नेपालीको लुटिएको सुन पसलमा पुगे बेलायती मन्त्री

लण्डन । बेलायतको अल्डरसटमा नेपालीहरुद्वारा संचालित सुन पसल तोडफोड गरी चोरी भएकोमा बेलायतका मन्त्री लियो डोकोर्टी आफैँ घटनास्थल पुगी पसलका धनीहरुसित भेट गरेका छन् ।
सो क्षेत्रका सांसद समेत रहेका बेलायतका भेट्रान मन्त्री डोकोर्टीले घटना घटेको दिन शुक्रबार बिहानै अनुग्रह ज्वेलर्स तथा न्यूलक्ष्मी ज्वेलर्समा पुगी घटनास्थलको अवलोकन गरी जानकारी लिएका थिए ।
प्रहरी अधिकृत र स्थानीय काउन्सिलर जीव बेल्बासेसहित लुटिएका पसलहरुमा पुगेका उनले अनुग्रह ज्वेलर्सका सन्चालक सुमन राई र न्यूलक्ष्मी ज्वेलर्सका प्रबन्धक विकास पराजुलीसित भेट गरी घटनाको बारेमा जानकारी लिएका थिए । उनले स्थानीय व्यवसायप्रति आफ्नो ऐक्यवद्धता जनाउनका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सँगसँगै काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
मन्त्री डोकोर्टीसित सो स्थानमा पुगेका काउन्सिलर बेल्बासेका अनुसार नेपाली समुदायलाई लक्षीत गरी भएको घटनाप्रति डोकोर्टीले गहिरो चासो देखाउनुका साथै पसलका सन्चालकहरुसित सहानुभूति प्रकट गरेका थिए ।
यसका साथै डोकोर्टीले ह्याम्सायरका प्रहरी कमिश्नरलगायतसित यसबारेमा कुरा राखेको पनि बेल्बासेले जानकारी दिए ।
यसैक्रममा भोलि पसलका संचालक र प्रहरीसित बैठक आयोजना गरिएको अनि ग्रेटर रसमुर नेपाली कम्युनिटीसित अलग्गै बैठक डाकिएको काउन्सिलर बेल्बासेले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री