
लण्डन । कोरोना भाइरसका कारण विश्व महामारीको चपेटामा पर्दा करिब दुई वर्ष ठप्प रहेको बेलायतको नेपाली समाजमा फेरि गतिविधिहरु बढ्न लागेका छन् ।
समाजको सक्रियतासँगै मनोरञ्जन दिलाउनका लागि नेपालबाट कलाकारहरु पनि बेलायत आउने क्रम बढ्न थालेको छ ।
यो समाचार तयार गर्दासम्म करिब एक दर्जन नेपाली कलाकारहरु बेलायत आइपुगेका छन् भने त्यो भन्दा ठूलो संख्या बेलायत जाने प्रक्रियामा छन् ।
कोरोना भाइरस साम्य भएपछि गायिका एलिना गुरुङले पहिलोपटक बेलायत आउने मौका पाइन् । उनीपछि नेपाली समाज नटिंघमको निमन्त्रणामा दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक विशाल रायमाझी बेलायत आए । यसैगरी, शिव मन्दिर अल्डरसटको च्यारिटी डिनरका लागि गायक कृष्ण अखिली र गायिका तुलसा क्षेत्री बेलायत आए । यस्तै, बाग्लुङे समाज युकेको वार्षिक भेटघाट कार्यक्रमका लागि गायक रेशम निर्दोष र गायिका अनुपा मगर बेलायत आएका छन् ।
सृजनशील नेपाली समाज युकेको कार्यक्रमका लागि ग्रेटर रसमुर नेपाली कम्युनिटीको निमन्त्रणामा गायिका शान्ता रानी परियार, मोडल तथा नृत्याङ्गना रिना थापामगर बेलायत आइपुगेका छन् भने हाँस्यकलाकार निर आले र गायक बिलन थापा बेलायत आउने तयारीमा छन् । गायिका भूमिका शाह पनि कार्यक्रमकै लागि बेलायत आइपुगेकी छिन् भने गायक बिरु लामा पनि बेलायतमै छन् ।
सुनगाभा इन्टरटेण्मेण्टको निमन्त्रणामा भ्वाइस नेपालका विजेता गायक राम लिम्बु र अर्की प्रतिस्पर्धी गायिका सञ्जु मोक्तान पनि बेलायत आउँदैछन् ।
यसैगरी, म्याग्दी ओभरसिज नेपाली एसोसिएसन (मोना) युकेको निमन्त्रणामा गायिका विमला श्रीश र हेमन्त कान्छा रसाइलीको भिसा लागिसकेको छ । यस्तै, पुन समाज युकेको निमन्त्रणामा गायक गगन पुन र गीता पाइजा पनि बेलायत आउने तरखरमा छन् ।
मगर संघ युकेले भ्वाइस अफ नेपालका फाइनालिष्ट गायिका तारा श्रीश, चर्चित गायक प्रकाश सपुत र नेपाल आइडलका विजेता गायक भूपेन्द्र थापामगरलाई बेलायतमा ल्याउन लागेको छ ।
उता गुल्मी जिल्ला समाज युके र स्याङजा समाज युकेले पनि वार्षिक भेटघाटका लागि दुई/दुई जना कलाकार बेलायत ल्याउने निर्णय गरी प्रक्रिया शुरु गरिसकेको छ ।

बेलायतमा बसोबासरत गायक मनसुधन थापामगर कोभिड महामारीका कारण करिब दुई वर्ष रमाइलो गर्न नपाएका बेलायतका नेपालीहरुमा रमाइलो गर्नुपर्छ भन्ने भावनाका कारण नै धेरै नेपाली कलाकारले बेलायत आउने मौका पाएको बताउँछन् । “महामारीपछि नेपालीहरुमा जीवन केही रहेनछ । जति बाँचिन्छ रमाइलो गरेर बाँच्नुपर्ने रहेछ भन्ने सोचाइ आएको पाइन्छ”, उनले भने ।
अहिलेसम्म बेलायतका लागि भिसा आवेदन गरेका नेपाली कलाकारहरुले बरु कार्यक्रमभन्दा ढिलो भिसा पाएको तर कसैको आवेदन अस्वीकृत भएको आफूलाई थाहा नभएको उनले जानकारी दिए ।
कोभिडअघि ठूल्ठूला संस्थाहरुले मात्र नेपालबाट कलाकार ल्याउने गरेकोमा अहिले स–साना संस्थाहरुले पनि कलाकार ल्याउने आँट गरेको आफूले पाएको उनले बताए । “कोभिड अघि नेपाली नयाँ वर्षमा बेलायतमा दुई÷चार जना कलाकारहरु हुन्थे तर यो साल नेपाली नयाँ वर्षमै करिब एक दर्जन कलाकार बेलायतमा थिए”, उनले भने ।
नेपालबाट बेलायतमा धेरै कलाकार आएपछि कमाइ पनि बाँडिने नै भयो । गायक थापामगर भन्छन्, “पहिले पहिले नेपालबाट आउने सामान्य कलाकारले पनि ४०/५० हजार पाउण्डसम्म लान्थे । अब त्यस्तो होला जस्तो छैन किनकि धेरै कलाकार आएपछि कार्यक्रम पनि बाँडिने भयो । कमाइ पनि बाँडिने नै भयो ।” त्यसैले नेपालबाट आउने कलाकारहरुलाई कोभिडअघिको बेलायतसित तुलना नगर्न र आर्थिक कमाइको ठूलो आश नगर्न पनि उनले आग्रह गरे ।
नेपालमा दैनिक काम पाइरहेका कलाकारहरुलाई बेलायत आएर छ महिना बस्दा घुम्न, रमाइलो गर्न पाए पनि कमाइको हिसाबले भने घाटा हुने उनको धारणा छ । “बेलायतमा आएका कलाकारहरुले सोमबारदेखि शुक्रबारसम्म त खाने, सुत्ने, घुम्ने, रमाइलो गर्ने नै हो । कार्यक्रम हुने शनिबार, आइतबार नै मुख्य हो”, उनले भने ।
लोकदोहोरी कलाकारका लागि विगतमा बेलायतमा निरमाया दोहोरी साँझ थियो । त्यहाँ कलाकारले प्रस्तुति दिने अनि ती कलाकारका बारेमा पहिले थाहा नपाएका संघ संस्थाका नेतृत्वले उनीहरुको कला देख्ने र कार्यक्रममा बोलाउने मौका पाउँथे तर अहिले त्यस्तो दोहोरी नभएकाले त्यस्तो भेटघाट हुने ठाउँको पनि अभाव देखिन्छ । यसले पनि कलाकारको कमाइमा असर पार्ने गायक थापामगर बताउँछन् ।
अहिले बेलायत आइसकेका कलाकारहरुले कार्यक्रमको राम्रो अवसर पाइरहेको तर पछि आउने कलाकारहरुले कम कार्यक्रम पाउने थापामगरको आँकलन छ । तर कलाकारको बेलायत आगमन चाहिँ घट्नेवाला देखिँदैन । गायक थापामगर भन्छन्, “नेपाली नयाँ वर्षमै यति कलाकार बेलायत आइसके अझै समरमा कति कलाकार आइ पुग्लान् ?”


नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित