विदेशमा बस्ने अधिकांश नेपालीले कोरोना खोप लगाए

लन्डन । कोरोनाविरुद्धको खोप लगाउनेमा विदेशमा बस्ने नेपालीहरु अग्रस्थानमा रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको हेल्थ कमिटीका संयोजक डा. सञ्जिव सापकोटाले बताएका छन् । नेपलिज डक्टर्स एसोसिएसन यूके र नेपाल नर्सिङ एसोसिएसन यूकको सहकार्यमा पत्रकार महासंघ बेलायत शाखाद्वारा आयोजित स्वास्थ्य संवाद कार्यक्रममा सापकोटाले सो कुरा बताएका हुन् ।

सापकोटाका अनुसार विदेशमा रहेका करिब ९० प्रतिशत भन्दा बढी नेपाली तथा नेपाली मूलका मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यसैगरी बेलायतमा बस्ने नेपालीहरु पनि कोरोनाविरुद्धको खोपमा अग्र स्थानमा रहेको हडर्सफिल्ड विश्वविद्यालयका एसोसिएट डिन (इन्टरनेशनल) प्रा. डा. पदम सिम्खडाले बताए । यहाँस्थित एक विश्वविद्यालयले हालै गरेको अनुसन्धानले उक्त कुराको पुष्टि गरेको भएपनि यसको तथ्यांक भने सार्वजनिक हुन बाँकी रहेको सिम्खडाले जानकारी दिए ।

बेलायतमा खोप नलगाउनेको संख्या उल्लेख्य रहेको र नेपालीलाई पनि सोही वर्गमा राखिएकामा आफूले नेपालीहरु खोप लगाउनेमध्ये अग्रपंक्तिमा रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको पनि उनले बताए ।

पोस्ट कोभिड र खोपको बारेमा गरिएको उक्त भर्चुअल कार्यक्रममा भाइरसले कसरी आक्रमण गर्छ, यसबाट बच्ने उपाय, खोपको महत्व, नयाँ भेरिएन्ट ओमिक्रोन लगायत यसका लक्षणबारे वक्ताद्वय सापकोटा र सिम्खडाले प्रष्ट पारेका थिए ।

विश्वभर कोरोना संक्रमितको संख्या अत्यधिक देखिए पनि मृत्यु हुनेको संख्या भने करिब १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको र मृत्यु हुनेको संख्या करिब १० प्रतिशत रहेको सापकोटाले जनाए । विश्वभरको तथ्यांकअनुसार ६३ प्रतिशत मानिसले खोपको पहिलो डोज लगाएका छन् भने ५० प्रतिशतले दुवै डोज लगाइसकेको उनले बताए ।

खोप लगाउँदैमा संक्रमण हुँदैन भन्ने धारणा गलत रहेको र यसबाट बच्न मास्क, सेनिटाइजर तथा साबुनपानीले हात धुने बानी नै उत्तम उपाय रहेको पनि उनले बताए । उनले थपे, ‘खोप लगाए पनि नलगाए पनि भाइरसले सबैलाई आक्रमण प्रयास गर्छ । तर, खोप लगाएका व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले यसको असर कम हुने गर्दछ ।’

नाक र मुखबाट मात्र भाइरस शरीरमा प्रवेश गर्ने हुँदा यसमा सबैभन्दा सतर्कता अपनाउनुपर्ने उनको धारणा छ । भाइरस सुक्ष्म भएकाले शरीरमा प्रवेश गरेपछि मानव सेलमा असर गर्दछ । शरीरमा भएको रोग प्रतिरोधात्मक शक्तिको आधारमा यसको असर कम वा बढी हुने गर्दछ । भाइरसले बेलाबेलामा स्वरूप परिवर्तन गर्दै नयाँ भेरिएन्टको रुपमा देखा पर्दछ जुन पछिल्लो समयमा ओमीक्रोनको रुपमा देखा परेको छ ।

ओमिक्रोन बढी संक्रामक भएको र कम घातक सावित रहे पनि विश्व स्वास्थ्य संगठनले भने कुनै ठाउँमा बढी घातक बताएको पनि सापकोटाले बताए । यसको असर सबैमा समान नहुने र व्यक्ति र उनीहरुको स्वास्थ्य स्थितिमा भर पर्ने उनको धारणा छ ।

नेपालमा कोभिसिल्ड वा भेरोसेलको खोप लगाएर पर्यटक भिसामा नेपालबाट बेलायत आएकाहरुले बुस्टर डोज लगाउँदा फाइजर, मोडेर्ना तथा अक्सफोर्ड एष्ट्राजेनेकाको खोप लगाउन उपयुक्त हुने विज्ञको राय छ । एकपटक मोडेर्ना शृंखला पूरा गरेपछि भने फाइजर वा मोडेर्नाको बुस्टर डोज लिन सकिनेछ ।

कोरोना संक्रमणपछि ३/४ हप्तासम्म जोर्नी दुख्ने, सुत्न गाह्रो हुने, मुटुको समस्या हुने लगायत समस्या भएमा पोस्ट कोभिडको रुपमा हेर्ने गरिन्छ । यसबारेमा अध्ययन जारी रहेको र यस्ता लक्षण देखिएमा प्राथमिक उपचार केन्द्र तथा स्वास्थ्यकर्मीसंग सल्लाह लिन वक्ताहरुले सल्लाह दिएका छन् । यस्ता ठूला महामारीहरु पटक पटक आइरहेको र सन् १९१८ मा स्पेनिस फ्लू, १९५७ मा एसियन फ्लू, १९६८ मा हङ
कङ फ्लू, १९७७ को फ्लू र २००९ मा स्वाइन फ्लू जस्ता इतिहासलाई केलाउँदा हरेक ४० वर्षमा एउटा महामारी आउने सापकोटाले बताए ।

यसैगरी खोप नलगाएका ९० प्रतिशत मानिसहरु अस्पताल भर्ना हुने गरेको बेलायतको तथ्यांक रहेको डा. पदम सिम्खडाले बताए । वर्तमान अवस्थामा खोप लगाउनु अत्यन्त जरुरी रहेको बताउँदै उनले खोप लगाएका मानिसबाट उत्पन्न हुने नयाँ भेरिएन्टले कम असर गर्ने धारणा राखे ।

भाइरस संक्रमण बढ्नका लागि खोप नलगाएका र शरीरमा प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसहरुको जरुरत हुने भएकाले खोपको प्रभाव बढेसंगै ओमिक्रोनको प्रभाव पनि कम हुँदै गएको र भावी दिनमा आउने नयाँ भेरिएन्ट कमजोर हुनसक्ने उनले बताए ।

ओमिक्रोनको भर्खर देखिएको नयाँ भेरिएन्ट पनि ओमिक्रोनसँग मिल्दोजुल्दो रहेको र यसको थप अध्ययन भइरहेको उनले बताए । कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण नहुने र मानव समूदायमा साधारण फ्लूको रुपमा रहिरहने उनको धारणा थियो । भ्याक्सिनको प्रभावले गर्दा कम भाइरस हानिकारक र बिस्तारै जनजीवन सहज हुने पनि उनले बताए ।

कोरोना भाइरस नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण विषय राजनैतिक नेतृत्वको पनि हो भन्ने कोरोना महामारीले सिकाएको महत्वपूर्ण पाठ रहेको सिम्खडाले बताए । स्वास्थ्यकर्मी, स्वास्थ्य सुविधा, स्वास्थ्यसम्बन्धि प्रविधि र देशको आर्थिक अवस्था मात्र कोरोना नियन्त्रणमा पर्याप्त नहुने यसपटकको महामारीले पुष्टि गरेको उनले बताए ।

उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ बेलायतका महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री