सोमबार, मंसिर २० २०७८ | Mon, December 06, 2021
नेपालको समय: २०:२८ | UK Time: 14:43

नेपालले इयुसँग हवाईसेवामा लगाइएको प्रतिबन्ध हटाउन माग गर्ने

वीनेपाली
२०७८ मंसिर ४ गते १४:१८

काठमाडौँ । नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको तेह्रौँ बैठक यही मङ्सिर ८ गते बुधबार काठमाडौँमा हुने भएको छ ।

बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज काठमाडौँ आइपुग्नुभयो ।

बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धका सबै पक्षमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताउनुभयो ।

बैठकमा द्विपक्षीय विकास सहायताका समग्र पक्षमा छलफल हुनेछ । युरोपेली सङ्घले नेपाललाई व्यापार, वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संसाधन विकास, पर्यावरण संरक्षणलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुहुनेछ । नेपाली विमान सेवालाई युरोपेली मुलुकको आकाशमा उड्न लगाइएको प्रतिबन्ध चाँडोभन्दा चाँडो हटाउन नेपाली पक्षले बैठकमा उच्च प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक