प्रगति ओझाले शुरु गरे लण्डनमा स्टेट एजेन्सी

लण्डन । करिब एक दशकदेखि प्रोपर्टी व्यवसायमा आवद्ध प्रगति ओझाले लण्डनमा स्टेट एजेन्सी शुरु गरेका छन् ।

‘योर स्पेस’ (www.your-space.place)नामबाट उनले स्टेट एजेन्सी शुरु गरेका छन् । हालमा उनले दक्षिण पूर्वी लण्डनलाई आधार बनाएका छन् । ग्रेनीच, लुइसाम, बेक्स्ली काउन्सिलमा उनले आफ्नो सेवा दिने बताएका छन् ।

उनको एजेन्सीबाट प्रोपर्टी किन-बेच, भाडामा लिने-दिने र प्रोपर्टीमा लगानीको सेवा उपलब्ध हुने छन् ।

प्रोपर्टी बेच्न चाहनेहरुलाई बजारमा उपलब्ध एजेन्सीहरुले भन्दा कम फी लिएर आफूले सेवा दिने उनले बताए । ‘हाइस्ट्रिटका स्टेट एजेन्सीहरुले सामान्यत १.५ प्रतिशतदेखि २ प्रतिशतसम्म सेवा शुल्क लिएर प्रोपर्टी बिक्री गर्ने गरेका छन् तर म १ प्रतिशतमा नै प्रोपर्टी बिक्री गरिदिन सक्छु’ उनले भने ।

त्यसो गर्न सक्नुको कारण अरु एजेन्सीहरुको जस्तो आफ्नो ओभरहेड कस्ट धेरै नभएकोले सम्भव भएको उनले बताए ।

यसैगरी प्रोपर्टी किन्न चाहनेहरुलाई आफूले उनीहरुले चाहेको स्थानका बारेमा यथार्थ जानकारी दिलाउने तथा त्यही स्थानमा कुनै प्रोपर्टी निस्किएमा सबैभन्दा पहिला थाहा पाउने किसिमले ‘अफ मार्केट क्याम्पेन’ गर्ने उनले जानकारी दिए । यसका साथै प्रोपर्टीमा लगानी गर्न चाहनेहरुलाई आफूले सक्दो सेवा र सल्लाह दिने उनले बताए ।

प्रोपर्टी भाडामा लिने दिनेका बारेमा ‘आउटसोर्स’ गरिरहेको र केही समयमा नै त्यो सेवा पनि शुरु हुने उनले जानकारी दिए ।

करिब दुई दशकअघि नेपालबाट विद्यार्थीका रुपमा बेलायत आएका ओझाले यसअघि बेलायतमा आउने आप्रवासीहरुलाई कसरी आर्थिक रुपमा सबल बनाउने भन्ने बारेमा पुस्तक पनि लेखेका छन् ।
सन् २०२० को डिसेम्बरमा प्रकाशित उनको ‘फाइनान्सियल फ्रिडम फर इमिग्रेन्टस’ नामक पुस्तकमा आप्रवासीले आर्थिक रुपमा भोग्न पर्ने चुनौतीहरु, पहिलो घर किन्दाको यात्रा, पहिलोपटक घर किन्दा हुने गल्तीहरु, घर किन्दा डिपोजिट कसरी जम्मा गर्ने, पहिलो घरलाई दुईवर्ष कसरी धान्ने, घरमा किन लगानी गर्ने, घरमा लगानी गर्ने तरिका, कसरी घरमा लगानी बढाउने, लगानीका लागि पुँजीको कसरी जोहो गर्ने, गल्तीहरुबाट कसरी पाठ सिक्ने लगायतका विषयहरु समेटिएका छन् ।
लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट फाइनान्स र बैँकिङमा स्नातकोत्तर गरेका ओझाले किन स्टेट एजेन्सीमा हात हाले त ? ‘प्रोपर्टी किन्ने, बेच्ने, भाडामा लिने आममानिसको जीवनमा नभई नहुने कुरा हुन् । फाइनान्सियल इन्भेष्टमेण्टमा अरु देशको तुलनामा बेलायतमा कम चासो रहेछ । त्यसैले आफूले जानेको कुरा साटासाट गर्दा अरुको जीवनमा केही सहयोग हुन्छ भने किन नगर्ने भनेर लागेको हुँ’, उनले भने ।

यसो गर्दा आफूलाई आत्मसन्तुष्टी प्राप्त हुने उनले बताए । मानिसहरुलाई प्रोपर्टीमा लगानीका बारेमा प्रशिक्षित गर्न र सत्य कथा सुनाउन पनि यस व्यवसायमा लागेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री