लण्डन । गत अक्टोबरमा हुनुपर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन फेब्रुअरी २८ मा हुने भएको छ ।
संघको आज बसेको बैठकले सो निर्णय गरेको प्रवक्ता डीबी क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले संघको आगामी नेतृत्व चयनका लागि निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन र महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।
समितिमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहनुभएको छ ।
उच्चस्तरीय समितिले संघको विधानअनुरुप २६ जनवरी २०२२ सम्ममा महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरी संघका अध्यक्षमार्फत निर्वाचन समितिसमक्ष पेश गर्नेछ ।
बैठकले दशौँ महाधिवेशनमा पेश हुने महासचिव डा हेमराज शर्माको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।
बैठकले सहमति र सहकार्यमा निर्वाचन कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गर्न सहयोग गर्नु हुने संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु, पदाधिकारीहरु लगायत सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, संघको स्थायित्व नै विश्वभर छरिएर बसेका समस्त गैरआवासीय नेपालीहरुको गौरवको विषय भएको मनन गर्दै हालसम्मका समग्र आपसी मतभेद बिर्सेर निर्वाचनमा आ–आफ्नो स्थानबाट सहयोग, समर्थन र सहभागी भइदिन राष्ट्रिय समन्वय परिषद, उम्मेदवार, मतदाता तथा शुभचिन्तकहरुलाई अनुरोध गरेको छ ।
महाधिवेशनमा मतदान गर्न तथा उम्मेदवार बन्नको लागि अति आवश्यक र अनिवार्य फेस भेरिफिकेसन (सेल्फी रजिष्ट्रेशन) गरिदिनुहुन सबै महाधिवशेन प्रतिनिधिहरुलाई अनुरोध गरिएको छ ।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो