मगर बौद्ध समाज बेलायतमा टीकाराम दर्लामी

लण्डन । मगर बौद्ध समाज बेलायतको तेस्रो अधिवेसनले टीकाराम दर्लामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार भर्चुअल रूपमा सम्पन्न जुम मार्फत तेस्रो अधिवेशनले दर्लामीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित गरेको हो । समितिको सचिवमा घन पुनमगर, सहसचिवमा निर्मल थापामगर, कोषाध्यक्षमा दण्ड थापामगर र सहकोषाध्यक्षमा दिल दर्लामीमगर चयन हुनु भएको छ ।

शाखा समितिहरूको हकमा नव निर्वाचित कार्यसमितिको रोहबरमा बढीमा ५ सदस्य रहने गरी निकट भविष्यमै गठन गर्ने निर्णयसमेत अधिवेशनले गरेको छ ।

दिउँसो करिब साढे १ बजे समारोहका प्रमुख अतिथि मंगल बुद्ध विहार ग्रीन्फोर्ड लण्डनका भिक्षु इन्द्रशक भन्तेद्वारा उपस्थित सबैमा तिशरण गमनसहित पंचशील ग्रहण गराएर शुभारम्भ भएको अधिवेसन उद्घाटन सत्रमा संस्थाका उपाध्यक्ष इन्द्र पुनमगरले स्वागत भाषण गर्नुभएको थियो । विशेष अतिथि मगर संघ यूकेका अध्यक्ष सुनिल रानामगर, मगर महिला संघ यूकेका अध्यक्ष बिष्णु श्रीसमगर, मगर युवा संघ यूकेका अध्यक्ष किशोर रानामगरलगायत मगर बौद्ध समाज बेलायतका सल्लाहकार पूर्ण रानामगरले अधिवेशन पूर्ण सफलताको निम्ति शुभ कामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा संस्थाका महासचिव टीका दर्लामीमगरले कार्य प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष सरला रानामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी जिन्सी प्रतिवेदन संस्थापक अध्यक्ष कृष्ण दर्लामीमगर स्वयंले प्रस्तुत गर्नु भएको थियो । साथै निर्णयार्थ छलफलका लागि संस्थाको विधान संसोधन प्रस्ताव समितिको तर्फबाट संस्थाका सचिव रिम गलामीमगरले राख्नुभएको थियो । त्यसपछि संस्थाका अध्यक्ष कृष्ण दर्लामीमगरले निर्वाचन प्रकृयालाई अगाडी बढाउनका लागि प्रमुख निर्वाचन आयुक्त थर्क रानामगर, निर्वाचन आयुक्त पूर्ण रानामगर र निर्वाचन आयुक्त हिमाली रानामगरलाई अनुरोध गर्दै आफ्नो कार्यकारिणी समिति भंग भएको घोषणा गर्नुभएको थियो ।

कार्यक्रमको तेस्रो तथा अन्तिम चरणमा निर्वाचन आयोगद्वारा निर्वाचन प्रकृयालाई अगाडी बढाउँदै २० मिनेटभित्र आफ्नो उम्मेदवारी मनोनयन दर्ताका लागि आह्वान गरिएको थियो तर निर्धारित समय भित्र कसैको पनि उम्मेदवारी मनोनयन दर्ता नभए पछि सबैको छलफल र साझा सुझावपश्चात नयाँ कार्यसमिति चयन गरिएको थियो ।

प्रमुख निर्वाचन आयुक्त थर्क रानामगरले नवनिर्वाचित सबै पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनु भएको थियो भने कार्यक्रमको अन्त्यमा प्राय सहभागी सबैबाट बधाई तथा शुभ कामना मन्तव्य ब्यक्त गर्दै अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री