भक्तपुर ।चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँको आज बिहान आफ्नै घर अगाडि निधन भएको हो ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आउनुभएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिनुभयो । लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति पुगेको उहाँले बताउनुभयो । बिहानैदेखि उहाँको निवासमा नेपाली चलचित्रका निर्देशक, कलाकार, गायक, सङ्गीतकार, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी आउने क्रम बढ्दो छ ।
बिहान करिब ३ बजेतिर लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको घटनास्थलमा पुग्नुभएका महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको छ । बा३च ७७४१ नंको कार लामा आफैले हाँकेर घर नजिकै पार्किङ गरेको पाइएको छ । शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उहाँको परिवारलाई जानकारी गराएका थिए ।
लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशिल हुनुहुन्थ्यो । ‘कलकत्ते काइँयो केश मेरो बाङ्गो, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आउनुभएका लामाले ‘पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।
विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गर्नुभएका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आउनुभएको थियो । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गर्नुभएका उहाँले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आउनुभएको थियो ।
विभिन्न विद्यालयमा उहाँ सङ्गीत गुरुका रूपमा क्रियाशिल हुनुहुन्थ्यो । प्रहरीले लामाको शव परीक्षणका लागि दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज लगेको छ । शव परीक्षणपछि उहाँकै निवासमा श्रद्धाञ्जलिका लागि राखेर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लामाको परिवारले जानकारी दिएको छ । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?