युक्रेनबाट बिस्थापित नेपालीहरुका लागि सहयोग संकलन गर्दै एनआरएनए युके

लण्डन । युक्रेनमा रसियाको आक्रमणपछि विस्थापित भएका नेपालीहरुको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले सहयोग संकलन शुरु गरेको छ ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा हालै बसेको बैठकले सहयोग संकलन गर्ने निर्णय गरी सचिव ज्ञानेन्द्र आलेलाई संयोजक तोकेको हो ।

आलेका अनुसार युक्रेनमा जारी युद्धका कारण छिमेकी देशहरु पोल्याण्ड, हंगेरी, स्लोभाकिया, रोमानियामा विस्थापित भएका नेपालीहरुलाई संकलित सहयोग प्रदान गरिने छ । एनआरएनए पोल्याण्ड राष्ट्रिय समितिसितको समन्वयमा सो सहयोग हस्तान्तरण गरिने पनि उनले जनाए ।

यस विषम परिस्थितिमा वेवारिसे भएका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सहयोग गर्न एनआरएनए युकेले बेलायतबासी नेपाली सामाजिक अभियन्ता, ब्यक्ति, संघ/ संस्था, ब्यापारिक प्रतिष्ठानसँग अनुरोध गरेको छ।

सहयोगका लागि
Ac holder: Non-Resident Nepalese Assocation UK
Sort Code: 40-46-22
Ac No: 51707000
Reference: Ukrainecriss/your name

उद्धारका लागि दबाब

यसैबीच गैर आवासीय नेपाली संघ युकेले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गरी जति सक्दो चांडो स्वदेश फिर्ता ल्याउने प्रबन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ।

गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरले परराष्ट्र मन्त्री डा.नारायण खड्कालाई एक पत्र लेखी गैर आवासीय नेपाली संघ समेतको सहयोगमा झन्डै २०० नेपालीहरु युक्रेनबाट छिमेकी मुलुक स्लोभाकिया पुगिसकेको खबरहरुमा जनाइएको उल्लेख गरेका छन्। “तर अझै पनि कैयौं नेपालीहरु युक्रेनमै रहेको र युक्रेन छाडेका नेपालीहरुलाई पनि सुरक्षित रुपमा नेपाल फिर्ता ल्याउन योजनावद्ध रुपमा काम गर्नु पर्ने आवश्यकता देखिएको छ,” उनले पत्रमा लेखेका छन्। “संकटको यो घडीमा विदेशमा फसेका नेपालीहरुको शिघ्र उद्धारका लागि तदारुकताका साथ काम गर्न नेपाल सरकारलाई आग्रह गर्दछौं,” गाहा मगरले भने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री