आँखाको नानीमा सधैँ नाचिरहन्छ ईलाम

संस्मरण

हातमा एकएक मुठो निगुरो बोकिरहेका एकजोडी बालिकाहरु मेची हाइवेका अकस्मात देखिँदा मलाई हल्का असहज उत्पन्न भइरहेको थियो । त्यसबेला उनीहरु आफ्नो जिउलाई दाउमा राखेर सडकको बीच भागमा उभिरहेका देखिन्थे । र, मसिनो स्वरमा, “निगुरो किनि दिनुहोस् न ?” भन्दै यात्रुहरुको ध्यानाकर्षण गरिरहेका थिए । ती बालिकाहरुको बिरमाईलो दृश्य देखेर मेरो भित्री दिल त यस्सै रोयो । तर ताराले उनीहरुलाई देख्ने बितिक्कै, “आम्मै ! कति खतरा ? यस्तो बाटोको बीचमा उभिदा गाडीले कुच्यायो भने यी नानीहरुको हालत के हुन्छ ? अलिक राम्रो स्थान हेरेर बस्नु पर्ने,” हतासमा प्रश्न गरिन् ।

उनको प्रश्नले म झन् नाजवाफ बनेको थिएँ । हामी मोटरभित्र थियौं । र, चालकले बेधडकको साथ मोटर चलाइरहेका थिए । बालिकाहरुको त्यति हृदयविदारक स्थिति देखेपछि मेरो मनमा हल्का त्रास उत्पन्न भयो । त्यसैले चालकलाई, “गुरुजी ! कृपया, एकछिन मोटर रोक्नोस् त ?” भनी सानो अनुरोध गरें । मेरो कुरो सुन्ने बितिक्कै उनले पिलो निचोरे झैँ सुस्तरी ब्रेक दबाएर मोटरलाई रोके । र, गियरलाई हतारहतार न्युट्रल बनाइ हाले । त्यसपछि करक्कै आवाज आउने गरि हेन्डब्रेकलाई ताने ।

हेन्डब्रेकको सहायताले मोटर रोकिरहेको थियो । त्यसपछि मैले सिसाको झ्याललाई सरर खोलें । झट्टै हेर्दा अबोध देखिने ती बालिकाहरु कतै इलामे राईनीहरु पो हुनकि भन्ने मेरो मनमा यस्सै लाग्न थालेको थियो । यदि होइनन् भने पनि उनीहरुको अनुहारले राष्ट्रको मूलवासीहरुको प्रतिनिधित्व राम्रै तरिकाले गरिरहेका थिए भन्ने कुरोमा हामी दुई मत हुन सक्त्तैनथ्यौं । हामी उनीहरुको नजिकै पुगेका थियौं । अब त्यति नजिक पुगेपछि उनीहरुको उमेर अन्दाज लगाउँदाखेरी सायद १०-१२ वर्षको हुनुपर्छ भन्ने लाग्यो । अझै ती दुवैजना दिदीबहिनी पो हुन् कि भन्ने मलाई मनमनै लागिरहेको थियो ।

एकछिनपछि सानो चाहिँले बडो आत्मियताको साथ, “सर ! हाम्रो घरमा हाम्री आमा सिकिस्त बिमारी छिन् । उनको औषधि उपचार गर्ने पैसा छैन । कृपया निगुरो किनिदिनुहोस् न ?” भन्दै एकहातले निगुरोको मुठो उचालेर मेरो अनुहारसामू ल्याइन् । निगुरोको मुठो मेरो अनुहारको नजिक देखेपछि, “भो भो नलिनु है । आज हामी होटलमा नै बस्छौं । हाम्रो घर पनि एकालङ्कामा छ । हामी बाटोमा जाँदाजाँदा सुकि पनि हाल्छ ।” मोटरको पछाडीदेखि ताराको सानो स्वर गुन्जिँदै आयो ।

