सदस्यता शुल्क केन्द्रमा बुझाउन एनआरएनए युकेले राख्यो तीन शर्त

लण्डन । सदस्यता शुल्क केन्द्रमा नबुझाएकोमा आलोचना खेप्दै आएको गैरआवासीय नेपाली संघ यूकेले केन्द्रमा सदस्यता शुल्क बुझाउन तीन वटा शर्त राखेको छ ।

अध्यक्ष कुमार पन्तलाई बुधबार एक पत्र पठाउँदै एनआरएनए युकेले आफूहरुले सिफारिस गरेका प्रतिनिधिहरुले केन्द्रीय महाधिवेसनमा भाग लिन पाउनु पर्ने शर्त तेर्स्याएको छ । ”एनआरएनए युकेले पठाएका प्रतिनिधिका सम्बन्धमा आईसीसीको सचिवालयले बेलाबेलामा अपनाउँदै आएको रवैयाबाट भने हामी चिन्तित छौँ । यूकेका तर्फबाट हुने प्रतिनिधित्व सम्बन्धमा अन्तराष्ट्रिय समन्वय परिषदको सचिवालय तथा पदाधिकारी लगायतबाट फरक-फरक धारणा सार्वजनिक हुँदा हाम्रो वैधानिक प्रतिनिधित्वका सम्बन्धमा आश्वस्त हुन सकिरहेका छैनौं । हामी राष्ट्रिय समन्वय परिषद यूकेको वर्तमान कार्यसमितिले प्रमाणित गरेर पठाएका सम्पूर्ण प्रतिनिधिहरुले महाधिवेशन तथा निर्वाचनमा भाग लिन पाउने कुराको पूर्ण सुनिश्चितता होस् भन्ने चाहान्छौँ “, पत्रमा भनिएको छ ।

एनआरएनए युकेले राखेको अर्को शर्तमा एनआरएनए युके बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको र बेलायतको स्थानीय कानुन पालना गर्नुपर्ने कारण देखाउँदै केन्द्र र युके राष्ट्रिय समन्वय समितिबीच अधिकार, कर्तब्य र दायित्व बाँडफाँडमा सम्झौतापत्र हुनुपर्ने राखिएको छ ।

तेस्रो शर्तमा एनआरएनए युकेले नेपाल हाउस बनाउन लागेको र सोका लागि आईसीसीको तर्फबाट सदस्यता शुल्कमा छुट दिएर वा नगदै सहयोग गर्न आग्रह गरिएको छ । “करिब दुई लाख गैर-आवासीय नेपालीहरुको बसोबास भएको भनिएको यो देशमा साझा घरको आवस्यकता महशुस भएको छ । अतः गैर–आवासीय नेपाली संघ यूकेले यो वर्ष नेपालीहरुको साझा घर नेपाल हाउस बनाउने अभियान सुरु गरेको छ । यस कार्यमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय समन्वय परिषदबाट हामीलाई सदस्यता शुल्कबापतको दायित्वमा छुट दिएर वा अन्य तरिकाले सहयोग पुर्याउनु हुनका लागि हार्दिक अनुरोध गर्दछौ” – पत्रमा भनिएको छ ।

पत्रको अन्त्यमा भने हालसम्म पुरानो कार्यसमितिमबाट बैंकिङ कारोवारको पूर्ण हस्तान्तरण नभइसकेको र रकम स्थानान्तरण सहज नभएको अवस्था बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री