बेलायत भएको हुनाले सायद तर्साउनेहरु सुतिरहेका छन् होला भन्छु । तर यी यावत कुरोहरुलाई चट्टै भुलेर हामी निर्धक्क साथ अगाडी बढिरहेका छौं ।

भुइँमा गिट्टीहरु पातलो बिछ्याएर सानो हिड्ने गोरेटो बनाइएका छन् । तिनै गिट्टीहरु माथि टेक्दा निस्केको जुत्ताको चुरुमचुरुम आवाजसहित हामी एकछिन चिहानै चिहानको बाटो भएर हिँड्छौ । अनि गिर्जाघरलाई एकचक्कर लगाएपछि मुख्य ढोकामा पुग्छौं ।   

ढोकाबाट सुस्तरी कदमहरु भित्र पस्ने बितिक्कै एकजना ढोकेसँग हाम्रो भेट भैहाल्छ । उसले शरीरको माथिलो भागमा निख्खुर सेतो सर्ट मुनी कालो पत्लुङ र कालै जुत्ता लगाएको छ । उनी मभन्दा निक्कै अग्लो छ र उनको शरीर बडेमाको खाइलाग्दो देखिन्छ । अब त्यति ठूलो मान्छेले मलाई देख्ने बित्तिकै, –   

“महाशय ! कति जना हुनुहुन्छ ?” भनेर पहिलो प्रश्न गर्छ ।

“दुई जना,” छोटकरीमा उत्तर दिन्छु ।

“निक्कै टाढादेखि पाल्नुभएको हो कि कसो ?” भन्दै फेरि उनले अर्को प्रश्न सोध्छ ।

“हो नि हजुर,” भन्छु ।

“अनि आज कहाँदेखि पाल्नु भयो त ?” पुनः मलाई सोध्छन् ।

अब यस्ले धेरै प्रश्नहरु गर्ने भो जस्तो लाग्छ, त्यहीँ भएर, “हामी यहाँभन्दा धेरै टाढादेखि आएको हौं । पक्कापक्की भन्ने हो भने यहाँभन्दा साढे ४ हजार माईल टाढादेखि आएको एकजना गोर्खा सिपाही हुँ,” भन्छु ।

अब यस्तो ठाउँमा काम गर्ने मान्छेहरु त्यति धेरै पढेलेखेका हुन्नन् है भन्ने मेरो बुझाइ छ । त्यति धेरै नपढेका अङ्ग्रेजहरु भूगोलमा ज्यादै नै कम्जोर हुन्छन् । अनि धेरैजसो नपढेका अङ्ग्रेजहरु यस धर्तीको पूर्व भनेको टर्कीमात्र हो भनेर जान्दछन् । त्यसैले नेपाल भन्यो भने जो कोहीले खास्सै चिन्दै चिन्दैनन् । बरु गोर्खा सिपाहीँ भन्यो भने सजिलै चिन्छन् । र, सम्मान पनि मिल्ने भनेर म त्यसो भन्छु ।

“होइनँ । मैले पहिले पनि एकजना गोर्खा सिपाहीँ भेटेको थिए । तर ऊ त तपाइँ जस्तो देखिँदैन थियो । ऊ तपाइँभन्दा अग्लो थियो । उसको केस लामोलामो थियो । अझै उसले दाह्री जुङ्गा मज्जाले पालेको थियो । मलाई राम्रो याद त छैन् । तैपनि झट्ट हेर्दा ऊ भारतेली‍हरु जस्तो देखिन्थ्यो । उसको अनुहार क्या, बुझ्नु भयो ?” भन्छ ।