तर मेरो अनुहारदेखि त्यति नजिकबाट आको त्यो शब्दले मलाई खाटा बसेको पुरानो घाउ उप्काए झैँ भयो । किनभने म सानो छँदा एकदिन मेरी आमा पनि त्यस्तै सिकिस्त बिमारी हुनु भएको थियो । र, त्यसबेला बाबु घरमा हुनुहुन्नथ्यो । हिउँदको महिनामा पैसा कमाउनको लागि गुमपहाडतिर जानु भएको थियो । म र बैनी गाउँभरी त्यसरी नै खानाको खोजीमा हिडिरहेका हुन्थ्यौं ।

मेची सडकमा उनीहरुको अचानक उपस्थितिले मेरो मन बेचैन मात्र होइन, केहीबेर स्तब्ध भइरहेको थियो । अब त्यति नजिक आएर उभिएपछि मैले उनीहरुलाई शिरदेखि पुछारसम्म राम्ररी हेरें । निक्कै लामो समयसम्म नधोएर जिङ्ग्रिगै परेको केशरासी । मयलले कत्ला कत्ला परेर खङ्रङ्गै भएका हातखुट्टाका छालाहरु । अनि भर्खरभर्खरै हातले एकचोटी दायाँ र अर्कोचोटी बायाँ तानिएका अनुहारमा सिङ्गानको लाप्राहरु । वर्षौ अगाडीदेखि फाटेर धुजाधुजा भएका एक्कैखाले नीला जामाहरु । त्यो भन्दा बढी दुःख त मलाई त्यसबेला लाग्यो । जतिबेला जताततै छिद्रछिद्र भएका कट्टुहरुमा मेरो नजर पुगेर बङ्लङ्गै ठोकिएका थिए । यिनै यावत कुराहरुले त्यहाँ दरिद्रताको पहिचान राम्रैसँग देखाइरहेका थिए ।  

चैत्र वैशाखको मध्य खडेरी थियो । अझै मध्यान्हको टण्टलापुर गर्मीले हामीलाई राम्ररी सताइरहेको थियो । हुनत हामी वातानुकूलित मोटरमा सरर हुइँकिरहेका थियौं । त्यसैले हामीलाई खास्सै असर परिरहेको थिएन । तर त्यति कडा घामले सडकमा बिछ्याइएका अलकत्र मज्जाले तताइरहेको मोटरदेखि नै आभाष हुन्थ्यो । अब त्यति धेरै तातो अलकत्रमा नग्न खुट्टाले टेक्त्ता कस्तरी पोलिरहेको होला भनेर मैले गाडीभित्र स्वयम अनुभूत गरिरहेको थिएँ । हुनत उनीहरुको त्यस्तो दुःखद स्थितिमा मैले निगुरो पनि किन्न सक्त्तिनथेँ ।

किनभने हामी भरै बेलुकी बिर्तामोडमा पुगेर होटल किङ्सबरीमा बास बस्दै थियौं । अझै त्यो योजना झापादेखि ताप्लेजुङको लागि उकाली चढ्नु अगाडी नै बनेका हुन् । त्यस होटलमा हामी पहिले पनि बसेका थियौं । होटल पाँचतारे र एकदम नयाँ थियो । साँच्चि त्यसको आधिकारिक उद्घाटन पनि भएको थियो वा थिएन मलाई पत्ता भएन । तर रातको लगभग सय डलरभन्दा मुनी तिर्नु पर्ने त्यो होटल मेरो विचारमा निक्कै सस्तो नै लागेको थियो । नत्रभने विश्वका विभिन्न ठाउँहरु जस्तैः- हङकङ, सिङ्गापुर, दुवाई, लण्डन, रोम, इस्तानबुल, पेरिस र न्युयोर्कमा त्यतिको सस्तोमा हामी कहिले पनि बस्ने अवसर पाएका थिएनौं । यदि अन्य सबै ठाउँलाई छाडिदिने र काठमाण्डौको अन्य पाँचतारे होटलहरुसँग तुलना गर्ने हो भने पनि हामीलाई निक्कै सस्तो लागेको थियो । त्यसैले ताराले त्यहीँ बस्नुपर्छ भनेर ढिपी गरिरहेकी थिई ।

बग्रेल्ती घुम्तीहरु भएको मेची सडकमा त्यसरी भेटिएका नानीहरुको निगुरो किन्न नसके पनि त्यतिक्कै बिदा हुन मलाई थोरै अफ्ठ्यारो लागिरहेको थियो । त्यसैले गोजीमा आराम गरिरहेको एक हजारको नोट निकालेर पाँच-पाँचसय है भनेर भित्री दिलदेखि दिन मन लाग्यो । त्यति सोचिसकेपछि गोजीमा हात लगाएर पैसा निकाल्न खोज्दै गर्दा, “सर ! पर्दैन पर्दैन हजुर, यस्ता नानीहरु बाटामा कति भेटिन्छन् भेटिन्छन् । बाटो बाटोमा पैसा बाँडेर कहाँ साध्य हुनु र ? जति बाँडे पनि पुग्त्तै पुग्त्तैन नि हजुर ।” थोरै मुख खुम्च्याएर चालक बोले । उनको भनाई सुनेर केही हदसम्म साँचो लाग्यो । हुनत मेरो मन पनि कर्कलाका पात माथिको पानी जस्तै लर्बरिरहन्छ । नभन्दै उनको कुरोले मेरो विचार सर्लक्कै युटर्न भइहाल्यो ।

साँच्चै पैसा दिएर सबैको पेट भरिने भए मुम्बईमा आधापेट खाएर बाँचिरहेकाहरुलाई मुकेश अम्बानीले किन पैसा नदिएका होलान् ? त्यसैले पैसा दिएर संसार चल्दैन भन्ने उनलाई राम्रैसँग हेक्का रहेछ । त्यसको सट्टामा उनले लगभग एक अर्ब डलर खर्च गरेर विश्वको सबैभन्दा महङ्गो घर निर्माण गरे । तिनै २७ तले गगनचुम्बी महल “एन्टिलिया” देखि मुनी सडकमा बरु रमिता हेर्छन् । त्यो त भारतीय भूमिको कुरो भयो । यदि चिनियाँहरुको पनि कुरो गर्ने हो भने त्यहाँका असाध्यै धनाढ्य ज्याक माले, “सित्तैमा केही चिज पाइँदैन, र हरेक कुरो किन्नुपर्छ,” भनेका एकचोटी राम्ररी स्मरण गरें । तर हामी नेपालीहरु चाहिँ कुरो बुझेर वा नबुझेर सितैमा युरोपियन युनियन, युएसएड, जाईका र डिफिडलाई घरिघरि किन घच्घच्याइरहेका छौं भनेर ताजुब लाग्छ ।

“उसो भए लु भैगो जाउँ त । आखिर जति माया लागेता पनि केही गर्न सकिएन ।” धेरै मन खेलाएपछि चालकतर्फ हेरेर मैले सुस्तरी मुख खोलें । उनी शाही नेपाली सेनाका पूर्व हबल्दार हुन् । हुनत अहिले शाही शब्द लोप भइसकेको छ । खयर जे सुकै भएतापनि उनी बहुत अनुशासित छन् । उनको बानी ब्यहोरा देखेपछि नेपालीहरु पनि त्यति इमान्दार हुन्छन् र, भन्ने मलाई उनले बनाएका छन् । मैले त्यसो भन्ने बितिक्कै उनले मोटरको हेन्डब्रेक खोले । र, मोटर सुस्तरी अगाडी गुड्न थालिहाल्यो । तर त्यति प्यारी नानीहरुलाई सडकमा त्यतिक्कै छाड्दै गर्दा मेरो मन हुरुरु उडेर मेरी छोरीकहाँ पुग्यो । म पनि समयमा नै छाती, तौल, उचाइ र भुँडी नापेर परदेश नलागेको भए सायद मेरी छोरीले पनि क्वीन मेरी युनिभर्सिटी, लण्डनमा अङ्ग्रेजी कानुन पढ्ने अवसर के पाउँथी होली र ? त्यसपछि बेलायतको दोश्रो ठूलो सहर बर्मिङ्घाममा सोलिसिटरको भूमिका कसरी निभाउन सक्थिन् होली र ?    

