पाँचथर थर्पु समाज युकेको वार्षिक भेटघाट

लण्डन । पाँचथर थर्पू समाज यूकेको नवौँ वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

गत आइतबार १४ अगस्टको दिन अल्डरसटको एम्पायर हलमा भएको कार्यक्रममा अतिथिहरुसहित झण्डै ६० जनाको उपस्थिति रह्यो ।

समाजका अध्यक्ष खुशी लिम्बूको अध्यक्षता र सचिव योगेन्द्रविक्रम तावाको सञ्चालनमा भएको कार्यक्रममा पाँचथर समाज सेवा यूकेका पूर्व साँस्कृतिक सचिव महेश्वरी नेम्बाङको विशेष उपस्थिति रह्यो । त्यस्तै, किराँत याक्थुङ चुम्लुङ यूकेका उपाध्यक्ष शान्त हुक्पाचोङबाङ, कोषाध्यक्ष दीपेन्द्र यक्सो, पूर्व वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङ, पूर्व महासचिव विजयविक्रम लिङदेन लगायतका अतिथिहरु पनि उपस्थित थिए ।

कार्यक्रममा समाजका पूर्व अध्यक्षद्वय चन्द्रबहादुर सुन्दास र तिलबिक्रम तावा, साथै समाजका सल्लाहकारहरु मनकुमार काम्बाङ, मोहन माबो, ठालुमान माबो, आइतहाङ माबो र लीला सेलिङ माबोलगायत समाजका वरिष्ठ सदस्यहरु उपस्थित थिए ।

कार्यक्रमको अध्यक्ष र विशेष अतिथिले पानसमा दीप प्रज्वलन गरेर उदघाटन गरेका थिए। त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय गीत बजाएर औपचारिक कार्यक्रमलाई अघि बढाइको थियो । कार्यक्रमको प्रारम्भमा कार्यसमिति सदस्य श्रीमती नन्द सुन्दासकी ममतामयी आमा हर्कमाया रनपहेलीको हालै निधन भएको साथै कोभिड र विभिन्न कारणले विगत तीन वर्षमा दिवंगत भएका समाजका सदस्यहरुका आफन्त र नातागोताहरुको सम्झनामा एक मिनेट मौन धारण गरियो ।

कार्यक्रममा कोषाध्यक्ष बिमला सिगूले स्वागत मन्तव्य दिइन् भने समाजका पूर्व अध्यक्ष चन्द्रबहादुर सुन्दासले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रमको प्रथम सत्रको अन्तमा यस वर्ष विभिन्न विधाहरुमा सफलता हासिल गर्ने समाजका सदस्यहरुलाई अध्यक्ष खुशी लिम्बूले खादा र प्रमाणपत्र प्रदान गरी बधाई ज्ञापन गरे । जसमा युनिभर्सिटी अफ लण्डन, रोयल होलवेबाट इतिहासमा बीए गर्ने नेहा तावा, एडल्ट नर्सिङमा बीए गर्ने मञ्जू तावा, कम्प्युटर साइन्समा बीएस्सी गर्ने आशिष तावा, अकाउण्टिङ र फाइनान्समा बीए गर्ने युञ्छो तावा, सिनियर आइटी अफिसर हुने आशिष सुन्दास, गणितमा बीए गर्ने सिलिया माबो, क्रिमिनलजी अन्तर्गन कर्पोरेट क्राइममा मास्टर्स गर्ने लीला हाङमा माबो थिए ।

समाजका निवर्तमान अध्यक्ष तिलविक्रम तावाले वर्तमान अध्यक्ष खुशी मान तावालाई समाजको सहयोगमा सिरिसे निमावि गत वर्ष माध्यमिक विद्यालयमा स्तरोन्तति भएकोमा खुशी व्यक्त गर्दै झण्डै एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । उक्त रकम यसै वर्षको अन्ततिर सिरिसे स्कूल भवनको शिलालेख तयारी र भवन हस्तान्तरण समारोह आयोजनामा खर्च गरिने भएको छ ।
कार्यक्रमको दोश्रो भागमा नेपालदेखि आएका गायक राजन कार्कीले आफ्ना मौलिक सांगीतिक प्रस्तुतिबाट उपस्थित सबैलाई मनोरञ्जन दिलाएका थिए । त्यस्तै स्थानीय कलाकार आकृति राईको नृत्य प्रस्तुतिहरु अति नै मनमोहक थिए ।

कार्यक्रममा राफल ड्र पनि आयोजना गरिएको थियो, जसको सञ्चालन समाजका सल्लाहकार मनकुमार काम्बाङले गरेका थिए ।

कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष खुशीमान तावा लिम्बूले कार्यक्रम सफल पार्न आ-आफ्नो तर्फबाट सहयोग पुर्याउने र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सोही स्तरको सहयोग र सदभावको अपेक्षा राखेका छन् ।

पाँचथर थर्पू समाज यूके सन् २०११ मा बेलायतमा स्थापना भएको थियो । बेलायतमा रहेका आफ्ना सदस्यहरु र आफ्नो उदगम स्थल पाँचथर जिल्लाको साविक थर्पू गाविसको सहयोग र विकासमा काम गर्दैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री