यान भान आइक र आर्नोलफिनी 

लोटस गार्डेन रेस्टुराँ, चाइना टाउनमा टन्न खाना खाएर बाहिर सडकमा निस्कदा अपरान्हको समय १ बजेको हुनुपर्छ । म समय समयमा चाइना टाउन जाँदा तिनै रेष्टुराँमा खाना खाने गर्छु । त्यसैले त्यो रेष्टुराँभित्र छिरेको मेरो अनुभव बिलकुल नौलो भने हुँदै होइन । पटक पटक त्यहाँ पुगेको हुनाले कति पटक त्यहाँ पुगें हुँला भनेर ठ्याक्कै भन्नको लागि एकचोटी औँला भाँचेर गन्नै पर्छ । तर सबैभन्दा पहिले त्यहाँ पुगेको याद चाहिँ मेरो मस्तिष्कमा अहिले पनि ताजै रहेको छ ।

सन् १९८९ को एक दिन मेरो जीवनको ज्यादै बिरमाइलो दिन थियो । त्यसबेला मेरो साइँला भतिज देवान र म पल्टनघरमा सँगसँगै काम गरिरहेका थियौं । तर इराकले आफ्नो सानो छिमेकी राष्ट्र कुवेतलाई अचानक कब्जा गरेको समाचार टेलिभिजनका पर्दाहरुमा देखिन थाले । त्यसको केही महिनापछि हामी इराकसँग युध्दको लागि भिड्न साउदी अरेबिया जान पर्ने भयो ।

“अब काका र भतिज एउटै युध्दमा होमिदै छौं । हामी मध्ये को बाँचिन्छ वा मरिन्छ भन्ने केही ठेगान छैन त्यसैले साउदी अरब जानभन्दा एकदिन अगाडी चाइना टाउन, लण्डनमा अन्तिम भोज (लास्ट सपर) खाएर युध्दमा लाग्यौ है,” भनेर मैले नै प्रस्ताव राखेको थिएँ ।  

साइँला भतिजले मेरो प्रस्ताव स्वीकार गरेपछि अन्तिम खाना खानको लागि हामी तिनै रेष्टुराँमा पुगेका थियौं । तर आज रेष्टुराँ पुग्दाको प्रसङ्ग चाहिँ बिल्कुल फरक छ । हुनत अहिले पनि रुस र युक्रेन एक आपसमा लडिरहेका छन् । तर म सैनिकदेखि निवृत्त भइसकेको छु । जसले गर्दा मेरो मनमा एकरति पिर छैन् । अब मनमा केही चिन्ता नभएपछि बिन्दास बनेर तिनै चाइना टाउनमा रहेको जेराड स्ट्रिटमा हामी पुगेका छौं ।   

जेराड स्ट्रिट हरेक बिहान र बेलुकी शान्त रहेपनि जबजब मध्यान्ह हुन्छ, तबतब ज्यादै व्यस्त हुन्छ । अहिले पनि मध्यान्हको समय भएकोले मानिसहरुको भिडलाई सडकले थाम्न सकस परिरहेको बिरमाइलो दृश्य लगाउन मिल्छ । त्यति धेरै मनिसहरुको घुइँचोलाई पार गर्दै अगाडी बढ्न मलाई केहीबेर सास्ती खेप्न पर्छ । तैपनि सडकको किनारै किनार मुस्किलले खुट्टा टेक्दै टेक्दै हामी निरन्तर अगाडी बढिरहेका छौं ।   

हाम्रो यात्रामा यसपटक तारा, म र छोरी जम्मा तीनजना छौं । अझै मेरी छोरी यो यात्राको लागि नायिका नै भएकी छिन् भन्दा पनि हुन्छ । किनभने उनले लण्डनमा रहेको क्वीन म्यारी युनिभर्सिटीमा तीन वर्ष अध्ययन गरेकी थिइन् । त्यसैले उनलाई लण्डनको पूर्व, पश्चिम, उत्तर र दक्षिण सबै क्षेत्र राम्ररी थाहा छ । अझै उनी अलिक चुल्बुले पनि छिन् र हरेक सप्ताहन्तमा लण्डन पुगि हाल्छिन् । त्यसैले हामीलाई यस सहरको विषयमा उनलाई जति ज्ञान नभएपछि उनको कुरो सहि मान्दै क्रमशः अगाडी बढिरहेका छौं ।

चाइना टाउनदेखि अगाडी बढ्ने क्रममा उनले क्रमशः पथ प्रदर्शकको भूमिका निभाइरहेकी छिन् । जेराड स्ट्रिटदेखि सुस्तरी हिँडेको केहीबेरपछि हामी लेस्टर स्क्वाएरको वक्षस्थलमा पुगेर ठयाङ्गै ठोकिन्छौं । त्यहाँ पुगेर गाडीको ताँती अलिक थोरै पातलो भएपछि हामी सडक पार गर्छौ र हिप्पोड्रम डिस्कोथेकको अगाडी एकछिन उभिन्छौं । हुनत म बानबरी भन्ने गाउँमा बस्ने मान्छे । त्यहाँ मेरा छिमेकीहरु दुई चार परिवारमात्रै छन् । त्यसैले मेरो घर वरिपरिका मानिसहरु कस्ता कस्ता घरमा बस्छन् । अनि कस्ता कार चढ्छन र कस्ता कुकुर पाल्छन् भनेर मलाई कण्ठस्थ छ । त्यसैले गाउँमा बस्ने मान्छे लण्डनमा पुगेर मानिसहरुको घुइँचोलाई देख्दा असाध्यै रमाइलो लाग्छ र एकछिनसम्म रमिता हेरिरहन्छु ।  

भित्ते पात्रोलाई जतिचोटी पल्टाएर हेरेपनि अप्रिल फूल भनेर मान्ने त्यो दिन १ अप्रिल २०२३ को दिन पर्छ । अप्रिल महिनाको समय भनेपछि बेलायतमा शिसिर ऋतुको भर्खर भर्खरै अन्त भएर हेमन्त ऋतुमा परिवर्तन भइरहेको समय पर्छ । त्यस समयमा रुख र बिरुवाहरुमा नयाँ पालुवा पलाउन लागेको रमाईलो दृश्यवलोकन गर्न मिल्छ । मेरो बायाँ दिशामा चार पाँच महिना लण्डनको जाडो, तुसारो र हिउँदेखि बाँचेका पैयुँका दुई-तीन झाङ रुखहरु फूलिरहेको देख्दा ठीक अहिलेको मौसममा टोकियोको पार्कभरि फूलिरहेको साकुरा हेर्ने तिर्सनालाई चट्टै मेट्न सकिन्छ ।

ती पैयुँका रुखहरुलाई हेर्दा मेरा मन यसै यसै आनन्दित हुन्छ । त्यसैले एकछिनसम्म गर्वित मुद्रामा मज्जाले हेरिरहन्छु । त्यसपछि मेरो नजर रुखहरुदेखि थोरै बायाँतर्फ डुलाउन थाल्छु र पल्लो कुनामा पुर्याएर टक्क रोक्छु । लगभग तीस /बत्तीस वर्ष पहिले तिनै कुनाको एउटा घरमा क्यापिटल रेडियो अड्डा थियो । म त्यसबेला बीबीसी नेपाली सेवाको कार्यालय खोज्दै खोज्दै हिँडेको मान्छे तर लण्डनमा हराएर त्यहाँ पुगेको झल्याँस्स सम्झिन्छु ।

तिनै पुरानो कुरो स्मरण गर्छु तर मेरो दिमाग आइन्स्टाइनको जस्तो तीक्ष्ण छैन्, त्यसैले भुल्न थाल्छु । त्यहाँदेखि मेरो मन हुरुरु उडाएर एम्पायर चलचित्र हलमा पुर्याउँछु । लेस्टर स्क्वाएरको छातीमा रहेको त्यो चलचित्र हल सर्वाधिक चर्चित चलचित्र हल हो । जसको निर्माण सन् १८८४ मा भएको हुनाले त्यसले निक्कै लामो इतिहास बोकेको छ । तिनै चलचित्र हलमा लगभग तीन दशक पहिले अङ्ग्रेजी चलचित्र ‘इन्डियना जोन्स द लास्ट क्रुसेड’ को प्रिमियर सो हुँदा तत्कालिन राजकुमार चार्ल्स अथवा अहिलेका बेलायती राजा त्यहाँ सवारी हुनु भएको थियो ।   

राजकुमारको सवारी भएको बेला स्वागत कक्षाको मूख्य ढोकामा बेलायती सैनिक पोसाकमा ढलक्कै गोर्खा ह्याट ढल्काएर मैले ढोकेको काम गरेको थिएँ । मैले त्यसबेला राजकुमारबाहेक त्यस चलचित्रको अभिनेता ह्यारिसन फोर्ड, अभिनेत्री एलिसन डुडी अति प्रख्यात गायक फिल कोलिन्स अनि माइक टाइसनसँग भर्खर भर्खरै पराजय भएका विश्व बिख्यात मुक्केबाज फ्रान्क ब्रुर्नो लगायत दुईसय जना अति प्रतिष्ठित व्यक्त्तिहरुलाई प्रत्यक्ष देख्ने अवसर पाएको थिएँ । अझै त्यसबेला फ्रान्कलाई, “हेल्लो, फ्रान्क” भन्दा उनले हृदयङ्गमको साथ “हाइ” भनेको म अहिलेसम्म सम्झिरहन्छु ।  

त्यसबेला म भावुक बनेर तिनै कुनामा एकछिनसम्म टोलाइ रहन्छु । तर, “जाने होइन ?” अचानक ताराको मुखदेखि निस्केको प्रश्नले मेरो ध्यान भङ्ग हुन्छ । हतार हतार, “जाने हो,” छोटकारीमा भन्छु । त्यसपछि हाम्रा कदमहरु सुस्तरी सुस्तरी अगाडी बढ्न थाल्छन् । त्यहाँबाट थोरै ओरालो तर दक्षिण दिशातिर बढ्दै जाँदा सडकको बायाँ किनारमा उता मेरो गाउँघर बुईपा, खोटाङतिर बाहुनको घर अगाडी आगनमा रहेको तुलसीको मठजस्तो देखिने स-साना एकजोडी सौचालयहरु देखापर्छ । बाटाका किनारमा टुप्लुकै देखा परेका ती सौचालयहरु छोरा मान्छेहरुले प्रयोग गर्नको लागि बनाइएका हुन् ।

लगभग चार फिट जति अग्लो पिरामिड आकारमा बनेका त्यो सौचालयको चारैतिर स-साना टोड्काहरु छन् । तिनै टोड्काहरुमा थपक्कै शिवलिङ्ग राखेर चार जना छोरामान्छेहरु वरिपरि सँगसँगै उभिएर एक हातले बियर र अर्को हातले मुत्रनली समातेर मज्जाले बोल्दै बोल्दै पिसाब फेर्न त्यहाँ मिल्छ ।

त्यो सौचालयहरु देखेर मलाई यस्तो लाग्छ । पुतली सडकको किनारमा यस्तो प्रकारको सौचालयहरु राखिँदो हो त जीवनमा यूरोपको एक चक्कर नलगाएका मानिसहरुले कहिले प्रयोग गर्दैनथे होला । अझै गाउँघरदेखि भर्खर भर्खर सहर छिरेकाहरुलाई ती सौचालयहरु प्रयोग गर्न निक्कै चर्कै पर्छ भन्ने लाग्छ । झन गेरु रङ्गको साडीमा सजिएर हुलका हुल आउने पदम कन्या कलेजको कन्याहरुका अगाडी त्यो कार्य गर्न जो कोहीलाई निक्कै मुस्किल पर्छ । तर ती कन्या नभएर अनुभवीहरु छन् भने त सायद ठीक ठीक्कै हुन्छ होला ।

हो, म पनि थोरै तुरतुरे मान्छे छु । त्यस्तो खुला सौचालयको अगाडी पुगेपछि मलाई पिसाबले सताइ नै हाल्छ ।

“एकछिन है म पिसाब फेर्छु,” तारालाई सानो स्वरमा भन्छु ।  

“छ्या ! लाज हुँदैन ? तपाइँ कस्तो लाज पचेको मान्छे हँ । आम्सटर्डममा पो कोही नेपालीहरु देखिदैन थियो – भेटिदैन थियो । त्यहिँ भएर बेश्यालयमा मस्किरहेका बेश्याहरुका अगाडी हाँस्दै हाँस्दै पिसाब फेर्नु हुन्थ्यो । रेड लाइट डिस्ट्रिकका बेश्याहरुले बाहेक अरु कसैले देख्दैनथ्यो । अनि उनीहरुको त खेती नै त्यही भएकोले देखे पनि केही हुँदैन थियो । तर यहाँ त भारतेलीहरुको सानो कुनाको (कर्नर) पसलदेखि महमद अल-फायदको ह्यारोड दोकानसम्म नेपालीहरुले काम गर्छन् । यदि उनीहरुले देख्यो भने तपाइँको अनुहार कहाँ लुकाउनु हुन्छ ?” ताराले छोटो भाषण दिन्छन् ।

“किन लजाउँथे, पटक्कै लजाउँदिनँ । म एकदम अनुभवी मान्छे हुँ । क्रेट, माल्टा, साइप्रस, मार्लोका, लान्जारोटी, फियोर्टभेन्चुरा र जमैकाका टापुहरुमा पुगेर नाङ्गैभुङ्गै बङलङ्गै उतानो परेर सामुन्द्रिक किनारको नाङ्गो विच (न्युड विच) मा सुतेको मान्छे हुँ, म । हो, पहिला बिस बाइस बर्षको उमेर हुँदा पो लाज लाग्थ्यो । लाजले निसी विच र आयानापा विचको पानीमा पसेदेखि बाहिर निस्कन मुस्किल पर्थ्यो । अहिले त बुढो भएँ । के लाज लाग्छ र ?” उनलाई भन्छु ।

मेरो कुरो सुनेर ताराको मुख बन्द हुन्छ, “बाबैनि ! मेरो बाबु । हुँदैन के हुँदैन ? कुरो बुझ्नोस् न । यो बाटोको सौचालयमा त भरै राति लण्डनमा मातेर झ्याप भएका मान्छेहरुमात्र पिसाब फेर्छन् । अबदेखि म तपाइँहरुसँग हिँड्दिन है,” थोरै चेतावनीको साथ मेरी छोरीको मुख खोलिन्छ ।

मेरो एक मतको विरुध्द आमा र छोरीको दुई मत परेपछि के बोल्ने, बोल्दै बोल्दिन । मेरो मुख बन्द भएपछि दुवै हात पछाडी राख्छु र क्रमशः अगाडी हिँड्दै गर्दा मतको विषयमा राम्ररी सोच्न थाल्छु । प्राचिनकालका चर्चित दार्शनिक सुक्रोटिसलाई सम्झन्छु । उनलाई मृत्युदण्ड दिनुपर्छ भनेर एथेनियन निर्णायक मण्डलीको ३ सय ६० मत परेको थियो । त्यसको विपक्षमा दिनु हुँदैन भन्नेमा १ सय ४० मत परेको थियो । उनले मृत्युदण्ड पाउनु पर्छ भन्नेले विजय गरेपछि बिषालु वनस्पती हेमलकको झोल पिलाएर उनलाई मृत्युदण्ड दिइएको सम्झन्छु ।  

म अहिले अल्पमतमा परेर पराजय भइहाले पनि मृत्युदण्ड पाएको होइन । पिसाव फेर्न नपाएको त हो, मनमनै भन्छु । त्यसपछि छोरीको कदममा कदम मिलाउँदै उनलाई पछ्याउन थाल्छु । केहीबेरपछि हामी सेन्ट मार्टीन सडकको किनारै किनार दक्षिणतर्फ लाग्छौं । लेस्टर स्क्वाएरदेखि जतिजति दक्षिण लाग्छौं, मलाई उतिउति रमाइलो लाग्दै जान्छ । त्यसपछि एक अर्कामा नबोली नबोली चार–पाँच मिनेट जति हिड्छौं । त्यसपछि ट्राफलगर स्क्वाएरको कुनामा पुगिहाल्छौं । तर त्यहाँ पुग्ने बितिक्कै, –

“यो ठाउँ त मलाई पनि थाहा भयो,” सबैभन्दा पहिले ताराको मुख खोलिन्छ ।

“कसरी ?” संक्षिप्तमा म उनलाई सोध्छु ।

“यिनै स्क्वाएरमा मेरो बाबुले बीस/बाइसको उमेर हुँदा बेलायती सुटमा सातौं गोर्खा राइफल्सको टाइमा टडक्कै सजिएर परेवाहरुलाई चारो दिँदै खिच्नु भएको तस्विर अहिले पनि हाम्रो घरको मूलदैलोमाथि सजिएर बसेको छ । अहिले बाबुको उमेर ८० पुग्यो । बुढो मान्छे ! गाउँमा तीन बाङ्गो कुप्रो परेर एक्लै बस्नुहुन्छ । त्यतिका धेरै छोराछोरीहरु भए, तर उहाँलाई साथ दिने अरु कोही छँदै छैनन् । देश छाड्न नसक्ने नक्कली राष्ट्रबादी मेरो बाबु,” थोरै भावुक भएर उनको स्वर घट्दै घट्दै जान्छ र वाक्यांश पूरा नभइ मर्छ । हुन पनि उहाँको विचारलाई कुनै छोराछोरीले साथ नदिएको देख्दा माल्मस्बरी, इङगल्याण्डका राक्षस उपनाम पाएका थोमस हब्सको भनाइ, –

“मानिस जतिको स्वार्थी, लोभी र पापी अन्य कुनै प्राणी हुँदैन,” भनेको झल्झली सम्झन्छु ।

ताराले त्यसो भनिरहेको बेला हामी ट्राफलगर स्क्वाएरको ठीक सामुन्ने खडा भइसकेका हुन्छौं । अपरान्हको सूर्य पश्चिमी दिशामा ढल्केर वेस्टमिनिस्टर सिटीको राजदरवारलाई प्रकाश दिइरहेको भएतापनि मेरो दिल थोरै खिन्न भइरहेको छ । म त्यसबेला खिन्न हुनुको अर्थ हालसालै देहावसान भएकी रानी एलिजावेथ दोश्रोलाई सम्झेर भने हुँदै होइनँ । मेरो सिधै अगाडी खडा भएर रहेको तर १ सय ७० फिट अग्लो स्तम्भको शीरमा बेलायती जल सेनाध्यक्ष होरासिओ नेल्सनलाई देखेर हो ।

तिनै बेलायती सेनाध्यक्षले सन् १८०५ मा फ्रान्स र स्पेनसँग जलयुध्द हुँदा अदम्य वीरता प्रदर्शन गरेका थिए । त्यस ट्राफलगर युध्दमा उनी ‘एचएमएस भिक्ट्री’ पानीजहाजमा थिए र सोही स्थानमा उनलाई फ्रेन्च सिपाहीहरुले छातीमा गोली प्रहार गरेका थिए । तिनै गोलीले घायल भएका नायकहरुको पनि महानायक नेल्सनले ४७ वर्षको अल्प आयुमा यस धर्तीदेखि सधैँसधैँको लागि बिदा भएर गए । उनैको सम्झनामा नेल्सन स्तम्भ यहाँ खडा भएर रहेको छ ।

मैले नेल्सनको बहादुरितालाई कदर गर्दै त्यो स्तम्भलाई निक्कै लामो समयसम्म हेर्छु । त्यसपछि मेरो नयनहरु सुस्तरी सुस्तरी दाहिनेतर्फ घुमाउँदै लान्छु र ताराको मुहारमा लगेर ठोकाउँछु । त्यसपछि सानो स्वरमा, “लु अब आउ है,” भन्छु र म सरासर हिँड्न थाल्छु ।

मेरो कुरो सुनेर, “कता जाने हो र ?” हामी उभिरहेको सिधै माथि एक हुल उडिरहेको परेवाहरुलाई एक झलक नजर मार्दै ताराले मलाई प्रश्न गर्छिन् । मैले उनलाई प्रति उत्तर दिनेक्रममा हाम्रो दाहिनेतिर खडा भएर रहेको भिमकाय बिल्डिङलाई च्यापुले सङ्केत गर्दै, “ऊ त्यता जाने हो नि,” भनेर देखाउँछु ।

छोरीले मेरो कुरो सुनेपछि, “नेसनल ग्यालरीमा जाने हो र ?” मेरो नजिकै आएर सोध्छिन् ।

“हो हो,” भनेर म उनलाई छोटो जवाफ फर्काउँछु ।    

हामी त्यहाँदेखि सिधै अगाडी बढेर ग्यालरीको ढोका नजिकै पुग्छौं । ढोकादेखि भित्र छिरेपछि कडा सुरक्षा जाँच गरिने भएकोले एक्सरे मेसिनलाई पार गर्दै गर्दा दुवै हात माथि आकासतिर उठाउँछु । तर अचानक चाचा चिचि गरेको आवाज आइहाल्छ । त्यसरी आवाज आउने बितिक्कै दायाँबायाँ हेर्छु । मभन्दा दुई गुणा ठूली तर अश्वेत मूलकी एकजना सुरक्षा अधिकृत मेरो ठीक सामुन्ने देखा पर्छिन् । मैले हेर्ने बितिक्कै उनले दाहिने हात उठाएर एक चक्कर घुमेर फेरि आउने सङ्केत गर्छिन् ।   

उनले त्यसो भनेपछि होइन के भयो ? अब मनमनै सानो पिरमा पर्छु । त्यसपछि म फेरी एकचोटी बाहिर निस्कन्छु । गोजीमा भएको कारको चाबी तारालाई दिन्छु । उनले चाबी झोलामा राख्छिन् । कसो कसो त्यसबेला मेरो तिघ्रा थरर काम्न सुरु गरिसकेको हुन्छ । मलाई त्यसबेला अनायसै बीस वर्ष अगाडीको आफ्नो जीवन कथाको याद आउन थाल्छ ।

एकदिन मानह्याटन, न्युयोर्कदेखि एलिस दीपमा घुम्न गइरहेको थिएँ । त्यसबेला न्युयोर्कको जुम्ल्याहा टावर भर्खर भर्खरै ध्वस्त भएका थिए । त्यसैले अमेरिकाको सुरक्षा व्यवस्था एकदम कठिन प्रकारको थियो । त्यतिबेला पनि मलाई जाँच्ने सुरक्षा अधिकृत उनीसँग काटाकुटी मिल्ने एकजना अश्वेत मूलकी महिला भेटेको थिएँ । उनले मलाई एक्सरे मेसिन छिर्न अगाडी, –

“ज्याकेट खोल,” भनिन् ।

“हुन्छ,” भनेर ज्याकेट खोल्छु ।

त्यसपछि उनले मेरो कम्बरमा बाँधिएको छालाको पेटी देख्छिन् । अनि, “पेटी खोल,” भन्छिन् ।

फेरि, “हुन्छ,” भनेर पेटी खोल्छु ।

त्यसपछि उनले सरर मेरो टाउकोदेखि खुट्टासम्म हेर्छिन् अनि, “जुत्ता खोल,” भन्छिन् ।

जुत्ता खोलेर थपक्कै टेबलमा उपलब्ध भएको किस्तीमा राख्छु । त्यसपछि उनी एकछिन चुपचाप बस्छिन् । अब के नै पो बाँकी होला र भन्ने मनमनै सोच्छु । उनी एकछिन शान्त भएपछि, “पतलुङ पनि खोलौं ?” भनेर उनको सामुन्ने पतलुङ पनि खोल्न खोज्छु ।  

मैले त्यसो भनेको सुन्ने बितिक्कै – “ओ मान्छे ! म विवाहित महिला हुँ,” भनेर मलाई थर्काउली जस्ती गर्छिन् ।   

उनको कुरो सुनेपछि, “म पनि के अविवाहित छु र ?” प्रतिउत्तर फर्काएको मैले त्यसबेला झल्झली सम्झें ।

नेसनल ग्यालरी लण्डनमा दोश्रोचोटी एक्सरे मेसिनदेखि छिर्दा मलाई केही कठिनाई भएन । तैपनि मानिसको चुल्बुले मन न हो । एकछिनसम्म खन्तर खन्तर भइहालें । त्यसपछि मेरो मन सुस्तरी प्रफुल्ल हुँदै जान थाल्यो । हलभित्र पसेर तारा र छोरीसँग भेटेपछि, –

“आम्मामा ! गुम्बज त क्या राम्रो रहेछ । मलाई त ब्लु मस्क इस्तानबुलको बेस्सरी याद आयो,” तारा प्रशन्न मुद्रामा बोली ।   

म उनको कुरो सुने पनि नसुने झैं गर्छु । उनलाई केही वास्ता नगरेपछि म यो ठाउँमा निक्कै लामो समय अगाडी आएको हुँ भनेर त्यसबेला सम्झन पुग्छु । तर जुनबेला म यहाँ आएको थिएँ । त्यसबेला मलाई चित्रकलाप्रति त्यति चासो छँदै थिएन । तर एकदिन लैनसिँह बाङ्देलको पुस्तक “स्पेनको सम्झना” लाई सरसर्ती पढेर सक्छु । र, तिनै पुस्तकले मलाई चित्रकलाप्रति रुचि बढाउन प्रेरणा मिल्छ ।   

बाङ्देल, सुङ्देल, रावा, राखा र मेरो गाउँ बुईपा एउटै जिल्लाका गाउँहरु हुन् । तर लैनसिँहको बाबुबाजेहरु मुलुक बाहिर गए । हामी मुलुकभित्र नै ढिँडो र रोटी खाँदै बस्यौं । खयर जे सुकै होस् । बाङ्देलको भावनासँगसँगै बहँदै म पनि खाइ नखाइ विश्वको बिभिन्न सङ्ग्राहलयहरु चाहारेर चित्रकलाको अध्ययन गर्न थाल्छु । त्यसैले पश्चिमेली चित्रकला सम्बन्धि अध्ययन गर्न लण्डन, पेरिस, न्युयोर्क, रोम, बर्लिन, एथेन्स, बार्सोलोना र रोम पुग्छु ।

अझै त्यस सहरहरु बाहेक पोल्याण्डको उत्तरी सहर गाडन्स्क अथवा जर्मनहरुले “डान्जिङ” भनेर चिन्ने गरेका छन् । म त्यहाँ पुग्छु र फ्लेमिस चित्रकार हान्स मेम्लिङ्गको “द लास्ट जजमेन्ट” लाई ओल्टाइ पल्टाइ हेर्छु । त्यहाँदेखि हानिएर लियो नार्डो दा भिन्चीको “मेड्डोना लिट्टा” को नजर लगाउन सेन्ट पिटर्सबर्ग, रुसमा रहेको हर्मिटेज सङ्ग्राहलयतिर पुगेर केही दिन बरालिन्छु ।

त्यसपछि हुरुरु उडेर भ्याटिकन, रोममा पुग्छु । रोम विमानस्थलको नाम लियोनार्डो दा भिन्ची भएतापनि म माइकलएन्जेलोले भ्याटिकन गिर्जाघरको सिलिङमा गरेका परिश्रमको साक्षी “सिस्टिना चाप्पल” लाई हेर्न पुग्छु । त्यहाँ पुगेर घण्टौँघण्टा सिलिङ्का चित्र हेर्दा टाउको थाकेपछि भुइँमा सुतीसुती पनि हेरेको मसँग अनुभव छ ।   

अब यी नानाभाँती कुरोलाई एकछिन यतिक्कैमा थाँती राखौं । किनभने म यतिबेला लण्डनको नेसनल ग्यालरीभित्र छु र तिनैको कुरा गर्छु । यो ग्यालरीको सुरुवात पनि मज्जाले नै भएको छ । सन् १८२४ मा बेलायती सरकारले बैंकमा कामगर्ने एकजना महाजन श्री जोन जुलियस एन्जर्सटाइनलाई केही चित्रहरु खरिद गर्नको लागि ५७ हजार स्टर्लिङ पाउण्ड उपलब्ध गराएको थियो । त्यस रकमले यूरोपको विभिन्न स्थानमा पुगेर उनले ३८ वटा चित्रहरुको सङ्कलन गरेर ल्याए । तर त्यसबेला ती चित्रहरु राख्ने कुनै सुरक्षित स्थान थिएन । त्यसैले नयाँ भवनको निर्माण नभइन्जेलसम्म उनले आफ्नै महल १०० पाल मलमा ती चित्रहरु राखे ।    

सन् १८३१ मा बेलायती संसदले तिनै चित्रकलाहरुको संरक्षण गर्नका लागि नयाँ भवनको निर्माण गर्ने निर्णय गर्यो र त्यसको न्वारानको नाम लण्डन राष्ट्रिय कलाभवन (नेसनल ग्यालरी) भनेर गरियो । सन् १८३८ मा भवन निर्माण हुने भएपछि भवन बनाउने स्थल लण्डनको केन्द्रबिन्दु ट्राफलगर स्क्वायरलाई छानियो । अनि त्यस भवनको मूख्य आर्किटेक्ट विलियम विल्किन्स हुन् । तर त्यस भवन बनाउँदा तल्लो वर्गका श्रमिकहरुलाई प्रयोग गर्न पूर्व दिशाबाट र कुलिन एवम् सभ्रान्त वर्गका लागि शानदार बग्गीदेखि पश्चिम दिशादेखि पस्ने बाटो बनाइयो ।  

लगभग ४६ हजार वर्ग मिटर अथवा ६ वटा फुटबल पिच अटाउने क्षेत्रफल ओगटेको यो कला भवन अहिले २३ हजार चित्रकलाले सुसज्जित रहेका छन् । अनि त्यहाँ भएका चित्रहरुलाई जम्मा ४ भागमा वर्गीकरण गरिएका छन् । जस्तैः- १३ देखि १५ शताब्दी, १६ शताब्दी, १७ शताब्दी र अन्तमा १८ देखि २०औं शताब्दी । विश्वका सर्वाधिक लोकपृय चित्रकलाहरु रहेको त्यो भवनमा हरेक मानिसले मर्नभन्दा अगाडि एकचोटी पुग्नुपर्छ जस्तो लाग्छ, मलाई ।

हामी त्यसदिन भवनभित्र रहेका सिढीहरु बिस्तारै पार गर्दै जान्छौं । तारालाई चित्रकला प्रति पटक्कै सोख छैन् जति वाइन पिउन प्रति छ । हलभित्र पुगेपछि हलको बिच भागमा मानिसहरु बस्ने आरामदायी बेन्चहरु देखापर्छ । बेन्च देख्ने बितिक्कै तारा त्यहाँ पुगेर थपक्कै बसिहाल्छिन् । मलाई थाहा छ उनी केहीबेर अगाडी चीनियाँ रेष्टुराँमा खाना खाँदा मोबाइलमा कैद गरेर राखेकी तस्विरहरु हेर्न चाहन्छिन् । अझै मलाई के पनि थाहा छ भने एक प्लेटमा ६-७ मुन्टा चाइनिज सब्जी चोइसामको दाम १३ पाउण्ड ५० पेन्स भनेको उनलाई पटक्कै चित्त बुझेकी छैन् । त्यति रकममा बानेश्वरमा सब्जी किन्यो भने एक अङ्गालो आउने थियो भनेर केहीबेर अगाडी नै भन्दै थिइँ ।   

तारा बेन्चमा बसिसकेपछि, “छोरी ! तिमी कोठाको दाहिने दिशाबाट हिँड्दै जाउ । म बायाँ दिशादेखि चित्रहरु हेर्दै आउँछु । नत्रभने हामी एक अर्काको झगडा हुन्छ,” अङ्ग्रेजी कानुनको विधार्थी छोरीको जिद्दी सुन्न अगावै त्यसो भन्छु । मेरो कुरो सुन्ने बितिक्कै उनी एकै शब्द बोल्दिनन् । एकदम रिसाएको कालो अरिङ्गाल झैँ फनक्कै घुमेर मेरो बिपरित दिशातर्फ लागि हाल्छे । एक मनले आ मरोस् है भन्छु । तर आमा र छोरीको घरिघरि आनिबानी सम्झँदा, “आखिर आइमाई के चाहन्छ?” भन्ने प्रश्नको उत्तर लगभग ३०-३५ वर्ष अध्ययन गरेर मनोविश्लेषक सिगमुण्ड फ्रायडले त दिन सकेका थिएनन् भने जाबो म भुइँमान्छेले के सकुँला भन्छु र खुरुखुरु एक्लै हिड्न थाल्छु ।

केहीबेरमा त्यहाँ काम गर्ने एकजना मानिससँग मुलाकात हुन्छ । उसलाई सूर्यमुखी फूल “सन फ्लावर” कहाँ छ होला भनेर सोध्छु । डच चित्रकार भिन्सेन्ट भ्यानगगले सन् १८८८ मा कोरेको त्यो चित्र हेर्न मलाई ज्यादै उत्सुकता लागिरहेको हुन्छ । उनले जम्मा ७ वटा सूर्यमुखी फूलहरुको श्रृंखलाबध्द चित्रहरु कोरेका थिए । अमेरिकाले जापानमा हवाई आक्रमण गर्दा उनको एउटा चित्र जलेर खरानी भएको थियो । अर्को एउटा नाम बताउन नचाहने व्यक्तिले खरिद गरेर खै कता राखेका छन् कुन्नि ? बाँकी ५ वटा चाहिँ लण्डन, म्युनिक, फिलाडेल्फिय, आम्सटर्डम र टोकियोमा अहिलेसम्म सुरक्षित रहेका छन् ।

त्यहाँको कामदारले सूर्यमुखी फूल कोठा नम्वर ४३ मा छ भनेको सुन्ने बितिक्कै म उडेर त्यहाँ पुग्छु । त्यहाँ पुगेर फूलसँग निक्कै लामो समय बिताउँछु । उनले कोरेका अन्य ५ वटा चित्रहरु पनि त्यहाँ सँगसँगै सजिएका छन् । म फूलप्रति असाध्यै प्रेम गर्ने मानिस हुँ । मलाई जहाँसम्म लाग्छ, चित्रकार भ्यानगगले जतिको फूलसँग नजिक भएर अरु कसैले आजसम्म चित्र बनाएका छैनन् होला ?

त्यहाँदेखि अलिकति अगाडी बढेर जान्छु । ओस्कर क्लाउड मोनेको वाटर लिली चित्र नजिक पुग्छु । आफ्नो जीवन कालमा लगभग २५ सय जति चित्रका सिर्जना गरेका मोने चित्रकलाको जगतमा प्रभाववाद (इम्प्रेसनिज्म) का पिता हुन् । दुर्भाग्यबस सन् १९११ मा श्रीमती १९१४ मा आफ्नो पुत्र गुमाएपछि उनलाई मोतिबिन्दु भएको थियो । तैपनि उनले त्यति कष्टकर जिन्दगी बिताउँदै गर्दा आफ्नो घर गिभर्नी, फ्रान्समा २ सय ५० वटा पानी लिलीका श्रृंखलाबध्द चित्रहरु कोरेका थिए । उनले कोरेका घाँसका कुनिउँ (हेस्ट्याक) न्युयोर्कमा लिलाम हुँदा ११० दशमलव ७ मिलियनमा बिक्री भएको थियो । उनलाई उच्च सम्मान गर्नको लागि लगभग १ बिलियन डलर खर्चेर निर्माण गरिएको एमएससी क्रुज, ग्रान्डियोजाको आठौं तलालाई (मोने तला) भनेको मैले दुई हप्ता त्यो पानीजहाज यात्रा गर्दा चाल पाएको थिएँ ।

तेल चित्रहरुको अध्ययन गर्न मलाई सबैभन्दा अफ्ठ्यारो चाहिँ पाब्लो पिकासोको नै लाग्छ । स्वास्थसेविकाले पिकासो जन्मने बितिक्कै ‘मृत जन्म’ घोषणा गरेर नानीको सट्टा आमाको स्याहार गर्न समय खर्चेकी थिइन् । २५ वटा शव्दहरु मिलेर बनेका उनको नाम सायद विश्वको सबैभन्दा लामो नाम हुन सक्छ । म त्यसबेला उनले १९१४ मा कोरेका ‘फलफूलको किस्ती, बोतल र भोइलिन बाजा’ लाई राम्ररी नियालि रहेपनि बुझ्न नसकेर हार खाइरहेको थिएँ । तर अचानक मेरो अगाडी एकजना कुइरे आइपुग्छ र ऊ सँगसँगै ल्याएको बच्चालाई यो बोतल हो, यी फलफूलहरु हुन् भनेर उनले देखाउन थाल्छ । भैरे, मौका यही हो भनेर उसको औँलाले घोचेको बिन्दुहरुलाई एक से एक हेर्न थाल्छु । तर जाबो मेरो नेपाली बुद्धीले के भ्याउँथ्यो ? अँह केही बुझ्दै नबुझेपछि बिच्चैमा उनको लहलहैमा लागेछु भन्छु ।

अब म हिँडेर १२ नम्बर कोठामा पुग्छु र हान्स होलबिनको ‘द एम्बासोडोर’ हेर्छु । अनि लियोनार्डो दा भिन्चीको “द भर्जिन अफ द रक्स” मा पुर्याएर मेरो नजर ठोकाउँछु । भिन्ची मलाई अति नै मन पर्ने चित्रकार हुन् । यसको मूख्य कारण उनी एकदम पूर्णतावादी चित्रकार थिए । त्यसैले उनका कैयन चित्रहरुले उनको जीवन कालमा पूर्णता पाउन सक्दै सकेनन् ।

तर मैले यहाँ यसो भनिरहँदा माइकलएन्जेलो पनि के कमको रहेछन् र ? म त्यसबेला भिन्चीलाई सम्झँदै माइकलको “म्यानचेस्टर म्याडोना” अगाडी पुगेर उभिन्छु । त्यस चित्रमा उनले ५ जना महिलाहरु र २ जना बच्चाहरुको चित्र कोर्दै गरेका स्पष्ट देख्न सकिन्छ । तर २ जना युवतीहरु चाहिँ पेन्सिलले कोरेको जस्तो मधुरो आकृतीमात्र देखिन्छ । खै के कारणले हो, ती चित्र पूरा हुन सक्दै सकेन । तर त्यसले पूर्णता पाउँदा के कस्तो देखिन्थ्यो होला भनेर म एकछिन टोलाइ रहन्छु ।        

त्यसपछि राफेल, टिसियन, भालाक्युज, रेम्ब्रान्ट, रुबेन र होगार्थ नजाने सयकडौ बेलायती चित्रकारहरुको चित्र हेर्दै हेर्दै अगाडी बढछु । मलाई बेलायती महिलाहरुले मतदान गर्न पाउने अधिकार नभएको बेला भनौ नारी आन्दोलन हुँदै गर्दा डिएगो भालक्युजको “द ट्वाइलेट अफ भेनस” लाई आन्दोलनकारीहरुले क्षति पुर्याएको सम्झन्छु । भेनसलाई क्षति पुगेपछि राष्ट्रिय ग्यालरी नै अनिश्चित कालको लागि बन्द गरिएको इतिहास छ । अझै सबैभन्दा खेदको कुरो त के थियो भने सन् १९३९ मा दोश्रो विश्वयुध्द सुरु हुनुभन्दा ९-१० दिन अगाडी जर्मनीको हवाइ आक्रमणदेखि चित्रहरु बचाउनको लागि वेल्सको विभिन्न स्थानहरुमा रातारात लगेर लुकाइएको थियो ।

ग्यालरीभित्र निक्कै समय बिताइ सकेपछि म सुस्तरी अगाडी बढ्छु र डच चित्रकार यान भान आइकले सन् १४३४ मा कोरेका आर्नोलफिनीको चित्र नजिकै पुग्छु । जुन चित्रमा इटालीयन धनाढ्य व्यापारी गेभानी दि निकोलाउ आर्नोलफिनी र उनको पत्नी कोस्टान्जा ट्रेन्टा आर्नोलफिनीको तस्विर देखा पर्छ । एक अर्कामा मज्जाले हात समाइरहेको एकजोडी प्रेमी प्रेमिकाको चित्र आजभन्दा लगभग ६ सय वर्ष अगाडी ब्रुज, बेल्जियमको एउटा घरलाई आधार मानिएर कोरिएको थियो । आर्नोलफिनी चित्रलाई जति हेर्दा सजिलो देखिन्छ, तर त्यसलाई बुझ्न एकदम जटिल पर्छ । हरेक वर्ष ६० लाख मानिसहरुले भ्रमण गर्ने राष्ट्रिय ग्यालरीको त्यो चित्र नै प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको छ । 

म आर्नोलफिनीको नजिक पुग्दा एकजना जापानिज युवती तिनै चित्रलाई मज्जाले नियालिरहेकी देखिन्छे । उक्त्त चित्रलाई ‍उनले कसरी अध्ययन गर्ने रहिछे भनेर म उनको नजिक पुगेपछि क्वारक्वार्ती हेर्न थाल्छु । लगभग एक कोरी जति उमेर खाएकी ती जापानिज युवती चित्रको नायिका कोस्टान्जाभन्दा झन हिस्सी परेकी देखिन्छिन् । उनको जिउडालले म जस्तो केस पाकेका बृद्धलाई त आकर्षण गर्न सक्छ भने युवाहरुको त के कुरो गरौं होला र भन्ने मलाई लाग्छ । उनी चित्रलाई अध्ययन गर्ने क्रममा कहिले टाउको मुनी कहिले माथि मात्र होइन कुनैबेला बायाँ र कुनैबेला दायाँ गर्दा म झन् उनलाई राम्ररी हेर्न सक्छु ।  

पातलो जिउ, कालाकाला आँखा, कालै केशरासी, गोलो अनुहारमा गुलाफी गाला, सुहाउँदो रुप र बान्की परेकी राताराता ओठमा मैले नचाहँदा नचाहँदै मेरो नजर पुगेर मज्जाले नै ठोकिन्छ । मैले उनलाई निक्कै लामो समयसम्म हेरिसकेपछि मलाई अचानक देखेर उनी एक पटक फिस्सै मुस्कुराउँछिन् । उनी त्यसरी मुस्कुराउँदा यौवनको रस छचल्किएर मेरो हृदयभरि पोखिएला कि जस्तो मलाई भान पर्छ । खै किन हो किन ? उनको त्यो चुल्बुले कार्यले म छ दशक पार गर्नै लागेको मान्छेलाई बीस/ बाइसे कामुकत्ताले कताकता छोएको जस्तो त्यसबेला आभास हुन्छ ।

स्वाभावैले जापानिज युवतीहरु जतिको लज्जा, सहिष्णुता र प्यार दिने नारीहरु सम्भवत संसारका अन्य कोही नारीहरु हुँदैनन् कि भन्ने मलाई त्यसबेला लाग्छ । अझै उनलाई देखेर बहुत चर्चित जापानिज लेखक हारुकी मुराकामीको उपन्यास नर्वेजियन जेडमा अति सुन्दर तर भावनात्मक रुपमा अति कमजोरी महिला नाओकोले टोरु वातानाबेलाई अगाध प्रेमको साथ “वातानाबे” भनेको उनलाई हेर्दै घरिघरि म सम्झिरहन्छु ।

हुनत म राष्ट्रिय कला भवन लण्डनमा अवस्थित विश्व बिख्यात फ्लेमिस चित्रकार यान भान आइकको “आर्नोलफिनी” चित्र हेर्न पुगेको थिए । अनायसै ग्यालरीमा भेटिएकी तर आर्नोलफिनीको नायिका कोस्टान्जा ट्रेन्टा दुरुस्तै देखिने जापानिज युवतीलाई हेरेर निक्कै लामो समयसम्म मन्त्रमुग्ध भइरहेको थिएँ ।

अक्सफोर्डसायर, बेलायत ।

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री