त्यसपछि हामी सधैँको लागि उनीहरुसँग बिदा भएका थियौं । चालकले टिटटिट हर्न बजाउँदै असंख्या घुम्तीहरु पार गर्दै गयो । हुनत हामी त्यसबेला नेपालको सुदूर पूर्वी जिल्ला ताप्लेजुङ्ग घुम्न निस्केका थियौं । त्यहाँ पुगेर हाम्रा प्रिय मित्र मणिशंकर पोमुसँग बजारलाई एकचक्कर मार्दा आफ्नो जिल्ला सदरमुकाम दिक्त्तेल झैँ सुरक्षित महसुस गरिरहेको थियौं । यदि उहाँसँग साइनो नगाँसिएको भए मनभरि डर बोकेर फुङलिङ् बजार घुम्नु पर्ने हुन्थ्यो होला ? तर त्यस्तो भएन । बजार घुमिसकेपछि बेलुकी पख मेवाखोला रिसोर्टमा फिरेका थियौं । र, त्यहाँ एकरात समय बिताएपछि भोलि फुङ्लिङ् बजारलाई बिदाई गरेका थियौं ।

कुरो २५ डिसेम्बर २०२१ को हो । अन्य स्थानमा हुँदो हो त क्रिसमसको रमझम हुन्थ्यो । तर हामी पूर्वी नेपालको यात्रामा थियौं । र, यात्रामा म, तारा, दया बैनी र उनकी श्रीमान् थियौं । फुङलिङ्पछि हाम्रो यात्रा क्रमशः फिदिमहुँदै ईलामतर्फ झरेका थिए । वास्तवमा चिया र अलैँचीको मुख्यभूमि रहेको ईलाम जिल्ला सम्भवत नेपालको सबैभन्दा सुन्दर जिल्ला हुनसक्छ भन्ने मेरो ठम्याइ थियो । जुनकुरो मैले नेपालमा रहेको विभिन्न जिल्लाहरुको यात्राको क्रममा पूर्वको सिमाना काकरभिट्टादेखि पश्चिमको सिमाना दोधारा चादँनीसम्म पुगेर निकालेको निश्कर्ष थियो । तर त्यो जिल्ला नै राम्रो हो भन्ने मेरो विचार नितान्त व्यक्त्तिगत विचार हो । सायद अन्य मानिसलाई फरक जिल्ला पनि मन पर्न सक्छ ।

तर यदाकदा मलाई कसैले ठ्याक्कै, “तपाईलाई नेपालको सबैभन्दा बढी मन पर्ने स्थान कुन हो ?” भनेर सोधिहालेको खण्डमा म आँखा चिम्लेर निस्फिक्रीको साथ कन्याम, ईलाम हो भन्न सक्नेछु ।

कन्याम घुम्ने सुन्दर सपना लिएर हाम्रो यात्रा क्रमशः अगाडी बढिरहेकै थियौँ । तर साखेजुङ पुगेर हाम्रो मोटरले एक झमट बिसौनीमा थकाइ मार्यो । हुनत मेरा पाठकहरुलाई ज्ञान भएकै कुरो हो । साखेजुङ तिनै गाउँको नाम हो । जहाँ पूर्व प्रधानमन्त्री झलनाथ खनालको जन्म भएको थियो । तर त्यहाँ पुगेर कसोकसो साखेजुङ, झलनाथ र सडकछाप नानीहरु सम्झँदा मेरा दिमाग पुनः एकचोटी रन्थनिएर आयो । सायद म पनि यो देशको मन्त्री वा प्रधानमन्त्री हुँदो हुँ त सर्पको अध्ययनमा खर्च गर्ने करौडौँ करोड सरकारी पैसा तिनै सडकछाप नानीहरुको पढाइमा खर्च गर्थे हुँला ?

तर म त्यति भाग्यमानी मानिस कहाँ छु र ? मलाई थाहा छ । म कहिलै पनि जिन्दगीमा मन्त्री हुन सक्त्तै सक्त्तिन । र, सरकारी पैसाको उपभोग पनि गर्न पाउँदिन । हुनत मैले यसो भनिरहँदा उपयोगितावादका पिता जेरेमी बेन्थनले भनेको एउटा कुराले चाहिँ हरेक मानवको हृदय छुन्छ । किनभने मानिसले जुनसुकै काम गरेता पनि “अधिकतम मानिसहरुको अधिकतम खुसी” को लागि गर्नु पर्छ उनले भनेका छन् । यदि चिनियाँ दर्शनशास्त्री लाउत्सुले झैँ राम्ररी मनन गर्ने हो भने वास्तवमा सर्प पाल्ने काम त न्यूनतम मानिसका लागि अधिकतम खुसी हो कि भन्ने मलाई कताकता भान पर्यो । तर सबै मानिसको विचार एउटै नहुन पनि सक्त्तछ ।

