तस्वीरहरु: स्थानीय काउन्सिल

लण्डन । पूर्व गोरखा सैनिक ओम गुरुङले बेलायतका स्थानिय सरकार मानिने काउन्सिलहरुबाट ‘फ्री म्यान अफ अ बोरो’ सम्मान पाउने पहिलो गोरखा सैनिक बनेका छन् ।

उनलाई उनी बसोबासरत ननिटन तथा वेडवर्थ बरो काउन्सिलले सो सम्मान प्रदान गरेको हो ।

सो सम्मान बेलायतका स्थानिय निकायहरुले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान मानिन्छ ।

पूर्व गोरखा सैनिक गुरुङलाई सो सम्मान बुधबार ननिटन टाउन हलमा आयोजित एक समारोहबीच काउन्सिलका मेयर रोब ट्रोमान्सले सो सम्मान प्रदान गरे ।

गुरुङले गोरखाहरुको मात्र नाम राखेका छैनन् । सन् १९७४ मा ननिटन र वेडवर्थ काउन्सिल बनेपछि ‘फ्री म्यान’को सम्मान पाउने उनी पहिलो व्यक्ति पनि बनेका छन् ।

काउन्सिल लिडर क्रिस विल्सनले गुरुङलाई ‘फ्री म्यान’को सम्मान दिने प्रस्तावको नेतृत्व गरेका थिए । उनले गुरुङ गोरखा समुदायका लागि मात्र नभएर ननिटन र बेडवर्थलाई परि आउँदा सहयोग गर्ने एक मात्र व्यक्ति भएको जिकिर गरेका थिए । उनको प्रस्तावलाई काउन्सिलरहरु मतदानमा लैजाँदा सबैले एकमतले गुरुङलाई फ्री म्यानको सम्मान दिन सहमति दिएका थिए ।

ननिटनमा बसोबास गर्दै आएका गुरुङले क्रस खुकुरी गोरखा रेष्टुरेन्ट पनि सन्चालन गर्दै आएका छन् । उनकै नेतृत्वमा स्थानीय रिभर्सली पार्कमा गोरखाको स्मृति पनि निर्माण गरिएको छ ।

काउन्सिल लिडर विल्सनले गुरुङले महामारीका बेला रेष्टुरेन्टबाट स्थानीय चिकित्सक र नर्सहरुलाई खाना उपलब्ध गराएको स्मरण गरे । गोरखाहरुलाई काउन्सिलमा बसोबास गराउन र साँस्कृतिक सम्मिलनका लागि गुरुङले गरेको प्रयासको उनले सराहना गरे ।
उनले गुरुङले कहिल्यै सम्मानको खोजी नगरेको बताए । उनले आफ्नो लागि नभई समुदायका लागि फ्री म्यानको सम्मान स्वीकार गरेको पनि प्रष्ट पारे । उनले भने, ‘गुरुङको कम्युनिटी हाम्रो पनि कम्युनिटी हो र ननिटन बेडवर्थकै कम्युनिटी हो किनकि हामी सबै एकै कम्युनिटी हौँ ।’

उनले ननिटन र वेडवर्थलाई घर बनाएकोमा गुरुङलाई धन्यबाद दिए । साथै ननिटन र वेडवर्थलाई विशेष बनाएकोमा गुरुङलाई धन्यवाद दिए ।

मेयर रोब ट्रोमान्सले काउन्सिल लिडरको प्रस्तावको समर्थन गरेका थिए । उनले गुरुङले डर र पक्ष नलिई मेयर च्यारिटीलाई समुदायको मन मस्तिष्क जितेर सहयोग गर्ने गरेको बताए । उनी जत्तिको उदाहरणीय फ्री म्यानको कल्पना गर्न नसक्ने मेयरले बताए ।

काउन्सिलर जिल सेफर्डले काउन्सिल लिडर र मेयरको भनाइमा सहमति जनाउँदै गुरुङले कम्युनिटीलाई लामो समयदेखि निरन्तर सहयोग गरिरहेको र उनको कार्य वेवास्ता नगरिएकोमा हर्ष प्रकट गरिन् ।

फ्री म्यान बनेपछि हस्ताक्षर गर्दै गुरुङ