गोरखा समस्या र एनआरएन नागरिकतामा सांसदहरुको प्रतिवद्धता

लन्डन । बेलायत भ्रमणमा रहेका नेपालका पूर्व मन्त्री तथा सांसदहरुले गोरखाहरुको समस्या समाधान गर्न र गैरआवासीय नेपालीलाई नागरिकता दिने विधेयक टुंग्याउन प्रतिवद्धता व्यक्त गरेका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका पूर्वमन्त्री र सांसदहरुसंग शुक्रबार साँझ आफ्नै कार्यालयमा गरेको अन्तरक्रियामा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
अन्तरक्रियामा पूर्वमन्त्रीहरु डा. मिनेन्द्र रिजाल र सुरेन्द्र पाण्डे तथा सांसदहरु प्रमिला राई, जयकुमार राईलगायत उपस्थित थिए ।
भूतपूर्व गोर्खा मुद्दा र एनआरएनए नागरिकता केन्द्रित उक्त कार्यक्रममा पूर्व मन्त्री र सांसदहरुले प्रवासमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्काउने वातावरण मिलाउन, उनीहरुलाई आवश्यक सुविधा दिन र गोर्खा मुद्दा समाधानमा दत्तचित्त भएर लाग्ने आश्वासन दिए ।
कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले भूतपूर्व गोर्खा मुद्दामा नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले पटकपटक पहल र प्रतिवद्धता व्यक्त गरेको स्मरण गर्दै यो विषय गम्भीर रुपमा टुंग्याउनुपर्ने बताए ।
डा. रिजालले नागरिकता विधेयक संसदमा प्रस्तुत भइसकेकाले त्यो पारित हुनेमा ढुक्क हुन आग्रह गरे ।
‘हामीले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार रहने भनेर संविधानमा लेख्यौं तर कानून नियमले संकुचित गर्न खोज्यौं’ उनले भने, ‘केही साथीहरुले संविधानमा लेखिएका कुरा अहिले तलमाथि गर्न खोजेर विधेयक अड्किइरहेको छ ।’
कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भूतपूर्व गोर्खा मुद्दा समाधान गर्न सहज नभएपनि समाधान नगरी नहुने भएकाले बेलायत सरकारलाई तीव्र दवाव दिइरहन आवश्यक रहेको बताए ।
नेता पाण्डेले गोर्खा मुद्दामा ऐक्यवद्धता जनाउंदै आफूहरु नेपाल फर्किएर परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटी यसबारे थप झक्झकाउने आश्वासन दिए ।
पाण्डेले नेपालको संविधानले प्रदत्त गरेको गैर आवासीय नागरिकता दिने सवालमा खास समस्या नभएको तर वंशजको नागरिकता दिन्छौं भन्न नसकिने बताए । उनले एनआरएनए नागरिकता विधेयक पारित हुने बताए ।
‘तपाईंहरु नेपाल नगएपनि बुद्धि र पैसा नेपाल पठाउनुस्, यहाँ पार्टीगत गुट उपगुट वा जुलुस धर्ना गरेर नबस्नुस्’, पाण्डेले सुझाए, ‘बरु बेलायती संसदमा नेपाली प्रतिनिधित्व हुने वातावरण मिलाउन सके हाम्रा कुरा सीधैं संसदमा राख्न सकिन्छ ।’
कार्यक्रमका सभापति तथा एनआरएनए यूके प्रेम गाहामगरले नेताहरुसंग भूतपूर्व गोर्खा मुद्दा समाधानमा पहल र संसदमा विचाराधिन गैर आवासीय नेपाली नागरिकता विधेयक पारित गर्न पहलका लागि जोड दिए ।
एनआरएनए यूके उपाध्यक्ष तथा कार्यक्रम संयोजक मोहन कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा सांसदहरु पदम गिरी, जयकुमार राई, श्याम श्रेष्ठ, रामबाबु यादव, प्रमिला राई, एनआरएनए यूके प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व महासचिव आरके त्रिपाठी, भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राई लगायतले पनि सम्वोधन गरे ।
नेपालका प्रमुख दलका वरिष्ठ नेताहरु सहभागी कार्यक्रम र गहन मुद्दामा राखिएको अन्तरक्रियामा एनआरएनए यूके कार्यसमितिकै पदाधिकारी भने सहभागी थिएनन् ।
कार्यक्रममा आफू, उपाध्यक्ष मोहन कार्की, युवा संयोजक तीर्थ मल्ल र सदस्य बालकृष्ण दाहाल मात्र सहभागी भएपछि अध्यक्ष प्रेम गाहामगरले यसलाई ‘दुःखद’ र ‘विडम्बना’ भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री