बुझें है बुझें । तर उनलाई गोर्खा सिपाहीँ भनेर तपाइँ मज्जाले फसिनु भो छ । पक्कापक्का गोर्खाली सिपाहीँ भनेको त मै जस्तो नै देखिन्छ । एकदम होचो कदको हुन्छ र मेरै जस्तो मुहार हुन्छ । कि तपाइँको आँखाले फेल खायो कि त उसले झुटो बोल्यो । हुनत आजभोलि अगोर्खालीहरु पनि गोर्खाली हुँ भनेर बेलायतमा गोर्खाको नाममा फाइदा लुट्न खोज्ने सयकडौं भेटिन्छन् । ती सबै कप्तान किडजस्तै सामुन्द्रिक डाका वा लुटेराहरु हुन् । जमाना परिवर्तन भएको छ, हजुर । नत्रभने मलाई सोध्नोस् न । म तपाइँलाई फकल्याण्ड, अफगानिस्तान, इराक, साइप्रस, मलाया र कोरियामा भएका लडाइँको कुरा, वीर गाथाको कुराहरु बताइ दिन्छु ।

त्यसपछि म एकछिन रोकिन्छु । तर ऊ अझै म केही भन्छु कि भनेर ध्यान दिएर सुनिरहन्छ ।

अबत विश्वास लाग्यो होला नि ? कि अझै तपाइँलाई मेरो कुरोको विश्वास लाग्दैन । यदि त्यसो हो भने मेरो सैनिक नम्वर, दर्जा र पल्टनको नाम पनि सोध्नोस् न ? म खुरुखुरु बताइ दिन्छु । बीसौं वर्ष बेलायती सरकारलाई सेवा दिँदा भोगेका युद्ध मैदानको कुरो म झन् फटाफट भनि दिन्छु । के तपाइँ चाहानु हुन्छ ? अझै चाहानु हुन्छ भने म तपाइँलाई प्रमाणको लागि हजुर महारानीले दिएको रातो किताब (रेड बुक) नै देखाइ दिनु सक्छु ।

मैले त्यति भनिन्जेलसम्म ऊ ट्वाल्ल परिरहन्छ । त्यसपछि, –

“बाबा ! मैले कान समातेँ । अनि तपाइँहरुलाई यो गिर्जाघरमा स्वागत छ । अब सीधै अगाडी गएर बेथलाई भेट्नु होला,” त्यति भन्छ । सेक्सपियरको समाधिस्थलमा पुगेर उनको दर्शन गर्ने रहर दशकौंदेखि पालिरहेको थिएँ । ऊदेखि छुटकारा पाएपछि वर्षौवर्ष जेल बसेर निस्केको उत्साहित कैदी जस्तै खुसी हुन्छु ।

“बल्ल बल्ल सेक्सपियरको दर्शन गर्न पाइने भो । आज राम्रै दिनमा घर छाडिएछ,” तारालाई सुटुक्कै भन्छु । तर मेरो कुरो सुने पनि उनी नसुने झै गर्छिन् र बोल्दै बोल्दिनन् ।

अङ्ग्रेजहरु एलिजाबेथलाई छोटकारीमा बेथ भन्छन् । जुन बोल्नको लागि अति सजिलो पनि हुन्छ । उनको कुरो सुनेपछि हामी २-४ कदम अगाडी हिड्छौं । त्यसपछि बेथलाई हेर्दै हेर्दै थोरै बायाँतिर मोडिन्छौं । एक्कैछिनमा उनको सामुन्ने पुगिहाल्छौं । हामी त्यहाँ पुग्दा उनी कुर्सीमा थपक्कै बसिरहेकी हुन्छिन् । तर हामीलाई देख्ने बितिक्कै उनी कुर्सीदेखि उठ्छिन र हल्का मुस्कान दिँदै हाम्रो नजिक आउँछिन् ।   

अङ्ग्रेजी युवतीहरु‍को मुस्कान भनेपछि म हुरुक्कै हुने गर्छु । खै किन हो किन ? मलाई उनीहरुको मुस्कानले साह्रै आकर्षण गर्छ । त्यहीँ माथि हलिवुडको नायिकाहरु झैँ राम्री देखिने ती युवतीको त्यति मीठो मुस्कानसहित, –

“यहाँहरुलाई गिर्जाघरमा स्वागत छ,” भन्दा म खुत्रुक्कै पर्छु ।

हुन पनि हामी त्यहाँ पुग्दा उनी एकदम नरम भएकी छिन् । नरम मात्र होइन, उनी फर्साइली पनि रहेछिन् । तर उनी त्यसरी नरम हुनको मुख्य कारण मैले ढोकेलाई गोर्खाको परिचय दिएको हुनाले हो भनेर म निर्क्यौल काट्छु । किनभने एकछिन अगाडी भएको हाम्रो वार्तालाप उनले निक्कै नजिकदेखि नियालिरहेकी थिइन् ।

फेरि मान्छेको जातमा अङ्ग्रेजहरु एकदम चतुर जातिका हुन्छन् । कस्ले कहाँ, कोसँग अनि के बोल्दैछ वा के गर्दैछ भनेर बिरालोभन्दा बढी चियोचर्चा गर्छन् । तर नगर्नु पनि कसरी ? जाबो यति सानो देशले जहिले पनि उनीहरु संसारभरि शासन गर्न खोजिरहेको हुन्छ । अझै आफ्नो उपनिवेशवादको विरासत अहिलेसम्म उनीहरु कायमै राख्न चाहन्छन् ।

त्यसपछि उनले हामीलाई यसो भन्छिन, –

“सबैभन्दा पहिले यहाँ ७१३ एडीमा सेक्सनहरुले एउटा सानो विहार (मोनस्ट्री) स्थापना गरेका थिए । मलाई जहाँसम्म लाग्छ । त्यो विहार काठदेखि बनाइएको हुनुपर्छ । त्यसलाई रोमन साम्राज्यको पालामा थोरै परिवर्तन गरेर ढुङ्गा र माटोले बनाइएका थिए । तर यता हेर्नुहोस् त । गिर्जाघरको मध्यभागमा अवस्थित यी चारवटा खम्बाहरु चाहिँ सन् १२१० मा निर्माण भएका हुन् । यसलाई क्रसिङ भन्छ । तर उता सिधै अगाडी पट्टीको भाग चाहिँ सन् १३०० मा बनेको हो । त्यस क्षेत्रलाई चाहिँ चान्सल भनिन्छ । अनि यता फर्किनोस् त ? यो भाग छ नि । हो, यस्को नाम चाहिँ नेभ हो । जसको निर्माण सन् १४०० मा भएको थियो । समग्रमा अहिलेको यो गिर्जाघर तीन पटकमा सम्पन्न भएको थियो ।”   

“अनि सेक्सपियर र उनका परिवारहरुको समाधिस्थल चाहिँ खै त ?” सानो स्वरमा सोध्छु ।

बेथ मैले सोचेकीभन्दा निक्कै बाठी रहिछिन् । मेरो कुरो सुनेर, –

“यि हेर्नुहोस् त । यतातिर घुम्नु हुन्छ भने सबै सित्तैमा हो । अहँ ! एक पैसा लाग्दै लाग्दैन । सन् १३०० मा बनेको सीसाका झ्यालहरु मज्जाले हेर्न सक्नु हुनेछ । यी उत्ताको झ्यालहरु अमेरिकनहरुले बनाइदिएका हुन् । ती झ्यालहरु एकदम कलात्मक छन् । यी यताको झ्यालहरु चाहिँ बेलायतीहरु हामी आफैँले निर्माण गरेका हौं । तर दुर्भाग्यबस सेक्सपियरको समाधिस्थलमा जान चाहानुहुन्छ भने प्रति व्यक्त्ति ४ पाउण्ड तिर्नुपर्छ,” थोरै मुस्कुराउँदै त्यसो भन्छिन् ।

“हैट ! यहाँ त कार्ल मार्क्सको चिहानभन्दा महङ्गो रहेछ,” भनेर एकचोटी जिस्क्याउँछु ।

“के गर्नु र ? मुद्रास्फिति बढेको छ,” भन्दै उनी हाँस्छिन् ।

“अनि राजा जेम्स प्रथमले अङ्ग्रेजी अनुवाद गरेको पहिलो बाइबल चाहिँ कता छन् त ?” फेरि सोध्छु ।

“महाशय ! पहिले पैसा तिर्नु होला ? त्यसपछि म तपाइँहरुलाई गेटदेखि भित्र जान दिन्छु । भित्रपट्टीको कोठामा मेरो सहकर्मी हुनुहन्छ । तपाइँहरुलाई उनले सबैकुरो देखाइ दिनु हुनेछ,” पैसा खुस्काउनको लागि विनम्रतापूर्वक उनी बोल्छिन् । तर उनले त्यसो भनेको सुन्दा मलाई अचानक अलिबाबाको मालिक ज्याक माले भनेको एउटा कुरोको खुब याद आउँछ, –

“सित्तैमा केही पाइदैन् ।”

त्यसैले यहाँ पनि उनकै सिद्धान्तलाई अनुशरण गरेर सेक्सपियरको चिहानसम्म जान पैसा तिर्नु पर्ने रहेछ भन्छु । आ…ठीक्कै छ । उनीहरुकै पैसा हो । उनीहरुले नै राखुन् भनेर गोजिदेखि क्रेडिट कार्ड निकाल्छु । अब मैले कार्ड निकालेको देखेपछि उनकी मुखमा पानी आउँछ । त्यसैले पैसा लिने यन्त्र मेरो नजिक ल्याउँछिन् । म प्लाष्टिकको कार्डलाई यन्त्रमा ट्याप्पै ठोकाउँछु । तर उनले त्यसरी पैसा लिँदैगर्दा, –

“यदि तपाइँहरुलाई गिर्जाघरको विवरण पुस्तिका (ब्रोसर) चाहिन्छ भने मलाई भन्नोस् है । म दिन्छु,” भन्छिन् ।

उनको कुरो सुनेपछि, “भो भो, हामीलाई परेन, ब्रोसर न स्रोसर” भन्छु ।

पैसा तिरिसकेपछि हामी सीधै सेक्सपियरको समाधिस्थलतर्फ लाग्छौं । तर त्यहाँ पुग्ने बितिक्कै अर्को एकजना कर्मचारीले, –

“२३ अप्रिल १६१६ मा सेक्सपियरको मृत्यु भएपछि उनलाई यिनै गिर्जाघरमा राखिएको छ । गिर्जाघरभित्रको उक्त्त जमिन खरिद गर्न तत्कालिन समयमा ४ सय ४० पाउण्ड लागेको थियो,” भन्छन् ।

उनको कुरो सुनिसकेपछि म सुस्तरी हिँड्दै समाधि नजिकै पुग्छु । सेक्सपियरको ठीक दायाँ कुनामा उनकी श्रीमती आना हाथवेको समाधि रहेको छ । सबैभन्दा बायाँ कुनामा चाहिँ छोरी सुजना हलकी छिन् । सुजना हलको ठीक दाहिनेतिर जुवाइँ डा. जोन हलको समाधि छ । उनीहरु दुईजनाको एकल छोरी इलिजाबेथ हल थिइन । तिनै छोरीकी पहिलो बिहे थोमस नाशसँग भएको थियो । जस्ले गर्दा सेक्सपियरको पहिलो नातिनी जुवाइँ थोमस नाशको समाधि पनि यहीँ छ । जम्माजम्मी उनीहरु ५ जनाको समाधिस्थल यिनै गिर्जाघरभित्र रहेको छ ।   

सेक्सपियरको नातिनी इलिजाबेथले थोमस नाशको मृत्यु भएपछि जोन बर्नाडसँग दोश्रो बिहे गरेर स्ट्राटफोर्ड अपन एभनदेखि एबिङ्डन बसाइँ सरेकी थिइन् । दुई/दुई पटक बिहे गरेर पनि एउटै बच्चा जन्माउन नसक्ने इलिजावेथकी १७ फेब्रुवरी १६७० मा मृत्यु भएपछि सेक्सपियरको सन्तान यस धर्तीदेखि सधैँसधैँका लागि बिलय भइसकेको छ ।

बानबरी, इङ्गल्याण्ड ।   

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री