नेपालीलाई माया गर्छन् नयाँ बेलायती प्रधानमन्त्री

लण्डन । कति बेलायती प्रधानमन्त्रीहरूले नेपाल, नेपाली र गोर्खाका बारेमा टेलिभिजनमा देखेर, कतिले पत्रिका, पुस्तकमा पढेर त कतिले गोर्खा आन्दोलनले झस्काएर थाहा पाए होलान् तर नवनियुक्त बेलायती प्रधानमन्त्री ऋषि सुनकका लागि नेपाल, नेपाली र गोर्खाहरू नौला होइनन् । तीन पटक उनलाई जिताउने बेलायतको रिच्मण्डसायर निर्वाचन क्षेत्रका सयौँका संख्यामा रहेका पूर्व गोर्खा सैनिक तथा नेपालीहरुसित उनको नजिकको सम्बन्ध छ ।

सन् २०१४ मा सो निर्वाचन क्षेत्रका लागि कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार छानिएपछि उनी नेपाली समुदायले आयोजना गर्ने स-साना कार्यक्रमहरुमा समेत सरिक हुँदै आएका छन् । बेलायती सेनाको ठूलो तालिम केन्द्र क्याट्रिक ग्यारिजन समेत उनको निर्वाचन क्षेत्रभित्र परेकाले नेपालबाट हरेक साल भर्ती भएका गोर्खाहरुको हरेक वर्ष हुने दीक्षान्त (पासिङ आउट परेड) समारोहमा पनि उनी सहभागी हुने गरेका छन् । सुनक बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुँदा सो निर्वाचन क्षेत्रमा बसोबास गरिरहेका नेपाली र गोर्खा सैनिकहरूले पनि गौरवान्वीत महसुस गरेका छन् ।

सुनकको निर्वाचन क्षेत्रको कञ्जरभेटिभ पार्टीको उपाध्यक्षसमेत रहेका कोलबर्न टाउन काउन्सिलका मेयर डा जगन्नाथ शर्मा सुनकले नेपाल र नेपालीलाई धेरै नजिकबाट चिन्ने बताउँछन् । ”सन् २०१५ तिरदेखि नै उहाँ नेपालीहरूको कार्यक्रममा आउनुहुन्थ्यो । उहाँ मात्र होइन उहाँको श्रीमती, बाउआमासमेत लिएर आउनुहुन्थ्यो । सुनक र सुनककी श्रीमती दुवैले नेपालीहरूलाई धेरै माया गर्नुहुन्छ”, शर्माले भन्नुभयो ।

यसै वर्षको मे महिनामा भएको बेलायतको स्थानीय निर्वाचनमा शर्मा काउन्टी काउन्सिलरमा उम्मेदवार थिए । शर्मालाई जिताउन सुनक दर्जनौँ नेपालीसहित घरदैलोमा सामेल भएका थिए । भलै शर्माले जित हात पार्न सकेनन् । फेरि जुलाई महिनामा बोरिस जोन्सनले प्रधानमन्त्रीबाट राजिनामा दिएपछि सुनक कञ्जरभेटिभ पार्टीको नेताको चुनाव लडे । सुनकलाई जिताउन फेरि शर्मालगायत नेपालीहरू चुनावी अभियानमा लागे । एउटै पार्टी र एउटै निर्वाचन क्षेत्र परेकाले शर्मा र सुनकको भेटघाट भइरहन्छ । सुनकसित सोमबार बेलायती प्रधानमन्त्रीमा नियुक्त हुनुअघिको शुक्रबार पनि भेट भएको शर्मा बताउँछन् ।

भेटमा नेपाली र गोर्खाहरुको बारेमा केही कुरा हुन्थ्यो कि ? शर्मा भन्छन्, ”गोर्खाहरूको समस्याका बारेमा धेरै चासो राख्नुहुन्छ । नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा पुरानो सम्बन्धलाई अझै बलियो बनाउनुपर्छ भन्नुहुन्छ । बेलायतलाई अतिविकसित राष्ट्रहरूको समूह (जी सेभेन)मा पुर्याउन गोर्खाहरूको योगदान रहेको भन्दै त्यसप्रति कृतज्ञता प्रकट गर्नुहुन्छ ।”

सुनकले नेपाली नयाँ पुस्तालाई शिक्षामा जोड दिन सुझाव दिएको शर्मा बताउँछन् । शिक्षित र जेहेन्दार भएमा आफूलाई जुनसुकै क्षेत्रमा आफूलाई बिकाउन सजिलो हुने साथै केही पेशागत अनुभव, फराकिलो ज्ञान र सोचसहित राजनीतिमा लागेमा पार्टीभित्रको प्रतिस्पर्धामा खरो उत्रन सकिने सुनकको भनाइ उद्धृत गर्दै शर्माले जानकारी दिए ।

सुनककै निर्वाचन क्षेत्रका बासिन्दा गैरआवासीय नेपाली संघ युकेका सचिव ज्ञानेन्द्र आले सुनकले नेपालीप्रति सकारात्मक भावना राख्ने आफूले पाएको बताउँछन् । ”सन् २०१५ देखि नै स्थानीय नेपाली समुदायले आयोजना गरेको नयाँ वर्ष, दशैँतिहार लगायत सानो सानो कार्यक्रममा पनि आउनुहुन्थ्यो । गोर्खाको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा चासो राख्नुहुन्थ्यो”, आलेले भने । सुनकले स्थानीय नेपालीहरूलाई बेलायतको राजनीतिमा लाग्न प्रेरित गर्ने गरेको आले बताउँछन् ।

आफूले चिने जानेको साथीभाइ देशको प्रधानमन्त्री जस्तो पदमा पुग्दा स्थानीय नेपालीहरूले गर्व महसुस गरेको र उनीहरूमा सकारात्मक उर्जा प्रवाह भएको आलेको भनाइ छ । डा जगन्नाथ शर्मा पनि आलेसित सहमत हुनुहुन्छ । ”सुनक प्रधानमन्त्री हुनु नेपालीहरूको लागि पनि गौरवको कुरा हो । सुनको सफलताले नेपाली नयाँपुस्तामा हामीले पनि सकिँदोरहेछ भन्ने सन्देश गएको छ”, शर्माले भने ।

उता सुनकसित केही वर्षदेखि परिचित उद्यमी रवि लामिछाने पनि सुनकले नेपालीहरूलाई धेरै माया गर्ने गरेको बताउँछन् । सुनकको निर्वाचन क्षेत्रमा गोर्खाहरूको क्याम्प रहेकाले गोर्खा सैनिकका बारेमा सुनक जानकार रहेको र बेलायतलाई यहाँसम्म ल्याउनमा गोर्खाहरूको योगदानको सधैँ स्मरण गर्ने गरेको लामिछाने बताउँछन् ।

सुनकको नेपाल, नेपाली र गोर्खासम्बन्धी यस बुझाइलाई नेपाल सरकार र नेपाली जनस्तरमा सदुपयोग गर्नेतर्फ सोच्नसके दुवै देश र जनतालाई लाभ पुग्ने शर्माको विचार छ ।      

प्रतिक्रिया

सम्बन्धित सामाग्री