तनहुँ । सोमबहादुर पुलामी शिक्षक बन्न चाहन्थे । तर, उनी मौरी पालक किसान बने । उनलाई मौरीको गुलियो रस (मह)ले यसरी भुलाइ दियो कि आफ्नो लक्ष्य नै बिर्सिए । लक्ष बिर्सिए पनि उनलाई कुनै गुनासो छैन । महले उनको जिन्दगी मह जस्तै गुलियो पारिदिएको छ । सोमबहादुर आफू मात्रै होइन मौरी पाल्न चाहना राख्ने किसानलाई पनि सघाइरहेका छन् । मौरीको घार र मह बेच्दै आएका उनी आफ्नो आम्दानीबाट समेत सन्तुष्ट छन् । उनी भन्छन्, ‘मौरीपालनले मौरी जस्तै कर्मशील बन्न प्रेरित गरेको छ ।’
शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतका ३५ बर्षीय पुलामीलाई गुलियो मह भएको मौरीको चाका खुब मन पर्ने । छरछिमेकमा मह काट्दा उनी चाका चाख्न पाउने पछि लाग्थे । छिमेकीले कहिले दिन्थे, कहिलेकाहीँ दिदैन थिए । छोराले मह असाध्यै रुचाउने भएपछि बुबा मनबहादुरले २०५८ सालमा घरमा एउटा मौरीको घार ल्याइदिए । त्यसपछि उनमा मौरीको महमा अझै चाख बढ्यो । कक्षा आठमा बढ्ने उनको ध्यान पढाइसँगै मौरीमा हुन्थ्यो । ‘त्यही एउटा मौरीको घारमा खेल्दाखेल्दै तीन वटा घार बनाए । के मिलेन सबै मासियो । फेरि अर्को घार ल्यायौँ । ज्ञान थिएन उतिखेर । आफैँले मौरीसँग खेल्दाखेल्दै सिकियो । त्यसपछि एउटाबाट दुई घार भयो । दुईबाट चार हुँदै अहिले सय घार छन्,’ पुलामीले भने ।
२०६५ सालसम्म आइपुग्दा उनीसँग ३० वटा मौरीको घार भए । त्यतिबेलासम्म उनी मौरीको मह मात्र काट्थे र धेरथोर आम्दानी लिन सफल थिए । गुलियो मौरीको महले गुलियो आम्दानी दिन थालेपछि उनले शिक्षक बन्ने सपनालाई थाती राख्दै थिए । बनाइसकेको शिक्षण अध्यापन अनुमति पत्रलाई सिरानीमा थन्क्याए । ‘मसँग ३० घार मौरी भएको थियो । २०६५ सालमा मौरीसहितको घार माग्नु भो एक जना सरले । उहाँलाई केही घार दिए । हातमा राम्रै पैसा पर्यो । किसानको हातमा पैसा परेपछि हौसला थपिने रहेछ ! मौरी पालनमा झन् चाख बढ्यो । अब निरन्तरता दिनुपर्छ भनेर झनै बेस्सरी लागे । महसँगै मौरीसहितको घार बेच्न थाले,’ उनले सुनाए ।
पुलामीको मौरी पालन उद्योगमा एक सय घार मौरी छन् अहिले । पुलामी मौरी पालन तथा घार उद्योग सञ्चालन गरेका छन् उनले श्रीमती शितलको नाममा । उनले पछिल्ला बर्षहरूमा मह कमै काढ्छन् । मौरीसहितको घार बढी बिक्री हुने उनको भनाइ छ । मौरीपालनमा आकर्षण बढी भएकाले मौरीको चाकासहित घार बिक्री बढेको उनले बताए ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि मौरीसहितको घारको माग बढेको पुलामी बताउँछन् । ‘सरकारी बजेटमा किसानलाई घार बाँड्नलाई धेरै माग आउने गर्छ,’ उनी अगाडी थप्दै भन्छन्, ‘कहिलेकाही घार बिकेन भने पनि सिजनको बेला मह काढेर बिक्री गर्छु । महको पनि घारको जस्तै बजार राम्रै छ । आम्दानी राम्रै हुन्छ ।’ बर्षमा १५० भन्दा बढी गोला सहितको घार बिक्री गर्दै आइरहेको उनले जानकारी दिए । उनका अनुसार सानो घारको चाकासहित सात हजार पाँच सय रुपैयाँ मुल्यमा बिक्री हुन्छ । ठूलो घारको नौ हजार पाँच सय रुपैयाँमा बिक्री हुन्छ । मह र घार बिक्रीबाट १५ लाख रुपैयाँसम्म आम्दानी हुने पुलामीले जानकारी दिए ।
पुलामीले तयार पारेको मौरीसहितको घार तनहुँसँगै कास्की, पर्वत, लमजुङ, मनाङका गाउँगाउँमा छ । जहाँजहाँ उनको मौरीको घार देखिन्छ उनलाई खुशी र सन्तुष्टि मिल्छ रे । तर, कहिलेकाँही मौरीसम्बन्धी ज्ञान नभएकाले लगेर निराश बनाइदिने उनी बताउँछन् । ‘कसैले रहरले लान्छन् । कोहीले व्यवसायिक बन्नलाई घार लैजान्छन् । मौरी पाल्न तालिम लिनुपर्छ । तालिम नभएकाले लैजँदा अपजस बढी पाइन्छ ।’ उनले भने ।
मौरीको घारको माग बढेपछि उनले एक्लेखेतमा २०७१ सालदेखि फर्निचर उद्योग सञ्चालनमा ल्याएका छन् । ‘ठूलोबाले बनाइदिनुहुन्थो सुरुमा घारहरू । त्यसपछि म सिक्दै गए । बाहिरबाट ल्याउँदा महंगो पर्ने भएकाले घार बनाउन थाले । र पछि फर्निचर उद्योग चलाउने सोच आयो । मौरीको घार निर्माणसहित काठसँग सम्बन्धित सबै काम उद्योगमा हुन्छ । गाउँतिरबाट काठको काम धेरै आउने भएकाले फर्निचरबाट कमाई राम्रै छ ।’ उनले भने । फर्निचरमा चार जनाले रोजगारी पनि पाएका छन् ।
मौरी पालन अरु पेशाको तुलनामा निकै सहज रहेको उनको २० वर्षे अनुभवले बताउँछ । ‘अरु पेशामा जस्तो मौरीपालनमा घामपानी भन्न नपाईने हुँदैन् । दिनको एक घण्टा मात्र समय दिए पुग्छ । आक्रमण गर्ने जीवजन्तुबाट जोगाउन सक्यौँ र झरी परेको बेला अहाराको व्यवस्थापन गर्न सकियो भने राम्रै गर्न सकिन्छ,’ पुलामी आफ्नो अनुभव सुनाउँछन् । तालिम र आधारभूत ज्ञानविना हचुवाको भरमा मौरीपालनमा नलाग्न उनको सुझाव छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित