यो विवशता कस्तो जसको कुनै हल छैन

पुस्तक समीक्षा

डा सुधा श्रेष्ठ र उनको कृति

२०९ औँ भानु जयन्तीको सुअवसरमा नेपाली साहित्य विकास परिषद् यूकेद्वारा आयोजित विशेष साहित्यिक कार्यक्रमका प्रमुख अतिथि, परिषद्का पदेन संरक्षक तथा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यबाट मेरी सहपाठी मित्र डा सुधा श्रेष्ठको कविताहरुको पुस्तक ‘थेम्स् नदीका दुई किनारा’ विमोचन भएको जानकारी सामाजिक संजालमार्फत् नेपाल जानु केही हप्ता अगाडी नै पाइसकेकी थिएँ । नेपालमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीबाट उनको कविता सङग्रहको विमोचन हुन लागिरहेको खबर भने नेपाल छँदा नै प्राप्त गरें । जसको कारणले गर्दा करिब दुई दशकपछि उनीसँग भेटघाट गर्ने मौका पाएँ भने उनको कविता सङग्रह पनि मेरो हात प¥यो । उनी संगसंगै पढ्दा उनको लेखन प्रतिको झुकावबाट अनभिज्ञ नभएको त होइन तर कविता सङग्रह प्रकाशनको विषयका जान्दा धेरै खुशी लाग्यो । कविता सङग्रहलाई राम्ररी पढ्ने मौका भने क्यानाडा फर्केपछि मात्र प्राप्त गरें ।

‘थेम्स् नदीका दुई किनारा’ कविता सङग्रहमा सुधाले आफ्नो हृदयको स्पन्दन छाम्न अनि विवश बनी हार खाएर वाध्यतावश स्वीकार्नुु पर्ने परिस्थितिलाई सरलताका साथ अभिव्यक्त गर्न सफल भएकी छिन् । उनी जीवन,जगत,माया,प्रेम, चाहना, र नैराश्य जस्ता मानवीय संवेदनाहरुलाई मर्मान्तक रुपमा चित्रण गरी कविताका रुपमा उतार्न सफल भएकी छिन् । नदीका दुई किनारा झैं कहिले नभेटिने तर सधैं एकनास संगसंगै बगिरहने मन भित्रका दुई भिन्न प्रकारका विरोधाभासपूर्ण अन्तरद्वन्द्वहरु चाहे त्यो प्रेमको अपेक्षा र निराशको होस्, सफलता र असफलताको होस्, या त एउटा आदर्श समाजको परिकल्पना र यथार्थताको धरातल, सुधाले समसामयिक र मर्मस्पर्शी तरङ्ग अनि भोगाइहरुलाई ज्वलन्त रुपमा प्रस्तुत गरेकी छिन् । मानवीय चाहना र आकांक्षाको कुनै सीमा हुँदैन, तर मानवीयताको एउटा पक्ष भोगाई र जीवनको यथार्थता, विवशता, संंङ्घर्ष, र निराशा हो भने अर्को पक्ष क्षणिक आनन्दमा उल्लास र उन्माद् खोज्ने, मपाईँको मानवीय प्रवृत्ति, जीवनको कटु सत्य दुवै पक्षलाई यस कविता सङग्रहका प्रत्येक शब्दहरुले चिच्याई चिच्याई उद्घोषण गरेझैं लाग्दछ । यिनै मानवीय गुण-अवगुण, वाद-प्रतिवाद, इच्छा-नैराश्यता, सही-गलत, राम्रो-नराम्रो, हाँसो-रोदन, जस्ता मनमा उब्जने विरोधाभासपूर्ण अनुभूतिलाई सुधाले सरल रुपमा प्रस्तुत गर्न र पाठकको ह्रदयमा छाप छोड्न सफल भएकी छिन् ।
कतै उनी कसैको साहारा खोजी हिडें जस्तो देखिन्छिन् ‘साथ पाए’ मा झैं
‘कहिलेकाहीं कमजोर भइदिँदा केही साहस पाइन्थ्यो
बेहोश भई लड्खडाइदिँदा केही सहारा मिल्थ्यो
लाचार भई तड्पिनु पदौ केही राहत मिल्थ्यो
विवश भई हार मान्नु पर्दा केही सहानुभूति मिल्थ्यो’

भने कतै मायाप्रेमप्रति वितृषित भई भागे झैं देखिन्छिन्
‘माया केवल भ्रमित इच्छा हो भन्न गुन्दागुन्दै कहिले तृष्णा लिप्सा बनिदिँदो रहेछ’
कविता ‘अन्जानमै छताछुल्ल हुन पुगिने’

भने कहिले फेरि उनै प्रेमले ओतप्रोत भावुक सम्पूर्ण समर्पणको अभिलाषा दर्शाउँछिन् कविता ‘भन के गरुँ तिमीलाई’

‘भन के गरुँ म तिमीलाई
पराकाष्ठा सबै पार गरी दिऊँ की
लाजसरम सबै त्यागी दिऊँ की
आलिङ्गनमा कसी बाँधी दिऊँ की
तिमीलाई नै सबै सुम्पि दिऊँ की’

लेखक डा ईन्दिरा थापा

अनि कतै आजका नारीको महिला सशक्तीकरणलाई झकझकाउँदै नारी शक्तिको चेतना जागृत गर्न आव्हान गरे झैं लाग्छ
‘अब त जुर्मुराएर उठ्ने बेला भयो समयको माग बुझी
स्वीकारी आफ्नो छिपेका सक्षमता
वर्चश्वता कायम गर्न पट्टी लाग
विजय पाई कमजोरी माथि
विश्वास गरी आफ्नो आत्मशक्ति माथि
निम्न भएपनि स्व:पहिचान कायम गरूँ
कविता ‘आजका नारी’
यसैगरी आजको युवा पिढींहरुको वास्तविक अवस्था ‘विदेशिएका युवा पिँढी’मा सशक्त झल्काएकी छिन्
‘अन्जान दिशातर्फ भौँतारिदै उड्ने पंक्षी हौ
सुरक्षित भविष्यको लालसामा दिनरात हाँफ्नु पर्छ
अपूर्व आत्मसन्तुष्टिको लागि मौका तलाश गर्दै हिड्छौ
अन्तत तिम्रो अन्तिम मुकाम नियतिले निश्चित गरिसकेको हुन्छु’

यसरी नै आफुले भोगेका र देखेका विदेशिनुको तीतोपन अनि पिडा तथा आजका युवा पिढींको बढ्दो विदेशिने क्रमको अल्लारेपन, सफलताको महल बनाउने काल्पनिकतामा रुमलिने आजको सन्दर्भको वास्तविक स्वरुप दर्शाउन खोज्छिन् । जब विपद आउँछ अनि आफ्नो जन्मभूमि र आफन्तहरुको चिन्ताले सताउन थाल्नु सबै विदेशिएकाहरुको कटु तर सात्विक यथार्थता हो, जुन सुधाले आफ्नो कविता ‘विपदको घडी’ मार्फत अभिव्यक्त गरेकी छिन् । उनका आक्रोश, बाध्यता, र असहायपन यस कवितामा छचल्किएका छन् ।
घडीको सुईसंगै चाल्नुपर्ने आजको मानवीय बाध्यताको बारेमा उद्दृत गर्दै लेख्छिन् कविता ‘विश्राम विहिन’मा
‘यो बन्धन कस्तो जसको कुनै नाम छैन
यो विश्वास कस्तो जसको कुनै प्रश्न छैन
यो सङघर्ष मस्तो जसको कुनै प्राप्ति छैन
यो विवशता कस्तो जसको कुनै हल छैन’

भने अनुगमनका अनुभूतिमा उनी निरन्तर अगाडि बढी लक्ष्य प्राप्तिका लागि उत्साह अनि विश्वास राख्छिन्

उद्देश्य लिनु छ शिखरमा अवश्य पुगी छाड्छु एकदिन भनी
गन्तव्य पहिल्याउनु छ सोचे जस्तै लक्ष्य हासिलको अठोटका
लगनशीलता बढावा दिनु छ उत्साहको सक्रियता कायमै राख्न
कठोरतम अभ्यास जारी राख्नु छ असर्मथता शब्दकोषबाट हटाउन

अनि लाग्छ सङघर्ष गर्दागर्दै कतै जीवन र जगतदेखि नै हार मानी निराश भएझैं प्रस्तुत हुन्छिन् ‘हारेको मान्छे’मा
अनायासै फेरि चाहना राख्छिन् एक पलको जहाँ दिल खोलेर हाँस्न सकियोस् । एउटा यस्तो अन्तरङ्गीे साथीको जोसंग मनमा उर्लिएका बहावहरु पोख्न हिचकिचाउन नपरोस् । अनि यस्तै यस्तै अनुभूति र विरोधाभासहरु, द्वन्द्व र प्रतिद्वन्द्वहरु, चाहना र आकांक्षाहरु, आशा र निराशाहरुको श्रृंखला अनवरत बगाई नै रहेकी हुन्छिन् । अनि फड्फडाउँदा फड्फडाउँडा हार मानेको थकित पंक्षीझैं विवश बनी कतै परिस्थिति स्वीकार्न बाध्य भएझैं देखिन्छिन् ‘तिम्रो वास्तविकता’ कवितामा
रोएर के गर्छौ यही तिम्रो खुशी हो
भगेर कहाँ जान्छौ यही तिम्रो परिधी हो
XXXX

तड्पेर के गर्छौ यही तिम्रो क्षमता हो
छटपटिएर के गर्छौ उही तिम्रो विवशता हो

समग्रमा मैले भन्नुपर्दा यस कविता सङग्रहमा
कतै एकलोपनमा अत्तालिएझैं
कतै लक्ष्यहीन भौंतारिएझैं
कतै कसैको आलिंगनमा झुमेझैं
कतै नैराश्यताको अन्धकारमा डुबेझैं
कतै उत्साहको किरणमा प्रफुल्लित भएझैं
कतै कसैबाट प्रमाणित हुन खोजेझैं
कतै स्वाभिमानको रक्षा गर्न खोज्दा एक्लै उभिन पुगिएझैं
कतै निरीह नारीझैं सहारा खोज्दै हिडेंझैं
कतै आजकी सवल नारी शक्तिको गरिमालाई अंगिकार गरेझैं
कतै देश दुखेझैं त कतै विदेशिनुको पिडाले छटपटाएझैं
कतै अभिलाषाको क्षितिजमा एकटकी लगाएझैं
कतै उत्कण्ठाको वादलमा ओझेल परेझैं
कतै गल्ति पहिल्याउन आत्मालोचना गर्न खोजेझैं
कतै सामाजिक मूल्यमान्यताको परिधीमा बाँधिएझैं
कतै उन्मुक्त पंक्षी सरी पखेटा फिजाउन खोजेझैं
यस्तै यस्तै अन्तरद्वन्द्व प्रतिद्वन्द्वको संगालोमा बगेको छ सुधाको थेम्स् नदीका दुई किनारा र उनले यस शीर्षकलाई न्याय प्रदान गर्न सफल भएकी छिन् ।
अन्तमा म मेरी प्यारी साथी सुधालाई बधाईका साथै भविष्यको शुभकामना व्यक्त गर्दछु ।
क्यानाडा

प्रतिक्रिया

सम्बन्धित सामाग्री