राजदुत आचार्यले बुझाए बेलायती महारानीसित ओहोदाको प्रमाणपत्र

लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसित आज आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्नुभएको छ ।

आचार्यले आज बेलायती राजदरबार बकिङघम पालेसमा आयोजित विशेष कार्यक्रममा भर्चुअलरुपमा महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।

महारानीले विन्जर क्यासलबाट भर्चुअल रुपमा आचार्यको प्रमाण पत्र ग्रहण गर्दै राजदुतका रुपमा नियुक्त भएकोमा बधाई तथा शुभकामना दिनुभएको थियो । आचार्यले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश पनि महारानीलाई सुनाउनुभएको थियो ।  सन्देशमा उहाँहरुले महारानीको सुस्वास्थ्यका साथै बेलायती जनताकाे उत्तरोत्तर प्रगति र सम्वृद्धिको कामना गर्नुभएको थियो ।

महारानीले आफ्नो नेपाल भ्रमणको सम्झना गर्दै नेपाल र बेलायतबीच मैत्रीपूर्ण र आपसी सद्भावसहितको सम्बन्ध भएको बताउनुभएकाे थियो ।

राजदुत आचार्यले नेपाल र बेलायतबीच २०० वर्षभन्दा लामो समयदेखि सम्बन्ध रहँदैआएकोमा हर्ष प्रकट गर्दै बेलायत सरकारलाई नेपालको सामाजिक आर्थिक विकासका साथै कोरोना भाइरसविरुद्धको लडाइँमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले दुई देशबीचको सम्बन्ध अझै बलियो र विस्तार गर्ने पनि बताउनुभयो । साथै महारानीलाई गद्दी आरोहरणको हीरक जयन्तीको शुभकामना पनि दिनुभयो ।

समारोहमा राजदुत आचार्य धर्मपत्नीसहित उपस्थित हुनुहुन्थ्यो ।

राजदुताबासले आजै दुताबासमा एक समारोहको पनि आयोजना गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री