‘ए स्टार’को दशौँ वार्षिकोत्सवमा दश ग्राहकले रोजेका च्यारिटीलाई सहयोग

लण्डन । बेलायतमा नेपाली मूलका व्यवसायीद्वारा सञ्चालित ए स्टार फाइनान्सियल सोलुसन्सले आफ्नौ दशौँ वार्षिकोत्सव फरक किसिमले मनाएको छ ।
बेलायतको नेपाली समाजमा सामान्यतया वार्षिकोत्सवहरुमा समुदायका अगुवाहरुको आसन, भाषण र सम्मान गरिने चलन रहेकोमा ए स्टारले दश जना ग्राहकहरुले इच्छाएको च्यारिटीलाई आर्थिक सहयोग गरी वार्षिकोत्सव मनाएको छ ।
दशौँ वर्षगाँठ भएकाले दश जना ग्राहकले इच्छाएको च्यारिटीलाई आर्थिक सहयोग गरिएको सोलुसन्सका प्रिन्सिपल मिन दर्लामी मगरले बताए । सामाजिक कार्यमा संलग्नहरुलाई प्रोत्साहन गर्न पनि यस्तो सोच ल्याइएको पनि उनले थपे ।
छनौट भएका प्रत्येक च्यारिटीहरुलाई २०० पाउण्डको चेक प्रदान गरिएको छ । यसरी सहयोग पाउने च्यारिटीमा बेलायत, भारत र नेपालमा कार्यरत संस्थाहरु छन् ।

सहयोग पाउने च्यारिटीहरु यसप्रकार छन्ः
रत्न आश्रम
ए स्टारका दुई जना ग्राहक श्रीमती मन सुनुवार तथा राजन महर्जन र श्रीमती नवी महर्जनको सिफारिसमा रत्न आश्रमलाई सहयोग गरिएको छ । बेलायतको च्यारिटी कमिसनमा ११८०९५७ दर्ता नम्बर रहेको रत्न आश्रमले दमक झापामा रहेको वृद्धाश्रममार्फत वृद्धवृद्धाको बसोबास, खाना, हेरचाह र स्वास्थ्य सम्भार गर्ने गरेको छ ।

आफ्नो
एडभोकेसी फर द नेपलिज अर्गनाइजेसन (आफ्नो) पनि बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको च्यारिटी हो । यसको दर्ता नम्बर ११७३८१६ रहेको छ । पूर्णबहादुर राना र श्रीमती पदमा रानाको सिफारिसमा यस च्यारिटीलाई सहयोग गरिएको हो । यो च्यारिटीले लण्डनमा रहेका सबै उमेरका गोरखा समुदायलाई आवश्यक पर्ने सहयोगका लागि वर्षभरि भेट हुने वातावरण मिलाउने साथै अन्य कार्यक्रमहरु आयोजना गर्ने गर्छ ।

क्यान्सर रिसर्च युके
क्यान्सर रोगका बारेमा सचेतना जगाउने, क्यान्सरका बिरामीको उपचारमा सघाउने तथा क्यान्सरको उपचारका बारेमा अनुसन्धानमा सहयोग गर्नमा क्यान्सर रिसर्च युके अग्रपंक्तिमा आउँछ । ए स्टारका ग्राहक आलेक्स लीको रोजाइमा ए स्टारले क्यान्सर रिसर्च युकेलाई पनि सहयोग गरेको छ ।

ओखलढुंगा पारस्परिक गुठी तथा अनाथ आश्रम
यस संस्थाले ओखलढुंगामा रहेको अनाथ आश्रममा अनाथ बालबालिकालाई खाने, बस्ने सुविधा तथा पढ्ने अवसर उपलब्ध गराउँदै आएको छ । शिवजी श्रेष्ठ तथा उर्मिला श्रेष्ठको रोजाइमा ए स्टारले यस संस्थालाई सहयोग उपलब्ध गराएको हो ।

रिजनल क्यान्सर रिसर्च सेन्टर केरला, भारत
क्यान्सर रोगको रेडियोथेरापी र सर्जरीबाट उपचार उपलब्ध गराउने उद्देश्य यस संस्थाले राखेको छ । दक्षिण पश्चिम भारतमा क्यान्सरका बारेमा जनचेतना जगाउने, प्राज्ञिक र उपचारका सीपका तालिम पनि यस संस्थाले उपलब्ध गराउँदै आएको छ । जाकोब अब्राहम र जेसी भारुघिजको सिफारिसमा सो संस्थालाई सहयोग गरिएको हो ।

इभरग्रीन केयर युके
बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको यस संस्थाले वृद्धावस्थाका मानिसहरुलाई सहयोग गर्ने गर्छ । यस संस्थाले अहिले करिब ६०० वृद्धवृद्धालाई सहयोग उपलब्ध गराइरहेको छ । ए स्टारका ग्राहकहरु फत्तबहादुर थापा र सोनिया हीरुरा थापाको रोजाईमा यस संस्थालाई सहयोग गरिएको हो ।

ओरल हेल्थ फाउण्डेसन
बेलायतको च्यारिटी कमिसनमा दर्ता रहेको यस संस्थाले मुखको स्वास्थ्यका बारेमा मानिसहरुलाई सहयोग उपलब्ध गराउने, जनचेतना फैलाउने गर्छ । युवा, वृद्ध र अपाङ्गता भएका मानिसरुको जीवनस्तर सुधार्नका लागि काम गर्ने यस च्यारिटीको दर्ता नम्बर २६३१९८ रहेको छ । डा लिज स्वाझो मोरान र लुकास डाबेकको रोजाइमा यस संस्थालाई सहयोग गरिएको हो ।

चाइल्ड रेस्क्यु नेपाल
नेपाल र भारतबाट जोखिममा रहेका बालबालिकाहरुलाई दुई दशकभन्दा लामो समयदेखि उद्धार गर्दै आएको यस च्यारिटीले नेपाललाई आधार बनाइ काम गर्छ । बेलायतको च्यारिटी कमिसनमा १०७८१८७ दर्ता नम्बर रहेको यस च्यारिटीलाई दीपेन्द्र सिटौला र दीपा सिटौलाको सिफारिसमा सहयोग गरिएको हो ।

ईन्द्रेणी र स्नेही काख
ईन्द्रेणीले सेवा, सन्देश र मनोरञ्जनको उद्देश्य राखी नेपालका विभिन्न भागका असहाय दीन दुखीलाई सेवा गर्दै आएको छ । कलाकार कृष्ण कँडेलले पहल गरेको यस अभियानबाट धेरैले लाभ लिइसकेका छन् । उता स्नेही काख जिल्ला प्रशासन कार्यालय ललितपुर तथा समाज कल्याण परिषद्मा दर्ता भई सडकका मानसिक रोगीहरुलाई सहयोग गरिरहेको छ । एस्टारका ग्राहकहरु कृष्णमणि राई र शान्तकला राईको रोजाइमा यस संस्थालाई सहयोग गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री