एनआरएनए यूके महासचिवमा नम्रता घले नियुक्त, कोषाध्यक्षसित स्पष्टीकरण माग

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले महासचिवमा सचिव नम्रता घले गुरुङलाई नियुक्त गरेको छ । यसअघि महाधिवेसनबाट निर्वाचित महासचिव खुशी लिम्बुलाई भने बर्खास्त गरिएको बताइएको छ  । घलेलाई बाँकी अवधिका लागि महासचिवमा नियुक्त गरिएको बताइएको छ । यसअघि उनले सचिव पदमा कार्यरत थिइन् ।

गत ६ अगष्टमा अल्डरसटमा सम्पन्न संस्थाको ११ औं वार्षिक साधारणसभाले लिम्बुलाई बर्खास्त गर्ने निर्णय गरेको अध्यक्ष प्रेम गाहा तथा महासचिव नम्रता घले गुरुङद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा, ‘महासचिव लिम्बुले संस्थाको विधि, विधान र आचरणविपरित कार्य गरेको भन्ने सम्बन्धमा अध्यक्ष प्रेम गाहामगरले विभिन्न प्रमाण, लिम्बुलाई सोधिएको स्पष्टीकरण र गठित छानविन समिति र सो समितिको प्रतिवेदनबारे अवगत गराउनु भएको थियो । सभाका प्रतिनिधिहरुको राय सल्लाहपछि अध्यक्ष मण्डलले खुशी लिम्बुलाई संस्थामा राखिराख्न उचित नभएको निष्कर्षसहित ११ औं साधारणसभा तथा संघसंस्था प्रतिनिधिसभाले वर्खास्त (फायर) गर्ने निर्णय गरेको’ उल्लेख छ । साथै, साधारणसभाले लिम्बुलाई दुई साताभित्र संस्थाको सबै जायजेथा फर्काउन निर्देशन दिने निर्णय गरेको जनाइएको छ ।

यसबारेमा प्रतिक्रिया लिँदा गत महाधिवेसनबाट महासचिवमा निर्वाचित खुशी लिम्बुले भने कार्यसमितिभित्र आफैँ अल्पमतमा परेका अध्यक्षले गरेको कारबाही वैधानिक हुन्छ र भन्ने प्रश्न गरे । उनले कार्यसमितिका कुनै पनि पदाधिकारी र सदस्यलाई कारबाही गर्दा विधानमा टेकेर गर्नुपर्ने बताउँदै राष्ट्रिय समन्वय समितिका कुनै पनि सदस्य र पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय समन्वय परिषदले मात्र हटाउन सक्ने जिकिर गरे । साधारण सभालाई समेत कार्यसमितिका सदस्य वा पदाधिकारीहरु हटाउने अधिकार नरहेको उनले बताए ।

उता, एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेलले संघका अध्यक्षको जानकारी बिना एनआरएनए आइसिसीको खातामा ३९ हजार २८५ पाउण्ड ७३ पेन्स (३९,२८५.७३) रकम पठाएकोमा सो रकम १४ दिनभित्र फिर्ता गराउन कोषाध्यक्ष खरेललाई साधारणसभाले निर्देशन दिएको विज्ञप्तिमा छ ।

कोषाध्यक्ष खरेलले बेलायतको च्यारिटी कमिसनको नियमविपरित र पब्लिकको म्यान्डेटबिना ‘पब्लिक फन्ड’ पठाएको हुनाले १४ दिनभित्रमा सो रकम फिर्ता नभए बेलायतको प्रचलित कानुनअनुसार प्रक्रियामा जाने निर्णय गरेको जनाइएको छ । साथै सो बारेमा सत्यतथ्य बुझी संस्थाको पैसा फिर्ता गर्न ११ औँ साधारणसभा तथा संघसंस्था प्रतिनिधिसभाले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिको संयोजकमा एनआरएनए युकेका सल्लाहकार डा. भीम पुन, सदस्य सचिवमा पूर्व एनआरएनए आइसीसी सदस्य तथा एनआरएनए यूकेका सल्लाहकार विश्वासदीप तिगेला र सदस्यमा स्याङ्जा जिल्ला समाज यूकेका अध्यक्ष तथा एनआरएनए यूकेका सल्लाहकार शारदा गुरुङ छन् ।

सो समिति र कार्यसमिति अनि सम्बन्धित व्यक्ति समेतको समन्वय गर्न सहजकर्ता (मिडिएटर)का रुपमा एनआरएनए यूकेका पूर्व अध्यक्षहरु रिटायर्ड मेजर डमर घले (एमबीई), योगेन्द्र क्षेत्री र सल्लाहकार ओम थापालाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री