एनआरएन इङ्ल्याण्डद्वारा लिभरपुलमा काउन्टी समिति गठन

लण्डन । गैरआवासीय नेपाली संघ राज्य समन्वय परिषद इंगल्याण्डले लिभरपुलमा काउण्टी काउन्सिल गठन गरेको छ ।
अध्यक्ष लालबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले सोमबार लिभरपुरमा बस्ने नेपालीहरुले आयोजना गरेको नेपाली नयाँवर्ष २०७९ को कार्यक्रमको मौका पारेर शुभकामना आदानप्रदान गर्दै त्यहाँको क्षेहरुलाई समेटेर “एनआरएनए लिभरपुल–मर्सिसाईड एरिया काउण्टी काउन्सिल” गठन गरेको हो ।
काउण्टी काउन्सिल संयोजकमा गोपाल अधिकारी, सचिव धन गुरुङ, सदस्यहरु क्रमशः खेम कंडेल, कविराज शर्मा, ऋषि भण्डारी, श्रीमती कृष्णा गुरुङ, श्रीमती कृष्णा भट्टराई, बब गुरुङ र नेत्र खरेल रहनुभएको छ ।
नेपाली नयाँवर्ष मनाउनको लागि बाक्लै उपस्थिति रहेको उक्त कार्यक्रमको सुरुवातमै इंगल्याण्ड राज्य समन्वय परिषदको टोलीले उक्त काउण्टी काउन्सिलको गठन प्रकृया सम्पन्न गरेको थियो । समन्वय परिषदका अध्यक्ष लालबहादुर गुरुङ, सचिव रामप्रसाद पन्थी, सहसचिव श्रीमती अन्जु कुँवर, प्रवक्ता विशाल गुरुङको साथमा एनआरएनए अभिभावकको रुपमा एनआरएनए ग्लोबलका उपाध्यक्ष थर्क सेन सहितको टोलीले उक्त ऐतिहासिक कार्य सम्पन्न गरेको थियो ।
उक्त कार्यक्रमका अध्यक्ष समेत रहेका गोपाल अधिकारीले स्थानीय नेपालीहरुलाई आफ्नो नेपालीपन झल्कने दौरासुरुवाल र कोटको पोशाकमा र महिला दिदीबहिनीहरु सारी र श्रृंगारसहित उपस्थित गराउनु भएको थियो । साथमा स्थानीय एमपी र काउन्सिलर समेतलाई अथितिको रुपमा उपस्थित गराउनु भएको थियो ।

उक्त रमाईलो र गरिमामय वातावरणका बीचमा एनआरएनए, राज्य समन्वय परिषद इंगल्याण्डका सचिव रामप्रसाद पन्थीले काउन्टी काउन्सिल गठन प्रक्रियाको औपचारिक कार्यक्रम सन्चालन गर्नु भएको थियो । आइसिसी उपाध्यक्ष थर्क सेन र राज्य समन्वय परिषदका अध्यक्ष लालबहादुर गुरुङले नवनियुक्त सबै पदाधिकारीहरुलाई टीका, खादा र प्रमाण पत्र वितरण गरी एक भब्य र रमाईलो वातावरणमा उक्त काउन्टी काउन्सिलको घोषणा गरिएको थियो ।

एनआरएनए युकेको विधान २००५ (संशोधन सहित २०१७) ले निर्देश गरेअनुसार काउन्टीको गठन र कार्यविधि सहितको एक वैधानिक दस्ताबेज काउन्टी काउन्सिल निर्देशिकासमेत नवनियुक्त समितिलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा नवनियुक्त काउन्टी परिषदका सम्पूर्ण टिमलाई आइसिसी उपाध्यक्ष थर्क सेनद्वारा सफल एवं कुशल कार्यकालको शुभकामना सहित एनआरएनएको महत्व बुझाउँदै मन्तब्य दिनु भएको थियो ।

त्यस्तै प्रवक्ता विशाल गुरुङले इंगल्याण्ड राज्य समन्वय परिषदले सन्चालनमा ल्याएको स्वास्थ्यसम्बन्धी जागरणमूलक कार्यक्रम रनफेष्टको महत्व र हाम्रो स्वास्थ्यमा दौड्ने अभ्यास बसाल्नाले हुने फाइदाका बारेमा मन्तब्य दिँदै यो रनफेष्ट कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गर्नु भएको थियो । श्रीमती अन्जु कुँवरले रनफेष्ट कार्यक्रममा सहभागी हुनुहुने जागरुक सबैलाई प्रमाणपत्र र दौडको उपाधि मेडलसमेत दिएर सम्मान गर्दै अरुलाई पनि दौड्न उत्प्रेरित गर्नुहुन अपिल गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्य गर्दै इंगल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष लालबहादुर गुरुङले एनआरएनएमा गुटबन्दी र राजनैतिक होडबाजी गर्न नहुने कुरामा जोड दिनु भयो । यो संस्था गैर राजनैतिक संस्थाको रुपमा रहनु पर्नेमा उनको जोड थियो । कसैले पनि विभाजनको मार्गमा लागियो भने संस्थाको अभियान विचलनमा पर्छ । सामूहिक हितको लागि नेपालीका लागि नेपालीलाई आत्मसात गर्नु पर्नेमा यस अभियानमा लागेको सबैलाई सुझाव दिनुभयो । अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थित सबैलाई नयाँवर्षको शुभकामना दिएर सबैको सुस्वास्थ्य, दिर्घायु, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दै यो कार्यक्रमको माहोल बनाइदिनुभएकोमा आयोजकहरु प्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री