पूर्व गोर्खा सैनिकलाई न्याय दिलाउँछु : राजदूत आचार्य

लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गोर्खा भूपू सैनिकमाथि वर्षौदेखि हुँदै आइरहेको अन्याय र असमानता अन्त्य गर्ने बताएका छन् ।
आइतबार बेलायतस्थित अल्डरसटमा आयोजित एक कार्यक्रममा राजदूत आचार्यले यस्तो बताएका हुन् ।
गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा भएको कार्यक्रममा उनले गोर्खा भूपू सैनिकको विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
‘भूपू ब्रिटिस गोरखाको पेन्सन, क्षतिपूर्ति र कल्याणकारी सुविधामाथि हुँदै आइरहेको असमानता हटाउन पहल गर्छु,’ उनले भने, ‘यसबारे मैले अध्ययन गरिसकेको छु । यो विषयमा नेपाल र बेलायत दुवै सरकारसँग छलफल गरेर चाँडै नै समस्या समाधान गर्ने कोसिस गर्छु ।’

पूर्व राजदुतले गर्नुभएको सम्झौताका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै राजदुत आचार्यले दुई देशबीचको कुराकानीलाई गोरखा भूतपूर्व सैनिकहरुसमेतको सहभागितामा प्राथमिकताका साथ अघि बढाउने बताए ।

नेपाल र बेलायतको ऐतिहासिक सम्बन्ध वर्तमान परिस्थितिमा अपेक्षित नभएको भन्दै उनले यो सम्बन्ध सुढृढ बनाउन दत्तचित्त भएर लाग्ने बताए । ‘नेपाल र बेलायतको राजनीतिक, कुटनीतिक, सामाजिक, व्यापारिक र पर्यटकीय सम्बन्ध समेत विस्तार गर्ने योजनासहित सरकारले मलाई पठाएको छ,’ उनले भने, ‘ भइरहेको सम्बन्ध अझै गहिरो र सार्थक बनाउनमा जोड दिनेछु ।’
नेपालको आर्थिक रुपान्तरणका लागि बेलायत सरकारसँग गर्नुपर्ने सम्पूर्ण पहल गर्ने बेलायतबासी नेपाली समुदायसमक्ष उनले प्रतिबद्धता जनाएका छन् ।

उनले करिब दुईलाख नेपालीको बसोबास रहेको बेलायतमा नेपालबाट सीधा हवाइ उडान भएमा त्यसले नेपाल-बेलायतको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । यस्तै दोहोरो कर उन्मुक्तिका विषयमा पनि आफूले कामा अघि बढाउने वचन दिए ।

नेपालको नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीलाई नेपालमा सुविधाका बारेमा आगामी दिनमा छलफल अघि बढाउँदै जाने बताए ।

पूर्व गोर्खा सैनिकको हक अधिकारका लागि लामो समयदेखि आन्दोलन हुँदै आएपनि कुनै राजदूतले यो समस्या समाधान गर्न नसकेको गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरले बताए । ‘नेपाल र बेलायतको २०७ वर्ष पुरानो सम्बन्ध रहिरहँदा ८८ वर्षमा २२ राजदूत फेरिए, तर गोर्खा भूतपूर्व सैनिकमाथि हुँदै आइरहेको असमानता फेरिएन,’ उनले भने, ‘कुटनीतिक सम्बन्ध बुझेका नयाँ राजदूतबाट हामीले न्यायको आशा गरेका छौं ।’
उनले बेलायतले नेपालका १० हजार नर्सलाई रोजगारी दिने भनिएको योजना कार्यान्वयन गर्न समेत उनले राजदूत आचार्यसमक्ष आग्रह गरे ।
सयौँ वर्षदेखि बेलायत सरकारले गोर्खा भूपू सैनिकमाथि अन्याय, अत्याचार गरेको यस विषयमा नेपाल सरकारले समेत चासो नदिएको गोर्खा अभियन्ता धनबहादुर गुरुङले बताए । लामो समयदेखि गोर्खा सैनिकमाथि हुँदै आइरहेको विभेद र अन्याय अन्त्य गर्न उनले नवनियुक्त राजदुतसित माग गरे ।
‘न्याय माग्न हामी सडक, सदन र अदालतसम्म धायौं, आमरण अनसन बस्यौं’, उनले भने, ‘कहिँ कतैबाट हामी गोर्खालीले न्याय पाएनौं । बेलायत र नेपाल दुवैले हामीलाई हेपिरहेका छन् ।’ नयाँ राजदूतबाट पनि यो समस्या समाधानका लागि पहल नभए आफूहरु फेरि भोक हडतालमा उत्रिने गुरुङले चेतावनी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री