
लण्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेद्वारा २१०औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ उत्साहवर्धकरूपमा मनाइयो ।
वेस्ट लन्डन,एक्टनस्थित एबिआइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथा पुरस्कार वितरण गर्नुहुँदै समारोहका प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुभयो । साथै बेलायतमा नेपाली भाषा साहित्यको विकासमा वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले नेपाली साहित्य विकास परिषद् युकेको स्थापना गरेर विशिष्ट योगदान र इतिहास रचेको चर्चा गर्नुभयो ।
आफ्ना सिर्जनाहरूद्वारा समाजलाई परिवर्तनतर्फ उन्मुख गराउने शाह लगायतका सर्जकहरूको सम्मान गर्न पाउँदा खुसी लागेको चर्चा गर्नुहुँदै राजदूत आचार्यले सो समारोहमा विमोचन गरिएको कथाकार हरिसिंह थापाको पुस्तक ‘मेलिनाको डायरी’ कथासङ्ग्रहले समाजको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।
समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पार्नुहुँदै परिषदका प्रमुख सल्लाहकार यति नेपाली एसोसिएसन युकेका पूर्व अध्यक्ष डा राघवप्रसाद धितालले अत्यन्त अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा रामायणीय साहित्यको लहर चलाए त्यो आफैँमा एक साहासिक कदम थियो र जसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो । डा धितालले परिषद्का संस्थापक वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले बेलायतमा नेपाली साहित्यको सौन्दर्य फैलाउन आफ्नो सिङ्गो जीवन गुजारेको चर्चा गर्नुहुँदै यसको तुलनामा शाहलाई जति सम्मान गरे पनि कम हुने विचार व्यक्त गर्नु भयो ।
सभापतिको आसनबाट बोल्नुहुँदै परिषदका अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद युकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको र नेपाली पहिचान युगयुगसम्म जीवन्त राख्न हाम्रो भाषा साहित्य संस्कृति जस्ता चिनारीहरू जोगाउदै लैजानु पर्ने आवश्यकता औँल्याउनुभयो । अध्यक्ष मल्ले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद्को स्थापना र सन् १९९२ बाटै समाचार पत्रिकाहरू प्रकाशन सुरेशजङ्ग शाहले बेलायती माटोमा झण्डै विगत तीन दशकदेखि अनवरतरूपमा साहित्य सेवा गर्दै आएको चर्चा गर्नु भयो ।

यसअघि परिषद्का पूर्व अध्यक्ष तथा बीबीसी नेपाली सेवाका पूर्व संचालक खगेन्द्र नेपालीले आदिकवि भानुभक्तको योगदान र प्रेरणा नेपाली समाजमा अभिन्नरूपले भिजेको छ भन्नुहुँदै नेपाली साहित्य विकास परिषद्ले बेलायतमा भानुको सम्मान र कीर्तित्व फैलाउने कार्य स्थापनाकालदेखि नै निरन्तर गर्दै आएको जानकारी दिनु भयो ।
समारोहमा नेपालबाट पाल्नुभएका अतिथि गीतकार, सङ्गीतकार एवम् गायक शिव हमालले बेलायतमा आएर यसरी नेपाली साहित्य सङ्गीतमा लागि पर्ने मान्छेहरूको ठूलो जमात देख्दा आफूलाई खुसी लागेको चर्चा गर्नुहँदै आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गर्नु भयो । यसैगरी समारोहमा विश्व नेपाली साहित्य महासंघका पूर्व केन्द्रीय महासचिव कवि केदार सङ्केत र साहित्य चौतारी युके का संयोजक साहित्यकार वासु शर्माले आदिकविको योगदान बारे कविता वाचनका साथ आफ्नो मन्तव्य राख्नु भएको थियो ।
यसअघि कार्यक्रम सञ्चालन गर्नुहँदै परिषद्की सहअध्यक्ष डा सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । डा श्रेष्ठले विमोचित पुस्तक मेलिनाको डायरी कथासङ्ग्रह बारे संक्षिप्त चर्चा गर्नुहुँदै मेलिनाको डायरी कथासङ्ग्रहमा वरिष्ठ लेखक हरिसिंह थापाले बेलायत र नेपालको सामाजिक विषयवस्तुलाई केलाउने प्रयत्न गर्नु भएको छ भन्नु भयो ।
यसअघि स्वागत मन्तव्य दिनुहँदै परिषद्का सहअध्यक्ष रेशम अर्यालले नेपाली भाषा साहित्यका कुरा आउँदा हामी सँधै आदिकवि भानुभक्तलाई सम्झने गर्दछौ र त्यसरी नै बेलायतको परिप्रेक्ष्यमा नेपाली साहित्यको कुरा आउँदा नेपाली साहित्य विकास परिषद् र यसका संस्थापक सुरेशजङ्ग शाहलाई सम्झने गर्दछौँ भन्नु भयो ।
आदिकवि भानुभक्त आचार्यको तस्बीरमा माल्यार्पण र मंगलधुनबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिँह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचन गर्नु भएको थियो भने परिषद्का वरिष्ठ कोषाध्यक्ष तथा कवि कलाकार मनोज अन्जानले मंगल धुन प्रस्तुत गर्न भएको थियो र साथै अतिथि गायक शिव हमालले सुमधुर लोकगीत गाउनु भएको थियो ।
समारोहमा प्रमुख अतिथि परिषद्का संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यले हाल बेलायतको भ्रमणमा रहनु भएका नेपालका गीतकार, सङ्गीतकार तथा गायक अतिथि शिव हमाललाई र कोसेली नेपाली संस्कृतिक परिवार युकेकी नवनिर्बाचित अध्यक्ष रुवी थापालाई खादा ओढाइ सम्मान अभिनन्दन् गर्नु भएको थियो ।
यसैगरी महामहिम राजदूत आचार्यले विगत झण्डै तीन दशक समयदेखि बेलायतमा नेपाली भाषा साहित्य पत्रकारिता र समाजसेवा निरन्तर योगदान पुर्याउँदै आउनु भएका परिषद्का संस्थापक वरिष्ठ साहित्यकार, पत्रकार, तथा समाजसेवी सुरेशजङ्ग शाहलाई एक तोला सुन र पाँच तोला चाँदीमा बनेको एनएलडिसी स्वर्ण पदक प्रथम पुरस्कार र नइ प्रकाशन नेपालबाट प्रदान गरिएको नइ कीर्ति अलङ्कार पदक सुशोभन गराउनु भएको थियो साथै राजदूत आचार्यले नइ कीर्ति अलङ्कार पदकबाट विभूषित हुनुहुने परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र पूर्व अध्यक्ष हरिसिंह थापालाई पनि सुशोभन गराउनु भएको थियो ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा