के के निर्णय भयो एनआरएनए यूकेको दोस्रो प्रत्यक्ष बैठकमा ?

लण्डन । गैरआवासीय नेपाली संघ युकेको दोस्रो प्रत्यक्ष बैठक अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा अल्डरसटस्थित आफ्नै कार्यालयमा आइतबार बसेको छ ।

बैठकले कानूनी परामर्श तथा विधान समिति गठन गरेको छ । उपाध्यक्ष नारायण कंडेलको संयोजकत्वमा रहेको सो समितिका सदस्यहरुमा सुशीला राई, चित्रबहादुर गुरुङ, सुनिल राना, केशव भण्डारी र डा. रामकुमार अधिकारी रहेका छन् ।समितिमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी प्राविधिक सल्लाहकार थपिने अध्यक्ष गाहामगरले जनाए । गाहा मगरकाअनुसार ‘विभिन्न राज्य र संघसंस्थाहरुबाट विधान अपडेट गर्न आएका सुझाव सम्बोधन हुने गरी चुस्त दुरुस्त विधान बनाउने संघको योजना रहेको छ।

बैठकले संघले हालसम्म गरेका कार्यको समीक्षा गर्दै गैर आवासीय नेपाली संघ युकेको उद्देश्य हासिल गर्नका लागि कार्यसमिति सफलतापूर्वक अगाडी बढिरहेको निष्कर्ष निकालिएको थियो ।

बैठकमा अध्यक्ष गाहामगरले भूतपूर्व गोर्खाहरुको लामो समयदेखि जारी संघर्ष अन्त्यका लागि एनआरएनयूकेले नेपाल सरकारसँग कूटनैतिक पहल गर्ने र यूकेमा रहेका गोर्खा तथा उनीहरुका परिवारलाई परेकासमस्याहरु जस्तैः पेन्सन क्रेडिटको सुबिधा लिएका बृद्ध गोर्खाहरुलाई यूके भन्दा बाहिर गएर एक महिना मात्र बस्न पाउने वर्तमान नियमलाई बढाएर ३ महिना (पूर्व नियमअनुरूप) बस्न पाउने अधिकारका लागि बेलायतको डिफेन्स् भेट्रान मन्त्रीसँग मार्चमा एनआरएन यूकेको आफ्नै कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए ।

अध्यक्ष गाहामगरले एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टका लागि नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्रलाई केन्द्रित गरी मे २०२२ देखि जुन २०२२ भित्र प्रपोजल तथा ज्ञापन पत्र बुझाइने पनि बताए ।

अध्यक्ष गाहामगरले बेलायतस्थित नेपाली समुदाय र नेपालमा खेलाडी एवं खेलकुद विकासका लागि वृहत योजना ल्याउन आफैं अग्रसरता देखाएका छन् । नेपालमा हुन गइरहेको आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०२२ मा एनआरएनए यूकेले बेलायतबाट खेलाडी छनौट गरी प्रतियोगितामा भाग लिन नेपाल पठाउने र यसको संयोजकत्व खेलकुद विभागले गर्ने अध्यक्षले जानकारी दिए ।

उपाध्यक्ष तथा च्यारिटी विभागका संयोजक गोविन्द खरेलद्वारा हालसम्म विभागद्वारा संयोजन गरिएका कार्यक्रमहरुको संक्षिप्त विवरण तथा आगामी मे २०२२ देखि जुलाई भित्र नेपाल हाउस प्रोजेक्टको लागि च्यारिटी डिनरको आयोजना गर्ने तथा बेलायतको कोरोना भाइरससम्बन्धी नियमहरु खुला भएको खण्डमा एक बृहत च्यारिटी कार्यक्रम गरिने योजना रहेको बताए। खरेलले च्यारिटी विभागमा प्रमुख सल्लाहकारहरु शान्ति थापा कँवर, डेविड गुरुङ तथा ओम थापा काउचा रहेको र विभागभित्र आफ्नै संयोजकत्वमा छेमता ढकाल उपसंयोजक, आवेश राई कोषाध्यक्ष तथा ग्यान्जु शेर्पा सदस्य सचिवसहितको विभाग गठन गरेको पनि जानकारी दिए।

बैठकमा, संघसंस्था विभाग, महिला विभाग, प्रकाशन विभाग, नेपाली नागरिकता निरन्तरता विभाग, धर्म विभाग, दैवी प्रकोप तथा आपतकालिन विभाग, संस्कृति विभाग, व्यापार तथा लगानी लगायत विभागीय प्रमुखहरुलेआफ्नो विभागका क्रियाकलापहरुबारे ‘अपडेट’ गराएका थिए ।

बैठकले एनआरएनए केन्द्रीय अधिवेशनमा बेलायतबाट प्रतिनिधित्व गर्ने डेलिगेट्सका सन्दर्भमा कार्यसमितिले यसअघि सिफारिस गरेका डेलिगेट्सलाई पूर्ण रुपमा मान्यता दिएर शीघ्र अधिवेशन हुनुपर्ने माग पनि गरेको छ । बैठकमा बेलायतस्थित गैरआवासीय नेपालीका प्रत्यक्ष सरोकारका विषयमा संघको कार्यालयबाट दिन सकिने सेवाहरुबारे समेत विचारविमर्श गरिएको थियो। अध्यक्ष गाहामगरले दूतावासमा घुम्ती सेवाका लागि कार्यवाहक राजदूत रोशन खनाललाई करिब एक महिनापूर्व नै औपचारिक पत्र पठाइएको जानकारी दिए।

बैठकले अध्यक्ष प्रेम गाहामगरलाई मुख्य ट्रष्टीमा राखी बाँकी च्यारिटी सम्बन्धि काम यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरिएको छ ।

बैठकले ५ मार्च २०२२ का दिन आफ्नै कार्यालयमा महिला दिवस र ६ अगष्ट २०२२ शनिबार संघको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

बैठकमा कोषाध्यक्ष विष्णु खरेलले हालसम्मको आर्थिक आयव्ययबारे जानकारी दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री