सोमबार, मंसिर २० २०७८ | Mon, December 06, 2021
नेपालको समय: १९:३४ | UK Time: 13:49

मध्यरातकी कन्या

भीम राई
२०७८ मंसिर ४ गते १४:०२

चौधरी चरणसिंह विमानस्थल लखनउदेखि जाल्सा रिसोर्ट पुग्दा समय दिउँसोको एक बजिसकेको थियो । जुलाई महिनामा लखनउको मौसम असाध्यै गर्मी थियो । अझै त्यहाँ पुग्दा अचानक बहेर आएको तातो तातो हावाले मेरो अनुहार मज्जाले पोलिरहेको आभाष हुन्थ्यो । त्यसरी आगोको ज्वालाझैं भत्भती पोल्ने मौसमदेखि बाँच्नको लागि हतारहतार होटलमा चेक इन गरेको थिएँ । त्यसपछी कोठामा पुगेर एकचोटी जिउलाई मज्जाले पखालेर आराम गर्न थालें । तर बिन्दास भएर बिस्तारामा बङलङ्गै लडिरहेको बेला कोठामा किरिङकिरिङ टेलिफोनको घण्टी बज्न थाल्यो । बिस्तारादेखि उठेर दुई/चार कदम हिँडे र रिसिभर उठाएर हेल्लो भन्न पाउँदा नपाउँदै, ‘रिसेप्सनमा झर्ने होइन ?’ एक्कासी ठूल्ठूलो स्वरमा आवाज गुन्ज्यो ।

त्यो चिरपरिचित आवाज निज्राको थियो । मैले त्यसबेला उनको प्रश्नको उत्तर दिन त्यति जरुरी ठान्दै ठानिनँ । त्यसैले फ्याट्टै फोन बिस्तारामा नै फालिदिएँ । त्यसपछी हतारहतार शरीरमा एकसरो कपडा उनें र लिफ्टको नजिकै पुगें । लिफ्टदेखि झरेपछि सुस्तरी कदम चाल्दै रिसेप्सनमा पुगेको थिएँ । म त्यहाँ पुग्दा उनी मेरो प्रतीक्षामा बारको नजिकै उभिरहेकी थिइन् । ‘गर्मी ज्यादै छ, बियर पिउने होइन ?’ यसपटक उनी अलिक सानो स्वरमा बोलिन् । उनको कुरो सुनेर मैले मुन्टोलाई एकचोटी तलमाथि हल्लाएर स्वीकारोक्त्ति जनाइ दिएँ । मेरो स्वीकारोक्त्ति सँगसँगै उनले दुई पाइन्ट बियर मगाइ हालिन् । त्यसपछि हातहातमा एक-एक पाइन्ट बियर लिएर हामी रिसेप्सनको एउटा कुनामा पुग्यौं र त्यही कुनामा बसेर बियर पिउन थाल्यौं ।

यहुदी र प्यालेष्टानीको ठिमाहा छोरी निज्रा मेरो एकदम मिल्ने साथी हुन् । मैले आजभन्दा ६ वर्ष अगाडि उनलाई लिभरपुल विश्व विद्यालयमा पहिलो चोटी भेटेको थिएँ । त्यसबेला हामी दुवैजना चिकित्सा शास्त्रका पहिलो वर्षको विद्यार्थी थियौं । उनी नारी भइकन पनि अलिक चन्चले स्वभावका थिइन् र म त्यसको ठीक विपरीत थिएँ । तिनै अतीतलाई राम्ररी सम्झने हो भने पनि मसँग परिचय गर्नको लागि उनी नै पहिले मेरो नजिक आएकी थिइन् । हुन त म वेल्सको फेरिसाइड भन्ने एउटा सानो गाउँदेखि आएको थिएँ । त्यसैले एउटा बिचरा बबुरो जस्तै थिएँ । अझै लिभरपुल सहरमा मेरा कोही आफन्तहरु पनि थिएनन् । त्यसैले नियास्रो मानेर समय बिताइरहेको थिएँ । तर उनीसँग भेट भएपछि निश्चय नै मलाई हल्का राहत मिलिरहेको थियो ।

निज्रा बर्मिङ्घामदेखि आएकी थिइन् । उनको बाबु रबर्ट म्याक्सवेल बर्मिङ्घामको अति सफल ब्यापारी हुन् । जसले गर्दा उनले निजी कलेजमा पढने अवसर पाएकी थिइन् । निजी कलेजमा पढेकी विद्यार्थी भएकी हुनाले उनलाई थोरै दम्भ चढेको थियो । त्यसैले उनी यसो अवसर पाउने बितिक्कै जुनसुकै कुरोमा पनि फार्तिफूर्ती लडाइ हाल्ने गर्दथिन् । अझै कलेजमा छँदा उनले एउटा सोझो केटोलाई आफ्नो साथी बनाएकी थिइन्। उनको केटो साथीको नाम राहुल हो र ऊ पनि युनिभर्सिटीमा हामी सँगसँगै अध्ययन गर्दै थियो । अनि त्यसबेला चाहिँ आफ्नो भविष्यमा हुनेवाला श्रीमानलाई होटलको कोठामा आराम गर्न छाडी राखेर उनी एक्लै बियर पिउन बारमा झरेकी थिइन् ।

निज्राको आफ्नो केटो साथी भएतापनि विगत पाँच वर्षदेखि मलाई खेदो गरिरेहेकी छिन् । त्यसको पछाडिको मुख्य कारण उनकी बैनी हुन् । उनकी एउटी बैनी छे र उनी बर्मिङ्घाम युनिभर्सिटीमा चिकित्सा शास्त्र नै अध्ययन गरिरहेकी छिन् । बैनी हामीभन्दा ३ वर्ष पछिको टोली हुन् र आफ्नी दिदीलाई भेट्न लिभरपुल आउँदा मैले पनि निक्कैचोटी भेटिसकेको छु । उनीसँग मेरो निकट सम्बन्ध चाहिँ त्यस्तो केही जोडी हालिएको छैन । हुनत निज्राले जतिसुकै जब्बरजस्ती गरेता पनि म उनलाई साथी बनाइ हाल्न पटक्कै रुचाउँदिनँ किनभने मेरो परिवार अलिक रुढिवादी परम्पराका छन् । त्यसै त म किराँती संस्कृतिमा हुर्केको मान्छे हुँ । त्यसैले बिचरा यहुदी केटीसँग मेरो सम्बन्ध के मिल्न सक्थ्यो होला र ? तैपनि त्यति धनाढ्य एवम् टाठोबाठो परिवारमा मैले झुक्किएर नाता गाँस्न खोजेँ भने बाबुको हरक्कै सास गइहाल्ने सम्भावना हुन्छ ।

हामी त्यसबेला बारको नजिकै अध्यारो कुनामा बसिरहेका थियौं । अनि एक अर्कामा एक्कै शब्द नबोली बियर पिइरहेका थियौं । मलाई उनकी बैनीसँग सम्बन्ध नजिक गराउने उनको रहर सम्झेर म घरिघरि दङ्ग पर्दथें । हामी त्यसबेला लिभरपुलदेखि दिल्ली हुँदै लखनउ पुगेको थियौं । त्यसैले थाकेर लखतरान भएका थियौं । बारको कुनामा एक आपसमा बोल्दै नबोली निक्कै लामो समय बितेपश्चात् गिलासमा भएको आधा पाइन्ट बियर मैले एक्कै घुट्कीमा स्वाट्टै बनाइ दिएँ । अनि सानो स्वरमा मुख खोलें, ‘अब लागौ है, कि अर्को पाइन्ट बजाउने हो ?’

निज्राले पहिले दाहिने हात उचालिन् । अनि उत्तर दिने क्रममा, ‘होइन, होइन नपिउने भरे पनि पिउनु पर्छ,’ हतासमा जवाफ फर्काइ हालिन् । त्यति भनिसकेपछि उनी बसिरहेको ठाउँदेखि जुरुक्कै उठिन् र दाहिनेतिर मरक्कै टाउको फर्काएर लिफ्टतर्फ एक झलक हेरिन् । म त्यसबेलासम्म पर्खालको भित्तामा मज्जाले अडेस लगाएर बसिरहेको थिएँ । उनी उठेको देखेपछि म पनि सुस्तरी उठेँ अनि एकचोटी आङ तन्काएर हिँडन तयार भएँ । हामी एक अर्कामा छुट्टिएर आ-आफ्नो कोठातर्फ लाग्यौं ।

हरेक दिनरात कैलाश पर्वतबाट उत्पन्न भएको बरफ झैं चिसो पानी शारदा नदी भएर लखनउसम्म आइपुग्ने गर्दछ । तिनै पानीदेखि निकालिएका फोहराले सजी सजावट जाल्सा रिसोर्ट लखनउको एउटा गौरवपूर्ण रिसोर्ट मानिन्थ्यो । त्यति शानदार रिसोर्टमा हाम्रो एकजना साथीको भव्य बिहेको भोज हुन गइरहेको थियो । त्यसैले भोजको लागि बिटल्सको सहरमा अध्ययन गरेका सातजना पूर्व विद्यार्थीहरु लखनउ पुगेका थियौं । अझ तिनै रिसोर्टमा हुने निजी भोजमा पाल्नुहुने पाहुनाहरुको लागि रिसोर्ट पूरै तीन दिनसम्मको लगि आरक्षण गरिएको थियो ।

त्यसबेला लखनउको समय त्यस्तै दिउँसोको एक बजिसकेको हुनुपर्छ । म समयको गतिसँगसँगै पन्जाबी पोसाकमा ठाँटिएर रिसेप्सनमा टुप्लुक्क झरिसकेको थिएँ । म त्यहाँ पुग्दा रिसोर्ट नव दुलहीझैं मज्जाले सिँगारिएको थियो । रिसोर्टको विशाल छातीमा एउटा फराकिलो घाँसे मैदान थियो र मैदानको बीच भागमा सूर्यको किरणले टलल टल्कने सेतो तम्बुको गुम्बज बनाइएका थियो । त्यति ठूलो गुम्बजलाई मज्जाले नजर लगाउने हो भने इस्तानबुलमा भएको ब्लु मस्कको भित्रीभाग झैं अति आकर्षक देखिरहेको थियो । अझ तिनै गुम्बजभित्र बिछ्याइएका इरानियन कार्पेटले भोजस्थललाई कमी रौनक दिइरहेको थिएन ।

त्यति भव्य भोजको लागि मबाहेक मेरा सबै साथीहरु आ-आफ्नो प्रेमी प्रेमिकाहरुसँग त्यहाँ पुगेका थिए । दुर्भाग्य भनौँ कि खै के भनौँ ? त्यसबेलासम्म मैले एउटै ओछ्यानमा खुट्टा खप्ट्याएर सुत्ने अर्को एउटा नग्न शरीरलाई भेट्न समर्थ भएको थिइनँ । तैपनि जीवनरुपी रथलाई जेनतेन हाँकिरहेको थिएँ । हाम्रो त्यस समूहको प्रमुख पात्रहरु रोहण र सारिका हुन् । भनौँ उनीहरु त्यसदिनको बेहुला र बेहुली थिए । त्यति सुन्दर गुम्बजभित्र झकिझकाउसहित बीसवटा टेबलहरु सजिएका थिए र शिखर टेबलमा आ-आफ्नो परिवारहरुसँग बेहुला र बेहुली बस्ने पूर्व योजना थियो । शिखर टेबलको ठीक पछाडी रहेको टेबल नम्बर दुईमा हामी पाँचजना बस्न गइरहेका थियौं ।

रोहणका पिता हड्डीका चिकित्सक (कन्सलटेन्ट) एवम् लखनउमा निजी अस्पतालका मालिक हुन् । त्यसैले उनले प्रशस्त अर्थ आर्जन गरेका थिए । अब त्यतिका धेरै सम्पत्ति भएकोले बिहेको तामझाम निक्कै भव्य नै हुने भयो । अनि त्यस महत्वपूर्ण कार्यक्रमलाई एउटा पूर्ण चलचित्र झैं छायाङ्कन गर्नको लागि बलिवुडका चलचित्र सम्पादक शिवशँकरले जिम्मेवारी पाएका थिए । उनले हाम्रो समूहलाई भोजमा उपस्थित हुँदा के कसरी जाने भनेर पूर्वाभ्यास गराइसकेका थिए । तर मेरो जोडी नभएको हुनाले मैले अरुभन्दा बिल्कुल फरक भूमिका पाएको थिएँ ।

मध्यान्हको दुई बजेपछि बेहुला र बेहुली हात्तीबाट ढलकढलक ढल्कँदै भोज स्थलमा आएका थिए । भोज स्थलमा उनीहरु आउँदा चलचित्र सम्पादकले उनीहरुको अभिनय क्यामेरामा कैद गर्न थालिसकेका थिए । त्यहाँ उपस्थित भएका सबै पाहुनाहरुले हात्तीमा ढल्कँदै आएका नव वरवधुलाई फूलका कोशहरुले छर्कनुको साथसाथै गडगडाहट तालीले स्वागत गरेका थिए ।

उनीहरुको पछिपछि रोशन र निज्रा रोल्स रोयसमा अनि दिपेन र मन्जु बेन्टली कारदेखि भोजस्थलमा गएका थिए । म चाहिँ अन्य साथीहरुभन्दा बिल्कुल फरक ढंगले साइकल चलाएर जानु पर्ने भएको थियो । अझै साईकल चलाउने क्रममा मै ‘शरावी नही हुँ, मुझे किसिने पिलाए तो मै क्या करुँ’ भन्ने गीत गाउँदै कार्पेटको बीचभाग भएर जानुपर्ने योजना थियो । अहँ अझै त्यतिले मात्र शिवशँकर के मान्दथे र ? पटक्कै मानेको थिएन । त्यसैले मलाई एउटा हातमा एक बोतल सिमिरफ भोड्का पनि बोक्न लगाएका थिए ।

चलचित्र सम्पादकले मेरो प्रेमिका नभएकै कारण मलाई त्यस्तो अभिनय गर्न लगाएका थिए । त्यस्तो अमिल्दो अभिनय भएपनि पाहुनाहरुलाई एकछिन मनोरन्जन होस् भन्ने मेरो पनि विचार भयो । अझै त्यति टाढा लिभरपुलदेखि आफ्नो प्रिय मित्रको बिहे खान लखनउ पुगेको हुनाले शिवशँकरको त्यो अनुरोधलाई मैले ठाडै अस्वीकार गर्न मिल्दैनथ्यो ।

सबै साथीहरु कारबाट भोजस्थलतर्फ लागेपछि मेरो पालो आयो । मैले बेहुलाको सल्लाहलाई उच्च सतर्कता अपनाउँदै सेतो कमिज, सेतै सुरुवाल र शिरमा रातो टर्बान ढल्काइरहेको थिएँ । त्यसपछि पूर्व योजना भएअनुसार मैले सुस्तरी साईकल चलाउन सुरु गरिहालें । म साईकलमा त्यसरी आउँदा सबै पाहुनाहरु मरिमरि हाँसिरहेका थिए । उनीहरु हाँसेका देखेपछि मलाई झन् जोस चलेर आएको थियो । त्यसैले झन् बेस्सरी साइकल हाँक्न थालें । तर केहीबेरमा कार्पेटको जोर्नीमा पुगेँ र त्यहाँ अड्किएर म भुइँमा बङ्लङ्गै लडें ।

साईकलदेखि त्यसरी लड्दा मेरो हातबाट उडेर गएको भोड्काको बोतल तम्बुको खम्बामा पुगेर बज्रियो र फुटेर चक्नाचुर भएको आवाज सुनें । मेरो शिरमा ढल्किरहेको टर्बान उछिट्याएर कता पुग्यो पुग्यो मलाई केही अत्तोपत्तो हुन सकेन । भोजस्थलमा पुग्नै लाग्दा अचानक घटेको त्यस्तो घटनाले मेरो अनुहार रातो र पिरो भइरहेको थियो । तिनै लाज ढाक्नको लागि म केहीबेर भुइँमा घोप्टिरहेकै अवस्था थियो । दुर्भाग्यवस पेट भुइँमा बजारिएर हुरुक्कै हुँदा सास फेर्न धौधौ परिरहेको थियो । अझै सबैभन्दा ठूलो अन्याय त मलाई तिनै साईकलले दिइरहेको थियो किनभने त्यसबेला साइकल मेरो शरीरमाथि र म साइकल मुनी परिरहेको थिएँ । मेरो त्यस्तो बेहाल देखेपछि एउटी युवती मेरो नजिक आइन् र दाहिने हात समातेर मलाई भुईबाट सुस्तरी उठाइन् । अनि केही पर कुनामा आराम गरिरहेको टर्बान टिपेर मेरो टाउकोमा लगाई दिँदै भनिन् – ‘के तपाईलाई ठिक्कै त होला नि, होइन ?’

मानिसहरुको अत्यन्तै भीड थियो । तिनै भीडको बीचमा अचानक आएको उनको प्रश्नले मलाई असाध्यै लाज लागिरहेको थियो । तर कोईलीको झैँ त्यति मीठो बोलीले मलाई कताकता आकर्षण पनि गरिरहेको थियो । त्यसपछि मेरा चिम्से नयनहरुले उनका नयनहरुसँग केहीबेर जुहारी खेल्यो । तिनै मौकाको फाइदा उठाउँदै मैले उनको शिरदेखि पाउसम्म एक झलक राम्ररी नियालेर हेरें । उनले मेरो मनै लोभ्याउने गरी सेतो साडी र सेतै चोली लगाएकी थिइन् । अनि बत्तीको त्यति उज्यालो प्रकाशमा एकदम पातली, अग्ली र गोरी शरीरमा निक्कै अग्लो उठेको छातीले मलाई आकर्षित गरेर कलियुगको कृष्ण बनाइरहेकी थिइन् । उनको त्यति आकर्षक शरीर देखेर दङ्ग परेपछि प्रतिउत्तरमा मैले, ‘धन्यवाद’ मात्र भन्न सकेको थिएँ ।

तर सबैभन्दा अचम्मको कुरोचाहिँ के भइदियो भने त्यहाँ उपस्थित भएका सबै पाहुनाहरुले अभिनय त्यस्तै प्रकारले गर्नुपर्ने होला भनेर सोचेका रहेछन् । जसले गर्दा ती युवतीबाहेक अन्य कसैले मलाई त्यहाँ सहयोग गर्न आउने जमर्को गरेका थिएनन् । शिवशँकरले त्यसबेलासम्म मेरो तमासा राम्ररी हेरे र सबै कृयाकलापहरु उनको क्यामेरामा मज्जाले कैद गरेर राखे । पहिले कहिलै अभ्यास नगरिएको अभिनय त्यहाँ प्रदर्शन भएपछि मेरो नाट्यकलाप्रति शिवशँकर बहुत खुशी भइरहेका देखिन्थे ।

अचानक भएको साईकल दुर्घटनाले मेरो दाहिने घुँडा बेस्सरी दुखिरहेको थियो । त्यसैले भोजस्थलमा म खल्ट्याङ खल्ट्याङ गर्दै अलिक ढिलै पुगेको थिएँ । म त्यहाँ पुग्दा हाम्रो समूहको सबै सदस्यहरु टेबलमा आसन गरिसकेका थिए । भोज यात्रामा परेका कठिनाईहरुको बाबजुद म टेबलमा पुगेर सबैजनालाई एक्कै मुष्ठमा हेल्लो भन्दै कुर्सिमा थपक्कै बसें । त्यसपछी मलाई कसैसँग बोल्न रहर लागेन ।

तर त्यहाँ बस्दै गर्दा मेरो ठीक दाहिनेतिर एउटा कुर्सी खाली देखेपछि म तीन दङ्ग परें । तिनै खाली कुर्सीको ठीक सामुन्ने ‘मिज्रा म्याक्सवेल’ भनेर लेखेको देख्दा झन् मेरो कन्सिरी तातिएर आयो । मैले त्यसबेला कन्सिरी मात्र नभएर अचानक मेरो हृदयको धड्कन पनि बेस्सरी चल्न थालेको महसुस गर्न थालेको थिएँ । यो खेल तिनै निज्राले खेलिकी हुन् भनेर मैले मनमनै सोचें तर अति मिलनसार मित्र रोहणको बिहेको दिन वातावरणलाई किन धुमिल बनाउने है भनेर दिमागलाई ठन्डा बनाउन प्रयत्न गरें । म बेखुशी मुद्रामा त्यसरी कुर्सीमा बसेको निज्राले नजिकैदेखि नियालिरहेकी थिइन् । त्यसैले मेरो सिधै अगाडिको खाली गिलास उचालेर उनले भरी वाईन सारिन् र मुख खोल्न सुरु गरिन् ।

‘नविन ! के भयो ? किन ढिलो गरेको हँ ?’

उनले त्यहाँ गरेको हर्कतले मेरो रिस मरिसकेको नै थिएन । तैपनि त्यस परिस्थितिमा म अन्य के नै गर्न सक्थें र ? तैपनि रिस क्षणिक हुन्छ।  कहिलेपनि स्थायी हुँदैन भन्ने सोचें । बरु केही अगाडि घटेको घटनालाई भुल्नको लागि एक घुटकी वाइन पिएँ । त्यसपछि थोरै संयम हुने प्रयत्न गरें । तर त्यसबेलासम्म मेरो मन वशमा छँदै थिएन । उल्टो लखनउको उखरमाउलो गर्मी र पूर्व घटित घटनाले मेरो अनुहारमा चिटचिट पसिना आउन थालेको महसुस गरिरहेको थिएँ । अब पसिनैपसिना भएको मेरो त्यो मलिन अनुहारलाई निज्राले टिठलाग्दो तरिकाले हेरिन् र टेबलमा भएको एउटा नापकिन टिपेर मेरो पसिना पाछपुछ गरिदिइन् ।

‘तिमी ठिक्कै त छौ नि हगि ?’ मेरो दायाँ हत्केलालाई सुमसुम्याउँदै दयालु स्वरमा उनी बोलिन् ।

‘हो, हो ! म ठिक छु , बिलकुल ठिक छु ।’ मैले छोटो जवाफ फर्काइ दिएँ ।

म त्यति बोलिसकेपछि मेरो टाउकोलाई थोरै दायाँतिर घुमाइ दिएँ । हाम्रो टेबलको दायाँ कुनामा एउटा ठूलो भट्टी पसल थियो र तिनै भट्टी पसलमा जे जे पिउन मन लाग्यो त्यही चिज पिउन पाइन्थ्यो । त्यसको अलिक अगाडि कुनामा निक्कै क्षेत्रफल ओगटेर बनाइएका आफैंले पस्काएर खान मिल्ने बफेट सेवाको सुविधा थियो । बफेटको बायाँ कुनामा एउटा अर्को टेबल थियो जहाँ जिन्दगीभरी सागसब्जीमात्र खाएर बाँच्छु भन्ने मानिसहरुका लागि शाकाहारी भोजनहरु लहरै सजिएका देखिन्थे । त्यसको ठीक विपरित दिशातिर नजर डुलाउने हो भने बिभिन्न प्रकारको मिष्टान्न र केक राम्ररी सजिएका थिए । पारदर्शी सिसाभित्र लुकेर बसेका तिनै केकहरु बत्तीको प्रकाशले झिलिमिली टल्किरहेका थिए । त्यति सुव्यवस्थित र भड्किलो प्रीतिभोज मैले जिन्दगीमा सम्भवत प्रथमचोटी ईक्षित गरिरहेको थिएँ ।

म त्यसबेलासम्म कुर्सीमा गजधम्म बसेर सुस्तरी वाईनले घाँटी भिजाइरहेको थिएँ र तिनै गोरी साडीवाली युवतीलाई बिर्सने चेष्टा गरिरहेको थिएँ । तर खै के भएर हो कुन्नि घटना घटेको बेला मेरो दाहिने हात तानेर उठाइ दिँदै गरेको क्षणलाई भने चट्ट भुलिहाल्न सकिरहेको थिइनँ । साँच्चै ! मानिसको मन पनि कति तरल हुन्छ होला ? किनभने हरेकचोटी वाईनको गिलास उचाल्दा उनको प्रतिबिम्ब गिलासमा झल्झली झल्किरहेको जस्तो मलाई आभाष भइरहेको थियो । यसरी उनको विषयमा गहिरिएर नानाथरी सोचिरहेको बेला एकास्सी ‘नविन’ भन्ने शब्द मेरो कानमा बज्रँदा म झसङ्गै झस्किएको थिएँ । केही पर बसिरहेकी मन्जुको मुखदेखि अचानक निस्केको त्यो आवाजले मलाई बेस्सरी तर्साइ दियो त्यसैले हतासमा म त्यतैतर्फ फर्किहालें ।

‘मिष्टर ! के भयो ? सँधैको जस्तो छैनौ त ?’

उनको प्रश्नको सीधै उत्तर दिन मेरो मनले पटक्कै मानिरहेको थिएन । तर मन्जुतिर फर्कदा उनको ठीक पछाडि टेबलमा तिनै सेतो साडीवाली युवती बसिरहेको देख्दा म झसङ्ग झस्कें । मैले उनलाई हेर्दा उनले मलाई क्वारक्वार्ती हेरिरहेकी थिइन् । अचानक उनका र मेरा नयनहरु जोडिएर चार हुँदा मेरो टाउको फुलिएर अजङ्गको भयो । म सपनामा छु कि वा बिपनामा छु भनेर एकछिन दिगभ्रमित बनिरहें । तर मेरो भ्रम त्यतिबेला हटेर गयो जब मैले एकचोटी आँखा बन्द गरेर फेरि दोश्रोचोटी खोलेको थिएँ । उनलाई अप्रत्याशित रुपमा त्यसरी देख्दा मलाई इङ्गित गर्दै उनले दाहिने हात आकाशतिर उठाएर थोरै हल्लाएकी थिइन् । उनको त्यो हात हल्लाइले म केहीबेर द्विविधामा परिरहें तैपनि मेरो दाहिने हातमा वाइनको गिलास थियो त्यसैले सुस्तरी बायाँ हात उचालेर जवाफ फर्काइ दिएँ ।

भोजमा निम्तालु पाहुनाहरु आ-आफ्नो कुर्सीमा आसन गरेपछि बेयराहरुको घुइँचो बढ्न थालेको थियो । एकछिनपछि टेबलमा विभिन्न प्रकारको सितनहरु देखापर्न थाले । भिक्टोरियन प्लेटमा गुङलिङ्ग परेको ससेजलाई काटेर एकटुक्रा मुखमा हाल्दै निज्राले फेरी मुख खोलि हालिन्, ‘नविन ! अनि सुनन बैनीले उनको नाममा रहेको खाली कुर्सीको तस्वीर त बर्मिङघामदेखि अघि नै हेरी सकिन् नि । के तिमीलाई थाहा भयो ?’

‘कसरी ?’ उनको त्यस्तो कुरो सुनेर मैले अनभिज्ञता प्रकट गरें ।

‘वाट्सएपदेखि हेरिन् । बिचरी ! यहाँ आउन पाइनँ भनेर सानो मन गर्दै थिइन् । तिमीले एकचोटी पनि लखनउ जाउँ भनेनौ छौं । तिमी अलिक निष्ठुरी छौ कि के हो ?’

निज्राको नानाभाँती कुरो सुनेर मेरो दिमाग पाकिरहेको थियो । तर उनको कुरो सकिन पाउँदा नपाउँदै हाम्रो टेबल पछाडिको टेबलदेखि सुरु भएको हिलको टकटक आवाज मेरो नजिकै आएर टक्क रोकिएको थियो । तिनै हिलको आवाज सेतो साडीवालीको थियो । उनी त्यहाँ आएपछि टेबलमा बसेका हामी सबै जनालाई हात उठाएर एक्कैचोटी “हेल्लो अल” भनिन् । त्यसपछी, ‘डाक्टर राई ! अहिले तपाईलाई कस्तो छ ? अघि भएको दुर्घटनाप्रति म एकदम दुःखी छु र भारी खेद प्रकट गर्दछु,’ नम्र भएर बोलिन् ।

एकजना अपरिचित युवतीले अचानक मेरो नजिक आएर सहानुभूति प्रकट गर्दा मलाई केही अफ्ठ्यारो त निश्चय नै भएको थियो । अझै त्यति दुखद घटनाको विषयमा उनले त्यहाँ वर्णन गर्दा टेबलमा बसिरहेका सबैजनाले दङ्ग परेर सुनिरहे । मसँग केही अन्य उपाय थिएन । त्यसैले प्रतिउत्तरमा, ‘त्यस्तो केही छैन,’ मात्र भन्न सकें । तर एक्कासी उनको उदयले हाम्रो टेबलमा एकछिन स्तब्धता छाइरह्यो ।

मैले त्यति भनिसकेपछि थोरै मुन्टो घुमाएर देब्रे आँखाले उनलाई एकझलक हेरें । छोटो बाहुला तर टिमिक्कै शरिरमा कसिएर भित्री बस्त्र देखिने ब्लाउज त्यसमाथि गर्लम्मै जिउमा बेरिएको सेतो साडी र हातमा बोकिरहेकी सेनलको सानो झोलाले उनलाई स्वर्गको परीझैं लाग्यो । अनि त्यति कामुक मुद्रामा उनकी बायाँ हात बारुली कम्बरमा थपक्कै सजाएर मेरो बायाँ कुम जोडिनेगरी ठिङ्गै उभिँदा मलाई कताकता काउकुती त यस्सै लागिरहेको थियो । अझै उनले प्रयोग गरेकी जर्जियो आर्मनी अत्तरको बासनाले परेड खेल्दै मेरो नाखसम्म पुग्दा म कहिले सरम र कहिले आनन्दित भइरहेको थिएँ ।

उनी एकछिनसम्म त्यहाँ खडा भइन् त्यसपछि, ‘म अहिले जान्छु है,’ भनिन् र सटासट हिँडिहालिन् । उनले आफ्नो बाटो तताउँदै गर्दा उनको नितम्बलाई हामी सबैले झिमिक्क आँखा बन्द नगरी हेरिरह्यौं । ‘एकजना स्वस्थ मानिसले हजारौँ कुरोको आकाङ्क्षा राख्छ तर बिमारी मानिसले एउटै कुरोको मात्र आकाङ्क्षा राख्छ,’ कन्फ्युसियसको वाणी सुनेको थिएँ । वास्तवमा म बिमारी त थिइनँ तैपनि उनलाई देखेपछि मैले एउटै कुरोको मात्र आशा गरिरहेको थिएँ ।

साच्चै ! साडीले छोरी मानिसको यौवनलाई कति आक्षिप्त बनाएर ल्याउने रहेछ । उनलाई देखेपछि मलाई त्यसबेला अचम्म लागिरहेको थियो । उनी त्यहाँदेखि बिदा भएर गएपछि टेबलमा अनेकन प्रश्नहरु ओइरिन थालिसकेका थिए । उनी को हुन् ? के भएको हो ? कस्तो घटना घटेको थियो ? मैले त्यहाँ उत्पन्न भएको कुनै पनि प्रश्नको उत्तर दिन त्यति जरुरी ठानिनँ तर उनको नामसम्म सोधेको भए राम्रो हुन्थ्यो कि भन्ने मेरो भित्री मनमा लागिरहेको थियो ।

टेबलमा सितनहरुले सधैको लागि बिदा लिएपछि ध्वनी प्रशारण यन्त्रदेखि बफेट सेवा सुरु भएको जानकारी पाएका थियौं । त्यस्तो सूचना मिल्ने बितिक्कै पहिले मुख्य टेबलमा बस्ने मानिसहरुले आफैँ खाना पस्केर लिन सुरु गरेका थिए । त्यसपछि खाना पस्कने हाम्रो टेबलको पालो आएको थियो । हामी त्यहाँ लामवद्ध हुँदा पङ्त्तिको सबैभन्दा अन्तिममा म उभिएको थिएँ । हामी पछि तीन नम्बर टेबलको पालो भनेर माइकबाट आवाज आउने बितिकै तिनै साडीवाली युवती ढलकढलक ढल्किँदै मेरो नजिकै आइहालिन् । मैले मौकाको फाइदा उठाउँदै उनको नाम सोधीहालें ।

‘निहारिका । निहारिका मलहोत्रा ।’

‘धन्यबाद ।’

‘डाक्टर राई । के तपाईको साथी आएनन् हो ?’

‘को साथी ?’

‘मिज्रा !’

उनले त्यसो भन्ने बितिक्कै मलाई खितितिति हाँसो लाग्यो । ‘त्यो त टेबलमा त्यतिक्कै साथीहरुले लेखिदिएका हुन्,’ सम्म भनेँ ।

मेरो कुरो सुनेर उनी एकछिन नतमस्तक बनिन् । तैपनि हामी सुस्तरी कदम चाल्दै खानेकुरो पस्किरहेका थियौँ । एउटा हातमा चिनियाँ माटोबाट बनेका राजकीय भियना पोर्सिलियन थालभरी खानेकुरा र अर्को हातले बिदाईको संकेत गर्दै हामी अर्कोचोटी छुट्टिन बाध्य भएका थियौं । उनीसँग त्यति बोलेपनि कति धेरै बोलेका हुन् भनेर मेरा टेबलमा बस्नेहरुले आशंका गरिरहेका थिए । त्यसैले म त्यहाँ पुग्ने बितिक्कै निज्राले फ्याट्टै मुख खोली हालिन् ।

‘अँ ! साडीवाली के भन्छिन् त ?’

‘केही होइन । परिचय मात्र गरेको हुँ ।’

‘केटी निक्कै हिस्सी परेकी र बेस्सरी पातली पनि रहिछे । जिन्दगीमा सुन्दर मुहार भएका मानिसहरु प्रशस्तै भेट्न सकिन्छ तर सुन्दर दिल भएका मानिसहरु एकदम कम भेटिन्छन् । त्यस कुरोको ख्याल गरेस् है । यति भन्दाभन्दै पनि मेरी बैनीलाई धोका दियौ भने मलाई थाहा छ, ईश्वरले तिमीलाई पनि माफ दिने छैन ।’

मैले उनको कुरोलाई एक कानदेखि सुने र अर्को कानदेखि उडाइँ दिएँ । किनभने आइन्सटाईनका सन्तति भएका कारणले बोल्न अचाक्ली जान्दछिन् भन्नेकुरो मलाई पहिले नै थाहा थियो । तर कुनैकुनै बेला चाहिँ आवश्यक्ताभन्दा अलिक बढी नै मलाई नियन्त्रण गर्न खोज्दैछिन् कि भन्ने महसुस गरिरहेको हुन्थेँ ।

एकछिनपछि हामीले खाना खाई सक्यौं । खाना खाएपछि धुवाँ लगाउँदा मौरीको घारभित्र मौरीहरु सलबलाए झैं हलभित्र बेयराहरु सल्बलाउन थालेका थिए । उनीहरुले त्यहाँ युद्धस्तरमा मिष्टान्नहरु उपलब्ध गरेका थिए । रसगुल्ला, काजु, कट्ली, लड्डु, बर्फी, रस मलाई, पेडा र मोडाक इत्यादी । मैले पनि आँखा चिम्लेर केही गुलियो हसुरी हालें तर इमान्दारिताको साथ भन्नुपर्दा ती मिठाईहरु मैले सोचेको भन्दा कैयौँ गुणा गुलिया थिए ।

कथाकार राई

त्यति धेरै गुलियो मिठाईहरुको स्वाद सँगसँगै मेरा टेबलमा बसेका प्रेमीप्रेमिकाहरु झन् गुलियो बनेर जोडिन थाले । त्यसपछि उनीहरु आ-आफ्नै जोडीसँग नाच्नको लागि नृत्य स्थलतर्फ लागे । अब मलाई गजधम्म भएर कुर्सीमा एक्लै बसिरहन त्यति उचित लाग्दै लागेन । त्यसैले सुस्तरी कुर्सीदेखि उठेँ र लन्द्रङलन्द्रङ हिँड्दै भट्टी पसलको छेउमा पुगे । त्यहाँ पुगेर बेयरालाई डबल हाईल्याण्ड पार्क सिङ्गल माल्ट मगाएँ र जिब्रोमा अडकिरहेको गुलियो स्वादलाई परिष्कृत गर्न थाले । तर त्यसरी म त्यहाँ एक्लै उभिरहेको देखेर निहारिका हस्याङ्फस्याङ गर्दै मेरो नजिकै आइन् । उनी आउने बितिक्कै –

‘तपाई के पिउनु हुन्छ ?’ मैले अनुरोध टक्रयाई हालें ।

‘अनि तपाई के पिउँदै हुनुहुन्छ ?’ उनले उल्टो प्रश्न गरिन् ।

‘स्कटिस पानी पिउँदै छु,’ भनें र फिस्सै हासें ।

‘अँ ! मलाई ह्विस्कीमा त्यति धेरै दिलचश्पी छैन्, बरु एक गिलास रातो वाइन पिउँछु है ।’

‘ए ! हुन्छ नि जे मन लाग्यो त्यही पिउनु सक्नुहुन्छ ।’

‘डा. राई ! के म तपाईलाई एउटा कुरो सोध्न सक्छु ? साँच्ची तपाईहरु कहाँदेखि आउनु भएको हो ?’

‘लिभरपुल ।’

‘ए ! हजुर ।’

‘उसो भए तपाईको साथी छैन हो ?’

‘छन् नि । हाम्रो टेबलमा बस्ने सबैजना मेरा असल साथीहरु हुन् ।’

‘होइन ! मेरो मतलव केटी साथी ?’

‘ए ! छैन छैन ।’

‘अनि लखनउमा कति बस्नु हुन्छ ?’

‘हामी यहाँ एक हप्ताको लागि आएका हौं । अर्कोहप्ता हैदराबाद जान्छौं । किनभने शारिकाको तर्फबाट प्रीतिभोज हैदराबादमा हुँदैछ । त्यहाँ एक हप्ता बस्छौं र उतैबाट बेलायत फर्कन्छौं ।’

‘अनि आज कहाँ बस्नु हुन्छ ?’

‘मेरो कोठा पाँचौं तलामा छ र कोठा नम्बर ५०५ हो । अनि सुन्नोस् न मैले ज्यादै सजिलो कोठा नम्बर पाएको छु । बेसुर हुनेगरी माते भने पनि कोठामा सजिलै पुग्छु भन्ने लागिराछ ।’

मेरो कुरो सुनेर उनले फिसिक्क मुस्कान छाडिन्, ‘ए ! ५०५ ज्यादै सजिलो रहेछ । तपाईको कोठा नम्बर त मैले पनि मज्जाले सम्झन सकें । अनि म चाहिँ तपाईको कोठाभन्दा एकतला मुनी होटलको चौथोतलामा बसेको छु है ।’

निहारिका त्यसबेलासम्म मेरो ठीक सामुन्ने उभिरहेकी थिइन् । मैले बोल्दा थुक उछिट्याएँ भने उनको सीधै अनुहारसम्म पुग्न सक्त्तथ्यो किनभने हामी एक आपसमा त्यति नजिक उभिएका थियौं । उनले हरेकचोटी चिरिप्पै वाइन पिउँथिन् र प्यारले मेरो मुहार हेर्ने गर्दथिन् । म झन् के कमी थिएँ र ? मैले आँखा नथाकिन्जेलसम्म उनको बिषालु ओष्ठलाई तिरिरी हेरिरहेको थिएँ ।

अनि कताकता उनको ओठबाहेक हरेक अङ्गप्रत्यङ्गलाई स्पर्श गरिरहेको झैं महसुस गरिरहेको थिएँ । साँच्चै भन्ने हो भने उनको त्यति आकर्षक शरीरलाई स्पर्श गर्नका लागि मेरा हातका औंलाहरु एकदम आतुर हुँदै सल्बलाइरहेका थिएँ । हुनत म अलिक लज्जालु स्वभावको मानिस थिएँ । त्यसैले त्यसबेलासम्म उनले सोधेका प्रश्नहरुको उत्तरहरु मात्र दिइरहेको थिएँ । मैले निक्कै लामो समयसम्म उनको केश, आँखा, नाक, मुख र घाँटी हुदै वक्षस्थलसम्म हेरिरहें तर मेरो मुखदेखि एक्कै शब्द ननिस्केपछि उनैले फेरि मुख खोलिन् ।

‘अ…तपाईले के सोचिरहनु भएको छ ? मलाई पूरै थाहा छ ।’ फिस्‍सै हाँसिन् तर हतारहतार हातले मुख छोपी हालिन् ।

‘होइन त्यस्तो केही पनि होइन,’ म अलि लजाए झैं गरें ।

‘अनि तपाईसँग म यसरी बोलिरहँदा तपाईको साथीहरु रिसाउँछन् कि ?’

‘किन रिसाउनु र ? रिसाउनु पर्ने कुनै कारण नै छैन । बरु तपाईको अभिभावकहरुले चाहिँ के भन्ने हुन् कुन्नि ?’

‘मेरो अभिभावकहरु अति असल हुनुहुन्छ । अनि म एकल छोरी पनि हुँ । त्यसैले अहिलेसम्म मेरो विषयमा केही पनि नराम्रो भन्नु भएको छैन र सम्भवत भविष्यमा पनि भन्नु हुने छैन । मेरो खुसी नै उहाँहरुको खुसी हुनेछ । तर आज मेरो बाबु र आमा दुवैजनाले मदिरापान गर्नु भएका छैन त्यसैले उहाँहरुसँग नभेटी हालौं । भोलि बिहान ब्रेकफास्टको समयमा म उहाँहरुसँग तपाईको परिचय गराई दिनेछु । अनि सुन्नोस् न मेरो बाबुको लखनउमा भारतीय सिमेन्टको ठूलो कारखाना छ । त्यसैले मैले दिल्लीमा भू-गर्वशास्त्र अध्ययन गरेकी हुँ । खै तपाईलाई भू-गर्व शास्त्र मनपर्छ कि पर्दैन ? खैर जे सुकै होस् तपाईसँग यसरी अचानक भेट्दा मलाई ज्यादै खुशी लागेको छ । सम्भवत मेरो कुरो बुझ्नुभयो होला ?’

म गम्भीर भएर उनको कुरा सुनिरहें तर एक्कै शब्द बोल्दै बोलिनँ।

हामी त्यसबेला बारको नजिकै उभिरहेका थियौं । अचानक हाम्रो सामुन्ने हात्तीका सुँढ जस्तै लामा-लामा क्यामेराको लेन्स झुन्ड्याएर बिजुली चम्केको झैं झिलिकझिलिक प्रकाश पार्दै भोजका तस्बीर खिच्ने एकजना मान्छे आइपुग्यो । हामी एक अर्कामा एकदम नजिकिएर बोल्दै गरेको देखेर उनले सायद प्रेमी प्रेमिका होला भन्ने सोचेछन् क्यारे ।

‘महाशय ! खै एकअर्कामा अँगालो मार्नोस् त ?’

उनको त्यहाँ आगमन हुने बितिक्कै छाडेको पहिलो शब्दले नै मेरो नाडी गलेर आयो । बिनासित्तीमा शरीर लल्याकलुलुक भयो । तैपनि म अचल सगरमाथा झैं हलचल नगरी चुपचाप त्यहीँ खडा भइरहें । निहारिकाले समातिरहेकी वाईनको गिलास बारको टेबलमा टक्क आवाज आउने गरि राखिन् र उनको दाहिने हातले कछुवा गतिमा मेरो शरीरको माथिलो भागमा सर्लक्क बेरिन् । बायाँ हात उनको कम्मरमा राखिन् र फिस्स हाँस्दै तस्वीर लिनको लागि तयार भइन् । मैले जिन्दगीमा प्रथम चोटी एउटा कामुक युवतीको शरीरसँग त्यसरी जोडिने अवसर पाएको थिएँ । तर के गर्ने र ? दुर्भाग्य भनौं कि सौभाग्य भनौं मेरो हृदयको गति चाहिँ ह्वात्तै बढिरहेको थियो ।

हाम्रो तस्वीर खिच्ने तरिकादेखि फोटोग्राफर पटक्कै खुसी भएनन् । त्यसैले मेरो बायाँ हातलाई निहारिकाको नितम्बमा राख्न भनेर उनले हुकुम बर्षाइ हाले । उनको कुरो सुनेर मलाई थोरै लज्जाबोध त यस्सै भयो । तैपनि अलिकति साहस बटुले अनि सुस्तरी मेरो बायाँ हातलाई रणभूमिमा युद्धको लागि पठाइ दिएँ । मेरो हातले प्रथम चोटी उनको नितम्बमा आराम गर्दा मलाई हल्का अफ्ठ्यारो मात्र होइन लाजले भुतुक्कै भइरहेको थिएँ । त्यसपछि एक, दो, तीन भन्ने शब्दहरु सुनिएको थियो र दुईचार चोटी क्लिकक्लिकको आवाज आएको पनि चाल पाएँ ।

‘महाशय ! लजाउनु भएन नि, कृपया अलिक नजिक बस्नु पर्यो ?’ फोटोग्राफरले क्यामेरामा हेर्दै दोश्रोचोटी मुख खोल्यो ।

उनको कुरो सुनेर हामी झन् एकआपसमा लपक्क टाँसिन थालेका थियौं । त्यति समीपमा टाँसिदा निश्चय पनि मलाई एकातिर आनन्द त मिलेकै थियो तर अर्कोतिर केही शरम पनि भइरहेको थियो । अझै ‘एकचोटी मेडमको बायाँ गालामा चुम्बन गर्नुहोस् है,’ ऊ क्रमशः बोल्दै गयो । उनको कुरो सुनेर पहिले हासो उठ्यो तर मेरो जिउ गर्हौं भएको अनुभूति गरेँ । निहारिका झन् के कम थिइन र ? कर्के नजरले मलाई एकझलक हेरिन् र झिमिक्क देब्रेआँखा झिम्क्याइ दिइन् । उनको आँखाको भाषा मैले त्यति चाँडो के बुझ्न सक्थे हुँला र ? तर उनको गाला मेरो मुखको सामुन्ने तेर्स्याइदिँदा आ…जे सुकै मरोस् है भनेर मैले मुख जोडी दिइहालें ।

फोटोग्राफरले नानाथरी गर्न लगाउँदा म निश्चय पनि लजाएका थिएँ तर निहारिकाको शरीरमा त्यतिका धेरै खेल्ने अवसर प्रदान गरिदिएकोमा मनमनै धन्यवाद पनि दिएँ । उनले केही तस्बीरहरु लिएपछि हामीसँग सँधैका लागि बिदा भएर गए । उनको बिलय भएतापनि त्यसबेलासम्म निहारिकाले मेरो हात छाड्न मानिरहेकी थिइनन् । वास्तवमा हाम्रो भेटघाट भएको केही घण्टा मात्र भएको थियो तैपनि हाम्रो आत्मियता ज्यादै नजिक पुगेको मैले महसुस गरिरहेको थिएँ ।

यी सारा हर्कतहरुलाई निज्राले नृत्यस्थलदेखि घरिघरि दृष्टी लगाइरहेकी थिइन् । जबजब उनले मलाई हेर्थिन् तबतब मैले झन उटफट्याङ्ग गरेर खेल देखाइ दिन्थेँ । किनभने यो सबै कार्य गर्नको लागि बियर, ह्विस्की र वाइनले मलाई अचम्मैसँग साथ दिइरहेको थियो । निज्राले जतिसुकै कर्के नजर लगाए पनि म उनीसँग किन त्रसित हुनु हौ भन्ने एक मनमा लागिरहेको थियो । अझै म त्यसबेला निहारिकाको न्यानो अङ्गालोमा मज्जाले बाँधिएको थिएँ । त्यसैले निज्राले जे सुकै सोचिरहेकी भएतापनि के चिन्ता लिनु है भन्दै थिएँ । तर निहारिकाले एक्कासि, ‘के म तपाईसँग नाँच्न सक्छु ?’ भनेको सुन्दा म झसङ्गै झस्कें ।

‘किन नसक्नु,’ उनको त्यस्तो आग्रह सुनेर पहिले खङ्ग्रङ्ग भएँ । जाबो लाज, डर, त्रास, भय, क्रोध, आस अरु त्यस्तै के के हो के सबै भुलेर हात समातासमात गर्दै हामी नृत्यस्थलमा पुगिहाल्यौं । त्यहाँ पुगेर सङ्गीतको तालमा कुर्कुच्चा तलमाथि गर्दैगर्दा उनको विशाल छातीले मलाई औधी आकर्षण गरिरह्यो । मलाई त्यसबेला कसोकसो चन्द्रमा दाहिने भएको बेला लिभरपुल छाडेको रहेछु भन्ने लागिरहेको थियो । नत्रभने यति राम्री सुन्दरीसँग लखनउमा मनोरन्जन गर्न के पाउँथे होला र ? त्यस्तो सोचे र क्रमशः जिउ हल्लाउन थालें । तर सबैभन्दा खेदको कुरो चाहिँ के भयो भने मध्यरातको समयमा बीस-बाइस वसन्त पार गरेकी एउटी युवतीको हृष्टपुष्ट छातीले पटकपटक मेरो शरीर सिथिल बनाउँदा म अर्कै संसारमा पुगिसकेको रहेछु । र, त्यहाँदेखि फर्केर आउँदा मेरो शरीर पसिनाले भिजेर लुथुक्रै भिजिरहेको पाएँ ।

हामी नाच्ने क्रमलाई निरन्तरता दिँदै गयौं । तर मेरो हस्तरेखाहरुदेखि अनवरत रुपमा निस्केका पसिनाले उनको पाखुरा, नितम्ब, कम्बर, ढाड, तिघ्रा, पेट र नाइँटो जहाँ जहाँ छुन्थे त्यहाँ त्यहाँ भिजाइ दिइरहेको हुन्थे । मेरा हत्केलादेखि त्यतिका धेरै पसिना जिन्दगीमा सायद प्रथमचोटी निस्केका थिएँ । त्यतिका धेरै पसिनाको धनी भएपछि, ‘किन यति धेरै डराउनु हुन्छ ? तपाईको साथमा म छु र यहाँ केही हुनेवाला छैन ।’ भन्दै उनले सान्त्वना दिने प्रयत्न गरिन् । तैपनि त्यतिका धेरै पसिना छुटेपछि, ‘ल ठीक छ एकक्षण नाचलाई यही विश्राम गरौँ है,’ उनैले भनिन् । त्यसपछि हामी नृत्यस्थल छाडेर सुस्तरी हिँड्दै बारको नजिकै पुग्यौँ । तर त्यहाँ पुग्ने बितिक्कै उनले, ‘म एकपटक शौचालयको प्रयोग गर्छु है,’ भनिन् ।

उनले त्यति भनेका मात्र के थिइन् । उनका शब्दहरु हावामा बिलीन हुन पाउँदा नपाउँदै टकटक हिल पड्काउदै शौचालयतर्फ लागि हालिन् । त्यसपछि म त्यहाँ एक्लै पालुवा फेर्दै गरेको नग्न वृक्ष झैं खडा भइरहें । तर उनी शौचालय गएको एक्कैछिनमा हान्ने गोरुझैं आँखा रातोरातो बनाउँदै निज्रा मेरो सामु डुक्राउँदै आइपुगी हालिन् ।

‘नविन ! वास्तवमा जिन्दगी एकपटक मात्र जिउनु पर्छ । म यसलाई राम्ररी बुझ्दछु । तिमीले चम्कौलीलाई छुन र नाँच्न मज्जाले सक्छौ । तर जतिसुकै मनोरन्जन गरेतापनि तिमीले एउटा कुरोको चाहिँ निश्चय नै हेक्का राख्न पर्छ । मिज्राको कसम, कृपया ! उनीसँग बिस्तारा चाहिँ सेयर नगर्नु है ? यदि तिमीले उनीसँग जिउ मिसाएर बहादुरी हुने प्रयत्न गर्यौ भने बिचरी मेरी बहिनीको सपना नराम्रोसँगले बिग्रने छ । अनि लखनउमा बिताएको यो कालो रातलाई मैले जिन्दगीमा कहिले पनि भुल्न सक्ने छैन । अ…अनि अर्को कुरो अब हामी सुत्न जान लागेको छौं । सायद तिमी एकछिनसम्म बस्छौ होला ? जे होस् भोलि बिहान ब्रेकफास्ट टेबलमा सकुशल र एक टुक्रामा भेट्न चाहन्छु, शुभ रात्री ।’

निज्रा आवेशमा आएकी थिइन् । त्यति भनि राखिन् र मेरो गालामा म्वाइ खाएर शुभ रात्री भन्दै लागिन् । निज्राको बिलयपछि निहारिका शौचालयदेखि फर्कंदै गर्दा हाम्रो टेबल खाली देखेर अतालिँदै बोल्न थालिन् ।

‘तपाईको साथीहरु गइसकेका हुन् कि के हो ?’

‘हो, सबै गए ।’

‘ए ! उसोभए तपाईलाई केही अफ्ठ्यारो त पर्दैन ?’

‘पर्दैन, पर्दैन,’

‘अनि सुन्नोस् न बिहेको केक खानु हुन्छ ?’

‘हुन्छ नि ।’

‘म लिन जान्छु है ।’

उनी जान्छु भनेकी मात्र थिइन्, हिडिँहालिन् र स-साना बटुकामा दुई ठाउँ केकहरु लिएर मिलिक्कै फर्किन् । उनी आउने बितिक्कै एकचम्चा केक मेरो मुखमा हाली दिइन् । अब त्यति आकर्षक युवतीले प्रथमचोटी केक खुवाएकी हुनाले मैले स्वाद मानीमानी खाएँ । तर उनले चाहिँ केक खाँदै नखाएको देखेपछि म तीनछक्क परें ।

‘अनि तपाई खानु हुन्न ?’ आश्चर्य प्रकट गरें ।

‘तपाईले खुवाई दिनुहुन्छ होला भनेर हो,’ थोरै मुस्कुराइन् ।

‘मलाई माफ गरी दिनुहोस्,’ गल्ती महसुस गरेर क्षमा मागें ।

हाते घडीले समय बिहानीको एक बजाएको थियो । प्रायजसो मानिसहरु आ-आफ्ना कोठातिर आराम गर्न लागि सकेका थिए । ‘अब हामी पनि जाउँ है,’ सुस्त स्वरमा उनले आग्रह गरिन् । मलाई उनीसँग अझै धेरै समय बिताउन रहर लागिरहेको थियो तैपनि बेचैन हुँदै ‘हुन्छ’ भनेर जवाफ फर्काएँ । उनले छुट्टिनुभन्दा अगाडी अन्तिम चोटी मलाई बिदाइको चुम्बन मागिन् । मैले च्व च्व गर्ने बितिक्कै उनी दायाँ हात उचालेर बाई बाई भन्दै हिडिहालिन् ।

निहारिकाले छाडेर गएपछि म जिन्दगीमा पहिलोचोटी एक्लो अनुभव गरिरहेको थिएँ । अझै बियर, ह्विस्की र वाइनको मिश्रणले मेरो आँखा तिरमिराउँदा झन शून्य महसुस गरिरहेका थिएँ । आँखाको थोरै फोकस मिलाएर सुस्तरी हिँड्दै कोठाको पुगेपछि कित्लिमा अलिकति पानी उमालेर एककप दार्जिलिङ् चिया भिजाइ दिएँ । केहीबेर अगाडि पसिनाले शरीर लुथुक्कै भिजेको थियो त्यसैले सर्लक्क एकपटक जिउलाई पखाले ।

त्यसपछि हातमा तातो चिया पक्रेर आराम कुर्सीमा मज्जाले बसें । त्यहीँदेखि लखनउको टाढा क्षितिजमा अस्ताउन लागेको जूनलाई निक्कै बेरसम्म हेरिरहें । मानिसको जिन्दगी पनि एकदिन जूनजस्तै अस्ताएर जान्छ भन्ने सोचिरहें । त्यसबेला मेरा कुहिनाहरु दुवै घुँडामा आराम गराएर हातको पन्जाहरुले दुवै पट्टिको गाला थामेर नर्वेजियन चित्रकार एडभार्ड मङ्कको चित्र ‘चित्कार’ (द स्क्रिम) झैं बनिरहेको थिएँ । किनभने त्यसबेलासम्म मेरो मन ज्यादै उथलपुथल भइरहेको थियो र जीवनमा प्रथमचोटी त्यतिको राम्री युवतीसँग सुनौला समय बिताएको स्मरण गरिरहेको थिएँ ।

