बिसीसी युकेले रब्जम रिन्पोछेको जन्मोत्सव मनाउँदै

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध कार्यक्रमका साथ हिज होलिनेश रब्जम रिन्पोछेको जन्मोत्सव मनाउने भएको छ । वरिष्ठ बौद्ध धर्मगुरु रब्जम रिन्पोछेको आउने शनिबार २५ डिसेम्बरका दिन बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बौद्ध परम्परानुसार ५५ औं जन्मोत्सव मनाउन लागिएको हो ।
विशेष गरी नेपाल र भुटानका बौद्ध गुम्बामा रहँदै आएका हिज होलिनेश हाल थाईल्याण्डमा उपचारार्थ रहेका छन् । उक्त दिन थाईल्याण्डबाट अनलाईनमार्फत उनले बिसीसी युकेमार्फत भक्तजनहरुसंग साक्षात्कार गर्ने बिसीसी युकेका कोषाध्यक्ष एवं हिज होलिनेश जन्मोत्सव आयोजक समितिका संयोजक मेजर हितमान गुरुङले जानकारी दिए । उनका अनुसार उक्त दिन बिहान १० बजे देखि हिज होलिनेशको सुस्वास्थ्य तथा दीर्घायूको लागि आयु पूजा, महाकाला पूजा र छोक पूजा गरिने छ ।
वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै मुखमा माक्स, हातमा सेनिटाईजर र सामाजिक दुरीलाई पूर्ण रुपमा पालना गर्ने गरी भक्तजनहरु गुम्बामा सहभागी भई उनको जन्मजयन्ती मनाउन अनुरोध गरेका छन् । त्यस्तै, उनले पेचा पढ्न सक्ने र चाहना भएका धर्ममित्रहरुलाई साथमा पेचा, बज्र–घन्टी, पेचा स्टन्ड लिएर आउन अनुरोध गरेका छन् ।
स्मरण रहोस्, बिसीसी युकेले नेपाललगायत संसारभर छरिएर रहेका बौद्ध धर्म गुरुको जन्म दिनमा विशेष पूजाको आयोजना गरी जन्मोत्सव अर्थात् बर्थ डे मनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री