गोरखा मेजर खिमप्रसाद गौचनलाई प्रतिष्ठित ब्रिटिश सिटिजन्स अवार्ड

लण्डन । गोरखा मेजर खिमप्रसाद गौचनले बेलायतको प्रतिष्ठित ब्रिटिश सिटिजन्स अवार्ड (बिसिए) पाएका छन् ।
विहीबार वेष्टमिन्स्टर पालेसमा आयोजित एक विशेष समारोहमा गौचनसहित २९ जनालाई अवार्ड वितरण गरियो ।
गौचनलाई स्वयंसेवा तथा च्यारिटीका लागि सो अवार्ड प्रदान गरिएको हो । उनलाई दिइएको अवार्डको विधा बिसिएभी उल्लेख छ ।
गौचनलाई ह्याम्पसायरको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा प्रथम गोरखा भिसी कुलवीर थापाको शालिक बनाउन संयोजकको भूमिका खेलेको, नेपालमा भुकम्पबाट भत्किएको विद्यालय बनाउनमा भूमिका खेलेको र नेपालमा अनाथ तथा गरिब बालबालिकालाई पढाएवापत सो अवार्ड दिइएको बताइएको छ ।
गौचन भने सो अवार्ड आफूले व्यक्तिगत रुपमा पाएको नभई गोरखा मेमोरियल प्रोजेक्ट परिवारलाई दिइएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अवार्डको साइटेसनमा मेरो नाम उल्लेख भए पनि यो अवार्ड गोरखा मेमोरियल प्रोजेक्ट परिवारलाई नै दिइएको हो । किनभने म एक जनाको मात्र प्रयासले त्यत्रो परियोजना सफल हुन सम्भव थिएन । सो परियोजनाको टीममा रहनुभएका २८ जनाकै कठोर मिहिनेत र सबै दाताहरुको सहयोगले हामीले कोरोनाको कठिन समयमा पनि निर्धारित समयमै परियोजना सफल बनाउन सफल भएका हौँ ।”
सो शालिक निर्माणको परियोजना संयोजकका रुपमा गौचन रहेका थिए । उनले विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसित समन्वयकारी भूमिका खेलेका थिए । सो शालिक निर्माणले स्थानीय नेपाली समुदायमा सकारात्मक प्रभाव पार्नुका साथै नेपाल तथा बेलायतबीचको मित्रवत सम्बन्धमा पनि राम्रो छाप छोडेको बताइएको छ । सो शालिक निर्माणमा जनस्तरबाट २ लाख पाउण्ड भन्दा बढी संकलन भएको थियो ।
यसका साथै सन् २०१५ को भूकम्पका कारण भत्किएको सिन्धुपाल्चोकको विद्यालय भवन निर्माणका लागि गौचनले अभियान चलाएका थिए । करिब ३२ हजार पाउण्ड संकलन गरी उनले आफ्नै रेखदेखमा आठकोठे विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरेका थिए ।
यसैगरी, करिब १५ वर्षदेखि उनले अनाथ तथा गरिब बालबालिकालाई विद्यालय तहसम्म पठनपाठनको व्यवस्था पनि गर्दै आएका छन् । हरेक वर्ष नयाँ दुई जना बालबालिका उनले लिने गरेका छन् । एकपटक सो छात्रवृत्तिभित्र प्रवेश गरेका बालबालिकालाई एसईईसम्म उनले पढाइदिने गरेका छन् । त्यसभित्र पोशाक, कापीकलम, प्रवेश, परीक्षा शुल्क लगायत सबै समावेश हुन्छ । हालसम्म ४३ जना बालबालिकाले सो सुविधा पाएको गौचन बताउनुहुन्छ । “हामी धनी भएर बालबालिका पढाएका होइनौँ । हामी पनि बालबालिका हुँदा धेरै दुःख पायौँ । अहिले यहाँ आइपुगे पछि त्यस्तै अवस्थामा रहेका बालबालिकालाई केही सहयोग गर्नुपर्छ भनेर यो अभियान शुरु गरेका हौँ”, उनले भने ।
सो अभियानका लागि गौचन दम्पत्तिले नेपालमा एउटा कोष खडा गरेका छन् र सो कोषबाट आउने ब्याजबाट बालबालिका पढाउँदै आएका छन् ।
गौचनलाई सो अवार्ड टिभी प्रस्तोता निक नोल्ज र स्पेकसेभर्सकी निर्देशक जो डलब्रिजले प्रदान गरेका थिए । सो अवसरमा गौचनलाई नोल्जले सिन्धुपाल्चोकमा विद्यालय निर्माण गर्दाको अनुभव बारे प्रश्न पनि राखेका थिए ।
क्युओजिएलमा गोरखा मेजरबाट सेवा निवृत्त भएका गौचन अहिले थप १० वर्षे अर्को सम्झौताअन्तर्गत बेलायती सेनामा कार्यरत छन् । करिब ४१ वर्ष सैन्य सेवामा बिताइसकेका गौचन विगत आठ वर्षदेखि थकाली समाज बेलायतको अध्यक्ष रहेका छन् ।
जनस्तरबाट सन् २०१५ मा स्थापित ब्रिटिश च्यारिटी अवार्ड समाजमा सकारात्मक प्रभाव पार्न सफल व्यक्तित्वलाई प्रदान गर्ने गरिन्छ । सो अवार्ड पाएपछि नामको पछाडि बिसिए लेख्न पाइन्छ ।
एमबीई, ओबिई, नाइडहुड जस्ता सरकारी सम्मान पाएकाहरुलाई यो अवार्ड दिइँदैन । हरेक वर्षको जनवरी र जुलाईमा दिइने यस अवार्डबाट हालसम्म करिब ४५० जना सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री