लण्डन । नेपालबाट बेलायतले दशहजार नर्स लैजाने बारेमा नेपाली मिडियामा चर्चा भएको थियो तर बेलायतको स्वास्थ्य मन्त्रालय (डिपार्टमेण्ट अफ हेल्थ एण्ड सोसियल केयर) का उच्च अधिकारीले भने त्यत्रो ठूलो संख्यामा एकै चोटी नेपालबाट नर्स ल्याउने सम्भावना नभएको बताए ।
नेपलिज नर्सिङ एसोसियसन युकेको वार्षिक सम्मेलनलाई मंगलबार लण्डनमा सम्बोधन गर्दै बेलायतको स्वास्थ्य मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय जनशक्ति महाशाखाकी प्रमुख गेल मार्जेटीले नेपालबाट एकैपटक दशहजार नर्स बेलायत ल्याउने बारेमा आफूलाई थाहा नभएको बताइन् । ‘यो हल्ला मात्र हाे’, उनले भनिन् ।
गत वर्ष बेलायत बाहिरबाट नर्सिङ पेशामा प्रवेश गरेका नर्सहरुको कुल संख्या करिब ११ हजार मात्र भएकाले एउटै देशबाट दश हजार नर्स ल्याउने कुरा सम्भव नभएको उनको भनाइ थियो । अहिले बेलायतले सबैभन्दा धेरै नर्सहरु फिलिपिन्सबाट ल्याउने गरेको र त्यो संख्या वार्षिक करिब ५ हजार रहेको उनको तर्क थियो ।
उनले बेलायतले धेरैवटा देशहरुबाट नर्स ल्याउने समझदारी गरिरहेको जानकारी दिँदै भर्खर समझदारी भएका देशहरुबाट शुरुमा सानो संख्यामा नर्स बेलायत ल्याइने गरेको बताइन् । ‘शुरुमा सानो संख्यामा नर्सहरु बेलायत ल्याउने र दुवै पक्षले त्यसबाट सिक्ने र कमजोरीहरु सच्याउँदै विस्तारै संख्या बढाउने गरिन्छ’, उनले भनिन् ।
श्रीलंकाको उदाहरण दिँदै समझदारी भएपछि शुरुको वर्ष करिब १०० जना वा त्यो भन्दा पनि थोरै नर्सहरु बेलायत ल्याइने उनले जानकारी दिइन् ।
अहिले नेपालसित वैधानिक बाटोबाट नर्स बेलायत ल्याउन प्रारम्भिक चरणमा वार्ता हुँदै गरेको दुवै सरकार उत्साहित रहेको उनले बताइन् । नेपालबाट नर्स ल्याउनका लागि अहिले ‘इम्प्लिमेन्टेसन डकुमेण्ट’ लेखन हुँदै गरेको उनले जानकारी दिइन् ।
नेपालबाट नर्स ल्याउन कहिले शुरु हुन्छ भन्ने प्रश्नमा उनले अहिल्यै समय यकिन गर्न नसकिने बताइन् । कहिले छिटो पनि हुने कहिले ढिलाइ पनि हुनसक्ने उनको धारणा थियो । दुई सरकारबीच लेनदेन वार्ता (नेगोसिएसन)मा कहिले कुनै बुँदामा सहमतिमा पुग्न समय पनि लाग्न सक्नेतर्फ उनले ध्यानाकर्षण गराइन् ।
दुई सरकारबीच भएका सहमतिलाई नेपाल सरकारले स्वीकृत गर्नपर्ने भएकाले त्यसमा समय लाग्न सक्ने पनि उनले संकेत गरिन् ।
बेलायतले अन्य देशबाट नर्स वा स्वास्थ्य क्षेत्रमा अरु जनशक्ति ल्याउँदा सो देशको स्वास्थ्य प्रणालीमा पर्नसक्ने प्रभावका बारेमा विश्लेषण गरेर दुवै देशलाई लाभ हुने गरी मात्र अरु देशबाट त्यस्तो जनशक्ति ल्याउने उनले प्रष्ट पारिन् ।
नेपालबाट बेलायतमा नर्स लैजान थालिएपछि नेपालको नर्सिङ शिक्षाको पाठ्यक्रममा परिमार्जनमा सहयोग तथा नर्सहरुलाई तालिम दिनमा बेलायतले सहयोग गर्ने पनि उनले बताइन् ।
बेलायतस्थित नेपाली दुताबासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा नर्सिङ, स्वास्थ्य क्षेत्रका विभिन्न विषयमा प्रस्तुतिहरु चलिरहेका छन् ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक