
काठमाडौँ । पुरातत्व विभागले बेलायतबाट नेपाल फिर्ता भएका दुई वटा पुरातात्विक एवं सांस्कृतिक महत्वका कलावस्तु र मूर्ति राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरेको छ ।
ती दुई वटा पुरातात्विक महत्वका कलावस्तु आज यहाँ आयोजित एक कार्यक्रमबीच विभागका महानिर्देशक दामोदार गौतमले सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । नेपालबाट चोरी भएका दुई पुरातात्विक कलात्मक वस्तु लण्डनस्थित नेपाली राजदूतावास, त्यहाँको मेट्रोपोलिटन पुलिस र नेपालको पर्यटन मन्त्रालय र अर्थमन्त्रालयको समन्वयमा स्वदेशी फिर्ता गरिएको विभागले जनाएको छ ।
बेलायतबाट फिर्ता ल्याइएको सांस्कृतिक महत्वका र पुरातात्विक महत्वका दुई सम्पदा सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको विभागका महानिर्देशक गौतमले जानकारी दिनुभयो । उहाँले नेपालको स्वामित्व भएका अरु धेरै चलायमान थप सांस्कृतिक सम्पदा पहिचान भई नेपाल फर्किने क्रममा रहेको बताउनुभयो ।
पुरातात्विक कलावस्तुमध्ये काठको कलात्मक तोरण कला शैलीको हिसाबले १७औँ वा १८औँ शताब्दीतिर बनेको मानिएको छ । उक्त तोरण काठमाडौँ महानगरपालिका–२३ मा रहेको कुमारी वहाको प्रवेशद्वार माथिबाट सन् १९८०–९० को दशकमा चोरी भएको थियो ।
यस्तै प्रस्तरबाट निर्मित नमस्कार मुद्रामा बसेको भक्तको मूर्ति कलाशैलीको हिसाबले १६औँ वा १७औँ शताब्दीमा बनेको मानिएको छ । उक्त मूर्ति कामनपा वडा नं २३ मञ्जुश्री मन्दिर नजिकै रहेको ओम बहालबाट सन् १९८० मा हराएको थियो । ती कलात्मक सामग्री विभिन्न माध्यम हुँदै लण्डनमा पुगेको र उत्पत्तिस्थल नेपाल भएको पुष्टि भएपछि लण्डनस्थित मेट्रोपोलिटन पुलिसको सहयोगमा १८ मार्च २०२२ मा लण्डनस्थित नेपाली राजदूतावासलाई हस्तान्तरण गरिएको थियो ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कलात्मक वस्तुको बीमा तथा ढुवानीको खर्च बेहोरेर ती कलात्मक वस्तु नेपाल ल्याइएको हो । नमस्ते एटुजेट कम्पनी लण्डनसँग समन्वय गरी कलात्मक सामग्रीहरु भदौ ७ गते टर्किस एयरबाट इस्तानबुल हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विभागको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म भारत, तिब्बत, अस्ट्रिया, अमेरिका, जर्मनी, इटाली र युरोपियन नागरिकबाट गरी जम्मा ७२ थान मूर्तिहरु, धार्मिक ग्रन्थ तथा कलावस्तु साथै बेलायतबाट २०५२ चैत १९ मा फिर्ता भएका १९ थान र भदौ ७ गते फिर्ता भएका दुई थान कलात्मक वस्तु गरी जम्मा ९३ थान कलात्मक वस्तु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा सङ्घसंस्थाको प्रयासबाट फिर्ता भइसकेको विभागले जनाएको छ ।
यसबाहेक अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, अस्ट्रेलिया जस्ता देशबाट थप अरु केही कलावस्तु फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छ । महानिर्देशक गौतमले नेपाल फिर्ता भएका पुरातात्विक वस्तुको कानूनी प्रक्रिया पुर्याएर हराएका स्थानमा कलावस्तु प्रतिस्थापन गरिने जानकारी दिनुभयो ।
विभिन्न माध्यमबाट नेपालको सम्पदा पहिचान भएका मूर्तिको फिर्ता गर्ने, विभिन्न देशमा छरिएका मूर्तिको संरक्षण गर्न र मूर्ति भविष्यमा हराउन नदिन सचेतना अभिवृद्धि गरिनेछ । पर्यटन मन्त्रालयले हराएर विभिन्न मुलुकमा फेला परेका सम्पदाको नेपाल फिर्ताका लागि बजेट विनियोजन गरेर काम गरिरहेको विभागले जनाएको छ ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम