गायिका शर्मिला बर्देवाको “यो मुटुको” गीत सार्वजनिक

लण्डन । लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाको नयाँ गीत “यो मुटुको” सार्वजनिक भएको छ ।

युवा गीतकार रवि मल्लले लेखेको र चर्चित युवा संगीतकार कल्याण सिंहको संगीत रहेको ‘यो मुटुको’ बोलको गीत शनिबार गायिका बर्देवाको आफ्नै युटयूव च्यानलबाट रिलिज गरिएको हो ।

शर्मिला बर्देवा अफिसियल युट्यूब च्यानलबाट रिलिज भएको ‘यो मुटुको’ गीतको म्युजिक भिडियो निर्देशन भने बेलायतमै बसोबास गर्दै आएका चर्चित कलाकार तथा नृत्य निर्देशक प्रभु गुरुङले गरेका छन्। भिडियोमा सलिना थापामगर र सरोज केसीलगायत सुदेश गौचन र नरबहादुर गुरुङको समेत अभिनय रहेको छ । भिडियोको छायाँकन र सम्पादन दुवै सुमन श्रेष्ठले गरेका हुन् । भिडियोको कलर ग्रेडिङ नविन निरौलाले गरेका छन् भने श्रृङ्गार पुस्पा गुरुङले गरेकी छिन् । एसबी वर्ल्ड म्युजिकको व्यानरमा गायिका बर्देवाका श्रीमान सरोज परियारले भिडियोको निर्माण गरेका हुन्।

थुप्रै म्युजिक भिडियोमा देखिएकी लोकप्रिय कलाकार सलिना थापा मगरले हालसालै मात्र सनम कुमार बैरागद्वारा निर्देशित चलचित्र ‘कैदीको पत्र’मा पनि अभिनय गरेकी छिन्। पछिल्लो समयको सर्वाधिक लोकप्रिय सामाजिक संजाल टिकटकमा धुम मच्चाउन सफल कलाकार सरोज केसीको भने यो पहिलो डेब्यू म्युजिक भिडियो अभिनय रहेको छ।

कलाकार बर्देवा दुई दशकदेखि आधुनिक, लोक, राष्ट्रिय गीत लगायत नेपाली सिने जगतकी चर्चित तथा भर्सटाइल पार्श्व गायिका समेत रहेकी छिन् । उनले गाएका दर्जनौं लोकप्रिय गीतहरुमध्ये ‘आँखैमा झलझली हितैको दौँतरी’, ‘फूलको जवाफ पत्थरले दिनेलाई’, ‘मेरो हजुरलाई के दिउँनी भेट’, ‘नील काँडा झैँ मन फूल्यो’, ‘रक्सी बेचेँ आलु बेचेँ’, ‘सर सर अलि वर’, ‘हिउँचुलीमा हिउँ’, लगायत पार्श्व गायनमा ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’, ‘तस्वीरमै यस्तो’, ‘बेहुली हुने रहर’, ‘कान्तिपुरी हो कि यो हो प्रेम नगरी’, ‘चोली टिम्मिक्कै’, ‘सुनको बिहानी’, ‘मनकी चरी उडी उडी’, ‘बेला बज्यो कताकता’ जस्ता सयौंभन्दा बढी गीत चर्चित छन् ।

स्वदेश छाडेर विदेशियता पनि गायिका बर्देवाले आफ्नो संगीत र गायनलाई निरन्तरता दिँदै आएकी छिन् । उनले आफ्नो स्वरले साथ दिइन्जेल क्रमश गीतहरु गाइ नै रहने बताइन्।

यसअघि २०७३ सालमा पनि सङ्गीतकार बसन्त सापकोटा र गीतकार नृपेश उप्रेतीको “मेरो ठुम्कामा” बोलको गीतको म्यूजिक भिडीयोको सार्वजनिक गरिएको थियो । पछिल्लोपटक सङ्गीतकार हरि लम्सालको सङ्गीत अनि राजुबाबु श्रेष्ठको रचनामा ‘थाहा छैन के के पाएँ के के गुमाएँ’ बोलको गीतको भिडियो पनि गायिका बर्देवाको आफ्नै युटयूव च्यानलबाट रिलिज गरिएको थियो।

यी बाहेक प्रकाश पून्जको शब्द र शिखर सन्तोषको सङ्गीतमा ‘मेरो मनमा बस’, डाक्टर दुर्गाबहादुर सुवेदीको शब्द अनि बिसी राईको सङ्गीतमा ‘फूलहरू फूल्न थाले’ जस्ता गीतहरू बजारमा आइसकेका छन् । गायिका तथा संगीतकार मीरा राणाको गीत ‘फाटे सिउँथे चौबन्दी मन सिउने धागो छैन’, संगीतकार तथा वरिष्ठ भायोलिनबादक रूपक शाही समुद्रीको सङ्गीतमा ‘चाहिँदैन चाहिँदैन’, ‘रमाइलो जुनेली रात’ लगायत हरिभक्त कटुवालको शब्दमा ‘वन कुसुमको कुन्जभित्र विरही’ बोलको गीतहरुको रेकर्डिङ कार्य समापन भैसकेको र छिटै सार्वजनिक हुने जानकारी दिइन् ।

सात सयभन्दा बढी गीतहरुमा आफ्नो आवाज दिइसकेकी शर्मिलाले शास्त्रीय गायनमा डिप्लोमासमेत गरेकी छन् । उनले नेपाली, नेवारी, मैथिली,भोजपुरी, हिन्दी तथा पन्जाबी लगायतका अन्य भाषाहरूमा समेत आफ्नो आवाज दिइसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री