साखेजुङलाई छाडियो र सर्पको कुरो पनि सकियो । तर पुवाखोला पार गरेपछि भने मेरा नयनहरु हल्का रक्त्तिम हुँदै आइरहेका थिएँ । किनभने हामी त्यसबेला बरबोटेको कुइँनेटोमा सुस्तरी गुडिरहेका थियौँ । अब त्यहाँ पुगेपछि मैले डाक्टर तारानाथ शर्माको बेस्सरी याद गरें । हुनत उहाँ अहिले हामीसँग हुनुहुन्न । तैपनि बरबोटे तिनै गाउँ हो । जहाँ आजभन्दा लगभग आठ दशक अगाडी उनको जन्म भएको थियो । त्यहाँ जन्मेता पनि उनले अध्यानको क्रममा बेलायतसम्म पुगेर बरालिएका मात्र होइन । अमेरिकन भूमिमा पनि राम्ररी परेड खेलेका थिए ।

अब ताना शर्माले अमेरिका र युरोपमा अध्ययन गर्ने सगौरव अवसरहरु पाउँदा त्यसको आठ दशकपछि निगुरो बेच्ने इलामे राईनीहरुले खै के पाउने हुन् कुन्नि ? वास्तवमा यो कुरो बुझ्न मैले निक्कै मेहनत गर्नु पर्ने हुन्छ । अझ यसो भनौं । मेरो जस्तो दिमाग हुने मूलवासीहरुलाई अलिक हम्मे हम्मे पर्छ । सम्भवत आइन्स्टाइनकै दिमागको आवश्यकता पर्छ होला ? सन् १९९९ मा मक्कास्टर युनिभर्सिटीका वैज्ञानिकहरुहरुले उनको दिमाग साधारण मानिसको भन्दा अलिक सानो छ भनेका छन् । हुनत अहिले पनि उनको दिमागको विषयमा अध्ययन गर्न मिलिहाल्छ । किनभेन म फिलाडेल्फिया पुग्दा त्यहाँको कुटर सङ्ग्राहलयमा उनको दिमाग छन् भनेर पत्ता लगाएको थिएँ ।

आइन्सटाइनलाई त्यहीँ छाडौं । एउटै राज्यको मानिसहरुले फरकफरक सुविधा भोग गर्न पाउनुमा राज्यको उपल्लो तहमा बस्ने मानिसहरुको कि साधारण जनताको दोष होला ? त्यो पनि सोच्नु पर्ने हुन्छ । हुनत यो कुरो यहाँ भन्न मिल्छ वा मिल्दैन ? तारानाथ र दुर्गानाथहरुले देश विदेशमा अध्ययन गर्ने अवसर पाउँदा के राज्यले सबै मानिसलाई समान व्यवहार गरेको छ त ? यसको सही जवाफ भेट्न नसकिएतापनि निश्चय नै मलाई केहीबेर सोचनीय बनाइरह्यो ।

त्यति रमाइँलो गाउँ बरबोटे छाडेपछि मोटर एक रफ्तारमा गुडिरहेको थियो । किन किन त्यसबेला मेरो तन ईलाममा र मन इलामे जनताहरुप्रति समर्पित भइरहेका थिए । राष्ट्रले जनताप्रति गर्ने भेदभावको कडा विरोधी युवाको एउटा नाम हो, – रत्न कुमार बान्तवा । मानव जीवनले एउटा कुरो के विचार गर्नु पर्छ भने, ‘दरिद्रता र अन्यायले क्रान्तिको मात्र जन्म दिन्छ ।” तिनै क्रान्तिको पर्यायबाची नाम हो, बान्तवा । उनको जन्म २००८ सालमा ईलाम जिल्लाको सानो गाउँ चित्रेमा भएको थियो ।

२७ चैत्र २०३५ सालमा देउमाईको किनारमा रहेको इभाङ्ग जङ्गलमा छातीमा गोली ठोकेर तत्कालिन सरकारले उनको बिभत्स हत्या गरेको थियो । उनलाई हत्या गर्दा उछिट्टिएका रगतका बाछिटाहरु तिनै जङ्गलका चिलाउनेका रुखहरुमा परेका थिए । हरेक वर्ष तिनै चिलाउनेका रुखहरु पालुवा फेरेर बढ्ने क्रम जारी भएतापनि दीनदुःखी र अशिक्षित वर्गको लागि आन्दोलनमा उत्रिएका बान्तवाको नाम भने घट्दै वा गुमनाम हुँदै गइरहेको छ । ईलाम बजार काटेर उनको समाधिस्थल पार गर्दैगर्दा मैले एकपटक टोपी खोलेर रत्न कुमार वान्तवालाई हार्दिक सलाम गरेको थिएँ ।

बादलुको घुम्तीभित्र सधैँ हराइरहने ईलाम बजारलाई छाडेर हामी फिक्कलमा तस्विरका लागि रोकिएका थियौं । त्यसपछि मोटर कन्याममा पुगेर अर्कोपटक रोकियो । कन्याम मेरो दोश्रो चोटीको गन्तव्य थियो । पहिलो चोटि यहाँदेखि शुरु गरेको यात्रा बाबुको पालाको गुन्द्रि बजार र मेरो समयको दार्जीलिङ, खरसाङ, कालिम्पोङ । र, सिक्किमको जोरथाङ, नाम्ची, गान्तोक हुँदै सिलगुरीमा पुगेर अन्त गरेको थिएँ । कन्यामको यात्रा ताराको लागि बिल्कुल पहिलो पटकको थियो । त्यसैले हामी त्यहाँ पुग्ने बितिक्कै हतारहतार एक-एकवटा सेतो घोडा चढिहालेका थियौं । त्यसपछि घोडाबाट सवार भएर नजिकै रहेको चिया थुम्काहरुलाई सुस्तरी चक्कर मार्न थालेका थियौं ।

तर त्यसरी चियाबारीको थुम्कालाई चक्कर मार्दै गर्दा मलाई अचानक रियाद पुगेको झझल्को आउन थाल्यो । रियाद पुगेको निक्कै लामो समयपछि हामी जेरुसेलममा पनि पुगेका थियौं । तर तिनै रियाददेखि जेरुसेलम पुग्ने प्रोफेट महम्मदको कथा भने मेरोभन्दा अलिक पृथक रहेको छ । ईस्लाम धर्मका अनुयायीहरुले उनी हाम्रा भगवान हुन् । र तिनै भगवान प्रोफेटले रियाददेखि जेरुसेलम पुगेर वायुपङ्खी घोडामा चढेर स्वर्गमा बिलय भएका थिए भन्ने विश्वास गरेका छन् । त्यसमा कतिको सत्यता छ । त्यो त मलाई पटक्कै थाहा छैन् । तर सत्य चाहिँ के हो भने हामी कन्यामको चियाबारीमा तारासँग निक्कैबेर बिलय भइरहेका थियौं ।

निश्चय नै कन्याम र चिया एक अर्कामा पर्यायवाची शब्द हुन् भन्नमा कसैले कन्जुस्याइँ गर्न मिल्दै मिल्दैन् । लगभग १५/१६ वर्ष अगाडीदेखि कफीलाई सधैँको लागि तिलान्जली दिएपश्चात् चियाप्रति मेरो गहिरो प्रेम बस्न थालेको छ । तर चियाको इतिहास पनि एक प्रकारले गज्जबको नै छ । त्यसको अध्ययन गर्न म एक दिन बेइजिङ वा म्याण्डरिन भाषामा (बे भनेको उत्तर र जिङ भनेको राजधानी) उत्तरको राजधानी बेजिङ अथवा पूर्व पेकिङ पुगेको थिएँ ।

चीनमा इसापूर्व २७३७ तिरको एकदिन यस्तो घटना घट्न जान्छ । एक बिहान चिनियाँ सम्राट शेन नुङ एक कप तातोपानी लिएर एउटा रुखको मुनि बसिरहेको हुन्छन् । अचानक आएको हुरीले सम्राटको कपमा क्यामेलियाको पात खसेर पस्छ । र, उनले तिनै पातदेखि आएको रसलाई मज्जाले पिइदिन्छन् । सम्भवत त्यसै दिनदेखि त्यसको नाम चिया राखियो र चियाको विकास विश्वभरि तीव्र गतिले फैलिदैं गयो ।   

चियाको इतिहास मात्र होइन । हामीले बेजिङमा छँदा चिया आस्वादक उत्सव (टि टेस्टिङ सेरेमनी) मा भाग लिने सुनौला अवसर पनि पाएका थियौं । अनि त्यसबेला चिया चखाउने जवान पट्ठीकी नाम चाहिँ अमन्डा थियो । उनको नाम अमन्डा कसरी रहन गयो होला भनेर मेरा पाठकहरु छक्क पर्नु हुन्छ होला ? तर प्रायः चिनियाँहरुको नाम चिनियाँ भाषा र अङ्ग्रेजी भाषामा गरेर दुई प्रकारले राखेका हुन्छन् । तिनै पट्ठीले साधारणतया चिनियाँ चियाहरु सेतो, हरियो, पहेलो, ओलाङ, कालो र गाढा रङ्का हुन्छन् भनेर हामीलाई भनेकी भनिन् ।

तर उनले भनेको बाहेक मैले रातो चिया पनि निक्कैचोटी पिएको छु भन्ने त्यसबेला झल्यास्सै याद गरें । रुइँबुस वनस्पतिबाट बन्ने उक्त्त चिया अफ्रिकन रातो चिया भनेर विश्वभर मज्जाले चिन्ने गरिन्छ । तर उनले त्यतिबेला चीनियाँ चियाको मात्र कुरो गरेकी होलिन् भनेर मैले केही सोध्ने जमर्को गरिनँ । उनले ती माथि उल्लेख गरिएका सबै चियाहरुको विषयमा बताइसकेपछि हामीलाई सबै चियाको स्वाद चाख्ने अवसर पनि प्रदान गरेकी थिइन् । हुनत मैले संसारको विभिन्न आनन्ददायी होटलहरुमा प्राप्त गरिने मध्यान्हको चिया (आफ्टरनुन टि) पिउँदै गर्दा तिनै चियाहरु पिएको बेजोडले अनुभव सङ्गालेको छु । त्यसो त चिनियाँ चियाहरुदेखि बाहेक भारतीय चियाहरु दार्जिलिङ, सिक्किम र आसामहरु पनि कहाँ कम छन् र ? तर मैले यहाँनेर इङ्लिस ब्रेकफास्ट टीको चाहिँ कुरो गर्न चाहिनँ ।

हाम्रो यात्राको समय अविरल नदी झैं बहिरहेको थियो । त्यसैले हामीलाई कन्याममा ईलामे चियाको स्वाद लिने मौका भने जुर्न सक्त्तै सकेनन् । जे सुकै भएतापनि कन्यामसँग बिदा मागेर चारआली झर्दै गर्दा हाम्रो दिन समाप्त भएर सूर्य अस्ताउने काम भइरहेको थियो । कसोकसो भाग्यले साथ दिएर सूर्यास्तको रमाइलो दृश्यावलोकन गर्ने समयमा हामी ठ्याक्कै पूर्वपश्चिम राजमार्गमा पस्दै थियौं । त्यसरी हामी पूर्वबाट पश्चिम लाग्दै गर्दा हाम्रो ताप्लेजुङ, पाँचथर, ईलाम र झापाको यात्रा पनि पूरा हुनै आँटेको थियो । खै मलाई त्यसबेला किन हो किन ? थोरै मन उद्वेलित भइरहेको थियो । त्यसैले प्रख्यात क्रान्तदर्शी कवि रडयार्ड किपलिङले लेखेको कबिताको एक हरफ स्मृतिमा जागिरहेको थियो ।

“आखिर पूर्व भनेको पूर्व हो, र पश्चिम पश्चिम नै हो । र, यी दुईको कहिलै भेट हुने छैन ।” 

अक्सफोर्डसायर ।

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री