गोरखामा प्रचण्डको  उम्मेदवारीको रणनैतिक महत्व

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरु मोर्चाबन्दीका साथ मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेस, माओवादी र समाजवादीसहितको अग्रगामी गठबन्धन एकातिर र एमाले, राप्रपा र जसपासहितको प्रतिगामी गठबन्धनका उम्मेदवारहरु अर्कोतिर आमने सामने चुनावी प्रतिष्पर्धामा छन् । यसैक्रममा एमाले अध्यक्ष केपी ओलीले दुई दुई पटक संसद विघटन गरेर देशलाई प्रतिगमनमा लाने दुस्प्रयास गर्दा त्यसविरुद्ध अग्रमोर्चामा आन्दोलनको नेतृत्व गर्नुभएका माओवादी अध्यक्ष प्रचण्ड यसपटक गोरखा २ वाट चुनाव लड्दै हुनुहुन्छ । अध्यक्ष प्रचण्ड यसअघि निर्वाचित भएको क्षेत्र चितवन ३ वाटै चुनाव लड्ने धेरैको अनुमानका बीच पार्टी पदाधिकारी बैठकले उहाँलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रचण्ड गोरखावाट प्रतिनिधिसभामा उम्मेदवार बनेसँगै उहाँको पक्षमा सिंगो गोरखा एकढिक्का मात्रै भएको छैन, गोरखाली जनता उत्साहितसमेत भएका छन् ।
अध्यक्ष प्रचण्ड हरेक निर्वाचनमा फरक फरक जिल्लाका निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्दै आउनु भएको छ । दोस्रो जनआन्दोलनको सफलतापछि माओवादी र सरकारबीच भएको बृहद शान्ति सम्झौता बमोजिम ०६४ मा सम्पन्न पहिलो संविधानसभा चुनावमा प्रचण्ड जनयुद्धको मुख्य आधार क्षेत्र रोल्पा र राजधानी काठमाडौं १० वाट विजयी हुनुभएको थियो । २०७० को दोस्रो संविधानसभा चुनावमा मधेशको चर्चित जिल्ला सिरहा ५ वाट विजयी हुनुभयो । संविधानसभामार्फत् संविधान निर्माण पछि २०७४ को पहिलो आम निर्वाचनमा प्रचण्ड आफ्नो गृह क्षेत्रसमेत रहेको चितवन ३ बाट विजयी बन्नु भयो । यस पटक प्रचण्ड नेपाल एकीकरणको ऐतिहासिक विरासत बोकेको जिल्ला गोरखा (जुन माओवादी जनयुद्धको समेत आधार भूमिका रुपमा रहेको थियो)बाट लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बन्नुभएको छ । अन्य संसदीय नेताले जस्तो प्रचण्डले कुनै एक निर्वाचन क्षेत्रमा मात्र लगातार सीमित रहनु भएन । बरु हरेक पटक फरक फरक निर्वाचन क्षेत्रवाट विजयी भएर आफू राष्ट्रकै अभिभावक र नेता भएको प्रमाणित गर्नु भयो । यसले प्रचण्डको गतिशीलता स्वतः स्पष्ट हुन्छ ।
गोरखा २ बाट यसअघि निर्वाचित पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अध्यक्ष प्रचण्डको उम्मेदवारीको टुंगो लागेसँगै सामाजिक सञ्चालमार्फत् प्रतिक्रिया दिनुभएको छ– “मैले प्रतिनिधित्व गर्दै आएको गोरखा– २ बाट यसपटक क.पुष्पकमल दाहाल (प्रचण्ड) प्रत्यासी बन्ने निर्णयको म अन्तरहृदयदेखि स्वागत गर्दछु । वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्वको छ । उहाँको शानदार विजयको हार्दिक शुभकामना ।” पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समेत अध्यक्ष प्रचण्डको उम्मेदवारीको निकै ठूलो सांकेतिक महत्व रहने उल्लेख गरेबाट पनि के स्पष्ट हुन्छ भने यो उम्मेदवारीको ऐतिहासिक र रणनीतिक महत्व छ ।
गोरखामा माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार बन्दा उहाँको जित त सुनिश्चित हुन्छ नै, सँगसँगै गोरखा धेरै किसिमले ऐतिहासिक महत्व बोकेको र प्रचण्ड स्वयंलेसमेत पंचायतीकालमा गोरखामा शिक्षकका रुपमा रहेर भूमिगतढंगले कम्युनिष्ट राजनीतिलाई फैलाउन धेरै महत्वपूर्ण भूमिका खेलेकाले अहिले उम्मेदवार बनेर उहाँबाट गोरखाले न्याय पाएको अनुभूति सर्वत्र गरिएको छ ।

लेखक गोविन्द आचार्य

नेपाल राज्यको उदगमथलो गोरखा एक ऐतिहासिक भूमि हो । माओवादी जनयुद्ध सुरुआत अघि २०५२ असारमा गोरखामा सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको ऐतिहासिक जनयुद्धको पहिलो योजनासहितको विस्तृत प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो । गोरखा बैठकको योजना अनुरुप जनयुद्धको तयारी र सुरुआत गरियो । माओवादी नेतृत्वका लागि जनयुद्ध सम्बन्धी पहिलो राजनीतिक तथा फौजी तालिम पनि गोरखामै भयो । ०५२ फागुन १ गते गोरखा, रोल्पा, रुकुम र सिन्धुलीमा विशेष फौजी कारवाहीसहित तथा देशैभर विभिन्न गतिविधि गरेर जनयुद्धको सुरुआत गरियो । जनयुद्ध सुरुआत पछि फागुन १४ गते गोरखाका ११ वर्षे बालक दिलबहादुर रम्तेलले पहिलो शहादत प्राप्त गरेका थिए । जनयुद्धका क्रममा माओवादीको सबैभन्दा उपल्लो तहवाट बलिदानी पनि गोरखाले गरेको छ । पार्टीका पोलिटव्यूरो सदस्य कमरेड सुरेश वाग्ले पार्टी कामकै सिलसिलामा गृहजिल्ला गोरखामा शहादत प्राप्त गर्नुभएको थियो । यसरी नेपाल राज्यको निर्माण र नेपालको अग्रगामी राजनीतिक परिवर्तनमा निर्णायक भूमिकामा रहेको गोरखा जिल्लामा जनयुद्धका नायक, गणतन्त्रका जन्मदाता र हाल विद्यमान नेपालको संविधानका निर्माता माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार बन्नुभएको छ । अध्यक्ष प्रचण्डलाई जिताउनु भनेको गणतन्त्रलाई संस्थागत गर्नु हो र संविधानको रक्षा गर्नु हो ।
देशलाइ उन्नति र समृद्धिको मार्गमा लैजान प्रचण्डले जित्नै पर्दछ । माओवादी अध्यक्ष प्रचण्डमा देशलाई गरिवी, कुशासन, भष्टाचार, वेथितिबाट मुक्त गराएर देशको मुहार फेर्ने अदम्य जोश, जागर र हिम्मत छ । प्रचण्डकै नेतृत्वमा देशबाट १८ घण्टासम्मको लोडसेडिङ् अन्त्य भएको थियो । माओवादी सरकारले काठमाडौंका सडक विस्तार गरेका कारण अहिले भित्री गल्लीसम्म एम्बुलेन्स छिर्नसक्ने भएका छन् । यसैगरी पूर्व पश्चिम लोकमार्ग र रेलमार्ग माओवादीकै योजना हो । प्रचण्ड सरकारको नेतृत्वमा हुँदा देशको आर्थिक वृद्धिमा हासिल भएको उल्लेख्य सफलता र विकास र सम्बृद्धिको यात्राले देशको भाग्य र भविश्य निर्माण गर्नसक्ने सौर्य र तागत प्रचण्डमा मात्र छ भन्ने देखाउँछ ।
गोरखा २ मा गत स्थानीय तह निर्वाचनमा माओवादी, नेपाली कांग्रेस, एमाले, समाजवादीसहितका दलहरुले पाएको मत परिणाम हेर्दा माओवादी केन्द्र पहिलो दल हो । वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा यो क्षेत्रमा माओवादीले २२ हजार २५० मत पाएको थियो भने नेपाली कांग्रेसले २१ हजार १३६ मत पाएको थियो । जसपाको मत ७ हजार ५०४ रहेको थियो । सो क्षेत्रमा एमालेले ७ हजार ९२६ मत ल्याएको थियो । अहिले माओवादी, नेपाली कांग्रेस, बाबुराम भट्टराई नेतृत्वको नेसपा गठबन्धनमा छन् । गोरखामा गठबन्धनको जम्मा मत ५० हजार ८९० हुन आउछ । एमालेको मत भने ७ हजार ९२६ रहेकाले गठबन्धन ४२ हजार ९६४ मतले अगाडि देखिन्छ । गठबन्धनका तर्फबाट अध्यक्ष प्रचण्डले धेरै ठूलो मतान्तरले जित हासिल गर्ने तथ्यले देखाँउछ ।
हामी सबैलाई थाहा छ, संविधानसभामार्फत् नेपाली जनताको भाग्यरेखा कोर्ने कामको नेतृत्व अरु कसैले नभई अध्यक्ष प्रचण्डको अगुवाईमा भएको हो । प्रचण्डकै कारण गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक सहभागितालगायतका अधिकारहरु प्राप्त भएका हुन् । अध्यक्ष प्रचण्डले अघि सारेको नीतिकै कारण महिला राष्ट्रपति, सभामुख जस्ता पदमा पुग्न सम्भव भएको हो । हाल देशमा नयाँ संविधान निर्माणसहित जे जति सकारात्मक उपलब्धी हासिल भएका छन्, त्यसमा माओवादी पार्टी अझ खासगरी उक्त पार्टीका अध्यक्ष प्रचण्डको मुख्य भूमिका छ । प्रचण्डको नेतृत्वमा प्राप्त भएका तमाम् महत्वपूर्ण उपलब्धीहरुको रक्षा र कार्यान्वयनका लागि यो देशलाई प्रचण्डको नेतृत्व आवश्यक छ । सुरुदेखि नै गणतन्त्र, संघीयता, समावेशिताका विरुद्ध रहेका केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा दुई /दुई पटक संसद विघटन गरी लोकतन्त्रको हत्या गरेर संविधान कुल्चने जुन कुकृत्य गरियो, फेरि त्यो कालो इतिहास दोहोर्याइनु हुँदैन । आसन्न निर्वाचनमा नेपाली जनताको एक भोटले उनीहरुका सन्तति र सिंगो मुलुकको भाग्य र भविश्यको फैसला हुँदैछ । त्यसैले आउँदो निर्वाचनमा केपी ओली र ओली गुटको प्रतिगमनलाई निर्वाचनबाट समेत देशैभरी पराजित गर्नै पर्दछ । देशभर प्रचण्डसहितको गठबन्धनका नेताहरुलाई विजयी बनाएर मात्र प्रतिगमन परास्त हुनसक्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री