हुनत, ‘आइमाई के चाहन्छन् ?’ भन्ने प्रश्नको उत्तर मनोविश्र्लेषक फ्रायडले तीस वर्षसम्म अध्ययन गरेर पनि दिन सकेका थिएनन् भने मैले जाबो दुईचार घण्टा युवतीको बाहुपासमा रुमलिन पाउँदैमा के जान्न सक्छु होला र ? भन्ने मलाई लागिरहेको थियो तैपनि म उनीप्रति बेस्सरी आकर्षित भइसकेको थिएँ ।

लखनउको समय बिहानीको दुई बजिसकेको हुनुपर्छ । म कोठाको झ्यालबाट सिधै टाढाको आकाश हेरिरहँदा अचानक ढोकाबाट टकटक आवाज आयो । यतिबेला पनि को रहेछ भनेर म सुस्तरी हिँड्दै ढोकाको छेउमा पुगें । सेतो गाउन गर्लम्मै बेरेर निहारिका ढोकामा ठिङ्ग खडा भएकी देख्दा मेरो सातोपुत्लो उडेर गयो । ढोका खोल्ने बितिक्कै उनले –

‘नविन ! के म भित्र आउन सक्छु ?’ नरम स्वरमा आग्रह गरिन् ।

‘कृपया ! आउनोस् न यहाँलाई न्यानो स्वागत छ ।’ अचानक उनलाई देख्दा म अतालिएको थिएँ त्यसैले भकभक्किदै  बोलें ।

‘तपाई र मेरो कुन दिनमा भेट भएछ । तपाईसँगको भेटघाटले मेरो सारा जिन्दगीलाई उथलपुथल बनाइ दियो । सुत्नको लागि अनेकौँ प्रयत्न गरेतापनि तपाईको यादले म पटक्कै सुत्न सकिनँ । खै किन हो किन मेरो मनमा तपाईको कुरो मात्र खेलिरह्यो । ’

‘ए हो र ? म पनि अहिलेसम्म तपाईको विषयमा सोच्तै थिएँ ।’

‘ल भन्नोस् न मेरो विषयमा के सोच्तै हुनुहुन्थ्यो ?’

‘तपाई एउटा सुन्दर गुलाफको फूलजस्तै अनि म त्यसको माली हुन पाए कति राम्रो हुन्थ्यो होला भन्ने सोचिरहेको थिएँ ।’

‘ए ! हो र ? अनि के तपाईलाई एउटा कुरो सोधौँ ?

‘भन्नोस् ! के हो र ?’

‘त्यसको मतलव के तपाई मलाई मन पराउनु हुन्छ हो ?’

‘मन पराइ हाल्छु नि । किन मन नपराउनु बरु अहिले चाहिँ के पिउनु हुन्छ ?’

‘अलिकति पानी पिउँछु है ।’

कोठाभित्र सानो दारु दोकान थियो जस्लाई होटलको ‘मिनीबार’ भन्ने गरिन्थ्यो । तिनै मिनीबारदेखि एक बोतल पानी निकालेर उनलाई दिएँ । उनले पानी पिउन थालिन् । उनले पानी पिउँदै गर्दा कोठाभित्रको वातावरण पूर्णतय शून्य भएको थियो । मैले त्यसबेला निक्कै टाढाको तारा प्रोक्सिमा सेन्च्युरीलाई हेर्ने प्रयत्न गरे किनभने सूर्यपछिको पृथ्वीको नजिकको तारा तिनै हुन् । सूर्यदेखि पृथ्वीमा प्रकाश आइपुग्न ८ मिनेट समय लाग्छ भने प्रोक्सिमा सेन्च्युरीमा पुग्न ४ प्रकाश वर्ष लाग्दछ । वास्तवमा ब्रम्हाण्ड कति विशाल छ तर हाम्रो जिन्दगी भुसुना जस्तै हो भन्ने लागिरहेको थियो । तर निहारिकाले अचानक, ‘नविन’ भन्दै मेरो नजिकै आइन् र मेरो हात समाति हालिन् । मानौँ केहीबेर अगाडी नृत्यस्थलमा टाँसिएझैं दोश्रोचोटी मसँग टाँसिइन् र भावनामा बग्न थालिन् ।

‘मेरो जिन्दगीमा असंख्य युवाहरु आए तर बीचबाटोबाट नै हराएर गए किनभने मैले आजको दिनसम्म कसैलाई मन पराउन सकेको थिइनँ । किनभने म अलिक चुजी थिएँ । तर अचानक आज मलाई खै के भयो भयो ? तपाईसँगको भेटले पागल बनाइदियो । तर थाहा छैन तपाई मलाई मन पराउनु हुन्छ वा हुँदैन ? यो तपाईको पाटो भयो । यदि तपाई चाहनु हुन्छ भने म तपाईको प्रेमिका बन्न तयार छु र भविष्यमा विवाह गर्न चाहन्छु । यदि तपाई चाहनु हुन्छ भने म तपाईको बिस्तारामा तपाईसँग सुत्नको लागि तयार छु । यदि तपाई चाहनु हुन्छ भने म तपाईसँग शारिरीक सम्पर्कको लागि पूर्ण तयार छु किनभने मैले मेरो कुमारीत्व तपाईबाट नै खत्तम होस् भन्ने निर्णय गरिसकें ।’

उनको कुरो सुनेर, ‘जे सुकै गरे पनि बिस्तारा चाहिँ सेयर नगर्नु है,’ निज्राको वाणीलाई एकचोटी स्मरण गरेँ र रणभुल्लमा परिरहें । निहारिकाले त्यति भनिसकेपछि उनका हातका औलाहरु मेरो शरीरभरी चकचक गर्न थालिहाले । मलाई त्यसबेला थोरै असहज भएपनि धेरै सहज मानिरहेको थिएँ । किनभने म उनलाई भित्रभित्रै मन पराउन थालिसकेको थिएँ त्यसैले उनले जे जस्तो गरेपनि सुबानी बाछोझैं बनिरहें ।

निहारिकाले मौकाको फाइदा उठाउँदै मेरो छाती, कम्बर, पेट, ढाँड र पिठ्यूँ सबैतिर छुन थालिन् । एकातिर उनका हातहरुले मेरो शरीरमा जताततै चकचक गरिरहेको थियो भने अर्कोतिर उनले छाडेकी तातो तातो सास मेरो अनुहारभरी हराइरहेको थियो । मैले त्यसबेला मेरा नयनहरुको ढकनी बन्द गर्दै खोल्दै गरिरहेको थिएँ । जब उनका मुलायम हातका औँलाहरु मेरा अङ्गप्रत्यङ्गमा अवतरण हुन थालेपछि, ‘निहारिका ! सायद तिमीलाई थाहा नहुन पनि सक्छ । मैले केवल तौलिया मात्र बेरिरहेको छु,’ उनको कानको नजिकै पुगेर सुस्तरी फुकेँ ।

मेरो कुरो सुनेर उनी फिस्स मुस्कुराइन् –

‘महाशय ! किन सुर्ता गर्नु हुन्छ म पनि त केवल गाउन मात्र लगाएर आएकी छु ।’

उनले त्यति भन्न पाउँदा नपाउँदै उनको गाउनले शरीरदेखि बिदा लिइहाल्यो र लथ्रक्क हुँदै भुईंमा खस्यो । गाउनले उनको शरीरदेखि बिदा लिएपछि जिन्दगीमा पहिलोचोटी बाइस वर्षिया युवतीको नग्न शरीर मेरो आँखा अगाडी पर्दा मैले यस धर्तीलाई सधैँको लागि बिदा गरिसकेको थिएँ ।

बानबुरी, इङ्गल्याण्ड ।   

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक